उमेर खुलाउँछु, पारिश्रमिक खुलाउँदिनँ–स्वस्तिमा खड्का

कलाकारहरुको पारिश्रमिकको मुद्दा समय समयमा चर्चामा आउँछ। यो मुद्दा नेपालमा मात्र उठ्ने भने होइन। हलिउड, बलिउडदेखि अन्य फिल्म उद्योगमा पनि यसले राम्रै स्थान पाउने गरेको छ।
यसको उदाहरणका रुपमा केही दिनअघि साहिद कपुरले ४० करोड डिमान्ड गरेको समाचारलाई लिए पुग्छ।
नेपालमा पनि स्टारकाष्टको पारिश्रमिकको चासो पछिल्लो समय बढ्दो छ। उनीहरुको स्टारडमलाई लिएर पारिश्रमिक लनेदेनको हुने गरको छ। जुन विषयले उनीहरूलाई राम्रैसँग गसिपमा तानिरहेको हुन्छ।
यो मुद्दामा विशेषगरी स्टारकाष्ट नै चर्चामा हुन्छन्। अनमोल केसी, प्रदीप खड्का, पल शाह, साम्रज्ञी आरएल शाह, नम्रता श्रेष्ठ, पूजा शर्मालगायत कलाकार पारिश्रमिकका सम्बन्धमा चर्चामा आउने सेलेब्रिटीमा पर्छन्।
हालैमात्र पुराना अभिनेता रमित ढुंगानाले एउटै फिल्मका लागि १८ लाख पारिश्रमिक लिएको खबरले नेपाली फिल्म बजार तातेको थियो। लगत्तै अभिनेत्री पूजा शर्माले पनि नयाँ फिल्मका लागि २० लाख पारिश्रमिक लिएको खबरले नेपाली फिल्म बजार तातिरहेको छ।
सुस्त गतिमा उकालो लाग्दै गरेको नेपाली फिल्म बजारमा कलाकारको चर्कदो पारिश्रमिक सबैका लागि मान्य छैन। अधिकांश कलाकार यस विषयमा फरक मत राख्दै आएका छन्।
यसै सम्बन्धमा शुक्रबार काठमाडौंको कुमारी हलमा फिल्म ‘हजार जुनीसम्म’ले ट्रेलर सार्वजनिक कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा उपस्थित अभिनेत्री स्वस्तिमा खड्काले कलाकारले लिने गरेको पारिश्रमिकका विषयमा आफ्नो विचार व्यक्त गरेकी छन्।
फिल्मी करिअरमा क्यारेक्टर प्राथमिकतामा राख्नुहुन्छ कि पैसा भन्‍ने प्रश्‍नको जवाफ दिँदै यस सम्बन्धमा आफ्नो धारणा राखेकी हुन्।
‘मैले जहिले पनि भन्दै आएको कुरा हो, मेरो पैसाभन्दा क्यारेक्टर नै प्राथमिकतामा हुन्छ। मेरा लागि पैसा जहिले पनि दोस्रो महत्वमा मात्र पर्छ,’ उनले भनिन्,‘मेरो अहिलेसम्म कुनै समाचार पनि बनेको छैन कि स्वस्तिमाको यति लाख उति लाख पारिश्रमिक भनेर। मैले मेरो पारिश्रमिक यति हो भनेर कहिले भनेको पनि छैन। मेरा लागि महत्वपूर्ण भनेको फिल्मको टिम र क्यारेक्टर नै हो।’
उनले थपेकी छन्, ‘यदि पारिश्रमिक लेनदेन गर्ने दुवै पक्षको सहमतिमा लेनदेन हुन्छ भने जतिसुकै पारिश्रमिक पनि जायज हुन्छ। जसले आफ्नो पारिश्रमिक र उमेर खुलाउन सक्नु हुन्छ त्यो राम्रो पक्ष हो। तर, म चाहिँ उमेर खुलाउन सक्छु तर पारिश्रमिक खुलाउन सक्दिनँ।’
उनले अन्तमा भनेकी छन्, ‘गम्भीर भएर भन्न चाहन्छु, २० लाख रुपैयाँ पारिश्रमिक लिन्छु भने मैले ५० लाखको काम दिन सक्नुपर्छ। २० लाख १५ लाख पारिश्रमिक लिएर नाकमात्र बढाउनेभन्दा पनि त्यति रकम लिएपछि निर्माताको हातमा ५ लाख मात्र पर्‍यो भने त्यो राम्रो हुँदैन।’

Comments