सामाजिक सञ्‍जालकाे लतै बसिसक्याे : स्वस्तिमा

नेपाली फिल्म क्षेत्रकी व्यस्त नायिका स्वस्तिमा खड्का यतिबेला फिल्म ‘हजार जुनीसम्म’ को प्रदर्शन मिति पर्खेर बसेकी छिन्।
पर्सी बिहीबार (साउन ३०) बाट प्रर्दशनमा आउने फिल्ममा स्वस्तिमा अभिनेता आर्यन सिग्देल, सलोन बस्नेत, प्रियंका कार्की, सञ्चिता लुइँटेलसँग स्क्रिनमा देखिनेछिन्।

फिल्म ‘होस्टेल रिटर्न’ बाट ठूलोपर्दामा आएकी स्वस्तिमा एक समय ‘कुटुमाकुटु गर्ल’ का रूपमा परिचित थिइन्। २०७५ मा प्रदर्शन भएको फिल्म ‘बुलबुल’ बाट स्वस्तिमाको अभिनय चर्चा झनै बढ्यो। उनले फिल्मबाट अन्तर्राष्ट्रिय र राष्ट्रिय  गरी दुई अवार्ड हात परिन्। यसले उनको करियरग्राफ झनै उकालो लाग्यो।
अब प्रदर्शन तयारीमा रहेको हजार जुनीसम्ममा स्वस्तिमाको अभिनयले कतिसम्म दर्शक लोभ्याउने हो त्यसका लागि केही दिन कुर्नुपर्छ। नयाँ पुस्तामाझ रुचाइएकी स्वस्तिमा प्रायः अन्तर्वार्तामा आफू धेरै नै मोबाइलमा व्यस्त हुने गरेको बताउँछिन्।
त्यसमा पनि सामाजिक सञ्जाल (फेसबुक र इन्स्टाग्राम) मै धेरै समय बित्ने गरेको उनको भनाइ छ। स्वस्तिमाको सामाजिक सञ्जालप्रतिको लतबारे नेपालन्युजका मनोज न्यौपानेले गरेको कुराकानी :

सामाजिक सञ्जालमा कति समय खर्चनुहुन्छ?
धेरै नै खर्चन्छु। घर बाहिर छु भने पनि चौबिसै घण्टा मेरो मोबाइलमा थ्रिजी खुलिरहेको हुन्छ। घरमा पनि उत्तिकै चलाइरहेको हुन्छु। एकप्रकारले सामाजिक सञ्जालको लत नै बसिसक्यो।

तपाईं कुन–कुन सामाजिक सञ्जाल बढी प्रयोग गर्नुहुन्छ?
फेसबुक र इन्स्टाग्राम नै हो धेरै प्रयोग गर्ने। त्यसमा पनि इन्स्टाग्राममा त कति समय जान्छ थाहै पाँउदिन।
घर बाहिर हुँदा इन्टरनेटका लागि कति पैसा खर्च गर्नुहुन्छ?
खै यति नै भनेर त कहिले पनि रेकर्ड राखेको छैन। एक हप्तामा १ हजार जतिको डाटा चाहिँ सकिन्छ। त्यो पनि अवस्था हेरेर हुन्छ। कहिले त्यही डाटाले १५ दिनसम्म चल्छ।
सामाजिक सञ्जालमा नकारात्मक सोचसहितका म्यासेजले दिक्क लागेको क्षण छन्?
हरेक प्रवृत्तिका मान्छे जोडिएको ठाँउ हो यो। त्यसैले त्यस्तो म्यासेज त धेरै नै आएका छन्। पहिला थोरै वास्ता गर्थें तर अब त बानी लागिसक्यो वास्तै हुँदैन। हजारजनामा एक/दुई जना त नराम्रो पनि हुन्छन्, त्यसैले यस्तै त हो जस्तो लाग्छ।
श्रीमान–श्रीमती दुवैजना कला क्षेत्रमा हुनुहुन्छ। एक अर्कामा सामाजिक सञ्जालका पासवर्ड सेयर गर्नुहुन्छ?
हामी एकअर्काको मोबाइल सामान्यतयाः चलाइरहेकै हुन्छौं। उसले नै मेरो पासवर्ड राखिदिएको हो। कतिपय अवस्थामा निश्चल (बस्नेत) ले नै मेरो फोन राखिदिएको हुन्छ। एकअर्कामा त्यो पासवर्ड सेयर गर्नुपर्छ पर्दैन भन्नेमा हाम्रो ध्यान नै जाँदैन। एउटै परिवारमा रहेर साना–साना कुरामा अड्किने हो भने त कसरी चल्छ र? आवश्यक परेका बेला दुवैको मोबाइल दुवैका लागि उपलब्ध हुन्छ, त्यतिभए भइहाल्यो नि।
राती सुत्ने बेलामा मोबाइलले कति ‘डिस्टर्ब’ गर्ने गरेको छ?
(हाँस्दै) छ नि। मोबाइल चलाएरै त सुत्न ढिला हुने हो।
मोबाइलमा इन्टरनेट नचलेर छिटो सुतेको कुनै दिन छ?
त्यस्तो हुँदै हुँदैन नि। अहिले इन्टरनेट चलाउने कति धेरै तरिका छन्। वाइफाइ, डाटा। डाटामा पनि फरक–फरक नेटवर्कवाला सिम। त्यतिले पनि भएन भने निश्चलको मोबाइलबाट हटस्पट खोलेर पनि चलाउने हो नि।
केही मानिस सुत्ने बेलामा मोबाइलमा साङ्गीतिक धुन बजाएर सुत्छन्, तपाईंमा पनि यस्तो बानी छ?
कहिलेकाँही चाँडो सुतेर चाँडै उठ्नुपर्ने अवस्था छ भने यो उपाय अपनाउँछु। हुन्छ नि, ध्यान गर्दा प्रयोग हुने प्राकृतिक धुन बजाएर सुत्दा अलि चाँडो निद्रा आँउछ।

Comments