
म्युजिक भिडियोबाट अभियन थालेकी मोडल हुन्, ऋचा थापा। ८ कक्षामा पढ्दै गर्दा अभिनयमा प्रवेश गरेकी उनी नृत्यमा उत्तिकै रूची राख्छिन्। दुई दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी ऋचा ठूलो पर्दामार्फत् दर्शकमाझ आउँदै छिन्। यशराज गजराजसँग स्क्रीन सेयर गरेकी उनको डेब्यु फिल्म– ‘लभ यु हमेशा’ भदौ २७ मा रिलिज हुँदैछ। नेपालन्युज फ्रेस–फेसमा उनै ऋचा थापासँगको कुराकानीः
म्युजिक भिडियोमा जम्दै हुनुहुथ्यो, फिल्ममा रहरले आउनु भएको हो?
कक्षा ८ मा पढ्दै गर्दा म्युजिक भिडियोमा काम गर्न सुरु गरेकी हुँ। म्युजिक भिडियो चलिनै रहन्छ। फिल्म पनि ‘ट्राई’ गरुँ भन्ने हो।
अबको प्राथामिकता म्युजिक भिडियो कि फिल्म?
एक पटक ‘हेरौ न त’ भनेर फिल्ममा काम गरेकी हुँ। अफर आएपछि ठूलो पर्दामा काम गर्ने रहर कसलाई हुन्न र? अब फिल्म चाँडै प्रदर्शनमा आउँदै छ। दर्शकले कस्तो प्रतिक्रिया दिन्छन्, त्यसपछि भविष्यबारे एकिन भन्न सहज होला।
यी दुई विधामा अभिनय गर्दा मुख्य भिन्नता के पाउनुभयो?
अभिनय दुवैतिर उस्तै हो। तर लगाव र मेहनत भने फिल्ममा बढी हुने रहेछ। म्युजिक भिडियो प्राय: एकै दिनमा सुटिङ सक्नुपर्छ। म्युजिकअनुसार तयारी गरे पुग्यो। फिल्ममा चाहिँ नयाँ अनुभव पाएँ, जहाँ स्क्रिप्टअनुसार काम गर्नुपर्ने, संवाद बोल्नुपर्ने र अन्य हाउभाउ तथा पहिरन पनि त्यसै अनुसार हुने रहेछ।

एक नवनायिकाको रूपमा तपाईले बुझेको अभिनय के हो?
परिभाषा नै त भन्न सक्दिनँ। मैले औपचारिक अभिनय सिकेको पनि छैन। नृत्यमा रूचि भएकाले अभिनयमा आएकी हुँ। कुनै बेला ममी पनि रंगमञ्चमा काम गर्नुहुन्थ्यो त्यहीबाट अभिनय क्षेत्रप्रति मन गयो। म फिल्ममा योजना बनाएर प्रवेश गरेको चाहिँ होइन। अकस्मात जस्तै भयो।
कलाकारिताक्षेत्रमै जीविकोपार्जन गर्न गाह्रो छ भन्छन् नि?
खै! नयाँ छु। यस क्षेत्रमा जीवन निर्वाह गर्न गाह्रो छ भन्ने धेरै छन्। तर प्रयास गरिरहे सफलता कसो नमिल्ला?
कलाक्षेत्रमा यौन हिंसाका घटना ज्यादा सुनिन्छन् नि?
यस्ता समाचार आइरहेका हुन्छन्। मेरो चाहिँ यस्तो अनुभव छैन। म के भन्न चाहन्छु भने कसैले पनि यस्तो स्थिति सिर्जना हुन दिनु हुँदैन। हामी महिलाले पनि हिंसा हुनसक्ने सम्भावनाबाट जोगिनु उपयुक्त हुन्छ।
अनि, प्रपोज चाहिँ कत्तिको आइरहेका छन् नि?
अलि–अलि आउँछ तर वास्ता गर्दिन। वास्ता गरेर साध्यै हुन्न। प्रत्यक्षभन्दा पनि सामाजिक सञ्जालमा धेरै आउँछ। फ्यानले म्यासेन्जरमा म्यासेज गरिरहेका हुन्छन्। त्यसमा ध्यान दिएर साध्यै हुन्न।

तपाईंले चाँहि कतिलाई प्रपोज गर्नुभयो त?
मैले त आजसम्म कसैलाई प्रपोज गरेकै छैन। अलि लजालु छु, अरूसँग बोल्न त बोल्छु तर अलि नर्भस भइहाल्छु। प्रेमको प्रसङ्गमा त झनै नर्भस हुन्छ। खासमा म खालि नै छु। कलेजमा केही केटा मन पर्थे। साथीसाथीमा ‘फलानो मन पर्छ’ टाइपका कुरा त हुन्थे तर लभ नै त परेको छैन।
भनेपछि एकैपटक बिहे गर्ने?
कसरी फ्याट्टै थाहा पाउनु’भो। अब ४/५ वर्षपछि सिधै विहे गर्ने सोच छ।
फेसन, मेकअपप्रति कत्तिको मन जान्छ?
खासमा म सिम्पल नै छु। त्यति मेकअप गर्दिन। बाहिर हिँड्दा लगाएकाे मेकअप उतारेपछि एलोभेरा जेल प्रयोग गर्छु। ड्रेसअपमा प्यान्ट, टिसर्ट जस्तो सहज अरु लाग्दैन। सेलेब्रिटी भएपछि केही ‘ओपन ड्रेस’ चाँहि लगाउनै पर्यो!
आज त वान–पिसमा हुनुहन्छ त?
फिल्मको कार्यक्रम भएर मात्र लगाएकी हुँ। मेरो रोजाई पेन्ट, टिसर्ट नै हो।
नाडीमा ट्याटु खोप्नु भएछ?
(दायाँ नाडी देखाउदै) यसमा मामिको नाम छ। यसमा (बायाँ) चाहिँ एन्जलको पिक्चर बनाएकी छु। डान्समा रूचि भएकोले डान्स गरिरहेको एन्जलको ट्याटु खोपेकी हुँँ।
Comments
Post a Comment