
चञ्चलता र जोस–जाँगर हेर्दा लाग्छ– अभिनेत्री लक्ष्मी गिरीले तीस नाघेकी छैनन्। दैनिकी नियाल्दा उनले साढे ६ दशक पूरा गरिन् भनी पत्याउन गाह्रो पर्छ।
उमेरजन्य दुर्बलताको कुनै संकेत देख्न सकिँदैन उनीमा। साढे पाँच दशकको उनको अभिनय ‘करिअर’ सहज ढंगले निर्वाध चलिरहेको छ।
उनै लक्ष्मीको ऊर्जामय उपस्थिति थियो– काठमाडौं कुमारीहलमा आयोजित ‘रातोटीका’ फिल्म घोषणा कार्यक्रममा। अशोक शर्माको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा उनले हजुरआमाको भूमिका गरेकी छन्।
कार्यक्रम सञ्चालक नरेश भट्टराईले लक्ष्मीलाई स्टेजमा बोलाए। स्टेज उक्लिँदाको जोस कुनै नव–अभिनेत्रीभन्दा कम थिएन।
फोटो सुटका लागि स्टेज उक्लिएका गायक प्रमोद खरेलले ‘रातोटीका’ बोलको गीत गुन्गुनाउन थाले। ६६ वसन्तमा पाइला चाल्दै गरेकी अभिनेत्री लक्ष्मी गिरी स्टेजमै छमछम नाच्न थालिन्।
स्टेजमा लेखक तथा निर्देशक अशोक शर्मा, नव–अभिनेता अर्थात् अशोककै छोरा अंकित शर्मा, कलाकारहरू साम्राज्ञी आरएल शाह, खुश्बु खड्का, नीता ढुंगानालगायत उपस्थित थिए। त्यहीँ सामेल भइन् लक्ष्मी।
नव–अभिनेता अंकितलाई बुबा अशोक शर्मा, आमा किरण शर्मा र दिदी कीर्ति शर्माले टीका लगाइदिएर फिल्मको शुभसाइत गरे। अंकितले बुवाआमाको पाउ ढोगेर परम्परा शिरोपर गरे। दर्शकदीर्घामा तालीको गड्गडाहट चल्यो।
अहो! दसैं त होइन, दृश्यले त्यस्तै छनक दिइरहेको थियो। फिल्म क्षेत्रका अन्य कलाकर्मीको पनि बाक्लै उपस्थिति थियो। आगामीे दसैंमा ‘रातोटीका’ फिल्म रिलिज गर्ने लक्ष्य छ।
भट्टराईले एक पछि अर्को गर्दै कलाकर्मीलाई स्टेजमा बोलाए। उनीहरूलाई टीका लगाउँदै स्वागत गर्न तत्पर थिइन् उनै लक्ष्मी। लक्ष्मीकै हातबाट टीका लगाउँदै स्टेजमा उक्लिए अभिनेता अर्जुन श्रेष्ठ, वसुन्धरा भुसाल, राजाराम पौडेल, बुद्धिराम तामाङ, अरुणा कार्की, गायक प्रमोद खरेल, चर्चित कोरियोग्राफर वसन्त श्रेष्ठलगायत कलाकार तथा प्राविधिक। उत्साहले भरिएर स्टेज उक्लिएकी थिइन् गिरी। स्टेजबाट ओर्लदा पनि उस्तै हाउभाउ थियो उनको।
२५ अघिको चर्चित ‘रातोटीका’ गीतलाई फिल्ममा समेटिएको छ। ‘रातो टीका’ बोलको गीतलाई रिमेक भर्सनमा दर्शक/स्रोतमाझ पस्कन निर्माण युनिट जुटेको छ। गिरी कार्यक्रम रमाइलो बनाउन चाहन्थिन्। स्टेजमै छमछम नाच्ने रहर थियो उनलाई। गायक प्रमोद खरेलले उनको यो आशय झट्टै बुझिहाले।
फोटो सुटका लागि स्टेज उक्लिएका खरेलले ‘रातोटीका’ बोलको गीत गुन्गुनाउन थाले। ६६ वसन्तमा पाइला चाल्दै गरेकी लक्ष्मी स्टेजमै छमछम नाच्न थालिन्। सहभागीले भरपूर मनोरञ्जन पाए।
अधिकांश फिल्ममा अभिभावकीय भूमिकामा देखिने उनी ‘रातो टीका’ मा हजुरआमाको भूमिका निर्वाह गर्दै छिन्। कथाअनुसार बेजोड अभिनय गर्छिन् उनी। कामप्रतिको लगावले नै उनले विशिष्ट पहिचाज आर्जन गरेकी छन्। उनले नेपाल न्युजसँग भनिन्, ‘५५ वर्षे अभिनय–यात्रामा अझै आफूलाई कसरी परिस्कृत बनाउने भन्ने सोच आइरहन्छ। बालकलाकार हुँदै हजुरआमासम्मको भूमिका निर्वाह गरेकी छु, सबैको आशिर्वाद र हौसलाले ऊर्जा थपिएको महसुस हुन्छ।’
सार्वजनिक कार्यक्रम या फिल्म अभिनय गर्दा होस्, लक्ष्मीका प्रस्तुति बेजोड लाग्छन्। एघार वर्षको उमेरदेखि उनले बालकलाकारको अभिनय थालेकी हुन्। करिब आठ वर्ष बाल कलाकार भएर अभिनय गरिन् उनले। विभिन्न टेलिसिरियल हुँदै २०४५ सालमा उनी ‘भुँमरी’ फिल्मबाट ठूलो पर्दामा प्रवेश गरिन्।
अचेल ‘एकादेशको चुरिफुरी’ र ‘ब्याड लक’ टेलिसिरियलमा व्यस्त छिन् उनी। उमेर ढल्कँदै गए पनि त्यसको अनुभूति छैन उनलाई। अभिनय–यात्रामा अविराम अगाडि बढ्ने उनको सोच छ। ‘कथाले पहिले बालकलाकारको भूमिका माग्यो, अहिले हजुरआमाको भूमिकामा सुहाउन थालेकी छु,’ उनी भन्छन्, ‘यही भूमिकामा खेल्न अहिले धेरै ‘अफर’ आउन थालेको छ।’
सकारात्मक सोच र विचारले जीवन ऊर्जाशील बन्ने उनको विचार छ। शताब्दी पुरुष सत्यमोहन जोशीको उदाहरण दिँदै उनी भन्छिन्, ‘अझै पनि उहाँमा युवाको जस्तो जोस, जाँगर र सकारात्मक सोच छ, त्यस हिसाबमा हामी कलिलै छौं, अझै सिक्दैछौं।’
original Link: https://nepalnews.com/life-arts/595-2019-05-30-06-54-13
Comments
Post a Comment