
फिल्म ‘राजा साहेब’ निर्माण घोषणा भएको छ। काठमाडौंमा सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी फिल्म निर्माण घोषणा गरिएको हो।
फिल्ममा तीन वर्षयता पर्दा बाहिर रहेका अभिनेता रमित ढुङ्गाना मोटो पारिश्रमिकमा अनुबन्ध भएका छन्। फिल्मका लागि उनको पारिश्रमिक १८ लाख रुपैयाँ हो। पारिश्रमिकबारे स्वयं रमितले पनि स्वीकार गरिसकेका छन्।
फिल्ममा पुराना अभिनेता रमितमात्र होइन, ‘गोली सिसाको...’ बोलको पुरानो गीत पनि रहने निर्माण युनिटले कार्यक्रममा जानकारी गरायो। पुरानो फिल्म ‘गाउँले’ मा समावेश चर्चित गीत गोली सिसाकोलाई रिमेक भर्सनमा फिल्म ‘राजा साहेब’ मा प्रस्तुत गरिने छ।
पुरानो गोली सिसाको गीतमा राजेश हमाल, दिपाश्री निरौला र विपना थापाको नृत्य छ। टिका भण्डारीको सङ्गीत रहेको गीतलाई अब भने ओम सुनार रिमेकमा जुटेका छन्। नेपालन्युजसँग कुरा गर्दै सुनारले भने, ‘म दुई/तीन महिनादेखि गीतको रिमेकमा लागेको छु। गीतलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ त्यसमा मेहेनत गरिरहेको छु।’
उमेश पाण्डे र रमला श्रेष्ठको स्वरमा रहेको उक्त गीतलाई अब रिमेक भर्सनमा उनै सङ्गीतकार ओम सुनार र इन्दिरा जोशीले स्वर दिनेछन्।
गीत रिमेककमा सम्बन्धमा राजा साहेब निर्माण टिमले सङ्गीतकार टिका भण्डारी र सम्बन्धित पक्षसँग कुरा गरिसकेको जानकारी दियो। उनीहरूका अनुसार करिब ४ लाख रुपैयाँमा गीत रिमेकको प्रतिलिपि अधिकार खरिद प्रक्रिया भइरहेको छ।
तर, गीत रिमेकसम्बन्धमा सङ्गीतकार भण्डारीले भने अझै टुङ्गो नलागेको जानकारी दिए। ‘यो फिल्म निर्माण टिमले गलत गरिरहेको छ। गीत रिमेकका सम्बन्धमा अन्तिम सहमति नभई उनीहरू यसको प्रचारबाजी गरिरहेका छन्,’ भण्डारीले नेपालन्युजसँग भने, ‘मौखिक कुरा भएकै हो। उनीहरूले मौखिक कुराकानीपछि केही रकमको चेक मलाई छोडेर गएका थिए। तर, लिखित सहमति नहुन्जेल रकम नलिने निर्णय गरेको छु। उनीहरूले छोडेको चेक अझै सटही गरेको छैन र गीत रिमेकका सम्बन्धमा टुङ्गो पनि लागेको छैन।’
कुनै पनि गीतको रिमेक बनाउन सम्बद्ध निर्माता र त्यसको प्रतिलिपि अधिकार प्राप्त व्यक्ति तथा संस्था सबैसँग सहमति हुनुपर्दछ। तर, नयाँ फिल्म राजा साहेब निमार्ण युनिटले भने यो काम पूरा नगरी प्रचारबाजी गरिरहेको भण्डारीको आरोप छ।
बिचल राईको निर्देशनमा बन्न लागेको राजा साहेबमा अभिनेता रमितसँग नायिका सोनिका केसी र आयुषा राईले अनस्क्रिन रोमान्स गर्नेछन्। यससँगै पुरानो गीत गोली सिसाको रिमेक भए अभिनेता रमितका साथमा सोनिका, आयुषालगायतले नृत्य गर्नेछन्।
Comments
Post a Comment