‘प्रेमगीत–३’ को अन्यायले दुःखी छु: गायिका मञ्‍जु

मनोज न्यौपाने असार २१, २०७६ | शनिबार

गायिका मञ्‍जु पौडेल पछिल्लो समय लोकदोहोरी र तीज गीतमा चिनिएको नाम हो। उनको परिचय यतिमै सीमित छैन। कार्यक्रम उद्घोषिका, मोडल, गीतकारका रूपमा पनि परिचित छिन्।
‘झिलिमिली झ्याइँ’, ‘तिमी लाइटर म भएँ चुरोट’, ‘तारो हुन्छ मायाँ, फेरि तारो हुन्छ...’ लगायत दुई दर्जन बढी गीतमा स्वर भरिसकेकी पौडेल नेपाली दर्शक स्रोतामाझ लोकप्रिय छिन्। पछिल्ला वर्ष हरेक तीजसँगै नयाँ–नयाँ सोलो तीज गीतकासाथ बजार प्रवेश गर्ने गरेकी उनी यसपालि पनि यसैको तयारीमा जुटेकी छिन्।
सधैं हँसिली र खुसी देखिने पौडेल यतिबेला भने केही दुःखी छिन्। कारण– छोरी स्‍नेहाको छनोट असफलता। फिल्म ‘प्रेमगीत–३’ मा छोरी अडिसन दिएर उत्कृष्ट पाँचौं स्थानमा पुगिन्। तर, फिल्मको मुख्य भूमिकामा अर्कै व्यक्ति छनोट गरेपछि उनी दुःखी बनेकी हुन्। फिल्मको कथाले मागेको क्यारेक्टर छनोटप्रति मञ्‍जुको दुःखेसो नरहे पनि निर्माण युनिटसँग भने उनी रूष्ट छिन्।
उनै गायिका पौडेलसँग जीवन यात्रा र अनुभूति विषयमा नेपालन्युजका दर्जन प्रश्‍न :
जीवनको पहिलो काम र आम्दानी सम्झना छ?
छ। सुरुमा रेडियोमा काम गरेँ तर, स्वयंसेवक मात्र भइयो। पछि गुल्मी रिडीस्थित माघे सङ्क्रान्तिका अवसरमा ‘रुरु फ्रेन्ड्स क्लब’ले आयोजना गरेको कार्यक्रममा स्टेज प्रस्तुति दिएकी थिएँ। प्रस्तुतिमा पस्केको थिएँ ‘पाइन खबर घर फर्की आउनु है मेरो हजुर...’ बोलको गीत । सोही बेला मलाई खाममा केही रकम दिइएको थियो। उत्साही हुँदै कति धेरै होला भनेर खाम खोलेको २ सय रुपैयाँ रहेछ। (मज्जाले हाँस्दै...) त्यसले साथीसँग मिलेर मज्जाले मःम खायौं।
उतिबेला स्टेजमा प्रस्तुति दिन डर लागेन?
म उल्टो मान्छे जस्तो लाग्छ। स्टेजमा मलाई डर लागेन तर रेडियो स्टुडियोभित्र चाँहि एकदमै डर लाग्थ्यो। स्टेजमा आमदर्शकमाझ डर नलाग्‍ने तर बन्द कोठाभित्र स्क्रिप्टमा बोल्नुपर्ने रेडियोमा चाँहि खुब डराउने म अजीवको मान्छे थिएँ।
रिडीमा रमाइरहेकी मञ्‍जुले किन काठमाडौंलाई जीवनको गन्तव्य रोज्‍नु पर्‍यो?
म ६८ सालमा आएकी हुँ। केही एल्बम र गीत उतै रेकर्ड गराएँ। सुरुमा तीज गीतबाट सुरु भएको मेरो औपचारिक गायन यात्रा केही गीत बजार आएपछि सुरु भयो। तर, त्यसपछि पनि म स्टेज र कार्यक्रम उद्घोषणमै व्यस्त रहेँ। पछि दर्शकस्रोताको माया र हौसलाले ‘झिलिमिली झ्याइँ’ एल्बम तयार गरेँ। यसरी मोफसलबाटै मैले एक प्रकारको पपुलारिटी प्राप्त गरेकी थिएँ। उतिबेला मोफसलकी महँगी उद्घोषिका भनेर पनि भन्ने गर्थे तर काठमाडौं मोफसलभन्दा ठूलो ठाँउ हो। यहाँ धेरै अवसर हुन्छन् भनेर आएकी हुँ। यद्यपि, ठूलो सपना भने मैले बोकेकी थिइँन र जे सोचेर आएकी थिएँ त्यो पाइरहेकी छु।
manju poudel 1
मोफसलमा रहेर सेलेब्रिटीको ट्याग पाइरहँदा केन्द्रका सेलेब्रिटीसँग हिमचिमको रहर कतिको जाग्थ्यो ?
पक्कै लाग्थ्यो। आफूभन्दा अग्रजबाट प्रभावित हुनु स्वाभाविक हो। कसैको आवाजबाट, त कसैको व्यवहारबाट प्रभावित भइएको हुन्छ। पहिलेमात्र होइन मलाई अहिले पनि त्यस्तो महसुस हुन्छ।
आशा, अपेक्षा र सफलताका लागि भौतारिइरहँदा तपाईंको जीवनको युटर्न के हो?
म मेरा काममा सधैं सफल नै थिएँ। जे जति गीतसङ्गीतमा आबद्ध रहेँ सबैमा दर्शक–स्रोताको साथ पाएँ। तर, यादव लम्सालको शव्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको गीत ‘धुँवा सरी’ मेरो जीवनमा युटर्न ल्याउने गीत थियो। गीतमा रामजी खाँड र मेरो आवाज थियो। गीतको भिडियोमा मेरै छोरी स्‍नेहा, प्रज्ज्वल सुजल गिरीको अभिनय थियो। आज पनि मञ्‍जु पौडेलको परिचयमा ‘धुँवा सरी’ को क्रेडिटको हिस्सा समावेश छ।
मनमा कहिलेकाँही ‘धुँवा सरी’ गीतले दिएको परिचय मेटेर नयाँ बनाउने हुटहुटी जाग्दैन?
आ–आफ्नो फ्लेबर हुँदो रहेछ। ‘धुँवा सरी’ गीतलाई छाया पार्ने कुरा हुन सक्छ र प्रयासमा पनि छु। योभन्दा अघि पनि मैले गायक पशुपति शर्मासँग ‘तारो हुन्छ माया फेरि तारो हुन्छ...’ बोलको गीत बाजार ल्याएका थिएँ। त्यसैले बजारमा मैले जति गीत गाएको छु लाग्छ नोटिसेबल नै छन्।
सफलता प्राप्तिपछि त्यसको निरन्तरता धेरै महत्वपूर्ण हुन्छ भनिन्छ नि?
सबैभन्दा गाह्रो विषय नै त्यही रहेछ। हुन त हाम्रो उद्योग सानो छ। बजार सानो छ। चिन्‍नुपर्ने दर्शक–स्रोताले पनि लगभग चिन्‍नुहुन्छ। तर, अब यो लोकप्रियतालाई कसरी जोगाउने, यो भन्दा माथि जाने पनि उति धेरै ठाँउ छैन। त्यसैले खहरे बन्‍नुभन्दा अटल समुद्र भएर टिकिरहन गाह्रो छ तर प्रयास चाहिँ गरिरहेकी छु। उद्योगमा स्थापित भइसकेपछि धेरै गाह्रो हुँदो रहेछ। हिजोको दिनमा केही थिएन। आफूले जे गर्दा पनि हुन्थ्यो, जस्तो विषय उठाउँदा पनि हुन्थ्यो तर अहिले धेरै सचेत भएर विषय छनोट गर्नुपर्ने रहेछ। यो कुरा अहिले अनुभूत गरिरहेकी छु।
manju poudel2
तपाईं लोकगायिका, लोकलय र यसमा सिर्जना हुने गरेका विवादप्रतिको धारण के छ?
विवाद पनि कस्तो हो भन्‍ने हुन्छ। मलाई लाग्छ जे भइरहेको छ सबै अनावश्यक मुद्दा उठिरहेको छ। यस्ता विषय हिजोका दिनमा पनि थिए। तर, हिजो किन उठेन? मलाई लाग्छ यो विषयवस्तुभन्दा बाहिर र मान्छेसँग धेरै समय भएर अनावश्यक समय यहाँ खर्चिएर विवादित भएजस्तो लाग्छ। यो त्यति ठूलो कुरा होइन। लोकगीत वास्तमा लोकले मन पराएको कुरा हो। जहाँ लोककै सुगन्ध आँउछ। र, लोकभाकामा कतै न कतै केही मिल्न आउँछ। त्यसैले म त्यसका विषयमा लाग्दिनँ र मलाई विश्‍वास पनि लाग्दैन। मलाई कुनै भाइरल बन्‍नु छैन। अटल समुद्र झैं बग्‍न पाउँ। दर्शक–स्रोताको नजरमा राम्रो मञ्‍जु पौडेल बन्‍न सकुँ। त्यही नै मेरो लागि खुसी हो, प्रयास हो।
गीत–सङ्गीत क्षेत्रमा काम गरिरहँदा आफैंलाई सन्तुष्टि दिने वा इतिहासमा सम्झने केही काम गरेजस्तो लाग्छ?
मैले इतिहास नै त रचेको छैन तर यो कुरा मैलेभन्दा पनि आमदर्शक–स्रोता र सञ्‍चारकर्मी साथीहरूले मूल्याङ्कन गर्नुपर्ने विषय हो। मैले पनि आफ्नो ठाँउबाट मनोरञ्‍जनमार्फत समाज सेवा गरिरहेकी छु जस्तो लाग्छ। कहिलेकाहीँ लाग्छ आफ्नै लागि केही गर्न सकेको छैन, जे जति गरेँ सबै अडियन्सलाई गरेँ। म त फगत रित्तो छु।

अनि पछिल्लो व्यस्तता चाहिँ के छ?
पेसाले गायिका, कार्यक्रम सञ्‍चालिका हुँ। गीत गाउने, कार्यक्रम उद्घोषण गर्ने। अहिले अलि अफ सिजन छ। विस्तारै तीज लाग्दै छ। तीज गीतमै व्यस्त छु।
भनेपछि यो वर्ष मञ्‍जु पौडेलका तीज गीत असारबाटै बज्‍ने भए हैन त?
(गुन्गुनाउँछिन्...)
काम भन्दै गयो मेरो आधी उमेर, घन्काइदेउ मादलु नाच्छु घुमेर
रातो चुरा रातो सारी रातै लाइछौ चोली, यसपालि नि नाच्छु तीजमा मन पेट खोली।
मेरो यस वर्षको सोलो तीज गीत हो यो। दिग्गज धौरालीको शव्द तथा अर्जुन पोखरेलको सङ्गीतमा रहेको गीत हालैमात्र तयार भएको छ। यससँगै...
तीजको खालमा क्यार्न आ’छौ छोरो भएर, हेर छोरो भएर 
वस्तुभाउलाई घाँसपात गर्नु घरमा गएर, बरू घरमा गएर।
यो पनि दिग्गज धौरालीकै शव्दमा तयार डुएट गीत हो। योलगायत अन्य साथीभाइले गाउन आग्रह गर्नुभएका केही गीत यस वर्ष मेरा दर्शक–स्रोताले हेर्न पाउनुहुने छ। तर असारबाट हैन साउनबाट मात्र।
अन्त्यमा, तपाईंकी छोरी स्‍नेहा निर्माणाधीन फिल्म ‘प्रेम गीत ३’मा मुख्य अभिनेत्रीका लागि अडिसनमा हुनुहुन्थ्यो तर उत्कृष्ट पाँचबाट बाहिरिनुपर्‍यो के भन्‍नु हुन्छ?
मलाई खुसी लाग्छ मेरो क्षेत्रलाई नै छोरीले पछ्याइरहेकी छिन्। उनी यतिबेला अस्कर कलेजमा फिल्म मेकिङमा स्‍नातक गरिरहेकी छिन्। खुसी पनि लाग्छ उनी मेरै बाटोमा छिन्। जहाँसम्म फिल्म ‘प्रेम गीत–३’ को कुरा छ, अडिसन लिनु राम्रो कुरा हो। तर, मलाई एउटा कुरामा दुःख लागेको छ। फिल्ममा उहाँहरूले ‘मङ्गोलियन फेस’ खोज्‍नुभएको रहेछ। त्यो कुरा सुरूमा फिल्मको टिमले नोट गरिदिएको भए स्‍नेहा अडिसनमा पक्कै जाँदिन थिइन्।
म घमण्डसाथ भन्छु, उनी प्रतिभावान छिन्, उनले जुनसुकै फिल्मको लागि प्रयास पनि गरेकी छैनन्। उनले चार वर्षसम्म अभिनय पढेर अडिसनमा गएकी हुन्। फिल्मको टिमले घमण्ड गरिन् भन्‍ने नबुझिदिनुहोला तर उनी उद्योगका लागि केही दिन भनेर आएकी छिन्।
तर, फिल्मको टिमले पछिल्लो समय आएर अलिकति मङ्गोलियन फेसको आवश्यकता थियो भन्‍नु मेरो चित्त दुःखाइ हो, र छोरी स्‍नेहा पनि यसले दुःखी छिन्। म दाबीका साथ भन्छु, फिल्मको मुख्य क्यारेक्टरमा अरू नै छनोट भएपछि सहायक क्यारेक्टरका लागि उनले काम गर्ने छैनन्।
प्रकाशित: Jul 06, 2019 | 09:02:28

Comments