सेलेब्रिटीसँग अन्तरंग: भन्नेले भनून्, ‘ऊ त सांगीतिक दुनियाँबाटै मरेर गयो’

नेपाली संगीत क्षेत्रका चम्किला नक्षत्र हुन्, गायक प्रताप दास। रियालिटी शो ‘नेपाली तारा’को स्टेजबाट गायनमा उदाएका प्रताप अर्को रियालिटी शो ‘नेपाल आइडल सिजन १’बाट एकाएक चर्चामा आए।
नेपाल आइडल अघिनै नेपाली संगीत बजारमा पहिचान बनाएका प्रताप नेपाल आइडलको स्टेजबाट झन् चम्किए। प्रतियोगिताको सेकेन्ड रनअरअप भए पनि दर्शकमाझ उनको क्रेज कम थिएन।
सामान्य परिवारमा जन्मिएका प्रताप कडा मिहिनत र संघर्षले सफल बने। सशक्त गायन पक्ष उनको सफलताको दरिलो आधार थियो, सँगै संगीतप्रतिको साधना पनि। कुनै समय कोरसमै गीत गाउन पाए पनि २/४ रुपैयाँको जोहो हुन्छ कि भनेर स्टुडियोमा कुरिरहने प्रताप आज नेपाली संगीतप्रेमीमाझ प्रिय छन्। संगीतकर्ममा व्यस्त छन्। उनै गायक प्रताप दासले नेपालन्युजका मनोज न्यौपानसँग गरेको विशेष अन्तर्वार्ताः
गायन यात्रा कसरी चलिरहेको छ?
गायन यात्रा एक हिसाबले चलिरहेकै छ। दर्शक स्रोताले जसरी माया गरिरहुन भएको छ, जसरी विश्वास गरिरहनु भएको छ, त्यसलाई अझ कसरी बढाउने भन्ने ध्यानमा छु।
अर्कातिर पाश्र्व गायनमा अलि व्यस्तता छ। फिल्मका केही गीतमा काम भइरहेको छ। सँगै विभिन्न सांस्कृतिक कार्यक्रम(कन्सर्ट)मा व्यस्त छु।
नेपाल आइडलको सेकेन्ड रनरअप हुनुभन्दा अघि र पछिको सांगीतिक भोगाइ के-कस्ता रहे?
नेपाल आइडलभन्दा अघि पनि रियालिटी शो ‘नेपाली तारा’मा पनि चौथो बन्न सफल भएको थिएँ।
त्यसअघि कलानिधि इन्दिरा संगीत महाविद्यालयको एउटा विद्यार्थीका रूपमा थिएँ। यद्यपि, त्यस बेला संगीत त पढ्थेँ, तर किन पढिरहेको छु, आफैंलाई थाहा थिएन। पछि भाग्यमानी प्रतिस्पर्धीका रूपमा नेपाली ताराको चौथोसम्म भएँ। राष्ट्रिय टिभीमा आउने मौका पाएँ।
त्यसयता स्टुडियो जाने रेकर्ड गराउने, सिक्ने मौका पाइरहेँ। यसको अर्थ आफ्नो भोकल कहाँ–कहाँ कसरी प्रयोग गर्न सकिन्छ। त्यो बुझ्ने जान्ने अवसर पाएँ। सँगै नेपाल आइडल आयो, त्यहाँ पनि धेरै कुरा सिक्न पाएँ।
यति हो, ‘रियालिटी शो’ भन्दा अघि म विद्यार्थी थिएँ, सिकिरहेको थिएँ। अहिले पनि विद्यार्थी नै छु, तर त्यो सिकाइ कसरी दरिलो बनाउने? कसरी मजबुत हिसाबमा प्रस्तुत हुने अनि सिकाइलाई कसरी सही सदुपयोग गर्ने भन्ने विषयमा ‘रियालिटी शो’ पछि जान्ने अवसर पाएँ।
तपाईं आफैंले भने झै तपाईं ‘लक्की’ संगीतकर्मी हो र?
हो, म आफूले आफैंलाई लक्की नै ठान्छु। ‘रियालिटी शो’, त्यसमा पाएको दर्शक, स्रोताको माया, भोट अनि गायन सबै कुरामा लक्की हुँ। प्रतिस्पर्धाको मैदानमा अरुभन्दा फरक प्रस्तुतिका साथ त्यो स्थानसम्म पुग्न सक्नु नै भाग्यमानी हुँजस्तो लाग्छ।
नेपालमा हुने गरेका विभिन्न ‘रियालिटी शो’का विजेतामध्ये तपाईं सांगीतिक बजारमा केही सफल मानिनुहुन्छ नि?
त्यसको लागि धन्यवाद! कहाँको बजारमा गनिन्छु म आफैंलाई त थाहा भएन। तर, ‘नेपाली तारा’ पछिको सांगीतिक यात्रामा मैले धेरै फिल्ममा पाश्र्व गायनमा काम गर्ने मौका पाएँ। यसले मलाई बजारमा चिनाउन सहयोग पुग्यो।
र, नेपाल आइडलपछिको गायनयात्रा झनै सहज बन्ने नै भयो। बाँकी सफल असफल भन्ने कुरा त आफ्नै ठाउँमा होला।
नेपाल आइडलकै बिजेता तथा फस्ट रनअरअपका कुरा गर्दा उनीहरूको भन्दा प्रताप दासकै सांगीतिक माहोल बलियो छ भन्ने सुनिन्छ?आफूले आफैंलाई कसरी मूल्याङ्कन गर्नु भएको छ?
सफलता भन्ने कुराले त्यति अर्थ राख्छजस्तो मलाई लाग्दैन। सफलता/असफलता भन्ने कुरा जीवनमा हुन्छ नै, तर, कामप्रतिको लगाव झुकाव नै ठूलो कुरा होजस्तो लाग्छ।
हामी संगीतकर्मीको कुरामा कतिपय गीत भयंकर सफल होलान्, कति असफल होलान्, तर कर्म गर्न त छाड्नु भएन नि। हो, हरेक मान्छे सफलता अनि द्रव्यको भोको हुन्छ।
त्योभन्दा पहिले कर्ममा निरन्तरता र निष्ठा अपरिहार्य हुन्छ। लाग्छ, निरन्तर मिहनेतले कुनै न कुनै दिन अवश्य सफल बनाँउछ।
यति हो, मृत्युपछि पनि भन्नेले भनून् ‘ऊ त संगीतिक दुनियाँबाटै मरेर गयो।’
कुनै पनि विषयको एउटा उत्कर्ष विन्दु हुन्छ, जुन विन्दु नेपाल आइडलको दोस्रो रनरअप हुँदा तपाईंले प्राप्त गर्नु भएको थियो। हाल त्यसलाई निरन्तरता दिन कतिको कसरत गर्नुपरेको छ?
म जीवनमा ठूलो महत्वकांक्षा राख्दिनँ। जसले गर्दा जीवन जिउन सहज हुन्छ।
जीवनमा यस्तै हुनपर्छ भनेर अपेक्षा पनि राख्दिनँ। यस्तै गर्छु, यस्तै हुन्छु भनेर लागिपर्ने हो भने त्यही कुराले मान्छेलाई सिध्याउँछ। महत्वाकांक्षाले आफैंलाई खान्छ। काम गर्ने वातावरण नै संकुचित बन्छजस्तो लाग्छ। त्यसैले करिअरमा कर्म गरिरहन्छु। तर, फलप्रतिफलको आस कम राख्छु। यसले ‘फल/डाउन’ नै भए पनि करिअर अघि बढाउन सहज हुन्छ।
भनेपछि सांगीतिक यात्रासँग सन्तुष्ट हुनुहुन्छ?
करिअरको सुरुमा एक प्रकारको दुःख थियो। हरेक दिन एउटै पहिरन, एउटै चप्पल लगाएर स्टुडियो धाउनुपर्ने। कसैले गाउन दिइ पो हाल्छ कि भनेर आस–आसमै दिन कट्थ्यो। यतिसम्मकि स्टुडियोभित्र पसेर कोरसमा मात्र स्वर भर्न पाएँ भने पनि पाँच सय, हजार रुपैयाँ खर्च जुट्थ्यो कि भन्ने आस हुन्थ्यो।
अग्रज कलाकर्मीले यो स्टुडियोमा, ऊ स्टुडियोमा भनेर सामाजिक सञ्जालमा पोस्ट गर्दा, एयरपोर्ट पुगेर यो/ऊ कार्यक्रमका लागि यो देशको यात्रा भनेर पोस्ट गर्दा मन हतारिन्थ्यो। मानसपटल उनीहरूजस्तै बन्न आतुर हुन्थ्यो।
अहिले ती दृश्य अनि, सपना एक प्रकारले पूरा भएको छ। अरुजस्तै गाउन पाएको छु, नेपाली बसोवास गर्ने प्रायः देशमा पुगेर गाउने अवसर पाएको छु। त्यसैल करिअरमा भगवानप्रति, सम्पूर्ण अडियन्सप्रति नतमस्तक छु, धन्य छु।
प्रताप दासलाई आफ्नो जीवनप्रति कुनै गुनासो छैन?
त्यस्तो त केही छैन। यति हो, उद्देश्यविहीन भएर संगीत सिकिरहँदा, केवल सिकाइमा मात्र ध्यान हुन्थ्यो। अरु कुनै उदेश्य नै थिएन।
तर, आज तिनै सिकाइका दिनहरू ‘मिस’ भएझैं लाग्छ। गुरुसँग पर्याप्त समय बिताउन नसक्नु, पर्याप्त रियाज गर्न नसक्नु, यी कुराहरूको अभाव सधैं खड्किन्छ।
जीवनमा आर्थिक पक्ष सबैले दरिलो बनाउनै पर्छ। सँगै जीवनमा प्राप्त भएका सफलता, सांगीतिक माहोल अनि क्रेज सबै कुरालाई यथास्थितिमा राख्न विभिन्न कार्यक्रम, देशविदेशतिर गाउन जानैपर्‍यो, स्टुडियो जानैपर्‍यो। त्यसैले मेरो अभाव भनेकै समय हो। सुरुका दिनझै समय पुग्ने भए म अझै राम्रो गर्न सक्थेँ होला कि !
अन्तमा, गायनमा त अब्बलै हुनुहुन्छ, अब फिल्ममा हिरो भएको कहिले देख्न पाउने?
समय आउँछ। हिरो बन्न धेरै अफर त आइसके नि! जजसले अभिनयको अफर गरे, उनीहरूका स्क्रिप्ट अझै म सँगै छन्।
म आफैंमा पनि फिल्मसम्बन्धी धेरै ज्ञान नभएको मान्छे, त्यसैले स्क्रिप्ट आए पनि हतार गरेको छैन। मनपर्ने स्क्रिप्ट आयो, र सोचेजस्तै भयो भने पक्कै गर्नेछु।
भन्ने वित्तिकै कहाँ हुन्छ र, शारीरिक/मानसिक रूपमा तयार हुन पनि त समय लाग्छ।
मनपर्ने स्क्रिप्ट र सोचेजस्तै चाहिँ कस्तो हो र?
(अट्टहाँससँग ) यस्तो उस्तो भन्दा पनि मलाई त अभिनय गर्न आउँदैन। त्यसैले, आफ्नो प्रस्तुति/उपस्थिति कडा होस्, तर भूमिका कम होस्।

Comments