सेलेब्रिटी दसैं वार्ता : चकलेट र खेलौनामै सकिन्थ्यो दसै‌ंकाे दक्षिणा- पुष्प खड्का

मनोज न्यौपाने  असोज १९, २०७६ | आइतबार


काठमाडौंको पुरानो बानेश्वरस्थित कफी सपमा भेटिएका पुष्प खड्का दसैंसम्बद्ध म्युजिक भिडियो सुटिङको चाँजोपाँजोमा थिए। गायक आनन्द कार्कीको दसैं गीतको अन्तिम दृश्य खिच्‍न बाँकी नै थियो।

आलस्य अनुहारसँग ‘हट लेमन विथ हनी’को चुस्कीमा म्युजिक भिडियो निर्देशक माइकल चन्दसँग गफिरहेका पुष्प बेला–बेला आजै सुटिङ गर्ने र? भन्दै प्रश्न गरिरहेका थिए। माइकल पनि त्यहीँ इमाडोल त हो, १० मिनेटमा सकिन्छ भन्दै पुष्पलाई जान आग्रह गरिरहेका थिए। बीच–बीचमा दसैं–तिहार र चाडपर्वका कुरा अनि अभिनयका किस्सा सुनाउँदै थिए पुष्प।
अधिकांश समय सुटिङमा व्यस्त हुने पुष्पले सुटिङस्थलमै दसैं र यससँग जोडिएका सन्दर्भ नेपालन्युजसँग पनि साट्न भ्याए। उनै पुष्पको बाल्यकाल, दसैं अनि दसैंसँगको सामीप्यताः
दसैं शब्दले झट्ट के कुराको स्मरण गराउँछ?
रातो टीका र जमरा। हाम्रो परम्परा नव दुर्गालाई बली दिने हो। जुन मेरो परिवारमा पनि छ। यही वातावरणमा हुर्किएर होला दसैं शब्दसँग यिनै स्मरण यादगर लाग्छन्।
बाल्यकालमा दसैं कसरी सेलिब्रेट गर्नुहुन्थ्यो?
मेरो बाल्यकालको धेरै समय भारतको पुणेमा बित्यो। त्यसैले सबै वर्ष नेपालमा रहेर दसैं मनाएको याद छैन। तर, नेपालमा मनाएका केही स्मरण छन्। विशेषगरी हाम्रो खड्का परिवारले मान्ने, भाकल गर्ने मन्दिर ‘कुल थान’ छ। त्यहाँ गाँउभरिका डेढ–दुई सय मान्छे भेला हुने, एक हिसाबले बजारजस्तै लाग्थ्यो।
अरु समय गाउँ आएका बेला घरमै बसे पनि दसैंमा त मन्दिर जानैपर्‍यो। त्यही मौकामा बुबा ममीले सबै आफन्तजनलाई परिचय गराउँदै ढोग्न लगाउनुहुन्थ्यो। यो फलानो, ऊ फलानो भनेर। सँगै मन्दिरमा गएर जोडजोडले घन्टी बजाउने जस्ता कामले खुसी बनाउँथ्यो।
दसैंमा पूजाआजा गर्ने, होम गर्ने कार्यक्रम हुन्थे। अनि, १२/१ बजेसम्म खाना नखाई बस्नुपर्ने, बलि दिने काम सकिएपछि बुबाले थोरै भए पनि काँचो मासु खुवाइ दिनुहुन्थ्यो। अनि अष्टमीको दिन भगवानलाई चढाउन तयार पारेको पुरी (नैवेद) पकाएको र खाएकोे कुराहरू सम्झँदा रमाइलो लाग्छ, त्यो बचपन अनि दसैं सम्झँदा आनन्द लाग्छ।
टीका, जमरा अनि दक्षिणासम्बन्धी केही याद छैन?
(हाँस्दै) किन नहुनु। टीका, जमरा लगाउने अनि कसले कति दक्षिणा दिन्छ खुब चासो हुन्थ्यो। दक्षिणा पाएपछि फेरि यसलाई कहाँ खर्च गर्ने भन्ने चिन्ता हुन्थ्यो। तर, खर्च गर्ने त कहाँ हुनु र! चकलेट, खेलौना यस्तैमा सकिन्थ्यो।
बच्चा बेलामा सबैभन्दा धेरै दक्षिणा कति पाउनुभएको थियो याद छ?
मेरो मामाघरको हजुरबुबाले अलि धेरै दक्षिणा दिनुहुन्थ्यो। त्यो बेला मलाई ५ सय दक्षिणा दिनुभएको थियो। कक्षा ६÷७ मा पढ्दा होला, हजुरबुबाले दिनुभएको ५ सय दक्षिणा त यति धेरै पैसा हो जस्तो लाग्थ्यो, भो अहिले कुरा नगरौं।
अनि थोरै दक्षिणा पाएको नि?
थोरै पाएको त्यति याद छैन। हामी केटाहरूलाई गाउँमा टीका र आशीर्वादमात्र दिने। सायद अहिले पनि त्यस्तै नै छ। अनि, दक्षिणा पाए पनि कसको धेरैमा ध्यान जाने। प्रायले थोरै नै दिने, अनि याद नै नहुने।
दसैंको त्यो लामो बिदाको समयलाई कसरी सदुपयोग गर्नुहुन्थ्यो?
गाउँका साथीहरू धेरैजना पिङमा रमाउँथे। तर, म चाहिँ स्कुलको बगैंचामा राखिएको सानो पिङ खेलेर होला दसैंमा त्यसमा धेरै रमाउदिन थिँए। चङ्गा उडाउने, गाउँ घुम्ने घरमै बसेर खाने यस्ता कुरामा बढी समय खर्चिन्थेँ।
जीवनमा दसैं मनाउन नपाएर दुःखी र निराश हुनु परेका वर्ष पनि छन्?
म काठमाडौंमा कलाकार बन्ने होडमा थिएँ। परिवारको असन्तुष्टिका बीच मलाई कलाकार बन्नैपर्ने थियो। त्यो बेला एक वर्ष मैले दसैंको माहोल गुमाएको छु। काठमाडौंमै एक्लो दसैं मनाएको छु। ममी बुबा भारतको पुनामै हुनुहुन्थ्यो। उताबाट नेपालगञ्ज घर जा भन्दै हुनुहन्थ्यो तर मलाई जान मन लागेन। काठमाडौं दसैंमा सुनसान हुने। त्यो वर्ष मेरो दसैं पनि प्राय सुनसान बनेको थियो।
puspa khadka 4
अब, यस वर्षको दसैं कहाँ, कसरी मनाउँदै हुनुहुन्छ, खर्च योजना के छ?
यो दसैं मेरो भारतमा वित्ने छ। भारतको पुना म र बहिनी जाँदैछौं। बुबा ममी उतै हुनुहुन्छ। त्यसैले पुनामै टिका,जमरामा रमाउने हो। पारिवारिक जमघट दुःख सुखका कुरा त आउने नै भए।
खर्चको कुरा गर्दा हवाइ यात्रा त्यसै पनि महंगो हुन्छ नै। सँगै किनमेलको काम पनि छ। पुनामा अलि–अलि परिवारसँग घुम्नै प¥यो। त्यसले १ लाखको योजना बनाएको छु। पुग नपुग्ने पछि नै थाहा होला।
दसैंमा खानपान अलि धेरै नै हुन्छ भनिन्छ, तपाईंको खानपान शैली कस्तो छ?
पहिला पहिला खानपानमा मतलब हुन्न थियो। जति खाए पनि केही नहुने। अझ गुलियो खानेकुरा त मैले देख्नै नहुने जति पनि मन पर्ने। मासुको परिकार पनि उतिकै मन पर्ने। एकदमै रुच्ने पनि मलाई। दसैंमा हल्का–फुल्का तास खेलेर रमाइलो पनि गरिन्थ्यो। तर, अहिले यी सबै कुराबाट अलि सावधान छु। केही दिनको खानपानले शारीरिक असन्तुलन भई नै हाल्छ। अनि सन्तुलनमा ल्याउन पनि उस्तै गाह्रो।
अन्त्यमा, आफ्ना प्रशंसकलाई दसैं विशेष के भन्न चाहनुहुन्छ?
एकदमै दिल खोलेर रमाउनुहोस्, दसैंका मेरो तर्फबाट दिल खोलेरै शुभकामाना। देश विदेशमा रहेर आफ्नो गाउँ, घर, परिवार अनि, दसैंको रमझमलाई सम्झेर बस्नुपर्ने बाध्यता हुनसक्छ। कारण, त्यस अघिका चाडपर्वलाई हामीले खुलेर, रमाएर यादगार बनाएका हुन्छौं र त सम्झनलायक बनेका हुन्छन् ती पल। त्यसैले जहाँ, जसरी हुनुहुन्छ रमाउनुहोस्। भनिन्छ नि मानिसले कि दुःख सम्झन्छ कि सुख। त्यसैले आफ्नो सामथ्र्य अनुसारको दसैं मनाऔँ। पाएका पलहरूलाई यादगार बनाऔं।
सँगै, परिवारलाई समय दिनुहोस्, केही समय भगवानका लागि पनि छुट्ट्याउनुहोस्। धन सम्पत्ति सक्किने गरी जुवातास नखेलौं, स्वास्थ्यलाई ख्याल गरौं, मदिरा सेवन कम गरौं।
original Posthttps://nepalnews.com/life-arts/9321-2019-10-06-12-41-59
प्रकाशित: Oct 06, 2019 | 20:09:38

Comments