'नियतवश नेपाली फिल्म हलबाट निकालिन्छ': निर्देशक प्रदिप भट्टराइ

फिल्म ‘जात्रै जात्रा’ यतिबेला छैटौं सातामा प्रदर्शनरत छ। कथा र पात्र प्रवृत्तिद्वारा स्वभाविक हाँसोबाट दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्न सक्षम फिल्म समाजका सुक्ष्म विषयमा केन्द्रीत छ।
समय र परिस्थितिले समाजका पात्रलाई कसरी जात्रामय बनाउछ भनेर प्रस्ट्याउने चेस्टा ‘जात्रै जात्रा’भित्रको कथा गरेको छ। यहीकारण हुनुपर्छ दर्शकले छैटौं सातामा पनि साथ छाडेका छैनन्।
करिअरको १५ वर्षसम्म साना–ठूला पर्दापछाडि रहेर काम गरेका प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म हो ‘जात्रै जात्रा’। २०७३ मा फिल्म ‘जात्रा’ निर्देशनबाट ठूलो पर्दामा भित्रिएका प्रदीपले त्यसयता अन्य २ फिल्म निर्देशन गर्न भ्याए– ‘शत्रुगते’ र ‘जात्रै जात्रा’।
उनले निर्देशन गरेका तीनवटै फिल्म नेपाली बक्स अफिसमा सफल सावित भए। त्यसैले उनलाई यतिबेला ‘ह्याट्रिक’ वाला फिल्म निर्देशक पनि भन्न थालिएको छ।
उनै भट्टराईसँग नेपालन्युजका दर्जन प्रश्न :
फिल्म निर्देशन र सफलतामा ह्याट्रिक हान्नु भयो नि, तपाईंको सफलताको सूत्र के हो?
फिल्म प्रदर्शनमा आएपछि सफल हुँदा केही दिन खुसी हुनुपर्छ। सफलतामा पनि खुसी भइएन भने मानसिक अस्पताल पुग्नपर्ने हुन्छ। तर खुसी भनेको केही दिनका लागिमात्र हुन्छ। त्यसपछि त्यो सफलता एकप्रकारको दबाबका रुपमा देखापर्छ। किनकि यो फिल्म राम्रो भयो भने अब अर्को फिल्मलाई अझ राम्रो बनाउनुपर्ने हुन्छ। दर्शकमा ३ वटा फिल्म राम्रो बनाएको निर्देशकले अबको फिल्म कस्तो बनायो होला भन्ने एकप्रकारको मायारूपी दबाब आएको महसुस गरेको छु।
र, सफलताको सूत्रचाहिँ इमान्दारिता र लगनशिलता नै हो भन्छु म। सबैले आ–आफ्नो काम गर्नुहुन्छ त्यसमा पनि खटेरै गर्नुहुन्छ। तर लगनशिल भएरमात्र पुग्दैन किनकि लगनशिल भएर र इमान्दार भएर काम गर्नु भनेको फरक हो जस्तो लाग्छ मलाई। म फिल्म बनाउँदा जुनसुकै बिषयमा पनि बनाउन सक्छु। तर, दर्शकले फिल्म हेर्दा मेकरमा हुनुपर्ने इमान्दारिता देख्नुपर्छ जस्तो लाग्छ।
एकाध नेपाली फिल्ममात्र सफल भएका छन्। अधिकांश असफल हुन्छन्। यस्तो हुनुको कारण के हुन सक्छ?
मेरो विचारमा फिल्म बनाउनु भनेको दर्शकका लागि हो र असफल हुनु भनेको दर्शक फिल्मसम्म आइनपुग्नु हो। यसको अर्थ फिल्म र दर्शकबीच कनेक्सन टुट्नु हो। त्यसमा थुप्रै हात हुनसक्छन्। जस्तो दर्शकको चाहना अनुसारको फिल्म नबन्नु, दर्शक मनोविज्ञानको अड्कल काट्न नसक्नु, समय परिस्थिति पछ्याउन नसक्नुलगायत थुप्रै विषय हुन सक्छन्। तर यस मामलामा हामी धेरै नै भाग्यमानी रहेछौं। किनकि हाम्रो फिल्मसँग दर्शकको कनेक्सन टुट्न पाएन। हामीले पस्किएका कुरा उहाँहरूले स्वीकार गरिरहनु भएको छ।
फिल्म असफलताको कारण दर्शक र फिल्मबीचको कनेक्सन टुट्नु मात्र हो र?
फिल्ममेकरका हिसाबमा भन्दा यही नै हो। अझ भन्नुपर्दा फिल्मको स्क्रीप्ट हो। स्क्रीप्ट पोट्रे गर्दा फिल्म र दर्शकसँगको सम्बन्ध कति नजिक छ भन्ने कुरा मुख्य हुन्छ। फिल्मको प्रदर्शन, वितरण र फिल्म जुध्ने कुरा पनि असफलताका कारक हुन् तर मुख्य बिषय भनेको स्क्रीप्ट राम्रो भइदियो भने अन्य कुरासँग जुधेर अघिबढ्न सकिन्छ।
‘जात्रै जात्रा’ प्रदर्शनका क्रममा स्वदेश तथा विदेशका धेरै ठाँउमा घुम्नुभयो, नेपाली फिल्मप्रति आमदर्शकको मनोविज्ञान कस्तो पाउनु भयो?
हामी प्रदर्शनका क्रममा काठमाडौं, काठमाडौंबाहिर र विदेशमा पनि गयौं सबैतिर एकदमै माया पायौं। नेपालीहरू जहाँ भए पनि उहाँहरू आफ्नोपनको, आफ्नो कथा भएका फिल्म हेर्न उत्साहित हुनुहुन्छ। अधिकांसले सुनाउनुहुन्छ, ‘अरुको हाइफाइ कथा त विदेशी फिल्ममा पनि हेर्न पाइन्छ तर आफ्नोपनका कथा नेपाली फिल्ममा हेर्न पाइयोस्।’
एउटा फिल्म हेर्न आयो, फेरि निराश भएर फर्कियो। फेरि अर्को हेर्न आयो फेरि निरास हुनुपर्छ कि भन्ने डर भएका बेला यत्तिको (जात्रै जात्रा) फिल्म बनाइदिनु भयो भन्दै धन्यवाद दिनुभयो।
उहाँहरूमा ठूलो आशा नै छैन। ‘जात्रै जात्रा जतिको फिल्म बनाइदिए त पुगिहाल्यो नि’ जस्ता प्रतिक्रिया बच्चादेखि वृद्धबाट पायौं।
दर्शकहरूका लागि मनोरञ्जन पहिलो शर्त हो। यससँगै अन्य सामाजिक सन्देश कत्तिको दिन सकिन्छ भन्ने कुरा मेकरको खुबी हुनसक्छ। म भविष्यका लागि त भन्दिनँ तर तत्कालका लागि मेकरहरूले नेपाली अर्गानिक तर मनोरञ्जनपूर्ण फिल्म पस्किन सके हुन्छ।
फिल्म प्रदर्शनमा आएको ३३औँ दिनपछि स्पेसल शो राख्नुभयो, खास कारण के थियो?
फिल्म उद्योगमा हामी सबै फिल्मकर्मीले दुःख र अभावमा काम गरिरहेका हुन्छौं। यही उद्योगलाई राम्रो होस्, भविष्यमा यसैमा केही गर्न सकियोस् भनेर धेरै मेकरहरू लागिरहनु भएको छ।
यो फिल्म क्षेत्रलाई माया गर्ने व्यक्तिहरूलाई हामीले फिल्मको प्रिमियर शोमार्फत् देखाउन सकेनौ। फिल्म प्रदर्शनमा आएपछि प्रेस शोमात्र गरेका थियौं। प्रदर्शनमा आएपछि देश–विदेश दौडाहामा परियो। त्यसैले फिल्म क्षेत्रलाई माया गर्ने सबैकालागि अस्ट्रेलियाबाट फर्केर स्पेशल शो राखेका हौं। अन्यथा फिल्मको प्रचार वा दर्शक तान्न यो शो राखेको हो भन्ने कतिपयको अड्कल होला, त्यस्तो होइन।
यसको अर्थ फिल्म धेरै नाफामा गएको हो?
धेरै नै राम्रो व्यापार भएको छ। हाम्रा दर्शकसँगै, फिल्मको व्यापार पनि एकसाथ बढेको छ। यसबाट निकै खुसी छौं। दर्शकले योभन्दा राम्रो फिल्म निर्माणको चुनौति थपिदिनु भएको छ। अझ राम्रो फिल्म बनाउन पक्कै पनि केही पैसा दिनु भएको छ।
फिल्मले हालसम्म कति कमायो, ठ्याक्कै भन्न सक्नुहुन्छ?
संख्यात्मक हिसाबमा फिल्मको व्यापार यति हजार, यति लाख भन्नुपर्ने हुन्छ। केही दिन अघिको आँकडामा ८ करोड १५ लाखको हिसाब आएको थियो। अहिले यो संख्या लगभग ९ करोडको हाराहारीमा पुगेको छ। फिल्मको व्यज्ञापार यही आधारमा भएमा १० करोडको आँकडामा हामी पुग्छौं।
नेपाली फिल्म निर्माता नाफामा जान लगानीको कति गुणा बढी कमाइ हुनुपर्छ?
यसमा गणितीय कुरा धेरै छन्। तर म एउटा निर्देशकको नाताले फिल्मले पहिलोचरणमै नाफा कमाउनु पर्छ भन्दिनँ। एउटा राम्रो फिल्म बनाउन सकियो भने त्यसले आफैँ नाफा कमाउन सक्छ भनेर बनाउछु।
तर कति गुणा कमाइ गर्नुपर्छ भन्ने विषयमा धेरै गणितीय कुरा छन्। जस्तो पहिलो हप्ता हल र निर्माताले ५०–५० प्रतिशत प्राप्त गर्छौं। त्यसपछिका अन्यहप्तामा हलले दिने प्रतिशत ४०/३५ हुँदै घट्दै जान्छ। अर्थात् वर्ड अफ माउथले दोस्रो, तेस्रो हप्तामा फिल्म चले पनि नाफाको प्रतिशत घट्दै जान्छ।
र, मैले बुझेअनुसार कुल आम्दानीको ४०/४२ प्रतिशत मेकरले प्राप्त गर्छौं।
फिल्म ‘जात्रै जात्रा’ले दर्शक राम्रो पाइरहेका बेला वितरकले तपाईंको फिल्म हटाएर विदेशी फिल्म लगाउँदा निकै आक्रोशित हुनुभएको थियो नि?
आफ्नो फिल्मको जसलाई पनि, जहिले पनि माया हुन्छ। दर्शक आइरहेका बेला, हलमा शो संख्या कम भएर फकर्नुपर्दा चित्त दुखाइ हुनु स्वभाविक हो। अहिले दर्शकसँग पैसाभन्दा समयको अभाव छ। समय छुट्टाएर हलसम्म पुग्दा शो नभएर उहाँहरू फर्कनु पर्दाको चित्त दुखाइ नै हामीले पोखका थियौं। सायद हामीले क्षणिकको आक्रोश पोखेका थियौं।
हलवालाहरूले पनि हाम्रो फिल्मलाई पहिलो, दोस्रो हप्ता धेरै शो दिनु भएको थियो। नयाँ फिल्मलाई पनि उहाँहरूले स्थान दिन पाउनु पर्छ। पछि चलिरहेको फिल्म त अन्य हप्ता पनि चलिहाल्छ नि भन्ने सहमतिमा हाम्रो कुरा मिलेको थियो।
यसप्रकारको विषय नेपाली फिल्मले पटक–पटक भोग्दै आएको नियति नै हो। किनकि नेपाली फिल्मले चाहिँ खाली ठाउँ भर्ने काममात्र गरिरहेका छन्। विदेशी फिल्म हलमा आएन भने नेपाली फिल्म प्रदर्शनमा ल्याउने तर विदेशी आयो भने नियतवस नेपाली निकालिदिने काम भइरहेको छ। यस्तो हुनुमा पनि हाम्रै कमजोरी छन्। किनकि हाम्रो हैसियत फिल्ममा पेस गर्न सके खाली ठाउँ भर्ने नियतिबाट गुज्रनु पर्दैन थियो होला। तर आशा गरौं त्यो दिन आउँछ।
फिल्म वितरकले किन नेपालीभन्दा विदेशी फिल्मलाई प्राथमिकता दिन्छन्?
यो कुरा भन्दा कोही पनि वितरक रिसाउनुहुन्न होला कि ? उहाँहरूले विदेशी फिल्म ल्याउँदा लगानी परेको हुन्छ र हाम्रो फिल्म लगाउँदा विना लगानी प्रतिशतमा प्रदर्शनमा लगाउन पाउनुहुन्छ।
अब आफ्नो लगानी परेको र नपरेकोमध्ये कुनमा बढी निगरानी, खबरदारी बढाउने भन्ने कुरा त सबैले बुझेकै कुरा हो। तर नेपाली दर्शकले जुन तरिकाले हामीलाई विश्वास गर्नुहुन्छ त्यहीअनुसार हामीले हाम्रो अधिकार पाउनु पर्छ। अन्यथा नेपाली फिल्म भएकै कारण आरक्षण गरिनु पर्छ वा दया गरिनुपर्छ भन्ने होइन।
फिल्मले पाएको दर्शक क्रेज र सफलतालाई आत्मसात गरेर कसरी अघि बढ्ने योजनामा हुनुहुन्छ?
अहिले त दिमाग शून्य छ। एकदम आनन्द छ। फिल्मको सफलताको मजा लिइरहेका छौंँ। धेरैतिरबाट धेरै कुराआइरहेको छ। यस्तो नै गर्ने सोचमा छैन। केही गर्ने भएँ भने म सेयर गर्छु नै।
अब केही महिना विश्राम गरौं अनि दर्शकलाई योभन्दा नयाँ कुन विषयवस्तु दिन सकिन्छ। अध्ययन गरौंँ। टिममा छलफल गरौँ। धेरै समय छ।
निर्देशकीय पाटोमा सफल भइरहँदा सोलो निर्माता बन्ने लोभ जागेको छैन?
अँ...जागेको छैन। किनकि पैसा कमाउनु पर्छ भनेर फिल्म बनाउने भए म एक्लै फिल्म बनाउन सक्थेँ। तर, फिल्म एक्लैले बनाउँदा कहिलै पनि राम्रो हुँदैन। यो एउटा टीमवर्क हो। त्यसैले टीममा हुने विचारको आदानप्रदानले पनि फिल्मलाई बलियो बनाउँछ।
मलाई लाग्दैन कि मेरो फिल्म राम्रो बन्छ अनि नाफाको सबै प्रतिशत म आफैं खाउँ। सबैले मिलेर खान पाइयोस्। उदाहरण नै दिउँ। हामीले ‘जात्रै जात्रा’ विदेशमा निश्चित मुल्यमा बिक्री गरेका थियौं तर अहिले करोडौँ कमाइरहेका छन्। आज हाम्रो फिल्मले उहाँहरूले कमाउनु भनेको भोलिको हाम्रो बजार बढ्नु हो।

Comments