‘गलबन्दी’ विवादले मलाई नि ठेस पुग्यो : शान्तिश्री परियार

सेलेब्रिटीलाई दर्जन प्रश्न

  • मनोज न्यौपाने असार २८, २०७६ | शनिबार


चर्चामा रहेको लोकगीत ‘गलबन्दी’ सुन्नु भएको छ? पक्कै छ होला! गायक प्रकाश सपुुतको यो गीतको फिमेल आवाजमा गुन्जिएकी गायिका हुन्– शान्तिश्री परियार।
गीत चर्चामा छ, गायक तथा सर्जक सपुत पनि चर्चामा छन्, गायिका भने ओझेलमै छिन्। तर, परियार खुसी नै छिन्, सन्तुष्ट नै छिन्। सपुतको झै आमदर्शक, स्रोतमाझ चर्चा नभए पनि उनको प्रतिभा चिन्नेको कमी छैन। ‘चर्चा कम भयो होला तर, व्यस्तता बढेको छ। दिनमा ५/६ वटा गीत रेकर्ड गराइरहेकी छु। यसको श्रेय ‘गलबन्दी’ टिमलाई पनि जान्छ।’ शान्तिश्रीले भनेको यो वाक्यबाट नै अनुमान लगाउन सकिन्छ उनको दैनिकी कसरी बितिरहेको छ भनेर।
परियारले गलबन्दीमा मात्र आवाज भरेकी भने होइनन्। यसअघि सपुतकै चर्चामा आएको गीत ‘बोल मायामा’मा पनि उनकै स्वर छ। गीतले धेरैका आँखा रसाए। सर्जक सपुतले चौतर्फी तारिफ खाए। तर, परियारको चर्चा जति हुनुपर्ने त्यो हुन सकेन। तर, त्यसको असन्तुष्टि उनीमा पटक्कै झल्कदैन। बरु पाएको चर्चा र व्यस्तताको व्यवस्थापनमै तल्लीन छिन् उनी।
रोल्पामा जन्मिएकी परियार दोहोरी साँझ हुँदै गायनमा प्रवेश गरेकी हुन्। निम्न पारिवारिक पृष्ठभूमिबाट संघर्ष गर्दै सफलताको सिँढी चढिरहेकी परियारको अनुहारमा आजकाल खुसीको रंग छाएको छ। परिवार खुसी छ। र, परिवारमा खुसी छर्न पाएकोमा उनी दंग छिन्।
परियारको आवाजमा रहेको थुप्रै गीत बजारमा लोकप्रिय छन्। तर, बोलमाया र गलबन्दीको जस्तो चर्चा अरु गीतको हुन सकेको छैन। गत बुधबार काठमाडौंको इन्द्रेणी फुडल्यान्डमा गायक सपुतसँगै एक औपचारिक कार्यक्रममा सरिक थिइन् परियार। सोही स्थानमा गायिका परियारलाई सांगीतिक यात्रा, सफलता र अनुभवका बारेमा नेपालन्युजका दर्जन प्रश्न।
गायनमा पहिलो औपचारिक फड्को के थियो?
२०६४ देखि २०६६ सम्म लोकदोहोरी साँझमै व्यस्त थिएँ। पछि २०६८ सालमा पहिलो गीत ‘घर छ तीनतले’ निकालेकी थिएँ। पछि (२०६९) शिव हमालको लय शब्दमा कुलेन्द्र विकसँगको दोहोरी गीत ‘एक तर्फी माया’ बोलको मेरो दोस्रो गीत सार्वजनिक भयो। यसले मेरो करिअरमा एक प्रकारको फड्को नै मार्‍यो। यस गीतले लोकदोहोरी क्षेत्रका स्रष्टा र सर्जकमा शान्तिश्रीलाई परिचित बनाएको थियो। पुनः मेरो २०७१ सालमा ‘माछीलाई फुर्लुङ’ गीत बजारमा आयो त्यसपछि करिअरमा पछाडि पर्कनुपरेको छैन।
करियरमा कति गीतजति गीतमा स्वर भर्नु भएको छ?
पहिलो गीत ‘घर छ तीनतले’ बाट ‘गलबन्दी’ सम्म आइपुग्दा करिब ५ सय ५० जति गीतमा स्वर दिइसकेकी छु। ‘गलबन्दीपछि पनि धेरै वटा गीतहरु रेकर्ड भइसकेका छन्। अहिले पनि तीज गीतले हामी लोकगायिकालाई भ्याइ नभ्याइ हुन्छ। असार नै छ तर, कही दशैंका गीतसमेत रेकर्ड गराइसकेकी छु।
santi shree pariyar photo 1
गायनमा कसरी प्रवेश गुर्न भएको थियो?
म सात वर्षकी थिएँ होला, हाम्रो परिवारनै रोल्पाको ह्वामा गाउँबाट सरेर सदरमुकाम लिवाङ बस्न थाल्यौं। त्यहाँ बस्दै गर्दा विद्यालयमा म खुब गाउन मन पराउँथे। अझै याद छ, कक्षा २ मा पढ्दै गर्दा बालदिवशको दिन मैले एउटा बालगीत गाएकी थिएँ। प्रथम भएर नगद पुरस्कार र धेरै स्याबासी पाएँ। त्यहीँबाट गायनमा एकप्रकारको रहर जाग्यो। विस्तारै यसैमा भिज्न थालियो। आज करिअरनै यसैमा छ।
साँच्चि तपाईंको औपचारिक अध्ययन नि?
उम... रहर हुँदाहुँदै पढ्न पाइएन। पारिवारिक अवस्था नै त्यस्तै हो वा परिस्थिति तर पढ्ने हुटहुटी चलिरहँदा पनि औपचारिक अध्ययनमा ठूलो प्रगति गर्न सकिएन। यति नै पढेको भन्नुभन्दा पनि, (हास्दै...) ‘कालो अक्षर भैंसै बराबर’ चाहिँ होइन।
परिवारमा अरु पनि गीत संगीत वा कलाकारितामा हुनुहुन्छ?
हाम्रो परिवारबाट यस क्षेत्रमा प्रवेश गर्ने पहिलो व्यक्ति म नै हुँ। अहिले बहिनी छन्। उनी पनि राम्रो गाँउछिन्। संघर्ष गरिरहेकी छन्।
गायनमा रमाइरहँदा अरु सर्जकका गीत कतिको सुन्नुहुन्छ?
मलाई पुराना सिर्जना र सर्जकहरु धेरै मन पर्छ। नामै लिनुपर्दा दिदीहरू बिमाकुमारी दुरा, शर्मिला गुरुङ, नारायण रायमाझी जस्ता सर्जकहरुका गीत धेरै सुन्ने गर्छु। सँगै नयाँ पुस्ता र समकालीन साथीहरुका गीत त झनै छुटाउनै हुन्न। समकालीन गीतहरुबाटै केही सिकिरहेकी हुन्छु।
आफ्ना संघर्षका दिन कसरी सम्झनु हुन्छ?
समग्र लोक क्षेत्रमा धेरैनै आत्मीयता छ। गाह्रो पनि उत्तिकै छ। यो क्षेत्रमा नयाँ रहुन्जेल धेरै गाह्रो रहेछ। सुरुआती दिनमा नयाँलाई कसले सहयोग गर्ने। सबै आफ्नै बाटोमै व्यस्त हुन्छन्, नयाँलाई कसले वास्ता गर्ने र? त्यसमा पनि काठमाडौंको ठाउँमा कसैले सहयोग गर्दैन। सबैलाई थाहा भएकै कुरा हो। यदि गरिहाल्यो भने त्यहाँ केही न केही स्वार्थ जोडिएकै हुन्छ।
तर, मेरो केसमा सुरुमा आँफैले धेरै मेहेनत गरेँ। बीचमा आएपछि भाग्य नै ठान्छु, जीवनको ‘गडफदर’ प्राप्त गरेँ। आदरणीय दाइ पृथ्वी थकालीले मलाई अत्यन्तै सहयोग गर्नुभयो। पछि यस क्षेत्रमा भिज्दै साथीहरु चिन्दै गएपछि भने रमाइलो हुँदै गयो। साथीहरूसँग आत्मीयता बढ्दै गयो।
पछिल्लो समय शान्तिश्री परियार भनेर चिनिएको नाम र कामको साख जोगाउन कतिको सहज छ?
गाह्रो छ। करियरको सुरुआती चरणमा स्टार बन्ने सपना सबैले देखिन्छ। स्टार भइसकेपछि त्यसलाई बचाउन एकदमै गाह्रो हुन्छ। भनिन्छ नि व्यक्तिगत, पारिवारिक र सार्वजनिक जीवन हुन्छ। हो, यही सार्वजनिक भएपछि चाहिँ धेरै गाह्रो हुने रहेछ। संसारले उसलाई नजिकबाट हेरिरहेको हुन्छ। उसका हरेक व्यवहारमा अरुको नजर हुन्छ।
हामीले आफ्नो व्यवहार, लवाइखवाइ, व्यवहारदेखि सबै कुरामा सावधानी अपनाउनुपर्ने रहेछ। यसको अर्थ व्यक्तिगत जीवनजस्तो सामाजिक जीवन सहज छैन। यसलाई जोगाउन मेहनत चाहिन्छ नै।
कहिलेकाही पहिलेको जस्तै खुलेर हिँड्न मन लाग्दैन?
हैन, त्यस्तो धेरै बन्देज पनि छैन म। मेरो रूचि समाजसँग मिल्दो नै छजस्तो लाग्छ। नेपाली समाजलाई अपाच्य हुने कुरामा इच्छा चाहना ममा छजस्तो लाग्दैन। त्यसैले बजारमा चिनिएको अनुहार भएकाले केही ख्याल गरेर हिँड्नुपर्छ भन्या हुँ। यो भन्दा बढी बाँधिएकी छु जस्तो लाग्दैन।
santi shree pariyar photo 2
गीत संगीत क्षेत्र र समाजमा सुन्ने गरिएको कथित जातीय मुद्दाहरूले शान्तीश्री परियारलाई चाँहि कति दुखाउने गरेको छ?
अवश्य पनि मन दुखाउछ। तर, उनीहरुप्रति दया लाग्छ, जसले यो समय, परिवेश र कालखण्डमा आएर यस्तो बिषयमा बेकारको विवाद गर्छन्। जसले यो २१औँ शताब्दिमा आएर पनि आफ्नो मस्तिष्कमा परिवर्तन ल्याउन सकेनन्। उनीहरुलाई भन्ने मेरो शब्द केही छैनन्। यति भन्न चाहन्छु, बिचराहरू!
जीवनमा जातीय विभेदको अनुभव तपाईंले भोग्नुपरेको त छैन नि?
छ। दशवर्षे जनयुद्धको प्रभाव रोल्पामा धेरै थियो। युद्धको उद्गमस्थल भएर पनि हुनुपर्छ उतिबेला माओवादीहरुले जातीय विभेदविरूद्ध गाउँगाउँमा चेतावनी दिने गरेकाले यसको प्रभाव सानो छँदा मैले भोग्नु परेन। तर, करिब एक वर्षअघि गीत ‘बोलमाया’ रिलिजको तयारीमा थियो। त्यो बेला पर्वत जिल्लाको एउटा कार्यक्रमका बीचमा मैले जातीय विभेदको क्षण महसुस गर्नुपरेको थियो।
हामी विद्यालयकै कार्यक्रममा प्रस्तुतिका लागि गएका थियौं। त्यहाँ विभेद महसुस गर्नुपरेको छ। जसले विभेदको महसुस गरायो, उहाँ ब्राह्मण हुनुहुन्थ्यो, त्यसमा पनि पेशाले शिक्षक। परिवारमा शिक्षक उहाँ मात्र होइन उहाँको छोरा, बुहारी पनि शिक्षक नै हुनुहुन्थ्यो। मलाई दुःख लाग्यो।
समाजलाई पढाउने विद्यालयमा नै जेतना नभएका शिक्षकहरु छन् भने त्यो विद्यालयका विद्यार्थीले के सिक्छन्। विद्यार्थीलाई कस्तो शिक्षा प्रदान गरिन्छ त्यस्ता विद्यालयमा? जुन क्षणले मलाई अझै पनि घोचिरहन्छ।
तपाईंले स्वर भर्नुभएको गीत गलबन्दी अहिले चर्चामा छ। गीत लय चोरीको आरोपमा विवादमा पनि तानियो। यो विवादले गायक प्रकाश सपुतलाई मज्जाले छोयो तर, तपाईं यसमा जोडिनु भएन नि?
पक्कै पनि, तपाईंहरु सोध्ने र सुन्नेलाई त्यस्तो लागेको मात्र हो। क्रिएसनको हिसाबले प्रकाश जीसँगमात्र विवाद चुलिएको हो। तर, चोट मलाई पनि पुग्यो। आत्ममा ठेस शान्तिश्रीलाई कम पुग्या थियो र? टिमले गरेको सिंगो चीजमा त्यसप्रकारको विवाद हुँदा कसलाई ठेस पुग्दैन र?
अर्कोतिर हामीले ‘गलबन्दी’मा मात्र सँगै काम गरेका होइनांै। हामीले त्यसअघि ‘बोलमाया’मा पनि सँगै काम गरेका थियौ। पेशागत हिसाबको मात्र हाम्रो सम्बन्ध होइन। भावनात्मक रूपमा पनि हामी जोडिएका छौं। मेरो नाम प्रत्यक्ष नजोडिए पनि मन जोडिएको थियो। उतिबेला म विवादले शिथिल थिँए।
यद्यपि, सफल मानिसकै खुट्टा तानिन्छ र हामी माथि पनि त्यही प्रयास गरियो। हामी सफल भएर नै हाम्रो पछि मान्छेहरु लागेका हुन् भन्ने महसुुस भयो। (हाँस्दै...) समग्रमा गीतको विवादले नकारात्मक र सकारात्मक दुवै प्रभाव ल्याइदियो।

Comments