
रहरसँगै कहिलेकाहीँ जीवनको बाटो नै बदलिन्छन्। अभिनेत्री निरुता सिंहको जीवन–रहर पनि त्यस्तै भए। सानैबाट हिरोइन् बन्ने रहर बोकेकी हिँडेकी सिंह कुनै बेला नेपाली फिल्म उद्योगमा चल्तीकै हिरोइन् भइन्।
नेपाली सिनेक्षेत्रमा उनको यात्राले गति लिँदै गर्दा रहर फेरिए। अनि, उनी अभिनय छोडेर ‘इन्टेरियर डिजाइनर’ बनिन्।
फिल्म ‘दक्षिणा’ (१९९४) बाट अभिनय यात्रा प्रारम्भ गरेकी सिंहले जीवनमा ६५ बढी नेपाली फिल्ममा काम गरिसकेकी छन्। दर्पण छाँया, दुःख, बन्धकी, आफ्नो मान्छेलगायत दजर्नौं सुपरहिट फिल्म दिएकी निरुता दार्जिलिङकी भए पनि उनले कर्मथलो नेपाल बनाइन्। तर, रहरै रहरका बीच उनी एकाएक मुम्बई हान्निइन्।
एक समय नेपाली फिल्म उद्योगमा निरुताकै हालिमुहाली थियो। उनी नेपाली फिल्म बजारकी ‘स्टार’ अभिनेत्री थिइन्। तर, एकाएक फिल्म बजारबाट गुमनाम भइन्। पेसा परिवर्तन गरिन् र मुम्बईमा ‘इन्टेरियर डिजाइनर’बनेर रमाउन पुगिन्।
उनी केही दिनअघि वीरगन्जमा आयोजित ‘स्वर्णिम फिल्म फेस्टिभलमा’ सहभागी हुन नेपाल आएकी छन्। सोही अवसरमा निरुताले नेपालन्युजका मनोज न्यौपानेसँग आफ्नो जीवनका भोगाइ, बाध्यता र रहरहरू साट्न भ्याएकी छन्।
आराम हुनुहुन्छ?
स्वस्थ छु भन्नुपर्छ। यो भन्दा अगाडि डेङ्गुले मेरो जुन हालत बनाएको थियो त्यो त सबैलाई थाहा नै छ। अहिले चलचित्र महोत्सवमा चिसोले केही गाह्रो भएको छ। अरू ठिकै भन्नुपर्छ।
नेपाली फिल्म बजारमा लामो समय हराए पनि तपाईंको क्रेज त बाँकी नै रहेछ नि?
एउटा कलाकार काम गरिसकेपछि जहिलै मायाको भोको हुन्छ। यस हिसाबमा फिल्म उद्योगमा लामो समयपछिको उपस्थितिमा पनि यस्तो क्रेज पाइरहेकोमा एकदमै खुसी छु। यसमा पनि भर्खरै वीरगन्ज ‘स्वर्णिम चलचित्र महोत्सवमा’ जुन प्रकारको माया पाएँ, यसले मलाई निकै खुसी बनाएको छ। मैले आफूलाई भाग्यमानी पनि ठानेकी छु। लाग्छ पहिलेभन्दा बढी माया अहिले पाइरहेकी छु, र सबैप्रति आभारी पनि छु।
फिल्म ‘दालभात तरकारी’बाट नेपाली फिल्म उद्योगमा कमब्याक गर्नुभयो, तर निरन्तरता दिन सक्नुभएन?
फिल्म ‘दालभात तरकारी’बाट नेपाली फिल्म उद्योगमा कमब्याक गर्नुभयो, तर निरन्तरता दिन सक्नुभएन?
नेपाली फिल्मका लागि त म जहिले पनि तयार छु। मेरो जुन अस्तित्व छ, त्यो फिल्मसँगको अस्तित्व न हो। मलाई लामो समयपछि महसञ्चारबाट ‘दालभात तरकारी’का लागि अफर आयो। किरण केसी, महजोडी जस्ता व्यक्तित्वबाट आएको अफरलाई मैले नकार्ने कुरै भएन।

मलाई लाग्थ्यो जीवनका धेरै वसन्त नेपाली फिल्म उद्योगमा खर्चिएँ तर, महजोडीसँग काम गर्ने रहर खड्किरहन्थ्यो। जब उहाँहरूबाटै फिल्मका लागि अफर आउँदा लाग्यो ओहो! अब महजोडीसँग फिल्म गर्ने पर्खाइ सकियो। यतिसम्म कि, जीवनमा अब उप्रान्त कुनै फिल्म गर्न पाइँन भने पनि कुनै गुनासो रहने छैन। नेपाली फिल्म उद्योग प्रवेश गर्नुको उद्देश्य पूरा भएको अनुभूत भयो।
‘दालभात तरकारी’मा दर्शकले त्यसभित्रको लाउड क्यारेक्टरलाई उति रूचाएनन्, यसले पनि कमब्याक निरन्तरतामा असर पुर्याएको हो?
सबैको आ–आफ्नो दृष्टिकोण हुन्छ। आ–आफ्नो रोजाइ हुन्छ। मलाई कसैले सोध्छ भने हरिवंशसँगको त्यो ‘लाउड पात्र’ धेरै नै मन परेको पात्र थियो।
के निरुता सिंहलाई जहिले पनि रोनाधोनामा मात्रै देखिनुपर्ने हो र? जीवनमा नयाँपन दिन नपाउने? नयाँ भूमिकामा रहेर फरक स्वाद पस्कन नपाउने?
मैले उक्त फिल्ममा काम गर्दा छायाङ्कनबाट नै पूर्ण मनोरञ्जन लिएकी थिएँ। र, त्यो पात्रमा काम गर्दा कुनै गुनासो पनि छैन। पात्रप्रतिको टिप्पणीले मसँग सरोकार पनि राख्दिैन। होला सबै समय दर्शकको अपेक्षा र पात्रले निर्वाह गरेको भूमिका मेल नखान सक्छ, तर म आफैंमा त खुसी छु नि।
फिल्म दालभात तरकारीपछि भुवन केसीको ‘क्याप्टेन’मा पनि मैले अभिनय गरेकै थिएँ। त्यसपछि भने, राम्रो–राम्रो क्यारेक्टर पाएँ भने नेपाली फिल्म उद्योगमा निरन्तर रहिरहने तयारीमा थिएँ। तर, सबैकुरा सोचेजस्तो कहाँ हुँदो रहेछ र!
त्यस्तो अरु खास कारण नै थियो र?
नेपालगन्जको फेस्टिभलमा सहभागी भएर फर्केपछि मेरो घाँटीको पछाडिपट्टी दुखाइ महशुस भयो। हुन त म पहिल्यैबाट ‘स्पन्डलाइटिस्ट’ को बिरामी। यसकै कारण हुनसक्छ भनेर बेवास्ता गरें। पेनकिलर खाँदै फिल्म दालभात तरकारीको डबिङ सकेर मुम्बई फर्किएँ। पछि त्यही पेनकिलर नै मेरो अभिसाप बन्यो। झन्–झन् गाह्रो भयो। दुखाइ खप्नै नसक्ने अवस्थामा अस्पताल भर्ना भएपछि थाहा भयो डेङ्गु भएको रहेछ। नेपागन्जमा रहँदा लामखुट्टेले टोकेको अस्पताल पुगेपछि डेङ्गुको प्रभाव भेटियो।

जसले २५ दिन अस्पताल र बाँकी तीन महिना बेड रेस्टमा बस्नुपर्यो। यतिसम्म दुखाइ खप्नुपर्यो कि, लाग्थ्यो मेरो जीवनको अन्त्य नै यही हो। २४ सै घन्टा दुखाइले गर्दा ऐया–ऐया भन्दैमा बित्थ्यो।
२५ दिनको अस्पताल बसाइमा डक्टर आफैं चकित थिए। हरेक अङ्गको एमआरआई गरिसक्दा पनि म मा कुनै परिवर्तन थिएन। उहाँहरू भन्नुहुन्थ्यो– डेङ्गुका धेरै बिरामी हामीकहाँ आउँछन्, तर यस्तो दुखाइ लिएर त कोही आएकै छैन।
लाग्थ्यो कि म एक मिनेटसम्म बेहोस हुन पाए हुन्थ्यो। जसले, मेरो दुखाइ महशुस गर्न नपरोस्। तीन महिनासम्मको बेड रेस्टमा मेरो दुखाइ/मेरो अवस्था देखेर घरपरिवार ठूलो पीडा/चिन्तामा हुनुहुन्थ्यो। अगाडि सामान्य रूपमा प्रस्तुत भए पनि मप्रति कारुणिक भावमा रोइरहेको पाउथें। लाग्थ्यो अब यो खप्नै सक्दिनँ। अति भइसक्यो। अब त आत्महत्या नै गर्छु भन्ने हदसम्म पुगेकी थिएँ।
डेङ्गुकै कारण त्यस्तो दुखाइ मैले त भोगें नै, सायद अरुले भोगेका छैनन् होला र भोग्न पनि नपरोस्। जसले कमब्याक यात्रा निरन्तर रहने कुरै भएन। घरपरिवार र शुभचिन्तकहरूको आशिर्वादका कारण आज सञ्चो भएँ। यतिमै खुसी छु।
लामो समय अस्पताल बसाई र बेड रेस्टपछि जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हो?
हो, त्यो भन्दा अगाडिसम्म आफ्नो बिरामीपनलाई पनि बेवास्ता गर्थें। पेनकिलर खाने, काम गर्ने। काम जति प्यारो मलाई केही लाग्दैनथ्यो। निद्रा, भोक, तीर्खा त्यागेर काममै खट्ने बानी।
तर, जब डेङ्गुले थला पार्यो ‘स्वास्थ्य नै धन हो’ भनेर यसै भनिएको होइन रहेछ। यो भोगाइमा नयाँ अध्याय पढेकी छु। स्वास्थ्य ठीक छ भने सब ठीक छ, आफू नै ठीक छैन भने केही ठीक छैन। स्वास्थ्यको मामलामा स–सानो विषयमा पनि गम्भीर हुनुपर्ने रहेछ। त्यसैले आजभोलि म आफ्नो स्वास्थ्यप्रति गम्भीर छु।
निरुता सिंहको ‘करिअर ग्राफ’लाई सरसर्ती पल्टाउँदा ६५ बढी फिल्ममा काम गरिसक्नुभएको छ। योबीचमा तपाईंले नेपाली फिल्म उद्योगलाई कसरी बुझ्नुभएको छ?
जतिबेला म फिल्म उद्योगमा प्रवेश गरेकी थिएँ त्यो समय नेपाली फिल्मले बल्ल लय लिँदै गरेको अवस्था थियो। मलाई लाग्छ त्यो भन्दा अघिसम्म ४–५ वर्षमा मात्र फिल्म तयार गरिन्थ्यो। हामी दार्जीलिङमा बस्दा पनि निकै पातलो फिल्म हेर्न पाइन्थ्यो।
त्यो समय हिरो, हिरोइन भन्ने बित्तिकै भुवन केसी र तृप्ती नदाकर दिमागमा आउँथ्यो। निर्देशक भन्ने बित्तिकै तुलसी घिमिरे हो, यस्तै–यस्तै...। यसको अर्थ फिल्मको सङ्ख्यात्मक वृद्धि नै न्यून थियो। मैले फिल्म उद्योगमा प्रवेश गरेको सयम नेपाली फिल्म उद्योग केही चलायनमान भइरहेको थियो।
त्यो समय हिरो, हिरोइन भन्ने बित्तिकै भुवन केसी र तृप्ती नदाकर दिमागमा आउँथ्यो। निर्देशक भन्ने बित्तिकै तुलसी घिमिरे हो, यस्तै–यस्तै...। यसको अर्थ फिल्मको सङ्ख्यात्मक वृद्धि नै न्यून थियो। मैले फिल्म उद्योगमा प्रवेश गरेको सयम नेपाली फिल्म उद्योग केही चलायनमान भइरहेको थियो।
त्यो समय थोरै बजेट १६ लाखसम्ममा राम्रा–राम्रा फिल्म बन्थे। बजेट धेरैमा ३०–३२ लाखसम्म पुग्थ्यो। ४०–५० लाख पुग्दा त ‘ओभर बजेट’ भन्ने गरिन्थ्यो। यसरी फिल्म बन्ने माहोल बढ्दै गयो।

सन् २००५ पछि लय लिँदै गरेको फिल्म क्षेत्र अराजक बन्न पुग्यो। यतिसम्म कि अन्य क्षेत्रबाट हारेकाहरू पनि फिल्म क्षेत्रमा भित्रिए। जसले फिल्म उद्योगलाई नै निराश बनायो। सरस्वती र नाट्यश्वरले बास गरेको पवित्र फिल्म क्षेत्रलाई बद्नाम गर्ने अखडा बनाउन थालियो।
तर, जब डिजिटल दुनियाँमा नेपाली फिल्म उद्योगले फड्को मार्यो साँच्चै प्रसंशनीय महशुस हुन थालेको छ। नेपाली फिल्म उद्योगको पहिले र अहिलेको स्तर आकाश र जमिनको फरकमा उभिएको छ। मुम्बईमा रहेर पनि आफ्नो काम र उद्योगप्रति गर्व लाग्छ कि म पनि एक कलाकार हुँ भनेर।
अब नेपाली फिल्म उद्योगका लागि निरुता सिंहका केही नयाँ सङ्कल्प छन्?
नेपाली फिल्म उद्योगले मेरो लागि जति दिएको छ, त्यसको १ प्रतिशत पनि फिर्ता गर्न त म सक्दिनँ होला। आज मुम्बईमा पनि जति माया पाइरहेकी छु, यही उद्योगका कारण पाएकी छु। यतिसम्म कि त्यहाँका हरेक व्यक्तिले नेपाली कलाकार भनेर आदर सम्मान गर्नुहुन्छ। यति हुँदाहुँदै मैले मेरो कर्मक्षेत्रका लागि केही नगर्ने भन्ने त हुँदैन।
त्यस्तो भयङ्कर योजनासहित यस्तै गर्छु भन्न त सक्दिन, तर केही न केही पक्कै गर्छु।
यसको मतलव फिल्म निर्माण/निर्देशन गर्ने योजना हो?
अहिले नै यसलाई स्वीकार्ने अवस्थामा पनि छैन। फिल्म निर्देशन तपाईंले प्रश्न गरेजस्तो र सोचेजस्तो सहज पक्कै हुँदैन। ‘डाइरेक्सन इज नट अ जोक।’ फिल्म उद्योगमा काम गरेको २०–२५ वर्ष भएर पनि निर्देशन गर्ने आँट ममा छैन। भनिन्छ, ‘डाइरेक्टर इज अ क्याप्टेन अफ द शिप’ त्यसैले यो उति सहज काम होइन।
मलाई सुटिङका हरेक दिन पहिलो दिनझैं लाग्छन्। हरेक सुटिङ मेरा लागि डेब्यु जस्तै हुन्छन्। ‘दक्षिणा’ देखि ‘दालभात तरकारी’ सम्मको अभिनय यात्रामा हरेक फिल्मका हरेक दृश्यमा आफ्ना त्रुटी भेट्छु। लाग्छ हरेक काममा म विद्यार्थी हुँ। अझै म सिकिरहेकी छु र सिक्न बाँकी छ। यसकारण निर्देशन आफैंमा मजाक होइन। निर्देशक बनिहाल्ने मेरो औकात भइसकेको जस्तो आफैलाई पनि लाग्दैन।
यति हो, नेपाली फिल्म उद्योगका लागि केही गरें भने म आफैं गर्नेछु। त्यसका लागि सिकिरहेकी छु। यति हो, म केही गर्छु भने कोहीमाथि आश्रित रहने छैन।
भनेपछि निरुता सिंहलाई नेपाली दर्शकले चाँडै फिल्म निर्देशकको रूपमा पाउनेछन्?
वाचा गर्न त सक्दिन तर, निर्मात्री, निर्देशक वा प्रोडक्सन युनिटमार्फत कुनै प्रोजेक्ट अवश्य लिएर आउनेछु।
नेपाली फिल्मप्रति यति धेरै आकांक्षा बोकेर पनि अभिनय क्षेत्रबाट अलग्गिनुको कारण के थियो?
मैले अघि पनि भने, जुन समय हाम्रो उद्योगमा २–४ जना यस्ता व्यक्तिहरूको प्रवेश भयो, उनीहरूले यस क्षेत्रलाई ‘मजाक’ बनाइदिए। सबैलाई मुछ्न मिल्दैन तर, केही व्यक्ति जो दुई दिन छायाङ्कन हेरेर फिल्म निर्देशक बने। अन्य क्षेत्रबाट हारेकाहरू फिल्म क्षेत्रलाई विकल्प देख्न थाले। अनि, नायिकाहरूसँग रोमान्स गर्न पाइन्छ भन्ने आशमा निर्माता बने।
यतिसम्मकी सुपरमार्केटमा सपिङमा जाँदा पनि दर्शकहरूले फिल्म उद्योगको कुरा काट्न थाले। फिल्म उद्योगभित्रका त्यस्ता कुरा बाहिरसम्म पुग्नुले भएको इज्जत बचाउन पनि कठिन थियो।
नेपाली फिल्म उद्योगबाट बाहिर निस्कने मेरो योजना आजको भोलि तय भएकै होइन। सन् २००५ बाट फिल्म क्षेत्रमा भित्रँदै गरेको विकृतीलाई मध्यनजर गरेरै म त्यो निश्कर्षमा पुगेकी थिएँ।
एउटा उचाईमा रहिरहँदा नै त्यस क्षेत्रबाट बाहिर निस्किन सकियो भने प्राप्त मानसम्मान र प्रतिष्ठा कायम हुनसक्छ। प्रशंसक र शुभचिन्तकहरूको माया र सद्भाव कायम रहिरहन्छ भन्ने भावमा मैले अभिनय यात्राको विकल्प खोजेकी थिएँ।
अर्कातिर मलाई ‘इन्टेरियर डिजाइन’को सोख पनि सानैबाट थियो। जसले अभिनयको विकल्प रोज्न सहज बनायो। यद्यपि, हालको मेरो कर्म पनि त फिल्म उद्योगभन्दा बाहिरको होइन। मुम्बईमा पनि प्रोडक्सन हाउसभित्रै रहेर काम गरिरहेकी छु। नेपाली कलाकर्मको इज्जत पाइरहेकी छु।
भनिन्छ, फिल्म उद्योगमा अभिनेत्रीहरूको आयु छोटो हुन्छ। यसकै प्रभाव तपाईंमा पनि देखिएको त होइन?
नेपाल र भारतको साँस्कृतिक विशेषता एउटै भएर हो या, अरू केही दुवै देशका हिरोइनहरूको काम गर्ने अनुमानित आयु ८ वर्षको मानिन्छ। तर, यो मुद्दामा म आफूलाई भाग्यमानी ठान्छु। मैले मेरो समकालीन, अग्रज र नयाँ पुस्ताका सबै नायकहरूसँग काम गर्ने मौका पाएकी छु। त्यसमा पनि कहिले प्रेमिका बनेर त कहिले उहाँहरूकै अविभावक बनेर। यस हिसावमा मेरो काम गर्ने आयु अनुमानितसँग मेल खाँदैन।
यदि हामीले हलिउडलाई हेर्ने हो भने हरेक नायिकाहरू ३०/४० वर्षसम्म मुख्यपात्रमा रहेर काम गरिरहेका हुन्छन्। तर, भारत नेपालमा हेर्ने हो भने बढीमा ८/१० वर्ष मै नायिकाहरूको क्रेज खस्किएको पाइन्छ।
यद्यपि, मुख्य पात्रलाई छोडेर बलियो पात्रमा पनि काम गर्न नसकिने होइन। तर, हाम्रो उद्योगमा यसको अभाव छ। पछिल्लो समय भारतमै हेर्ने हो भने, हेलिकप्टर इला, दृश्यम जस्ता फिल्म हाम्रो उमेर सुहाउँदा छन्। यसको अर्थ यो उमेरमा पनि कलेज गर्ल वा प्रेमिका नै भएर फिल्ममा रहनुपर्छ भन्ने त हुँदैन। त्यसका लागि सुहाउँदो स्क्रिप्ट र निर्माण हुनुपर्दछ।
उमेरगत हिसावमा तपाईंमा मानसिक परिवर्तन आए होलान्, तर शारीरिक सुन्दरतालाई नियाल्दा नेपाली हिरोइनहरू भन्दा कम पनि देखिनुहुन्न नि?
(हास्दै) अरे वा! फूलको आँखामा फुलै संसार भनेझैँ तपाईंको आँखामा म राम्री देखिएँ होला अथवा माया गर्नेहरूका आँखामा म त्यस्ती देखिएकी हुनसक्छ!
यो सुन्दरतालाई लिने हो भने आजसम्म पनि निरुता सिंह जुनसुकै क्यारेक्टरमा रहेर काम गर्न तयार हुनुपर्ने होइन र?
पक्कै पनि पछि पर्दिन। पछि पर्नुपर्ने कारण त केही छैन। हामी कलाकार हो। कलाकार हर किसिमका भूमिका गर्न हामी तयार हुनुपर्छ र भएकै हुन्छौं।
यसलाई आधार मान्ने हो भने, निरुता सिंहको अभिनेत्री यात्रा त लामो हुनुपर्ने होइन र?
(अन्जान भावमा हाँस्दै) खै...! त्यो त मलाई थाहा छैन। सायद केही होला कि! समय र उमेरअनुसार जे–जे भयो मैले स्वीकार गर्नैपर्छ। जे भइरहेको छ ठीक छ।
अब भोलिका दिनमा मलाई मेरो उमेर, शारीरिक, मानसिक व्यवहारअनुरूपको क्यारेक्टरमा रहेर काम गर्ने अवसर दिन्छ भने म त तयार छु। (हाँस्दै) मुम्बईमा बस्दै आए पनि फिल्मक्षेत्रमा काम गर्नका लागि मैले एउटा खुट्टा उचालिसकेको छु।
निरुता सिंह जो आफैंमा चर्चित र सफल अभिनेत्री, अर्कातिर एक इन्टेरियर डिजाइनर पनि, यी दुई काममध्ये कुनमा बढी ‘इन्जोय’ गरिराख्नुभएको छ?
(केहीबेरको मौनता) मजाभन्दा पनि म त कलाकार हुँ नि। साँच्चै नै म क्यामेरा अगाडि काम गर्दा–गर्दै मर्न चाहन्छु। क्यामेरामा जति शक्ति छ, त्यसलाई म वर्णन गर्नै सक्दिँन। क्यामेरा अगाडि उभिँदा जुन ऊर्जा आउँछ त्यसलाई अभिव्यक्त गर्ने शब्द पनि मसँग छैन।
यति हुँदा–हुँदै मान्छेका हरेक इच्छाहरू पूरा पनि त हुँदैनन्। यो हुँदा–हुँदै पनि मेरो अभिनय र कलाकारिताको विकल्प छैन। यद्यपि, म अहिले जुन काम गरिरहेकी छु, यो पनि फिल्म उद्योगभन्दा बाहिरको होइन। मुम्बईमा पनि आफ्नै साथीको प्रोडक्सन हाउसभित्र रहेर इन्टेरियर डिजाइनर सल्लाहकारको रूपमा काम गरिरहेकी छु।
यसको अर्थ, जीवनमा जे काम गरे पनि फिल्म क्षेत्रबाहिर रहेर काम गर्न मलाई सहज हुने छैन।
मुम्बईमा रहेर प्रोडक्सन हाउसभित्रै डिजाइनरको काम गरिरहँदा कहिलै अभिनयको अफर आएन?
मुम्बईमा मैले आफ्नो कामको परिचय म आफैंले दिनुपरेकै छैन। जतिबेला त्यहाँको प्रोडक्सन हाउसलगायत साथीहरूले गुगलबाट मेरो बारेमा थाहा पाए, त्यहीबाट एक प्रकारको मानसम्मान पाउँदै आएकी छु।
सुरुसुरुमा उनीहरू भन्ने गर्थे, ‘निरुताजी तपाईंले जति त हाम्रो ऐश्वर्य रायले पनि काम गर्नुभएको छैन।’ मेरो कामको अनुभव र नेपाली फिल्म उद्योगले दिएको अवसरबाट पाएको मानसम्मानका आधारमा मुम्बईमा रहेर पनि लाग्छ नेपाली फिल्म उद्योगकै प्रतिनिधित्व गरिरहेकी छु।
कतिपयले भन्ने गर्छन्, ‘निरुता नेपालको रजनीकान्त हो।’ यदि म आफैंमा नराम्रो हुने हो भने त्यहाँ मलाई हेर्ने नजर पनि नराम्रै हुन्थ्यो होला। तर, आफूले आफैंलाई एउटा स्तरमा कायम राखेर बस्न सफल छु। त्यो नै मेरो लागि ठूलो कुरा हो। नेपाली फिल्म उद्योगले मलाई दिएको सम्मान हो।
बाँकी अभिनय अफरको कुरा गर्दा, त्यहाँ बन्ने गरेका वेबसिरिज, सर्ट मुभिजका लागि धेरै नै आग्रह गर्नुहुन्छ। तर, म आफैं प्राप्त अफरहरू अस्वीकार गरिरहेकी हुन्छु।
पछिल्लो समय धार्मिक पुस्तक ‘हनुमान चालिसा’माथि रहेर तयार हुन लागेको भिडियो सामग्री निर्देशनको जिम्मा पाएकी छु। तयारी पनि पूरा भइसकेको छ। अब मुम्बई फर्केर त्यसलाई पूरा गर्न लाग्नेछु।
Comments
Post a Comment