रिलका फिल्म डिजिटलमा सारिँदै, दर्शकले कहिले हेर्ने?

नेपाल चलचित्र विकास बोर्डले पूराना नेपाली फिल्म तथा वृत्तचित्रहरु गतवर्षबाट वर्तमान प्रविधिअनुसार डिजिटलाइजेसन प्रक्रिया सुरू गरेको छ। एक वर्षको बीचमा १० वटा पुराना फिल्म डिजिटल प्रविधिमा संरक्षित भइसके।
तत्कालीन शाही नेपाल चलचित्र संस्थानले बनाएका ‘आमा’, ‘परिवर्तन’, ‘हिजो आज भोली’, ‘मनको बाँध’, ‘बदलिँदो आकाश’, ‘के घर के डेरा’, ‘सिन्दुर’, ‘शान्तिद्विप’, ‘जीवनरेखा’ र ‘कुमारी’लाई रिलबाट डिजिटल प्रविधिमा सार्ने काम पूरा भइसकेको बोर्डले जनाएको छ।
पुराना चलचित्रसँगै ऐतिहासिक महत्व बोकेका १५ घण्टा समय बराबरका वृत्तचित्र पनि पूरानो रिलबाट झिकेर डिजिटलमा सारेको जानकारी गराएको छ। १९औं वार्षिकोत्सव मनाउने तयारीमा जुटेको बोर्डले यही १६ गते हुने वार्षिकोत्सवमा डिजिटल प्रविधिमा सारिएका फिल्म र वृत्तचित्रका केही दृष्य देखाउने योजना बनाएको छ।
‘नेपाली फिल्म क्षेत्र शिशु अवस्थामा रहँदाको इतिहास बोकेका कालजयी फिल्मलाई नयाँ पुस्तामाझ हस्तान्तरणको दायित्व पूरा गर्न डिजिटल प्रविधिमा दस्तावेजीकरण गरिएको हो,’ बोर्डका अध्यक्ष केशव भट्टराईले नेपालन्युजसँग भने, ‘वार्षिकोत्सवमा यी दस्तावेजका केही अंश देखाउने योजना छ। बाँकी सबै बोर्डसँगै सुरक्षित राखिनेछ।’
पुराना फिल्म दर्शकसम्म पुर्याउनका लागि बोर्डले सरोकारवाला व्यक्ति तथा संस्था र विज्ञहरुसँग छलफल गरिरहेको बताए। उनले तत्कालका लागि देशका विभिन्न ठाउँमा फिल्म महोत्सव गरेर आम दर्शकको पहुँचमा पुर्याउने योजना बनाइरहेको जानकारी गराए।

Comments