
सत्रौँ शताब्दीबाट सुरु भएको पर्व हो गाईजात्रा। यो जात्रामा विभिन्न राजनीतिक, सामाजिक तथा सामयिक व्यङ्ग्य र प्रहसनको प्रचलन भने पञ्चायत हुँदै बहुदलीय व्यवस्थापछि स्थापित भएको पाइन्छ।
स्टेजमार्फत् घुमाउरो व्यङ्ग्य गर्दै दर्शक-स्रोतालाई हँसाउने तथा सम्बन्धित पक्षमा यसको प्रभाव पुर्याउने कार्य गाईजात्रा प्रहसनद्वारा रंगकर्मीले गर्दै आएका छन्।
कुनै समय थियो जतिबेला रंगकर्मीहरू गाईजात्रा प्रहसनका लागि महिनौं लगाएर तयारी गर्थे। कलाकारबीच कसले बढी दर्शक हँसाउने भन्ने एक प्रकारको होड चल्थ्यो। दर्शक-स्रोता हँसाउनै उनीहरू व्यस्त हुन्थे।
सहरका चोक र गल्लीमा मानिस गाईकै भेषमा निस्किएर गाईजात्रा मनाउँदै आए पनि पछिल्ला वर्षमा यो जात्रामा राजनीतिक तथा समसामयिक व्यङ्ग्य घट्दै गएको छ।
रंगकर्मीलाई सुन्न र हेर्न आउनेको घुँइचो उसैगरी लाग्थ्यो। प्रज्ञा प्रतिष्ठान, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रिय नाचघरलगायत स्थान गाईजात्राका बेला खाली हुँदैनथे।
००० ००० ०००
राजा प्रताप मल्लका नाबालक छोराको मृत्युले रानी शोकमा थिइन्। रानीको भावविह्वलतालाई सामान्य बनाउन राजाले धेरै प्रयास गर्दा पनि रानीमा कुनै परिवर्तन नआएपछि उनले एक वर्षभरि मृत्यु भएका जनताका आफन्तलाई गाईसहित दरबार अगाडिबाट जात्रा निकाल्न आह्वान गरे। शोकमा डुवेकी रानीले देख्ने गरी जात्रा निकाल्दा रानीमा मृत्यु एक स्वभाविक प्राकृतिक प्रक्रिया हो भन्ने चेत खुलोस् भन्ने ध्येय थियो राजाको।
यही दिनदेखि नेपालमा गाईजात्रा मनाउने प्रचलन सुरु भएको थियो। पछि गएर गाईजात्रामा हाँस्ने, हँसाउने, टुक्का जोड्ने, ठट्यौली गर्दै व्यङ्ग्यात्मक प्रहसन गर्ने चलन सुरु भयो। विशेषगरी पञ्चायती शासन व्यवस्थाताका प्रहसनद्वारा घुमाउरो व्यङ्ग्य गर्ने प्रवृत्ति स्थापित भए पनि बहुदलीय व्यवस्थापछि गाईजात्रा हास्यकलाकार लागि पर्वका रूपमा स्थापित भयो।
सांस्कृतिक रूपमा सहरका चोक र गल्लीमा मानिस गाईकै भेषमा निस्किएर गाईजात्रा मनाउँदै आए पनि पछिल्ला वर्षमा हाँस्ने र हँसाउनेहरू निष्क्रिय छन्। यो जात्रा पर्वका रूपमा नभएर निरन्तरतामा मात्र सीमित छ।
००० ००० ०००
यस वर्षको गाईजात्रा पर्व आउन दुई दिन बाँकी रहँदा नेपाली हाँस्य कलाकर्मी आफ्नै व्यस्ततामा रमाइरहेका छन्। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल, केदार घिमिरेलगायत आ-आफ्नै काममा व्यस्त छन्। एक प्रकारले ‘गाईजात्रे’ व्यङ्ग्यप्रति कलाकार मौन छन्।
नेपाली कला क्षेत्रमा हाँस्य विधामा लामो समय एकछत्र राज गरेका महजोडी अर्थात् मदनकृष्ण र हरिवंशले स्टेज प्रस्तुति नदिएको लामो समय बितिसकेको छ।
यस वर्षको गाईजात्रा पर्व आउन दुई दिन बाँकी रहँदा नेपाली हाँस्य कलाकर्मी आफ्नै व्यस्ततामा रमाइरहेका छन्। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल, केदार घिमिरेलगायत आ-आफ्नै काममा व्यस्त छन्। एक प्रकारले ‘गाईजात्रे’ व्यङ्ग्यप्रति कलाकार मौन छन्।
दीपकराज, दीपाश्री, जितु नेपाल र केदार घिमिरे फिल्म क्षेत्रमा व्यस्त छन्। सीताराम कट्टेल सामाजिक काम, फिल्म निर्माण र रंगशाला निर्माणमै व्यस्त छन्।
पर्वका रूपमा आउने गाईजात्राप्रति हाँस्यकलाकारको चासो छ, तर समय छैन। स्टेज प्रस्तुतिप्रति उनीहरूको झुकाव कम हुँदै गएको छ। सँगै कलाकालमा दर्शकको आकर्षण पनि स्टेज प्रस्तुति तथा प्रहसनप्रति घट्दै गएको उनीहरूको बुझाइ छ।
हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन् ‘विगत ५/६ वर्षयता गाईजात्रामा प्रत्यक्ष सहभागी हुन सकेको छैन। हामी हाँस्य कलाकारका लागि गाईजात्रा विशेष पर्व भए पनि समय दिन नपाएकोमा दुःखी छु।’
रंगशालाको काममा खटिएका धुर्मुस यतिबेला रंगमञ्च र प्रहसन गरेका दिन सम्झिरहेका छन्। तर, बढ्दो सूचना प्रविधिको पहुँच र समाजिक सञ्जालको प्रयोगले कलाकर्मीको सिर्जनामा जटिलता थपिएको उनको बुझाइ छ। भन्छन्, ‘हरेक व्यक्तिले सामाजिक सञ्जालमा राखेका स्टाटस, ट्विटदेखि युट्युबमा अपलोड गरिएको भिडियोमा मनोरञ्जन छ। हाँस्य रस छ, हाँस्य व्यङ्ग्य छ। त्यसैले हामी हाँस्य कलाकारलाई चुनौती थपिएको छ।’
स्टेज प्रस्तुति र प्रहसनका केही कठिनाइबारे धुर्मुस भन्छन्, ‘स्टेज प्रस्तुति, प्रहसनजस्ता विषयमा कलाकारको ठूलो मेहनत र लगाव चाहिन्छ। यस हिसाबमा पनि सहजै स्टेज उक्लन गाह्रो हुन्छ। प्रयुक्त हाउभाउ, शब्ददेखि व्यङ्ग्यका विषय, सबैमा कलाकारको पूर्वतयारी बलियो हुनपर्छ।’
००० ००० ०००
गाईजात्रामा रचनात्मक प्रहसन सुन्दर पक्ष रहे पनि विविध प्राविधिक पक्ष यसमा पर्खालका रूपमा रहेको बताउँछन् हाँस्यकलाकार दमन रुपाखेती। उनी भन्छन्, ‘भाडा नै महँगो छ। कलाकारले आफ्नो प्रस्तुति दिनका लागि हलको व्यवस्था छैन। लाखौं खर्च गरेर हल किनुभन्दा दर्शकको खडेरी छ।’
उनी थप्छन्, ‘केही वर्ष अघिसम्म गाईजात्रा हेर्न आउनेको लाइन हुन्थ्यो, तर, अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगले यो स्थिति छैन। हलबाहिर बसेर गाईजात्रा हेर्न आउनुहोस्, आउनुहोस् भनेर तानेर ल्याउनुपर्ने अवस्था छ।’
यस वर्ष रुपाखेतीसहित, कमल गाउँले, विष्णु सापकोटा (हर्के हवल्दार)लगायतको टिमले राष्ट्रिय नाचघर जमलमा गाईजात्रा कार्यक्रम आयोजना गरेका छन्। ‘संस्कृति र परम्परा जोगाउन भए पनि शुक्रबार र शनिबार दुई दिन हामीले गाईजात्रा प्रहसनको आयोजना गरेका हौं। तर, हल व्यवस्था गरेर कार्यक्रम गर्न धेरै गाह्रो छ,’ रुपाखेतीले दुःखेसो पोखे।
००० ००० ०००
यता हरिवंश आचार्य भने रुपाखेतीको विचारमा सहमत छैनन्। ‘हामी कलाकार नै गाईजात्रा होस् या स्टेज प्रस्तुतिका लागि तयार छैनौं। यदि राम्रो प्रस्तुति दिने हो भने आज पनि दर्शकको भीड लाग्छ, ठेलामठेल हुन्छ।’
‘स्टेज प्रस्तुतिका लागि राम्रो स्क्रिप्टसँगै शारीरिक हाउभाउ र तन्दुरुस्तीको आवश्यकता पर्छ। तर, पारिवारिक रूपमा हामी अहिले तयार हुन सकेका छैनौं। हास्यव्यङ्ग्यका लागि बजारमा जति पनि कथा छन्। तिनलाई सदुपयोग गर्नसके प्रहसनको बजार आसलाग्दो नै देख्छु।’
‘हामी कलाकार नै गाईजात्रा होस् या स्टेज प्रस्तुतिका लागि तयार छैनौं। यदि राम्रो प्रस्तुति दिने हो भने आज पनि दर्शकको भीड लाग्छ, ठेलामठेल हुन्छ।’
यस वर्ष पनि स्टेजमा देखिनै छैनन् महजोडी। तर, उनीहरू पुरानो कार्यक्रम ‘बाहुन बहादुर, नेवार बहादुर’ युट्युवमार्फत् सार्वजनिक गर्ने तयारीमा छन्।
गाईजात्रामा प्रहसनको माहोल घट्दै गएको अनुभूति गर्दै आएका छन् कलाकार मनोज गजुरेलले। यही कारण मनोज, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, रवि डंगोललगायत कलाकार विभिन्न सहरमा प्रहसनको तयारीमा जुटेका छन्।
‘केही पक्षबाट गाईजात्रा, प्रहसन, स्टेज प्रस्तुति घटेको हो भन्ने गुनासो सुन्दै आएको छु। तर, अवस्था त्यस्तो छैन,’ गजुरेल भन्छन्, ‘हामी रंगमञ्चमा रहेका कलाकार यही हाँस्य विधामा रहेर काम गरिरहेका छौं। कुनै वर्ष धेरै, थोरै कार्यक्रम भए होला। केही साथीहरू फिल्ममा, रंगशालाका काममा वा कोही विदेशका कार्यक्रममा जानुभयो होला तर, व्यङ्ग्यात्मक हाँस्यविधा लोप हुने छैन।’
गाईजात्रा लिएर देश दौडाहाको तयारी सुनाउँदै गजुरेल भन्छन्, ‘हामी गाईजात्रालाई यसै वर्षदेखि काठमाडौंमा मात्र नभएर मोफसलमा पनि लैजाँदैछौं। साउन ३२ देखि विराटनगर, सिमरा, हेटौंडा, बुटवल, दाङ, नेपालगन्ज र काठमाडौंमा एक-एक दिन गाईजात्रा प्रहसन गर्दैछौं। यसले गाईजात्रामा हाँस्यकलाकारको उपस्थिति जिँउदो राख्नेछ ।’
००० ००० ०००
पछिल्लो समय कलाकारमा स्वार्थ बढेको बताउछन् हाँस्यकलाकार कमल गाउँले। पहिले सबै हाँस्यकलाकार एक भएर एउटै स्टेजमा रिहर्सल गर्ने, भएका विसङ्गतिमा व्यङ्ग्य गर्ने गरेको सम्झना उनीसँग ताजै छन्।
‘पछिल्लो समय आ-आफ्ना युट्युब अकान्ट खोल्ने, हँसाउने, हाँस्न लगाउनेलगायत प्रवृत्ति बढेकाले सर्जक तथा दर्शक-स्रोता सबै युट्युबमै व्यस्त छन्। स्टेज प्रस्तुतिका लागि कोहीसँग समय नै छैन।’
कलाकार पैसाको पछाडिमात्र दौडिन नहुने सुझाव राख्दै गाउँले भन्छन्, ‘केही कलाकार विदेशका कार्यक्रममा बढी आम्दानी देखेर उतै लाग्छन्। वर्षको एक दिन आउने गाईजात्रा सबै मिलेर मनाउनुपर्ने हो। पैसा त जति कमाए पनि गोजी कहिले पनि भरिने होइन।’
Comments
Post a Comment