मिस नेपालहरूको संकल्प-‘बोलेर होइन गरेर देखाउँछौं’-2019
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
मनोज न्यौपाने/सुजन श्रेष्ठ जेठ १५, २०७६ | बुधबार |
यस बर्षको मिस नेपाल प्रतियोगिताको फाइनल केही भिन्न र रोचक शैलीमा भयो। तारे होटलमा हुँदै आएको प्रतियोगिता यसपटक कीर्तिपुरस्थित एक विद्यालयको खुल्ला चौरमा भयो। नेपालकै ठूलो सौन्दर्य प्रतियोगिताको स्वाद चाख्ने मौका सर्वसाधारणले टिकट किनेरै पनि प्राप्त गरे।
प्रतियोगितामा ‘हामीले आफ्नो अधिकार र स्वतन्त्रतामा मात्र केन्द्रित हुनको साटो यदि हामी आफ्नो कर्तव्य र जिम्मेवारीमा केन्द्रित भयौं भने हामीले यो विश्वलाई अझ राम्रो बनाउन सक्छौँ, यो विषयमा तपाईंको विचार के छ?’ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर दिएसँगै चुनिएका थिए यस बर्षका उत्कृष्ट ५ मिस नेपाल।
२५ प्रतिष्पर्धीमध्ये उत्कृष्ट ५ टाइटल क्राउन जित्न सफल प्रतिस्पर्धी हुन्, अनुष्का श्रेष्ठ ‘मिस नेपाल वल्र्ड’, प्रदीप्ता अधिकारी ‘मिस नेपाल युनिभर्स’, रिया बस्नेत ‘मिस नेपाल अर्थ’, मिरा कक्षपति ‘मिस नेपाल इन्टरनेसनल’ र रोज लामा मिस नेपाल सुप्रानेसनल।
मिस नेपालको क्राउन हात परेसँगै अब पाँचै प्रतिस्पर्धी अन्तर्राष्ट्रिय क्राउनको दौडमा छन्। अन्तराष्ट्रिय प्रतिस्पर्धात्मक मञ्चमा आफ्नो उत्कृष्ट प्रस्तुतिसहित करियरको दह्रिलो जग हाल्ने अवसर र चुनौती छन् उनीहरूलाई। यससँगै नेपाल र नेपालीको माया, साथ र भरोसा पनि । यसैले जित्नै पर्ने दबाबमा पनि छन्।
मिस नेपालपछि समाज परिवर्तनका लागि कर्तव्य के हो तथा अन्तर्राष्ट्रिय ताजका लागि अबको संकल्प के भन्ने प्रश्नमा उनीहरूको जवाफ उस्तै–उस्तै छ। भन्छन्, ‘भनेर होइन गरेर देखाउनु छ।
के गर्दै छन् त मिस नेपाल २०१९ का विजेता?
मिस नेपालसम्मको यात्रा, अबको संकल्प र समाजप्रति विजेताहरूको उत्तरदायित्व सम्बन्धमा मिस नेपाल २०१९ का ४ प्रतिस्पर्धीहरूले नेपालन्युजका मनोज न्यौपाने र सुजन श्रेष्ठसँग गरेको कुराकानी भिडियोसहित :
व्यक्ति र समाजसँग सहकार्य गर्दै ताज जित्ने छु : अनुष्का श्रेष्ठ, मिस नेपाल वर्ल्ड
यस बर्षकी ‘मिस नेपाल वल्र्ड’ अनुष्का श्रेष्ठ गत वर्ष अष्ट्रेलियामा सम्पन्न मिस नेपाल ओसियानाकी विजेता पनि हुन्। त्यसैको प्रभावले उनी मिस नेपालको यात्रामा जोडिन पुगिन्।
५ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएकी अनुष्का मिस नेपालकै लागि नेपाल आइन्। २५ जनासँगको क्याम्पमा ६ सातासम्म आयोजक संस्था ‘द हिडन ट्रेजर’ सँग बिताइन्। त्यस अवधिमा उनले जे सिक्ने मौका पाइन्, त्यो नै जीवनको महत्वपूर्ण सिकाई थियो। भन्छिन्, ‘मिस नेपाल यात्राले मलाई फेरि व्यवहारिक विषयको विद्यार्थी बनायो। व्यक्तिगत होस् या समाजको विकासमा, जति अगाडि बढ्न र काम गर्ने आँट गर्छु, त्यसमा सबैको साथ र सहयोग चाहिन्छ भन्ने पाठ सिकायो। समयको महत्व सिकायो। सीमित साधनको प्रयोगबाट सन्तुष्टि प्राप्तिको आधार सिकियो।’
अनुष्का अब आयोजना हुने ‘मिस वल्र्ड’को तयारीमा छिन्। प्रतियोगिता आगामी डिसेम्बर ७ मा थाइल्याण्डमा हुँदैछ। प्रतियोगितामा सहभागिता र सफलताका लागि उनी अग्रज तथा यसै क्षेत्रका प्रभावशाली व्यक्तित्वसँग सहकार्य गर्ने योजनामा छिन् । भन्छिन्,‘जुन सिकाई र वातावरणले मलाई मिस नेपालको ताज जितायो, त्यहीँ प्रक्रिया कायम राख्ने योजनामा छु। प्रतियोगिताका लागि आफ्नो सतप्रतिसत बल लगाउने छु।’ आफ्नो उद्देश्य तथा लक्ष्यप्रति गम्भीर भावमा भन्छिन्, ‘म कतातिर जाँदैछु अथवा के–का लागि बल लगाउँदैछु त्यसमा भने आफू स्पष्ट हुन आवश्यक छ।’
सहकार्यले नै सफलता मिल्छ भन्ने आशयमा अनुष्का थप्छिन्, ‘सिकाउनु हुने व्यक्ति र समाजसँग सहकार्य गर्दै त्यसको सकारात्मक प्रभाव पार्ने हो। राम्रो काम गर्दै गयो भने अघि पक्कै बढिन्छ। मिस वल्र्डले जुन प्रकारको प्रभावकारी र प्रभावशाली व्यक्तिहरू खोजिरहनु भएको छ म पनि त्यस्तै बन्ने तयारीमा छु। बाँकी ताजको कुरा छ, सोही प्रभावकारिताबाट नै जित्ने विचार छ।’
अनुष्काका बाँकी कुरा भिडियोमा :...
काम गरेर देखाउने छु : रिया बस्नेत, मिस नेपाल अर्थ
मिस नेपालको यात्रा निकै उपलब्धिमूलक रहेको अनुभव छ मिस नेपाल अर्थ विजेता रिया बस्नेतसँग । छोटो समय भए पनि ‘द हिडन ट्रेजर’को क्याम्पमा रहेर सिकेका कुरा जीवनमा महत्वपूर्ण रहेको बताउँछिन् उनी ।
भन्छिन्, ‘जीवनमा साना कुराहरूले पनि अर्थ राख्छन्। जस्तो समय व्यवस्थापन, आत्मविश्वास तथा व्यक्तित्व विकासका कुरा, समूह र दबाबमा रहेर काम गर्नसक्ने क्षमताजस्ता बिषय मिस नेपालको यात्रामा सिकेजस्तो लाग्छ।’
हिजो समाजका लागि आफूले बोल्ने गरेका शब्द केहीले सुन्ने गर्थे। तर मिस नेपाल अर्थको ताज पहिरिएपछि उनलाई सुन्नेको संख्या बढेको छ। त्यसैले समाज परिवर्तनमा ब्युटि प्याजेन्ट र यसप्रकारका प्रतियोगीताको सशक्त भूमिका रहने रियाको तर्क छ।
उनको अबको गन्तव्य र उद्देश्य भनेको ‘मिस अर्थ’को ताज हो। त्यसका लागि अध्ययन अनुसन्धानमा लागिपरिसकेकी छन् उनी। भन्छिन्, ‘अहिलेको अवस्थामा वातावरणीय प्रतिकूलता तथा मौसम परिवर्तनसम्बन्धी मुद्दा धेरै नै व्यवहारिक छन्। यसप्रकारका मुद्दाबाट हामी स्वयं पनि ग्रसित छौं। त्यसैले मैले अध्ययन अनुसन्धानचाहिँ सुरु गरिसकेकी छु।’
उनका अनुसार यस बर्षको मिस अर्थका लागि आयोजकले कुनै पनि ‘थिम’ दिइसकेका छैनन् । ‘त्यसैले मिस अर्थकै लागि भनेर कामचाहिँ सुरु भएको छैन तर समाजमा साना तर उदाहरणीय काम गरेर देखाउन मन छ,’ उनी भन्छिन् ।
केहीदिन अघि पोखरा र कीर्तिपुरमा तयार गरिएका प्लास्टिक सडकको उदाहरण दिदै उनले भनिन्, ‘मैले भर्खरै सुनेकी थिँए कीर्तिपुरमा प्लास्टिकको सडक बन्यो रे, यस्तै साना–साना कुराको हामीमा चेतना आवश्यक छ। र व्यक्तिगत रुपमा पनि दैनिक जीवनमा केही न केही गर्नुपर्छ जस्तो लाग्छ।’
आफँै काम गरेर देखाउने अठोटका साथ थप्छिन्,‘यस्तै कुराको चेतना फैलाउन म आफैँले केही गरेँ भने जनताले त्यसलाई ‘फलो’ गर्नुहुन्छ जस्तो लाग्छ। र म यस्तै साना–साना कुराहरूबाट नै कामको सरुवात गर्छु।’
मिस नेपाल अर्थ रीया बस्नेतसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस् :
अन्तर्राष्ट्रिय क्राउन जित्नेमा निर्धक्क छु : मीरा कक्षपति, मिस नेपाल इन्टरनेसनल
सन् २०१८को मिस नेपाल अडिसनबाट नै बाहिरिएकी प्रतियोगी हुन् मीरा कक्षपति। तर एकवर्षपछि नै उनले मिस नेपाल २०१९मा ‘मिस नेपाल इन्टरनेसन’को ताज जितिन्।
अब मीराको परिचय फेरिएको छ। उनी सफल उद्घोषकबाट ‘मिस नेपाल इन्टरनेसनल’ विजेता बनेकी छन्। आफ्नो भिन्न स्वभावबारे बोल्दै मीरा सौन्दर्य प्रतियोगितालाई केही भिन्न कोणबाट व्याख्या गर्न रुचाउछिन्।
भन्छिन्,‘मिस नेपाल भनेपछि अधिकांशको बुझाई फरक छ। उहाँहरूलाई लाग्छ उनीहरू छोटो–मिठो बोल्छन्, उनीहरूको हिड्ने तरिका फरक हुन्छ, औपचारिकतामा बाँधिएर मिठो बोल्छन्। तर मचाहिँ त्यस्तो नभएर धेरै बोल्ने, नाचिरहन मन पराउने मान्छे भएर पनि मिस नेपाल इन्टरनेशनलको क्राउन जित्न सफल भएँ। त्यसैले मजस्तो बिन्दास मान्छे पनि मिस नेपाल बन्न सक्छ भन्ने सन्देश प्रवाह गर्न चाहान्छु।’
प्रतियोगिताको क्राउन हात परुन्जेल सम्ममा मीराका स्मरणयोग्य क्षण धेरै छन्। भन्छिन्,‘मिस नेपालको यात्रा धेरै नै रमाइलो भयो। विशेषगरी प्रतिस्पर्धी साथीहरूसँग नजिक भएर रमाउन पाएँ। अहिले लाग्छ मिस नेपालको टिम मिलेर कमेडी क्लब नै बनाउन सक्छौं होला।’
उनी थप्छिन्, ‘प्रतियोगिता नजिकिँदै गर्दा तनाव बढ्दै जान्थ्यो। तर म आफूलाई भाग्यमानी ठान्छु किनकि म धेरै ज्ञान नभएको मान्छे भएर पनि मैले उत्तर दिन सक्ने प्रश्नहरू थिए। अहिले प्रतियोगिता सकियो। ताज हात पर्यो र यसरी अन्तर्वार्ता दिन पाइरहेकी छु।’
मीराको अबको गन्तव्य भनेको अक्टोबर २५का दिन जापानमा आयोजना हुने ‘मिस इन्टरनेसनल’ ताजतर्फ हो। त्यसको तयारीमा जुटेकी छन्। भन्छिन्,‘प्रतियोगितामा जापानी भाषा, संस्कृति नजिकबाट जोडिएको हुन्छ। त्यसैले अहिले भाषा सिकिरहेको छु।’
ताज जित्न जापानी भाषामा फरर हुन मन छ उनलाई। यससँगै पूर्व ‘मिस नेपाल इन्टरनेसल’ सँग रहेर प्रतिस्पर्धाका बिषयमा जानकारी पनि लिइरहेकी छन्।
प्रतियोगिता र प्रतिस्पर्धाप्रति सकारात्मक बन्दै भन्छिन्, ‘पूर्व मिस नेपाल इन्टरनेसनलहरूसँग रहेर धेरै कुराहरू सिकिरहेकी छ।ु सिकेका कुरा प्रतिस्पर्धामा गएर मज्जाले प्रयोग गर्नेछु। यसको परिणाम पनि राम्रो आउनेमा आशाबादी छु। र, निर्धक्क पनि छु।’
मिस नेपाल इन्टरनेसनल मीरासँग गरिएको भिडियो कुराकानी हेर्नुहोस्ः...
नेपालको प्राकृतिक सुन्दरतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउछु : रोज लामा, मिस नेपाल सुप्रानेसनल
गत बर्षबाट सुरु भएको ‘मिस नेपाल सुप्रानेसनल’ २०१९ की बिजेता हुन् काठमाडौं जोरपाटीकी रोज लामा। ७ बर्षदेखि अमेरिका बस्दै आएकी उनी मिस नेपाल प्रतियोगिताकै लागि नेपाल फर्किइन्।
उनको नेपाल फर्कनुको उद्देश्य पूरा भएको छ। तर लक्ष्य भने बाँकी नै छ। लामा आउँदो डिसेम्बर ७ मा पोल्याण्डमा हुने ‘मिस सुप्रानेसनल अवार्डका लागि तयारीमा छिन्। भन्छिन्,‘अबको प्रतियोगिताबाट ममात्र नभएर देश पनि अघि बढ्ने हो। त्यसमा पनि नेपाली दर्शकमाथि विश्वास राखेर शुभकामना र शुभेक्षा पठाइरहनु भएको हुन्छ। त्यसैले उहाँहरूको विश्वासमा आफ्नो विश्वास थपेर अघि बढ्ने हो।’
मिस नेपाल प्रतियोगिताका लागि लामाको अुनभव अरुको भन्दा केही भिन्न छ। ‘धेरै साथीसँग रहेर रमाइलोसँग धेरै कुरा सिक्न पाईयो जसले गर्दा यात्रा केही लामो भयो। अनि हिजोजस्तो लाग्छ अन्नपूर्ण होटेलमा अडिसन दिएको, तर अहिले साथीहरूसँग छुटेर आज बिदाई हुनुपरेको छ। यसले यात्रा धेरै छोटो भएजस्तो लागेको छ।’
थप अनुभव सुनाउँदै भन्छिन्,‘अमेरिकामा रहँदा नेपालमा केही काम नै छैनजस्तो लाग्थ्यो, खासमा त्यस्तो होइन रहेछ। नेपालमा पनि काम छ। हामी सबैजना स्वदेश फर्किएर केही काम गर्न सक्छौं भन्ने कुरा मिस नेपालको यात्राले सिकायो।’
‘ग्रेस, फेसन र नेचुरल ब्युटी’को संगम विधाका रुपमा रहेको मिस सुप्रानेसनल टाइटल अधिकांसलाई थाहै नभएको उनले बताइन् । यस अर्थमा आममानिसमा यो टाइटलको परिचय दिनुपर्ने भार पनि छ लामामा। त्यसको सुनौलो अवसर हो पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रानेसनल’।
यसअघि सन् २०१८को अन्तर्राष्ट्रिय ‘मिस सुप्रानेसनल’ प्रतियोगिताको प्रतिनिधित्व गरेकी थिइन् महिमा सिंहले। प्रतियागितामा सिंहले धेरै मेहेनत गरेको उदाहरण दिँदै लामा आफू पनि राम्रो तयारीमा जुटेको बताउछिन्।
नेपालको प्राकृतिक सुन्दरतालाई अन्तर्राष्ट्रिय स्तरमा कसरी पुर्याउन सकिन्छ भन्ने सन्दर्भ यो टाइटलमा जोडिएको छ। त्यसैले प्रतिस्पर्धाको स्टेजमा नेपालको प्राकृतिक सुन्दरतासंगै व्यक्तिगत सुन्दरता जोडेर अरुभन्दा भिन्न प्रस्तुति दिने तयारीमा छिन् लामा।
‘मिस सुप्रानेसनल’को ताज जितेर नेपाल फर्कने विश्वासका साथ भन्छिन्, ‘ताज जित्न सक्छु होला वा कोसिस गर्नेछु भनेर अगाडि बढेको छैन, ताज मैरै लागि हो भनेर लागिपरेकी छु।’
मिस नेपाल सुप्रानेसनल रोज लामासँग गरिएको भिडियो कुराकानी हेर्नुहोस्ः...
Comments
Post a Comment