
समिरमणि दीक्षित अर्थात् राजघरानाका डाक्टरका छोरा। ट्विटरमा मौसमसम्बन्धी भविष्यवाणी गरिरहने गर्छन्, तर उनी मौसमविद् भने होइनन्।
दीक्षितको परिचयात्मक काम धेरै छन्। टेलिभिजनमा कार्यक्रम प्रस्तोता, साइक्लिस्ट, वैज्ञानिक अनि कलाकार पनि।
जीवनमा धेरै काम गरेका दीक्षितको अध्ययन र औपचारिक पेशा वैज्ञानिक नै हो। उनले वायो टेक्नोलोजीमा पिएचडी गरेका छन्। तर, दीक्षित कलामा पनि उतिकै फिट छन्।
त्यसैले उनी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘न यता न उता’मा कलाकारका रूपमा देखिँदै छन्।
‘मिडल लाइफ क्राइसिस’ सम्बन्धमा निर्माण भएको फिल्ममा दीक्षित प्रमुख भूमिकामा देखिँदै छन्।
लामो समयदेखि नेपालमै जनस्वास्थ्य सम्बन्धमा अनुसन्धान केन्द्र खोलेर काम गरिरहेका दीक्षित रंगकर्ममा कसरी प्रवेश गरे? उनका लागि यो कमन प्रश्न रहेछ।
हाँस्दै जवाफ दिन्छन्, ‘यो प्रश्न मलाई धेरै आउँछ, खासमा म विद्यालय उमेरबाट नै रंगमञ्चसँग नजिक थिएँ। विद्यालयमा आयोजना हुने नाटकहरूमा म प्रायः ‘लिड रोल’मै हुन्थेँ। पछि थुप्रै अंग्रेजी ड्रामामा पनि काम गरेँ। यसको अर्थ मैले कहाँ कति गरे भन्दा पनि जीवनमा रंगमञ्च बाहिर बसेकै छैन।’
यद्यपि दीक्षितलाई नेपाली भाषामा बनेका नाटक गर्ने अवसर भने जुरेको छैन। उनी थप्छन्, ‘अभिनय व्यवसायभन्दा पनि रुचिको हिसाबमा मन पर्छ। त्यसैले यो क्षेत्रबाहिर रहेर बस्नै सकिनँ।’
अमेरिकामा रहेर ‘साइन्स’ अध्ययन गरिरहँदा दीक्षितले ‘आर्ट’ पनि अध्ययन गरेका थिए। आर्टमा उनको रुचि त थियो, तर अमेरिकाको ग्रेजुएसनमा आर्ट अनिवार्य विषय रहेछ।
हाँस्दै सुनाउँछन्, ‘म त कला र अभिनयसँग नजिकको सम्बन्ध भएको मान्छे। त्यसमाथि विषयवस्तु नै आर्ट भएपछि यसको निरन्तरतामा कुनै कमी आउने कुरै भएन।’
जब दीक्षित अस्ट्रेलियाबाट पिएचडी सकेर नेपाल फर्किए, उनी नाटक हेर्न थिएटर चहार्दै हिड्ने गर्दथे। ऊ बेला थिएटर आर्टिस्टसँगको उठबस बढ्दै गयो।
उनी सुनाउँछन्, ‘थिएटर जाने आउने क्रममा दयाहाङ राई, निश्चल बस्नेत, कर्मा शाक्य, सौगात मल्ल, ऋचा शर्मालगायतसँग भेट भइरहन्थ्यो। यसले मलाई कलासँग झनै नजिक बनायो। पेशा एउटा भए पनि फरक काममा अझ प्रेरणा मिल्दै गयो।’
दीक्षित कलासँग जोडिएका कलाकार मात्र होइनन्, फिल्म निर्माता पनि हुन्। उनी कसरी निर्माता भए यसको किस्सा छुट्टै छ।
‘भाइ इलम दीक्षितले फिल्म बनाउने प्रस्ताव राख्दै भनेका थिए, ‘दिपक रौनियार भन्ने फिल्ममेकर छन्। उनी आर्ट फिल्मप्रति झुकाव राख्न्छन्। गर्ने हो?, मसँग पैसा थियो, अनि केही नयाँ गर्ने सोच पनि। झट्टै हो मा हो मिलाईंहाले।’
निर्माता हुँदाका किस्सा पोख्दै उनी भन्छन्, ‘फिल्म बनाउने निर्णय भए पनि फिल्ममेकिङ सम्बन्धमा म शून्य थिएँ। जब दीपक रौनियार भेटेँ, अनि फिल्म ‘हाइवे’ निमार्ण गर्ने पक्का भयो। फिल्म तयार भई हल–हलमा पुग्यो। तर व्यावसायिक रूपमा असफल भयो।’
आर्ट फिल्मप्रतिको नेपाली दर्शक रुचिले दीक्षितलाई गलाएछ क्यार! ‘हाइवे’पछि उनले अर्को फिल्म बनाउने चेष्टा गरेकै छैनन्। फिल्ममा दीक्षितको एक्लो लगानी भने थिएन।
नेपालमा असफल फिल्मले अन्तर्राष्ट्रिय स्तरमा केही नाक राख्यो। चर्चित ‘बर्लिन फिल्म फेस्टिवल २०१२’मा उत्कृष्ट १८ औं स्थानमा फिल्म ‘हाइवे’ नोमिनेट भयो। नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा यो स्थान पाउनु नेपालका लागि गर्वको कुरा थियो। फिल्ममा ठूलो लगानी फसाएका दीक्षित पनि यसैमा चित्त बुझाएर बसे।

दीक्षितको फिल्मी करियर यतिमा मात्र सीमित छैन। उनले सन् २०१७मा फिल्म ‘आधा लभ’मा अभिनय गरे।
उनी भन्छन्, ‘मैले जति पनि फिल्ममा काम गरेको छु ‘नोटिसेवल क्यारेक्टर’ नै पाएको छु। किनकि आधा लभमा म कलाकार ऋचा शर्माको श्रीमानको भूमिकामा थिएँ। अहिलेको ‘न यता न उता’ पनि फिल्मको ९०% दृष्यमा मेरो उपस्थिति छ।’
शुक्रबारबाट हल प्रवेश गर्ने फिल्ममा दीक्षित अविवाहित अधबैंसे क्यारेक्टरमा छन्। ‘ड्रामेडी’(ड्रामा र कमेडीको संयोजन) जनरामा निर्माण भएको फिल्म अभिनयमा आफ्नो उपस्थिति अर्थपूर्ण बनाउने विश्वास छ दीक्षितमा।
शुक्रबारबाट हल प्रवेश गर्ने फिल्ममा दीक्षित अविवाहित अधबैंसे क्यारेक्टरमा छन्। ‘ड्रामेडी’(ड्रामा र कमेडीको संयोजन) जनरामा निर्माण भएको फिल्म अभिनयमा आफ्नो उपस्थिति अर्थपूर्ण बनाउने विश्वास छ दीक्षितमा।
उनी भन्छन्, ‘नेपाली दर्शकका लागि ‘न यता न उता’ राम्रो फिल्म बनेको छ। प्रदर्शनपछिका केही दिनमा माउथ पब्लिसिटीका आधारमा राम्रो व्यापार गर्नेमा म र फिल्म युनिट ढुक्क छौं।’
Comments
Post a Comment