
२०५८ सालमा गायक बद्री पंगेनी र गायिका सिन्धु मल्लको स्वरमा बजार आएको गीत थियो– ‘ससुरालीमा, ख्याल–ख्यालमै दिल बस्यो कान्छी सालीमा...।’
यही गीतले गायिका सिन्धु मल्लको दैनिकी फेरियो। व्यस्तता बढ्यो।
नेपाली गीत सङ्गीत क्षेत्र त्यसमा पनि लोकदोहोरीमा मल्लले राज नै गरिन्। रेडियो नेपालमा बालगायिका हुँदै गायनमा प्रवेश गरेकी उनी २०६० सालमा विवाह बन्धनमा बाँधिइन्। त्यसको तीन वर्षसम्म अर्थात् २०६३ सालसम्म नेपाली गीत–सङ्गीत बजारमा मल्लका धेरै गीत सार्वजनिक भए। त्यसमा अधिकांश सफल थिए।
मल्लको आवाजमा रहेका ‘ससुरालीमा...,’ ‘झल्झली आँखामा...,’ ‘रातो सारीमा...,’ ‘धरानको बजारमा...’ लगायत दर्जनौं गीत आज पनि नेपाली सङ्गीत क्षेत्रमा बजिरहन्छन्।
तर, २०६४ पछि भने बजारमा मल्लको उपस्थिति घट्दै गयो। छिटफुटबाहेक उनी सङगीत बजारबाट केही टाढा भइन्। उनै मल्लले पुरानो तीज गीत ‘चिटिक्कै भा छु रे...’ बोलको गीत रिमेक भर्सनमा यस वर्ष पुनः सार्वजनिक गरिन्। तर, नयाँ तीज गीत भने बजार ल्याउन चाहिनन्। किन?
उनै गायिका मल्लसँग नेपालन्युजका दर्जन प्रश्न (भिडियो सहित)
उनै गायिका मल्लसँग नेपालन्युजका दर्जन प्रश्न (भिडियो सहित)
साङ्गीतिक जीवन कसरी चलिरहेको छ?
राम्रैसँग चलिरहेको छ। हाम्रो घरमा पनि साङ्गीतिक माहौल नै छ। श्रीमान आफंै पनि सङगीतमै हुनुहुन्छ। अहिले छोरा ११ वर्षको भयो। ऊ पनि गितार सिकिरहेको छ, गीत पनि गाउँछ। केही समय अघिसम्म म घर व्यवहारमा अल्झिरहेँ जस्तो भएको थियो। तर, पुनः यो क्षेत्रमा निरन्तरता बढेको छ।
सङ्गीत बजारमा धेरै खोजिने मान्छे सिन्धु मल्लको उपस्थिति न्यून छ नि?
(हाँस्दै) तपाईंले भनेको कुरा हो जस्तै लाग्छ। कारण, म यही फिल्डमा छु, मैले गरिरहेकी छु। किनकि सङ्गीतभन्दा अर्को विकल्प त छैन नि मसँग, तर पनि उपस्थितिमा कमी आएको अनुभवचाहिँ हुन्छ।
रेडियो नेपालबाट बाल गायन हुँदै आजसम्म आइपुग्दा तपाईंको करिअरग्राफको लाइन निकै उबडखाबड देखिन्छ नि?
हो, मेरो करिअरग्राफ सहज रूपले अघि बढेको छैन। यस्तो हुनुको कारण पनि यस्तै हो भन्ने छैन। लाग्छ, आफंै हुँदो रहेछ। कहिले सङ्गीतमा त कहिले घरमा व्यस्त भइरहेकी हुन्छु। जे होस जीवन कहिँ न कहिँ व्यस्त भइरहेको हुन्छ। तर, सबै क्षेत्रमा पूर्ण चाहिँ नहुने रहेछ। महिलाका जीवनमा धेरै विषय जोडिएका हुन्छन्। जुन बेला म अविवाहित थिएँ। मलाई सङ्गीत क्षेत्रमा काम गर्न सहज थियो। यसको अर्थ विवाहपछि श्रीमान, परिवारको साथ सहयोग छैन भन्ने होइन। तर, खै महिलाहरू प्राकृतिक रूपमै बाँधिनुपर्दो रहेछ। किन पनि त्यस्तो लाग्छ भने पुरुषले महिलाले जति भोग्नुपर्दैन। जस्तो, अर्काको घरमा जाने, बच्चा जन्माउनेलगायत विषय यहाँ समावेश हुने रहेछन्।
६० को दशकमा सिन्धु मल्लको चर्चा धेरै थियो, त्यो समयलाई कसरी सम्झनु हुन्छ?
त्यो बेला एकदमै व्यस्त थियो जीवन। सरसर्ती सम्झँदा सधैं रेकर्डिङ हुन्थ्यो। त्यसमा पनि चार÷पाँचवटा रेकर्डिङ हुने। स्टेज प्रस्तुतिका लागि धेरैतिरबाट अफर आउने। म जान त धेरै जान्न थिएँ तर पनि अफर चाहिँ धेरै नै आउँथ्यो।
सिन्धु मल्लका लागि ६० को दशक झैं त्यो सुनौलो समय फेरि आउला?
शायद हुन सक्छ। आउँदैन भन्नाले अहिले पनि गरिरहेकी छु। त्यो समय म सङ्गीतकै लागि थिएँ। फ्रि थिएँ, उमेर थियो, जीवनमा केही गर्नुपर्छ भन्ने जोस, जाँगर थियो। भर्खर–भर्खर संसार नियाल्दै थिएँ। जे देखे पनि नयाँ महसुस हुन्थ्यो। सबै कुरामाथि एक्सपेरिमेन्ट गर्ने चाहना हन्थ्यो। त्यसैले त्यो समय छुट्टै थियो। ...अब त्यही समय त कहाँ फर्केला र फेरि? (प्रतिप्रश्न गर्दै हाँस्छिन्)
करियरमा कतै वैवाहिक जीवनले असहज ल्याएको हो?
त्यस्तो होइन। मेरो विवाह ६० सालमै भएको हो। जति पनि मेरा हिट गीत बजारमा आए विवाहपछि नै आएका हुन्। बद्री पंगेनीसँग गाएको गीत ‘ससुरालीमा’ बाहेक सबै हिटगीत विवाहपछि गाएकी हुँ। यसअर्थमा मेरा लागि पारिवारको पूर्णसाथ छ। तर, वैवाहिक जीवनपछि आफैं असहजता सिर्जना हुने रहेछन्। अरू त खै! समय नै त्यस्तो होला।
तपाईंको विचारमा बजारमा हिट हुन स्वर र शारीरिक सुन्दरता दुवै विषय अनिवार्य सर्त हुन्?
यी दुईबीच सम्बन्ध हुन्छ जस्तो लाग्छ। पहिलो कुरा त स्वर ‘प्योर गोल्ड’ राम्रो हुनैपर्छ। स्वयं आफूमा प्रतिभा हुनैपर्छ। त्यसमा सुगन्ध भर्ने काम सौन्दर्यताले गर्छ होला। फूलबुट्टा भर्ने काम सौन्दर्यताले गर्छ होला। तर, यी दुई विषय अनिवार्य सर्त हुन् भन्न चाहिँ मिल्दैन। किनकि, एउटा गायकका लागि स्वर नै सबैभन्दो ठूलो कुरा हो। सौन्दर्यता राम्रो हुँदैमा उसको गायकी राम्रो हुन्छ भन्ने हुँदैन।
हालै बजारमा तपाईंको रिमेक गीत ‘चिटिक्कै भा छु रे...’ को चर्चा छ, रिमेक लिएर आउन आवश्यक थियो र?
१२/१५ वर्षदेखि बजारमा तीज गीत ल्याउँदै आएका छौं। त्यसमा मलगायत सम्पूर्ण कलाकार पर्नुहुन्छ। तीज भन्नेबित्तिकै नारीले श्रीमानका लागि व्रत बस्ने विषय जोडिएको हुन्छ। त्यसमा नारीले शृंगारपटार गर्ने, रातो सारी, चुरा लगाउने विषय नै महत्वपूर्ण हुन्छ। तीजमा त्योभन्दा फरक विषय त छैन। त्यसैले एउटै विषयलाई सबैले कति प्रस्तुत गर्ने? डेढ दशकअघि बजार आएको ‘चिटिक्कै भा छु रे...’ गीत नयाँ पुस्तालाई त थाहा छैन। त्यसैले उनीहरूलाई सुनाउन पनि यो गीतको रिमेक ल्याएकी हुँ। र, एउटै विषयमा नयाँ गीत बनाउनुभन्दा पुरानै गीतलाई रिमेक गरौं भन्ने उद्देश्यले ल्याएका हौं।
नयाँ ल्याउदा बढी रिस्क हुन्छ भन्ने बुझाइ हो?
त्यस्तो होइन। रिस्क त जुनसुकैमा पनि हुन्छ नि। यसमा पनि रिस्क नै थियो। किनकि, यो गीत त पहिला पनि आएको गीत हो भनेर दर्शक–स्रोताले नसुन्न पनि त सक्थे। रिस्क सबैमा हुन्छ, तर यो गीत दर्शक–स्रोताले रुचाइ दिनुभएको छ। खुसी छौं।
यस वर्ष अरू कति र कुन–कुन गीत बजार ल्याउनुभयो?
२०७६ सालमा नयाँ गीत ‘चैर मुसी चैर’ बोलको गीत बजार आएको छ। जसमा पल शाह र वर्षा सिवाकोटीको अभिनय छ। उक्त गीतलाई दर्शकले राम्रै रुचाइरहनु भएको छ। जुन गीत सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने गीत पनि हो। अब दसैं–तिहारका लागि सोचिरहेका छौं।
भनेपछि यो तीजमा सिन्धु मल्लका अरू नयाँ गीत सुन्न पाईंदैन?
यही पुरानै गीतमात्र हो। अरू बनाउन त कहाँ सक्नु? अति महँगो जमाना छ। (हाँस्दै) एउटा नै काफी छ।
पछिल्लो समय तीज गीतमा बढी विकृति बढेको चर्चा चल्ने गर्छ, यसमा तपाईंको धारणा के छ?
मुख्यतः हाम्रो तीजको संस्कार परापूर्वकालबाट चलिआएको हो। त्यसैले संस्कृतिसँग गीत–सङ्गीत तुलना नै गर्न मिल्दैन जस्तो लाग्छ। संस्कृति एक ठाउँमा छ अनि गीत–सङ्गीत अर्को ठाउँमा। र, संस्कृतिसँग जोडिएको गीत–सङ्गीतका कुरामा चाहिँ छाडापन वा भल्गारिटी ल्याउनु हुँदैन। तीज गीत भनेर विभिन्न शव्द प्रयोग गरिएका गीत निकाल्नु विल्कुल गलत हुन्छ। यदि निकाल्नै मन छ भने संस्कृतिसँग नजोडी अरू कुनै समय निकाले हुन्छ। विकृति ल्याउनै हुँदैन। र, यसको रोकथामका लागि अहिले धेरै संघसंस्था पनि सक्रिय छन्। एक किसिमले यो रोकथाम पनि भइरहेको छ। धेरै अघिबाट यो छाडा प्रवृत्ति आएको थियोे। अहिले रोकथामको प्रयास भइरहेको छ। विस्तारै पूर्ण पनि होला र हुनुपर्छ।
बद्री पंगेनीसँग गाउनु भएको ‘ससुरालीमा’ बोलको गीतले तपाईंलाई निकै हिट बनायो, अब फेरि सहकार्यमा जुट्नुहुन्न?
योजना त सधैं हुन्छ। तर, विभिन्न कारणले नजुर्ने रहेछ। सोच्या जस्तो नै नहुने। गर्नुपर्छ जस्तो मनमा भइरहने तर के–के कुराले जुर्दै, नजुर्ने क्या। हुन त बद्री दाइसँग मेरा गीत आइरहेका पनि छन्। र, भविष्यमा पनि नयाँ गीत गर्नुपर्छ भन्ने योजनामा छौं, सायद गर्छाैं होला।
यस वर्षको तीज विशेष योजना केही छन्?
विभिन्न कार्यक्रमका बारेमा कुरा आइरहेका छन्। तर, पक्का भने भएको छैन। हेरौं, कहाँ के–के हुन्छ, विस्तारै थाहा हुन्छ।
अन्त्यमा, गीत–सङ्गीत क्षेत्रमा काम गरिरहँदा आफैंलाई सन्तुष्टि दिने वा इतिहासमा सम्झने केही खास काम गरेजस्तो लाग्छ?
इतिहासले मलाई सम्झिने भनेकै मैले राम्रो–राम्रो सिर्जना ल्याएँ भने सम्झने हो। मलाई राम्रो लागेको गीत दर्शक–स्रोतालाई नराम्रो लाग्न सक्छ। मलाई धेरै राम्रो लागेको गीत अडियन्सले मन पराएनन् भने त्यो त यसै बिलाएरै जाने हो। यस अर्थमा इतिहास राख्ने–नराख्ने कुरा दर्शक–स्रोताकै हातमा हुन्छ, न कि मेरो हातमा।
Comments
Post a Comment