सेलेब्रिटीका बहुविवाह

  • असार २६, २०७६ | बिहीबार | काठमाडौं
सामान्य मानिसका व्यवहार आम चासोमा आउँदैनन्। तर, सेलिब्रिटी भइसकेपछि मानिसको जीवनमा निजीत्व कमजोर हुँदै जान्छ। सेलिब्रिटीले समाजमा रोल मोडलको भूमिका निर्वाह गर्नुपर्छ र त्यो विषयमा तलमाथि पर्दा उनीहरूबारे व्यापक चर्चा–परिचर्चा हुन्छ, कहिलकाहीं त गालीसम्म खानुपर्ने हुन्छ।
सेलिब्रिटी गसिपमा सबैभन्दा अगाडि आउने विषय हो, सम्बन्धविच्छेद। प्रेम र सम्बन्ध अकुंराउँदा उनीहरूबारे जति फुलबुट्टे चर्चा हुन्छ, त्यो टुक्रिने अवस्था बन्दा अर्कै खाले लखबाजी चल्छ। किन, के, कसरी, को कति भिजेको अनि ओभानो, इत्यादि। सेलिब्रिटी इमेजको रूमानी कलेवरमाथिको अँध्यारो छाँया खासमा फ्यानहरूका लागि बढी गाढा अनि गह्रौं पर्छ।
धेरै सेलिब्रिटी जोडीका सुखद कथा एक्कासी भंग हुन्छन्। छुट्टिएर अर्को बन्दोबस्तीतिर लाग्न पनि बेर लाग्दैन। यस्तोमा मानिसका सामान्य आवश्यकता, सेलिब्रिटी पनि मान्छे नै त हो भन्ने पक्षलाई फ्यानहरूले खासै हेक्का गर्दैनन्। अर्थात्, उनीहरू आफ्ना सेलिब्रिटी नैतिक धरातल, विवेकशीलतामा उच्च नै भएको हेर्न चाहन्छन्।
भर्खर मात्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको दाम्पत्य जीवनमा कालो बादल मडारिएको छ। र, उनीहरूबीच यति तिक्तता बढेको रहेछ कि शिल्पाले त सुरक्षा पाउँ भनेर उजुरी नै दर्ता गराएकी छिन्।
यो प्रसंगमा नेपाली सिने क्षेत्रका चर्चित सम्बन्धविच्छेद प्रकरणलाई पुनर्ताजगीमा हेर्नु रोचक हुन्छ।
छबिराज ओझा
निर्माता छबिराजको पहिलो विवाह धरानकी हेमा नाम गरेकी महिलासँग भएको थियो। भारतको बनारसमा भेट भएपछि उनीहरूले धरान आएर विहे गरे। १९ वर्षका थिए छवि त्यो बेला। दुई सन्तान भए, तर सम्बन्ध १० वर्षभन्दा टिक्न सकेन।
फिल्म ‘युगदेखि युग सम्म’ निर्माण गरेका छबिले पहिलो श्रीमतीसँगको डिभोर्सपछि अभिनेत्री गितान्जली सुनुवारसँग विवाह गरे। गितान्जली छबिकै निमार्णमा बनेको फिल्म ‘नाता’की नायिका हुन्। तर गीतान्जलीसँग पनि छबिको सम्बन्ध टिक्न सकेन। गीतान्जलीले आत्महत्या नै गरिन्। हाल छबिकी गीतान्जलीका तर्फबाट एक छोरा छन्।
छबिको त्यसपछिको यात्रा अभिनेत्री रेखा थापासँग सुरु भयो। उतिबेला फिल्म ‘हिरो’ निर्माण गरेका छबिले अभिनेत्रीका रुपमा रेखालाई भित्र्याए । रेखालाई उनले फिल्ममा मात्र हैन प्रेमपूर्वक श्रीमतीका रुपमा घरमै ल्याए।
करिब १२ वर्षसँगै जीवन कटाएकी छबिकी तेस्रो श्रीमती रेखाले पनि साथ छोडिन्। रेखा छबिसँग डिभोर्स दिए पश्चात् चाबहिल स्थित अम्बे आपर्टमेन्टमा बस्दै आएकी छन्।
रेखापछि छबिको जीवन साथी बनिन् शिल्पा पोखरेल। फिल्म ‘लज्जा’मा अभिनेत्रीका रुपमा डेब्यु गराउँदै छबिले शिल्पालाई चौथो श्रीमती बनाएर घरमै भित्राए। २०७३ सालमा रेखासँग छुटेपछि शिल्पासँग जुटेका छबिले केही वर्ष सम्बन्ध गुपचुप राखे। तर १ वर्ष अघि उनले विवाह गरेको स्वीकार गरेका थिए।
शिल्पा र छबिले विगत ६ महिना अघि मात्र कानुनी रुपमा विवाह गरेका हुन्। तर, छबिको चौथो बैवाहिक यात्रामा पनि बुधबारबाट धक्का लागेको छ। श्रीमती शिल्पाले प्रहरीमा उजुरी हालेपछि छबि त्यसलाई सुल्झाउन लागि परेका छन्। यता शिल्पा भने १५ दिनअघि श्रीमानले कानको जाली फुट्ने गरि हातपात गरेको भन्दै न्याय मागिरहेकी छन्।
बिहिबार छबिले महानगरीय प्रहरी परिसर टेकुमा शिल्पालाई सुरक्षाको प्रत्याभुति त दिलाए। तर, शिल्पाले भने छबीसँगको सम्बन्ध बिच्छेद कुरा उठाएकी छन्। यद्यपी प्रहरीले उजुरी सुरक्षा सम्बन्धमा मात्र भएको भन्दै यस विषयलाइ स्थान दिएन।
भुवन केसी
सदाबहार नायकका रूपमा चिनिएका कलाकार तथा निर्माता हुन्, भुवन केसी। अभिनय र फिल्म निमार्णमा जमेका भुवन श्रीमतीसँग भने जम्न सकेनन्। उनले हाल सम्म दुई वटा विवाह गरिसकेका छन्।
उनले पहिलो पटक श्रीमती बिजया मल्लसँग पारिवारिक सम्बन्ध जोडेका थिए। तर भुवनको बिजया सँगको सम्बन्ध धेरै समय टिकेन। पछि उनले सुस्मिता बमजन सँग दोस्रो विवाह गरे। तर सुस्मितासँगको सम्बन्धमा पनि भुवन जम्न सकेनन्।
भुवनले दुबै पत्नीलाई डिभोर्स गरिसकेका छन्।
भुवनको श्रीमती बिजयका तर्फ एक छोरा र एक छोरी छन् भने, दोस्रो पत्नी सुस्मिताबाट छोरा अनमोल केसी रहेका छन्।
यतिबेला भने भुवन एटिएम नायिका जीया केसी सँग सम्बन्धमा छन्। उनिहरु सँगै रहेपनि औपचारिक विवाह सम्बन्धमा भने बाँधिएका छैनन्।
शिव श्रेष्ठ
अभिनेता शिव श्रेष्ठ अभिनयका हिसावमा आफू भाग्यमानी कलाकार रहेको बताउदै आएका छन्। १८ वर्षको उमेरबा विवाह गरेका श्रेष्ठको ३ छोरी र १ छोराको बाबु बनेपछि मात्र नायक बनेका थिए। उनलाई नेपाली सिने वृत्तमा ठुल्दाईको उपनामले पनि चिन्ने गरिन्छ।
तर अभिनयमा सफल ठूल्दाई पारिवारिक सफलतामा भने चुकेका छन्। पहिलो पटक गंगादेवी श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका श्रेष्ठको दाम्पत्य जीवन सफल हुन सकेन। पछि उनले चितवनकी सृजना श्रेष्ठसँग दोस्रो विवाह गरे।
पहिलो विवाहबाट चार छोरी र एक छोराका बाबु शिवको दोस्रो विवाहबाट एक छोरा छन्।
निखिल उप्रेती र संचिता लुइटेल
नायक निखिल उप्रेती यतिबेला दास्रो श्रीमतीसँग छन्। उप्रतीले पहिला कोपिला उप्रेतीसँग विवाह गरेका थिए। पछि कोपिलासँग बस्दा बस्दै उप्रेतीले नायिका संचिता लुइटेलसँग दास्रो विवाह गरेका हुन्।
निखिल र कोपिलाका एक छोरा छन् भने संचिताका तर्फबाट एक छोरा र एक छोरी रहेका छन्। यता संचिताले आकास शाहलाई छाडेर निखिलसँग दोस्रो विवाह गरेकी थिइन्। संचिताले फिल्म ‘भन्नै सकिनको सुटिङ सेटमा भेट भएका शाहसँग पारिवारिक सहमति बिनै विवाह गरेकी थिइन्। सम्बन्धमा खटपट आएपछि संचिताले शाहलाई डिभोर्स दिएर एक्लै अभिनयमा रमाइरहेकी थिइन्।
प्रियंका कार्की
नायिका प्रियंका कार्कीले पहिलो विवाह रोचक मैनालीसँग गरेकी थिइन्। प्रेम विवाह गरेकी प्रियंकाले रोचकसँग लामो समय सम्बन्ध टिकाउन सकिनन्।
सम्बन्धमा चिसोपना बढेपछि प्रियंका र रोचकबीच पारपाचुके भयो। केही वर्ष फिल्म र अभिनयमा नै ब्यस्त बनेकी प्रियंका यतिबेला भने अभिनेता आयुषमान देशराज जोसीसँग सम्बन्धमा छिन्। उनले नायक जोसीसँग केही समय अघि इन्गेजमेन्ट नै गरिसकेकी छन्। तर उनीहरुको विवाह भने अझै हुन सकेको छैन।
हरिवंश आचार्य
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले पनि बहुविवाह गरे। पहिलो श्रीमती मीरा आचार्यको निधनपछि आचार्यले रमीला पाठकसँग दोस्रो विवाह गरेका हुन्।
आचार्यले श्रीमती मीराको निधन भएको करिव डेढ बर्ष पछि बुटवलकी रमीलासँग दोस्रो बैवाहिक सम्बन्ध जोडेका हुन्। यता श्रीमती रमिलाको पनि दोस्रो विवाह हो। रमिलाले पनि आफ्ना श्रीमानको मृत्यु पछि आचार्यसँग दोस्रो विवाह गरेकी हुन्।
आचार्यको पहिलो श्रीमती मिराका तर्फबाट दुई छोरा छन्। श्रीमती रमिलाका पनि पहिलो श्रीमानका तर्फबाट एक छोरा छन्।
सिम्पल खनाल
नायिका सिम्पल खनाल माझी दाई, अध्याय जस्ता फिल्मकी नायिका हुन्। उनले सुरुमा म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग बैवाहिक बन्धनमा बाँधिएकी थिइन्।
खनालको प्रशन्नसँग लामो समय सम्बन्ध टिक्न सकेन। उनिहरुले सम्बसम्बन्ध विच्छेद गरे। अहिले सिम्पल बेलायती उद्योगपति नदिमसँग दोस्रो विवाह गरेर उतै बस्दै आएकी छन्।
पुजा चन्द
नायिका पुजा चन्दले पनि बहुविवाह गर्ने सेलेब्रिटी हुन्। सुरुमा फोटाग्राफर सुरज चन्दसँग विवाह बन्धनमा बाँधिएकी पुजाले श्रीमानको थर ‘चन्द’ लेख्दै आएकी थिइन्।
विवाह पछि नायिका बनेकी पुजा र सुरजको छोरी जन्मीएकी थिइन्। पछि पुजा अमेरिका उडिन्। उनी लामो समय अमेरिकामै बसिन्।
पछि पुजासँग सुरजको सम्बन्धमा दरार आयो र उनीहरु कानुनी रूपमै छुट्टिए। यतिबेला भने पुजा अमेरिकामै बसोबास गरिरहेका गायक राजु लामासँग दोस्रो विवाह गरेर बसिरहेकी छन्।

Comments