
चकलेटी नायक आर्यन सिग्देल करिब एक वर्षपछि पर्दामा देखिँदैछन्। उनी फिल्म ‘हजार जुनीसम्म’मा मुख्य अभिनेताका रुपमा छन्।
करिब तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका आर्यनलाई समय-समयमा एउटा प्रश्नले झक्झक्याई रहन्छ– के तपाईं चकलेटी, लभर ब्वाइमै रमार्ई रहने हो?
यो प्रश्न उनका लागि त्यति नौलो होइन। भन्छन्,‘हो यसैमा रमाई रहने हो।’
आफ्नो छोटो जवाफलाई थप प्रस्ट पार्दै थप्छन्, ‘मैले सुरुबाट जति पनि फिल्ममा काम गरेको छु सबै मायाँमा आधारित छन्। चाहे त्यहाँ एक्सन होस्, थ्रिल होस् या अरु केही, तर फिल्मको जनरा भनेको प्रेमकथा नै हुन्।’
‘बीचमा मैले प्रयास नगरेको होइन। मेरो फरक प्रयास समिक्षकले मन पराउनु भयो, तर त्यतिले मात्र पुग्दैन रहेछ। बक्स अफिस कलेक्सनसँग पनि त्यसले सम्बन्ध राख्ने रहेछ। त्यहाँ म असफल भएँ। यो असफलता फिल्म युनिटमा मात्र रहदैँन, आम दर्शकमा पनि पुग्छ। त्यसैले असफल हुनुभन्दा यहीँ सफल भइरहेको चकलेटी, लभर ब्वाईमा नै नयाँपन दिउँन भन्ने हो। यसले म पनि खुसी छु र दर्शक पनि खुसी हुनुहुन्छ।’
आर्यनले कुराकानीका क्रममा नयाँ प्रयास असफल हुनुको पछाडी भने थुप्रै कारण रहेको बताए। उनले भने, ‘कतिपय फिल्म कथामा सुन्दा राम्रो लाग्ने र तयार भएर बजारमा आँउदा झुर भएर असफल भएँ। कहिले सुन्दा र बजारमा आँउदा राम्रो भएपनि दर्शकले मन नपराएर असफल भएँ। कति त छाँयांकनपछि कहिले हलमा फिल्म रिलिज भयो भन्ने विषय समेत थाहा नपाएर पनि असफल भएँ। त्यसैले असफलताका कारण धेरै छन्। तर, जुन कुरा मेकर र दर्शकले मन पराउनु भएको छ, त्यसैलाई निरन्तरता दिनु नै ठिक रहेछ र म यसैलाई निरन्तरता दिन्छु।’
Comments
Post a Comment