
सञ्चारकर्ममा रमाइरहेका निर्मल दाहालको आवाजमा केही दिनअघि नयाँ गीत ‘जब घाम ढल्छ, तिम्रो याद आँउछ...’ सार्वजनिक भयो। उमेरले ३३ वसन्त पारगरिसकेका दाहालको यो डेब्यु गायन हो।
केही वर्षअघि गायक नविन के भट्टराईको सङ्गतमा पुगेका दाहाललाई गीत रेकर्ड गर्न भट्टराईले नै उर्जा दिएका हुन्। ‘म जुनसुकै बेला पनि गीत गुनगुनाइरहने मान्छे, अग्रज दाइहरूसँग हुँदा पनि उस्तै बानी। मेरो गुन्गुनाइले दाइलाई छोएछ,’ नेपालन्युजसँगको कुराकानीमा दाहालले भने, ‘एक दिन मलाई दाइले यो, जब घाम ढल्छ...बोलको गीत सङ्गीतसहित उपहारस्वरूप दिनुभएको हो। उतिबेला गीतको शव्द पूरा भएकै थिएन। पछि साथी रोशन सुवेदीलाई शव्द पूरा लेख्न लगाएर गीत तयार गरेको हुँ।’
पप जनराको गीतलाई दाहालले भिडियोसहित बजार ल्याएका छन्। गीतको भिडियोमा मोडल एलिजा बस्नेतसँग गायक दाहाल स्वयं देखिएका छन्। सञ्चारकर्मबाट एकाएक सङ्गीतसँग सामिप्यता जोडियो? पप जनरा नै किन रोज्न पुगे, नेपालमा पप जनराको भविष्यलगायत जिज्ञासासहित दाहालसँग नेपालन्युजका दर्जन प्रश्न :
उमेरले ३४ पुगेपछि बल्ल गायनमा आउनुभयो, करियरमा अन्य विकल्प नभएर हो?
गीत गाउन धेरै मन पराउने मान्छे म। औपचारिक रूपमा यसअघि कुनै गीत रेकर्ड गराएको थिइनँ। आफैं गाउने आफैं रमाउने मान्छेमध्ये एक हुँ। २०६१/६२ तिर हो मैले भक्तपुर एफएममा विज्ञापनको लागि साथी अनिलसँग एउटा गीत गाएको थिएँ। रहर वा बाध्यता भन्दा पनि सङ्गीतप्रतिको झुकावले नै गायनमा लागेको हुँ। खासमा सङ्गीतले उमेर नभन्ने रहेछ। (हाँस्दै) ‘ढिलो सुरु गर तर राम्रो सुरु गर’ को पक्षमा छु म चाहिँ।
गायनमा पप जनरा नै किन?
मेरो स्कुलिङ पपमै भएको भन्दा पनि हुन्छ। सबैखाले गीत रुचाउँछु तर मलाई प्रभाव पार्न सक्ने गीत भने पप नै हो। पप म्युजिक कम्पोजिसन एकदमै सहज लाग्छ। त्यसमा पनि ‘सर्फ पप’, ‘इन्डी पप’ मलाई धेरै नै मनपर्छ।
पप जनरामाथि काम गरिरहँदा यसका चुनौति र सम्भावना कस्तो देख्नु भएको छ?
साङ्गीतिक करियरको सुरुवात पपबाट भएको हो। यसको अर्थ पपमात्र गाउँछु भनेर त हुँदैन। मलाई लाग्छ, नेपाललमा रक पप मृतावस्थामा छ। पछिल्लो समय डान्सिङ नम्बर, स्ल्याङ वर्ड (अपशव्द) वाला गीत चल्ने प्रवृत्ति छ। तर, म पपमा पनि राम्रो शव्द सङ्गीतमा काम गर्ने योजना बनाएर आएको हो। सँगै पप जनरामा काम गरिरहनु भएका अग्रज पनि यसैबाट आफ्नै जीवन चलाइरहनु भएको छ भने भविष्य त पक्कै राम्रो छ। चुनौति सबै क्षेत्रमा हुन्छ। अनुसाशनमा रहेर राम्रो काम गर्ने हो भने भविष्य पक्कै छ।
औपचारिक सङ्गीत अध्ययन गर्नुभएको छ?
औपचारिक रूपमा सारेगम... भनेर पढेको छैन। जति अध्ययन गरेँ प्रयोगात्मक रूपमा आफै अभ्यास गरेँ। अनौपचारिक रूपमा भने अग्रज दाइहरू नवीन के भट्टराई, सुगम पोखरेललगायतले यसो गर्ने, उसो गर्ने यस्ता गीत सुन्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ। यसैको आधारमा यो गीत बजार ल्याउन सफल भएँ। सिकाइको अर्को पाटो भनेको धेरै सुन्ने बानी नै हो। सन् ९० को दशकका गीत म धेरै सुन्छु। यसले पनि मेरो सिकाइ र कर्ममा सहजता ल्याएको छ।
करियर नै सङ्गीतमा बिताउने भइसकेपछि औपचारिक सिकाइ आवश्यक छैन?
आवश्यक नभएको होइन तर भयङ्कर आवश्यकता छ पनि भन्दिनँ। यो एकप्रकारको अनुभुति हो। कुनै कुनै कुरा अनुशासनमा रहेर अनुभूत गर्ने हो भने पनि पर्याप्त हुन्छ। त्यसकारण औपचारिक रूपमै सारेगम... भनेर कक्षा नै लिनुपर्छ जस्तो लाग्दैन।
नवगायक निर्मलले बुझेको सङ्गीत केलाई भन्ने? गायन के हो?
सङ्गीत भनेको अनुभूति हो। कानमा सुनेर हृदयमा स्पर्श गराउने मधुरता नै सङ्गीत हो जस्तो लाग्छ। जसले सुन्नेलाई आनन्द दिलाउन सकोस्। यही स्पर्शलाई व्यक्त गर्न सक्नु या त्यो सामर्थ्य हुन चाहिँ गायन हो जस्तो लाग्छ।
अब कुनै नयाँ गीतको तयारी?
मेरो भर्खरै सार्वजनिक गीत ‘जब घाम ढल्छ...’ को ‘अकुस्टिक’ भिडियो बनाउने तयारीमा छु। यससँगै नयाँ गीतको तयारी चलिरहेको छ। चाँडै दर्शक–स्रोतामाझ ल्याउने छु।
नेपालमा एउटा गायकले पाउने मान–सम्मान र दृष्टिकोण कस्तो छ?
धेरै नै सम्मानित र इज्जतदार देखेको छु। साङ्गीतिक करियर धेरै नै इज्जतिलो छ। यतिमात्र होइन, आर्ट अर्थात् कला क्षेत्रमा लागेका हरेक व्यक्तिलाई सम्मानसाथ हेरिने गरेको छ।
गायनमा तपाईं कसको अनुयायी?
मैले पटकपटक लिने नाम भनेको गायक नवीन के भट्टराई, सुगम पोखरेल नै हो। वास्तवमा भन्ने हो भने एउटा गायक सबै प्रकारका गीत र सर्जकको अनुयायी हुनुपर्छ जस्तो लाग्छ। तर, पनि नामै लिँदा भक्तराज आचार्य, दीप श्रेष्ठ, गिरिश खतिवडा, प्रनिल तिमल्सिनालगायत सर्जकसँग म ठोक्किइरहेको हुन्छु।
व्यक्तिगत पाटो पनि, अनि विवाहित हुनुहन्छ?
(हाँस्दै) विवाहित त होइन, विवाहको योजना पनि बनेको छैन।
दर्शक-स्रोता तथा पाठकसँग भन्नुपर्ने केही छ?
भर्खरै मेरो पहिलो गीत बजार आएको छ। आसा छ, धेरैले मन पराइदिनुहुन्छ होला। पछिल्लो समय हेर्ने भनेको युट्युब हो। तर युट्युब हेरेर त्यसमा देखिएको दर्शक संख्या लिएरमात्र मूल्याङ्कन नगरिदिनुहोला। अन्य धेरै माध्यम छन् गीत सुन्ने त्यहाँ पनि सुन्ने-हेर्ने प्रयास गर्नुहोला।
Comments
Post a Comment