हरियो डाँडामाथि, हलो जोत्ने साथी
होहो माले होहो, होहो तारे होहो।
होहो माले होहो, होहो तारे होहो।
स्वर्गीय जनकविकेशरी धर्मराज थापाको आवाजमा रहेको यो सदाबहार गीत नसुन्ने नेपाली कमै होलान्। वर्षैभरि बज्ने यो गीत विशेष गरी असारमा अझ धेरै गुञ्जने गर्छ।
वसन्तपछिको गृष्म ऋतुको दोस्रो महिना असार नेपाली किसानका लागि विशेष महिना हो। यो ‘मानो रोपेर मुरी फलाउने’ महिना हो।
असार खेतीपातीसँग मात्र जोडिएको छैन, नेपाली गीत संगीत एवं संस्कृतिसँग पनि जोडिएको छ।
सुसेली हाल्दै काँधमा हलो, जुवा र हातमा कोदाली लिएर उकाली ओराली गर्नेसँग जोडिएको छ, असार। त्यस्तै असार काठे, घाँसे, रसिया (शास्त्रीय लय), झ्याउरे र ठाडो भाकासँग पनि जोडिन्छ।
यिनै भाकामा गाउँबेसी र तराईका फाँटमा आ–आफ्ना परम्परा, संस्कृति झल्काउने असारे गीत नेपालमा प्रचलित छन्।
तर, केही समययता भने असारे लोकलय कम सुनिन थालेको छ। खेतबारीमा होस् या रेडियो टेलिभिजनमा, यस्ता लयका गीत कमै बज्ने गर्दछ।
तर, केही समययता भने असारे लोकलय कम सुनिन थालेको छ। खेतबारीमा होस् या रेडियो टेलिभिजनमा, यस्ता लयका गीत कमै बज्ने गर्दछ।
स्रष्टा र सर्जकले पनि नेपाली कला संस्कृतिसँग जोडिएका असारे÷झ्याउरे भाकाको सिर्जनामा उति समय खर्चिएको पाइँदैन।
यस्ता हुन्छन् असारे गीत
हुन त असार १५ सँग जोडिएका थुप्रै नेपाली लोकगीत तथा संगीत तयार भएका छन्।
होहो रे होहो...हो, होहो रे होहो...हो
होहो हातको बिउ, म कसलाई दिऊँ, रोपार हराए?
हलि नि आए, बाउसे नि आए, आए नि बियाडे।
होहो हातको बिउ, म कसलाई दिऊँ, रोपार हराए?
होहो हातको बिउ, म कसलाई दिऊँ, रोपार हराए?
हलि नि आए, बाउसे नि आए, आए नि बियाडे।
होहो हातको बिउ, म कसलाई दिऊँ, रोपार हराए?
अरुण भ्याली समूहद्वारा तयार पारिएको नवीनकुमार खड्का संकलनको यो भाका असार लागेपछि रेडियो टेलिभिजन र एफएममा घन्किरहने गीत हो। रसिया रागमा तयार यो गीत विशेषतः कोसी सभ्यतासँग जोडिएको बताउँछन्, गीतका सर्जक नवीन कुमार खड्का।
यस प्रकारका असारे गीत/भाका खेतबारीमा काम गर्दा ग्रामीण परिवेशका पुराना पुस्ताले गुन्गुनाउँछन्। तर, नयाँ पुस्तामा भने यसको अपनत्व हराउँदै गएको खड्का बताउँछन्।
‘प्राचीन सभ्यतादेखि नै पशुपालन, खेतीपातीका क्रममा मानिसले लोकलय र भाका सिर्जना गरेका हुन्,’ खड्का भन्छन्, ‘तर आजको नयाँ पुस्तामा लोकलय र यसप्रतिको सोचाइ निकृष्ट छ।’
लोकलय, कला–संस्कृतिका स्रोत व्यक्ति पनि कम हुँदै गएको र नयाँ सर्जक र स्रोतामा समेत यसप्रतिको झुकाव पातलिँदै गएको उनी बताउँछन्।
पाकेर गयो, मालको केरा, पाकेन लोहोरी
एकोहोरो माया, के फाइदा हुन्छ? लाऊँ माया दोहोरी।
लाऊँ माया दोहोरी कान्छी लाऊँ माया दोहोरी...
होहोरी होहो... हो, होहोरी होहो...हो
एकोहोरो माया, के फाइदा हुन्छ? लाऊँ माया दोहोरी।
लाऊँ माया दोहोरी कान्छी लाऊँ माया दोहोरी...
होहोरी होहो... हो, होहोरी होहो...हो
शिवनारायण जोशीको शब्द, संगीत तथा स्वर रहेको यो गीत पनि असारमा बज्ने गीतमा पर्छ। बागमती सभ्यतासँग जोडिएका असारे लयमा यो गीत जोडिएको छ। काठमाडौं, रसुवा, नुवाकोटलगायतका पहाडी क्षेत्रमा बढी प्रचलित यो भाका रसिया र झ्याउरे लयसँग मिल्दोजुल्दो छ।
युवा पुस्ता पश्चिमेली संगीतमा झुम्दा......
यस्ता असारे भाका नेपाली लोकसंगीत बजारमा प्रशस्त छन्। केही समयअघि सम्म क्यासेट र रेडियोमा यिनै गीतको बाहुल्यता थियो। तर, पछिल्लो पुस्ताका स्रष्टा, सर्जक र स्रोता सबैमा यी भाकाप्रति रस नै नभएको बताउँछन्, गायक शिवनारायण जोशी।
उनी भन्छन्, ‘पछिल्लो पुस्ता विद्यालयको चौघेरामा हुर्कन्छन् र पश्चिमेली सभ्यतासँग नजिकिँदै गएका छन्। यसले हाम्रो नेपाली परम्परा संस्कृतिसँग उनीहरूको भावनात्मक सम्बन्ध नै टुट्दै गएको छ। यसले हाम्रा लोकलय र भाकामा वितृष्णा पैदा गरिरहेको छ।’
‘लोकभाका सिर्जना गर्नु कठिन कार्य हो। यसका लागि सम्बन्धित भूगोल, वातावरण र रहनसहनको अध्ययन चाहिन्छ। तर, नयाँ पुस्ता त्यो गर्न चाहँदैन, कोठाभित्र बसेर पुराना सिर्जना तोडमोड गर्ने प्रचलन बढ्दो छ,’ उनी थप्छन्, ‘यसले स्रष्टा र सृजना दुबैलाई अधोगतितर्फ डोर्याउँछ।’
पछिल्लो पुस्ता कृषिभन्दा वैदेशिक रोजगार, व्यापार–व्यावसाय र उद्यममा बढी सक्रिय छ। असारको महिना हलो, कोदाली र हिलोसँग रमाउनेको संख्या पनि घट्दो छ।
सरकारले प्रत्येक असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ। मौलिक र सांस्कृतिक पक्षलाई जोगाउँदै असार मनाउनभन्दा औपचारिकतामा मात्र सिमित छ, सरकार।
बेसीको ‘बेठी’ सम्झनामा सिमित
पहाडका बेसी अनि तराईका फाँटमा परम्परागत बाजासहितको बेठी (सामूहिक धान रोपाइँ) पछिल्लो पुस्ताका कमैले देखेका होलान्। कारण, नयाँ पुस्तामा यस्तो कला संस्कृतिको हस्तान्तरण नहुनु हो।
लोकगायक थेरेन्द्र बराल भन्छन्, ‘पुस्ता परिवर्तनसँगै नयाँ–नयाँ विषयमा खोजी हुन थाल्यो। तर पुराना कला र संस्कृतिबारे चासो हराउँदै गएको छ। हाम्रा सांस्कृतिक स्रोत र धरोहर विनाश हुँदै गएका छन्।’ यसको उचित संवद्र्धन नहुँदा संस्कृति सिर्जना लोप हुँदै गएको उनी बताउँछन्।
‘आम दर्शक, स्रोता र स्रष्टाको पुस्तान्तरणसँगै लोक संस्कृतिमा पनि बांगोपन आएको छ। जता मन लाग्यो, त्यतै बंग्याएर परम्परा परिवर्तन भइरहेको छ,’ उनी भन्छन्, ‘यसले कला, संस्कृति र नेपाली लोकलय लोप भइरहेकै छ, सँगै नेपाली पहिचान पनि गुम्ने अवस्थामा छ।’
original Post: https://nepalnews.com/life-arts/2793-2019-06-30-09-40-02

Comments
Post a Comment