
२०६८ सालमा चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउने निर्णय गर्यो। तत्कालीन बोर्ड अध्यक्ष गणेश भण्डारीले २०६८ असोज १ गते उक्त दिवस धुमधामका साथ सम्पन्न गराए। त्यसपछि चलचित्र दिवस न कसैले मनायो, न सम्झ्यो। यसबारेमा बोर्ड नै मौन छ। चलचित्रकर्मी त झन् चासै छैन।
२०६८ यता बोर्डले ४ नयाँ अध्यक्ष पाइसकेको छ। तर, चलचित्र दिवसका बारेमा भने सबैजना मौन देखिए।
करिब ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रले राष्ट्रिय दिवसका रुपमा कुनै एक दिनलाई किन मान्न सकिरहेको छैन? नेपाली चलचित्रकर्मीको यो साझा प्रश्न हो। तर, यो प्रश्नको उत्तर दिन चलचित्र विकास वोर्डले आवश्यक ठानिरहेको छैन वा बेवास्ता गरिरहेको छ।
‘राष्ट्रिय चलचित्र दिवस मनाउने धेरै आधारहरूको अध्ययन गर्दा यसबारेमा सरकारी निर्णय भेटिएन। राष्ट्रिय क्यालेन्डरमा यसलाई समावेश गरिएको पाईएन त्यसैले पनि यो दिवसलाई निरन्तरता दिन असहज भएको हो,’ बोर्ड अध्यक्ष केशव भट्टराई यस्तो जवाफ दिएर पन्छन्।
‘तत्कालीन बोर्ड अध्यक्ष गणेश भण्डारीले यो कार्य सुरु गरे पनि त्यस यता बोर्डको नेतृत्वले समेत यसलाई निरन्तरता दिएको पाइएन। जसले गर्दा, अबका दिनमा राष्ट्रिय चलचित्र दिवसको अजेन्डालाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतमा छलफल चलाएर निर्णय गराउने योजनामा छु,’ अध्यक्ष भट्टराईले नेपालन्युसँग भने।
त्यस्तै बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले पनि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवसका रुपमा मनाउने आधार नपुगेकाले यसला निरन्तरता दिन नसकेको प्रष्ट पारे। उनले भने, ‘नेपाली चलचित्र क्षेत्रको प्रारम्भीक इतिहासमै विवाद छ। सत्य हरिशचन्द्र, आमा कुनचाहिँ पहिलो हो भन्ने विषयमै विवाद रहेको प्रसंगमा असोज १ लाई राष्ट्रिय चलचित्र दिवस मनाउने निणर्य उति वैज्ञानिक निर्णय नभएकाले यसलाई निरन्तरता दिन नसकेको हुँ।
यता तत्कालीन अध्यक्ष गणेश भण्डारी भने पूर्व अध्यक्ष राजकुमार राई वा वर्तमान अध्यक्ष भट्टराईको तर्कमा सहमत देखिँदैनन्। तत्कालीन समयमा सूचना तथा सञ्चार मन्त्रालय मातहतमा रहेर नै चलचित्र विकास बोर्डले चलचित्र दिवसको घोषणा गरेको र उक्त वर्ष दिवस धुमधामका साथ सम्पन्न गरिएको भण्डारीको भनाइ छ।
‘कुनै पनि संस्थामा रहेको पदाधिकारीले गरेको नराम्रो कामको जिम्मेवारी कर्ता स्वयंले लिनु पर्छ तर, राम्रो कामको निरन्तरता नयाँ नेतृत्वले दिनु पर्ने हो। त्यो मैले बोर्डबाट पाएको छैन। नेपाली चलचित्रको इतिहास हेर्दा ‘कुमारी’ र ‘आमा’को प्रदर्शन मितिलाई लिँदा सरदर मिति असोज १ हुन आउने देखिएकाले यही मितिलाई दिवसका रूपमा घोषणा गरेका थियौँ। तर पछिल्ला नेतृत्वले त्यसलाई किन निरन्तरता दिएनन्, त्यसमा मैले बढी चासो राख्नुपर्ला जस्तो लाग्दैन।’
यसरी हेर्दा बोर्ड नेतृत्वको बेवास्ता र चलचित्र इतिहासकै विषयमा विवाद रहँदा नेपाली चलचित्र क्षेत्रले आफ्नो स्वायत्त दिवस अझै पाउन सकेको छैन। हजारौं व्यक्ति जसले चलचित्र क्षेत्रमै रहेर आफ्नो जीवन बिताइरहँदा सम्बन्धित पक्षले यस्ता विषयमा बेवास्ता गरेको विषयमा स्वमूल्यांकन गरिनु आवश्यक देखिन्छ।
यही कुरामा सहमति जनाउँदै पूर्व बोर्ड अध्यक्ष राजकुमार राई भन्छन्, ‘हाम्रो चलचित्र उद्योगले यति लामो समयमा पनि चलचित्र दिवस भनेर स्थान नपाउनु दुःखको कुरा हो। यसो भन्दैमा आधारविहीन मितिलाई दिवसका रुपमा मनाईनु पनि न्यायपूर्ण नहुन सक्छ। त्यसैले सम्पूण चलचित्रकर्मी, संघ संस्था, तथा स्टेकहोल्डर संस्थाको संयुक्त छलफल र निचोडबाट यसले निरन्तरता पाउनु पर्छ।’
चलचित्रकर्मीहरू भन्छन्– ‘नेपाली चलचित्रकर्मीको हकहितमा काम गर्ने संस्थाले आफ्नै निर्णय बिर्सदैं जाने हो भने नेपाली चलचित्र क्षेत्रको उत्थान कसरी हुन सक्ला, यसले उद्योगको दर्जा कसरी कायम गर्न सक्ला ?’
Comments
Post a Comment