मनोज न्यौपाने

हरेक व्यक्तिमा विधागत रोजाइ हुन्छ। फिल्म हेर्ने दर्शक र मेकरका प्राथमिकतामा पनि यो विषय पर्दछ।
कमेडी, लभस्टोरी, एक्सन, हरर वा अन्य केही। हरेकका रोजाइ भिन्न हुन्छन्। यस्तै भिन्न रोजाइका फिल्म बनाउन लागिपरेका छन्–निर्देशक तथा कलाकार अर्पण थापा।
आधा शताब्दी उकालो लागेको नेपाली फिल्म बजारमा वर्षेनी औसत सय फिल्म निर्माण हुन्छन्। तर, वर्चस्व भने कमेडी र लभस्टोरीकै छ। अर्पण भने हरर विधालाई नेपालमा स्थापित गराउने ध्याउन्नमा छन्।
उनले विगत दुई वर्षमा दुईवटा हरर फिल्म ‘सुनकेशरी’ र ‘घर’ दर्शकमाझ प्रस्तुत गरिसकेका छन्। उनकै लेखन तथा निर्देशनमा बनेको ‘लाइट–हार्टेड’ हरर फिल्म होे ‘सुनकेशरी’। २०७५ सालमा प्रदर्शनमा आएको उक्त फिल्मबाट दर्शक रमाउन सकेनन्। फिल्म असफलताको पाठबाट अपर्णले अर्को प्रयास स्वरुप ‘घर’ लिएर आए।
‘हार्डकोर हन्टेड हाउस’मा आधारित ‘घर’ गत शुक्रबारदेखि मुलुकभर प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक तथा लेखक थापासँग नेपालन्युजकालागि गरिएको कुराकानीः
के मा व्यस्त हनुहुन्छ?
फिल्म ‘घर’ हलमा चलिरहेको छ। सँगसँगै लप्पन छप्पन–२ को सुटिङ पनि सुरु भएको छ। यतैतिर व्यस्त छु।
अर्पण थापालाई एउटा सफल कलाकार अनि निर्देशकका रूपमा चिनिन्छ, कुन क्षेत्र सहज भइरहको छ?
उस्तै उस्तै हो। अभिनयमा स्थापित हुन जति गाह्रो छ, उति नै निर्देशनमा पनि छ। बाटो एउटै हो, सगरमाथा चढ्नलाई चढ्ने र उसको भारी बोकेर चढ्नेजस्तै हो।
तपाईंको पछिल्लो फिल्म ‘घर’लाई दर्शक र सिंगो फिल्म उद्योगले कसरी लिइरहेको छ?
अहिलेसम्म दर्शक प्रतिक्रियाले नै फिल्म हलमा टिकिरहेको छ। दर्शकले रुचाइराख्नु भएको छ। हेर्ने जति दर्शकले चित्त बुझाउनुभएको छ। एकप्रकारको सकारात्मक ‘माउथ पब्लिसिटी’ भइरहको छ।
तर, नेपाली फिल्म बजारमा एकथरि यस्तो पनि जमात छ जहाँबाट सुरुसुरुमा नकारात्मक टिप्पणी आए। लाग्छ सबैको आ–आफ्नो बुझाइ पनि होला। तर, दर्शककै कारण फिल्म हलमा टिकिराख्या छ।
अन्य विधामा रमाइरहनु भएका बेला अकस्मात हरर विधामा काम गर्नु तपाईंका लागि आवश्यकता थियो या रहर?
मेरो आफ्नो इच्छा नै थियो। सँगसँगै आवश्यकता पनि। हरर जनरा नेपालमा एकदमै लोप नै भइसकेको थियो। हलिउड, बलिउडमा त हरर फिल्म बनि नै रहेका हुन्छन्।
तर, नेपालमा यो एकप्रकारले विलीनै भयो। त्यसैले कसैले त गर्नुपर्ने नै थियो। र, मैले गरिरहेको छु। राम्रो–राम्रो एक ठाउँमा छ। भोलिका दिनमा कस्तो हुने हो, हेर्न बाँकी छ।
अन्य विधा हुँदाहुँदै ‘हरर’ नै रोज्नुको कारण चाहिँ के?
यसअघि मैले ग्याङस्टर, सामाजिक सन्देशमूलकलगायत फिल्म बनाएँ। पछि हरर विधामा सुनकेशरी बनाएँ। फिल्म प्रदर्शनपछि दर्शकबाट राम्रो प्रतिक्रिया पायौं–हामीले आशा राखेकोभन्दा उल्लेख्य। हरर विधालाई रूचाउने दर्शकको संख्या पनि रहेछ भन्ने बुझेर यसमा अझ प्रयास गर्नुपर्छ भन्ने लागेको हो।

अहिलेसम्म दुईवटा हरर फिल्म दर्शकमाझ ल्याएको छु। सिक्न धेरै बाँकी छ। पछिल्लो फिल्म घरलाई पनि दर्शकको राम्रो प्रतिक्रिया प्राप्त भएको छ। फिल्म बनाउने भनेको दर्शककै लागि हो। उनीहरूको प्रतिक्रियाका आधारमा फिल्म बनाउने हो।
अझ २/४ वर्ष यो विधामा काम गर्ने हो। दर्शकको साथ रहिरह्यो भविष्यमा यस्ता फिल्म बनिरहन्छन्।
संसारमा हरर विधाअन्तर्गत रहेर विशेष प्रकारका फिल्म बन्ने गरेका छन्। तर फिल्म घरलाई ‘घोस्ट’,‘क्याट एन्ड माउस’ ‘टर्चर पोर्न’लगायतमा आधारित रहेर निर्माण गर्नु भएको छ। यसलाई अझ विशेष बनाउन सकिन्थ्यो कि?
बजार अनुसार फिल्मको माग हुन्छ। हररमा पनि स्टोरी न्यारेटिभ हरर हुन्छ। मैले फिल्म सुनकेशरीमा स्टोरी न्यारेटिभमै काम गरेको थिएँ। हलुका कमेडी मिक्स गरेर ब्लडहरूको प्रयोग नगरी लाइट हार्टेड फिल्म बनाएकै हो। तर, फिल्म दर्शकका लागि रुचिकर भएन।
घरमा स्टोरी न्यारेसनभन्दा इभेन्ट न्यारेसनमाथि जोड दिएको हुँ। हरर विधामा दुई किसिमको धार हुन्छ। डराउने र तर्साउने। घरमा हामीले यी दुवै धारलाई लागू गर्न खोजेका हौं। सँगसँगै मनोरञ्जन त छँदै छ।
सुनकेशरीपछि दर्शकको मनोविज्ञान बुझ्दा उहाँहरूले ‘हार्डकोर’ नै खोज्नु हुने रहेछ। त्यसैले घरमा हररअन्तर्गत प्याकेज बनाउन खोजेको हो। यसले मनोरञ्जनसँगै हरर विधामा एउटा नयाँ धार बसाउन सकोस्।
हरर फिल्म मेकिङमा तपाईंको प्रवेशसँगै अब नेपालमा अन्य विधाजस्तै हरर विधाको विकास हुन्छ त?
यसअघि नेपालमा बनेका हरर फिल्म र पछिल्लो समय भारतमा बनेका फिल्मसँग तुलना गर्दा मलाई लाग्छ ‘घर’ निकै अगाडि नै आँउछ। स्रोत र साधनले भ्याएसम्म इभेन्ट न्यारेसनमार्फत फिल्ममा मनोरञ्जनसँगै डरलाग्दा दृश्य हामीले दिएका छौं।
बुझ्ने भाषामा भन्दा हरर फिल्मका प्राविधिक पक्ष के–के हुन्?
यो विषय निर्देशकमाथि भर पर्छ। मैले मेरो कथालाई कसरी भन्छु, त्यसमै भर पर्छ। मैले कसरी गर्छु अरुले पनि त्यसरी नै गर्छन् भन्ने छैन। फिल्मको कथावस्तुमा पनि फरक पर्छ। सुनकेशरी निमार्ण क्रममा हाम्रा लागि आउटडोर–इन्डोर लोकेसन, धेर–थोर क्यारेक्टर संघर्षजस्ता विषय महत्वपूर्ण थिए।
पछि फिल्म घरमा मैले केही उल्टो गरेको छु। दर्शकलाई हरर भनेपछि हररकै फ्लेभर चाहिन्छ। घरमा सोहीअनुसार दर्शकले हेर्न सक्ने गरी रगतका दृश्यहरू समावेश गरेको छु। यी सबै कुरा मैले सुनकेशरी प्रदर्शनपछि सिकेका कुरा हुन्। फिल्ममा एडप्ट स्टोरीसँगै जनराअनुसारको कथा प्राथमिकतामा राख्नुपर्ने रहेछ।
के हरर फिल्ममा वास्तविक रगतकै प्रयोग गरिन्छ र?
निर्देशकमाथि भरपर्ने कुरा हो? किनकि कतिपय अवस्थामा क्यारेक्टरलाई तर्साउन वास्तविक रगतको प्रयोग गरिन्छ। तर, मैले चाहिँ प्रयोग गरेको छैन।
नेपालमा हरर फिल्म निर्माणको चुनौती चाहिँ कतिको छ?
नेपालमा हरर फिल्ममा कुनै चुनौती नै छैन। मेरो चुनौती भनेको दर्शकको चित्त बुझाउन सक्छु कि सक्दिनँ भन्ने मात्र हो।
यसको अर्थ तपाईंसँग प्रतिस्पर्धा गर्ने मेकर नै छैनन्?
(हाँस्दै) खोई त? भविष्यमा होलान्, तर अहिले खोइ त? सुनकेशरीपछि करिब डेढ वर्षमा रिलिज भएको हरर फिल्म हो घर। यहाँ अरुसँग चुनौती नै छैन। हो, फिल्म मेकिङमा च्यालेन्ज छ, तर प्रतिस्पर्धी छैनन्।

हरर फिल्म निर्माणका लागि नेपालमा मानव साधनको उपलब्धता पर्याप्त छ?
मानव साधन छ, तर आवश्यक प्राविधिक इक्युप्मेन्टको भने अभाव छ। काम गर्दै जाँदा सामग्री अभावमा खुम्चिनुपर्ने बाध्यता हुन्छ। हररमा काम गर्दा सानो लोकेसनमा सीमित हुनुपर्छ। हाम्रो फिल्म मेकिङ कताकता गुरिल्ला प्रकृतिको हुन जान्छ।
हामी आवश्यक परेजति भिएफएक्समा पनि काम गर्न सकिरहेको छैनौं। गर्नुपर्ने अवस्थामा पनि त्यसको लागत मूल्य माथि पुग्न जान्छ। यस अर्थमा हामी फिल्म मेकिङमा धेरै कुराबाट सीमित भइरहेका छौं।
एउटा हरर फिल्म मेकरले सफल हुन कुन कुरामा बढी ध्यान दिनुपर्ने रहेछ?
सबैभन्दा बढी ध्यान दिनु पर्ने भनेको इभेन्टसमा हो। फिल्ममा समावेश गरिएका दृश्यहरू दर्शक मनोविज्ञानसँग जोडेर कति डरलाग्दा बनाउन सकिन्छ, त्यो नै महत्वपूर्ण हुन्छ।
मेकरले बनाएको फिल्म एउटा लाइनमा बहनुपर्यो। सँगसँगै कथावाचन र इभेन्टफुल फिल्म बनाउन सक्नुपर्यो।
तपाईं हरर फिल्म मेकिङमा लागिरहँदा अध्ययन अनुसन्धान कति आवश्यक पर्यो?
मैले हरर फिल्मलाई निरन्तरता दिइरहेको छु भनेपछि यो विषय पक्कै मभित्र अल्झिएको हुनु पर्छ। फिल्म स्क्रिप्टिङका क्रममा केही अध्ययन अनुसन्धान पक्कै आवश्यक पर्छ नै।
घर निर्माणका क्रममा चाहिँ केही गाह्रो भएको थियो। हाम्रो फिल्म बजारमा धेरै प्राविधिक पक्षबाट काम गर्यो भने फिल्म पूरा विदेशी देखिने सम्भावना हुन्छ। मानौं हरर फिल्ममा मान्छे उल्टो हिँड्यो भने हाम्रोमा त्यसलाई विदेशी भूतजस्तो छ भन्ने चलन छ। भूत त अंग्रेजी नेपाली हुन्न होला।
अध्ययन-अनुसन्धान गर्दा विश्वमा सफल फिल्महरूमा हरर नै पर्छन्। हररसँग खेल्न हामीसँग धेरै कुरा छन्। यसमा सांस्कृतिक पक्ष, आस्था विश्वास नै महत्वपूर्ण मान्न सकिन्छ।
समीक्षात्मक रूपमा तपाईंले निर्माण गर्नुभएका दुईवटै हरर फिल्म असफल देखिए? यस अर्थमा नयाँ विधामा पाइला चाल्दा पनि सपोर्ट नपाएको गुनासो तपाईंको?
म कतिपय कुरा नै बुझ्दिनँ। व्यक्तिलाई समीक्षा गरिएको हो या विधामाथि। यदि व्यक्तिगत रूपमा मैले गरेका कामलाई कसैले कदर गर्नुहुन्न भने उहाँहरूलाई पूर्ण अधिकार छ। मेरो बारेमा जे पनि भन्न सक्नुहुन्छ।
विधागत समीक्षा गर्नुहुन्छ भने त नयाँ विधामा यसले प्रयास गरिरहेको छ भन्ने प्रसंग पनि त हुनुपर्ने हो। अरु दुई/चार हरर फिल्म बनेपछि तुलनात्मक समीक्षा हन्थे। त्यसैले सुरुआती चरणमा रहेको विधागत कामको कदर गरिनुपर्छ जस्तो लाग्छ।
नेपालमा योग्य फिल्म समीक्षक नै छैनन् भन्न खोज्नु भा’को हो?
थाहा छैन मैले यो विषयलाई कसरी बताउने। फिल्म ‘घर’का दृश्यमा पुराना फिल्मका दृश्य थिए नि। यो फिल्म चाहिँ फलानो नेपाली हरर फिल्मसँग मिलेको छ भनेर प्रमाणसहित लेख्नु न। मेरो फिल्म त नेपाली फिल्म उद्योगका लागि फ्रेस नै छ नि।
बलिउड÷हलिउडमा धेरै हरर फिल्महरु हेर्नुभयो होला तर, नेपाली हरर फिल्मसँग दाज्न अझै १० वर्ष पखर्नुपर्छ। त्यसबेला मात्र फलानो फिल्मभन्दा फलानो फिल्म राम्रो भनेर तुलनायोग्य हुन्छ।
मेरो फिल्मलाई हलिउड फिल्म ‘कन्जुरिङ’ र ‘एनाबेल’सँग दाँज्ने हो भने त मेरो भन्नु केही छैन। हैन भने फिल्मको बारेमा दुई/चारवटा नराम्रा कुरा लेख्नेले अन्य ५० राम्रा कुरा पनि लेख्न सक्नुपर्छ।
Comments
Post a Comment