फिल्मजस्तै रहस्यमय छवि–शिल्पा प्रकरण : के गर्दैछ प्रहरी?


अभिनेत्री शिल्पा पोखरेलले पति छविराज ओझाबाट भोग्न परेको घरेलु हिंसाको पोको खोलेपछि उनीहरूको सम्बन्ध सार्वजनिक चासोको विषय बन्न पुग्यो।
काल्पनिक कथामा बन्ने फिल्मको क्यारेक्टर निर्वाहमा रमाइरहेको यो जोडीको वास्तविक कथा पनि फिल्मजस्तै बनेको छ। एकपछि अर्को दृष्यका कथामा ‘ट्विस्ट’ आइरहन्छ।
पतिसँग असुरक्षित महसुस गरेकी शिल्पा सुरक्षा माग्दै प्रहरीकहाँ पुगेपछि यो जोडीको सम्बन्ध सार्वजनिक रूपमा छताछुल्ल भयो। सम्बन्धमा देखिएको चिसोपनासँगै शिल्पा डिभोर्स प्रक्रियामा गइन्।
यहाँसम्म आइपुग्दा छवि-शिल्पा प्रकरण एकधारमा थियो। तर, छविराजकी पहिली पत्नी हेमा ओझाको प्रेवशसँगै कहानीमा ‘ट्विस्ट’ आयो। छवि-शिल्पा प्रकरणको धार बदलियो।
सार्वजनिक रूपमा एकअर्कामाथि आरोप-प्रत्यारोपमा व्यस्त यो जोडी एकाएक गुमनाम भयो। कारण हो- दुवैविरूद्ध हेमाले दिएको जाहेरी।
हेमाले पति छविराज र ‘सौता’ शिल्पा दुवैविरूद्ध प्रहरीमा बहुविवाहको जाहेरी दिइन्। यो प्रकरणमा हेमाको प्रवेश पनि रहस्यमय बन्यो। कारण, छविका दुई पूर्वपत्नीहरू गीताञ्जली र नायिका रेखा थापा अनि हालकी शिल्पा पोखरेलका विषयमा मिडियामा धेरै अघिदेखि चर्चा परिचर्चा कायम थियो।
अझ पत्नि गीताञ्जलीको आत्महत्याको प्रकरण, रेखा थापा र छविराजको डिभोर्स प्रकरणले पनि नेपाली मिडिया यसैगरी तातेको थियो। सँगै शिल्पा र छविको अफएयर काण्ड पनि मिडियामा उत्तिकै मसलाको विषय थियो।
जब शिल्पाले छविसँग डिभोर्स मागिन् तब हेमाको प्रवेश हुनु सार्वजनिक चासोको विषय बन्यो। यसै क्रममा छवि र शिल्पाविरूद्धको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले बहुविवाह प्रकरणमा छवि र शिल्पालाई पक्राउ पुर्जी जारी गरेपछि मुद्दा झनै जटिल बन्दै गएको छ।
अब छवि र शिल्पालाई कस्तो सजाय हुन्छ त? वा वर्षौंपछि जाहेरी लिएर आएकी हेमाको आशय के हो? लगायत प्रश्न आममानिसका साझा प्रश्न बनेका छन्।
यसमा अहिलेको नयाँ कानुनले बहुविवाह मुद्दामा पाँच वर्षसम्म जेल सजाय हुनसक्ने तोकेको छ। यसको गहिराइसम्म पुग्न भने अदालतसमक्ष छवि र शिल्पाको उपस्थिति अनिवार्य देखिन्छ।
तर, अदालतको पक्राउ पुर्जी जारी भएको चार दिन बितिसक्दा पनि प्रहरीले छवि र शिल्पालाई पक्रन सकेको छैन।
यसबारेमा महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होविन्द्र बोगटीले भने, ‘हामी छविराज र शिल्पालाई पक्राउ गर्न खोजिरहेको छौं तर अहिलेसम्म फेला पार्न सकिएको छैन।’
तर, हेमा ओझालाई जाहेरी दर्ता गर्न सहयोग गर्ने अधिवक्ता स्वागत नेपाल भने प्रहरीको उक्त भनाइ चित्तबुझ्दो नभएको बताउँछन्। छवि र शिल्पा खुलेआम हिँडिरहे पनि प्रशासनले बेवास्ता गरेको उनले बताए।
छवि-शिल्पानिकट स्रोतका अनुसार ललितपुरस्थित गुण कोलनीको १० नम्बर अपार्टमेन्टमा शिल्पा दाजु-भाउजु विकास र सम्झना रौनियारसँग बसिरहेकी छिन्। शिल्पाले रौनियारद्वयलाई दाजु-भाउजु मान्दै आएकी छिन्।
रौनियार दम्पती बस्दै आएको उक्त अपार्टमेन्टबाटै शिल्पा सुटिङमा जाने-आउने गरिरहेकी छिन्। त्यस्तै छवि पनि काठमाडौंको थापागाँउस्थित आफ्नै कार्यालय कान्तिपुर फिल्म एकेडेमीमा दिनहुँ जाने-आउने गरिरहेका छन्।
यसबारे छविकी पहिली पत्नी हेमासँग थप जानकारी लिन फोन सम्पर्क गर्दा उनको फोन ‘स्विचअफ’ थियो।

Comments