
नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा रुचाइएको नाम हो। तर, आफ्नै गतिविधिले उनी विवादमा तानिँदै आएकी छन्।
बेलाबेला उनी विदेशका सामुद्रिक किनार पुग्छिन्। विदेशीजस्तै सामुद्रिक छालसँग अनि कहिले वालुवामा लडिबुडी गर्छिन्। जे होस, भरपुर मनोरञ्जन लिने गर्छिन्। यससँगै त्यहीँ सामुद्रिक किनारबाट उनी व्यक्तिगत स्वतन्त्रताको उपयोग गर्दै बिकिनी अवतार सामाजिक सञ्जालमा छरिरहन्छिन्।

एकप्रकारले उनी व्यक्तिगत स्वतन्त्रता उपयोग गरिरहन्छिन्। तर, आफ्नो लोकप्रियतामा यसले कतिसम्म आँच आउँछ भन्ने उनलाई हेक्का छैन। नेपाली समाजले कुन हदसम्मको गतिविधि स्वीकार गर्छ, त्यसको पनि मतलब गर्दिनन्।
यसैको परिणाम हुनुपर्छ साम्राज्ञी केही साताअघि इन्डोनेसियाको बालीस्थित सामुद्रिक किनार पुगेकी थिइन्। त्यहाँ उनी एक्लै थिइनन्। प्रेमी देवांश राणा पनि उनीसँगै थिए। उनीहरू त्यहाँ किन गए, के गर्दैछन् नेपाली सञ्चारमाध्यम, नेपाली समाज या अरू कोहीलाई वास्ता थिएन, थाहा थिएन।
तर, सामाजिक सञ्जालमा जब साम्राज्ञीको बिकिनी अवतार एकाएक चर्चामा आयो तब सञ्चारक्षेत्रमा साम्राज्ञीका गतिविध गसिप बनाइए। उनको अर्धनग्न तस्बिरका बारेमा सामाचार सम्प्रेषण भए। कारण थियो, उनी नाम चलेकी नेपाली अभिनेत्री हुन्। युवापुस्ताले उनलाई पछ्याउने गरेको छ। उनका हरेक गतिविधि चासोका विषय हुन्।
यसको चर्चा सेलाउन नपाउँदै पुनः साम्राज्ञी र प्रेमी देवांशका अर्धनग्न, अन्तरङ्ग तस्बिर बाहिरिए। यसले साम्राज्ञीको झनै चर्चा चुलियो। उनको अर्धनग्नताविरूद्ध सामाजिक सञ्जालमा आलोचना बढ्यो। यो आलोचना साम्राज्ञीको कानसम्म पुगेको हुनुपर्छ। उनले आलोचकप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा एउटा हिन्दी सायरी लेखिन्– ‘हात्ती चले बजार, कुत्ता भौंके हजार’ अर्थात् ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ।’
चार वर्षअघि फिल्म ‘ड्रिम’ मार्फत् अभिनय यात्रा प्रारम्भ गरेकी साम्राज्ञीको अभिनय र व्यवहार हेरेर सञ्चारमाध्यम र दर्शकले उनलाई स्टार बनाए। तर, त्यो गुन आज साम्राज्ञीले चटक्क भुलेकी छिन्। सामुद्रिक किनारमा फक्रिएको जवानीले आफ्नो स्तर बनाइदिने सञ्चारमाध्यम अनि दर्शकलाई लात हान्न उनी हड्बडाइनन्। त्यसैले त भनिदिइन्– ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ।’
साम्राज्ञी बिकिनी अवतारमा सामुद्रिक किनारमा खुलेको भने यो पहिलोपटक होइन। उनका बिकिनी अवतार, ट्याटु काण्डलगायत ‘फन्डा’ यसअघि सामाजिक सञ्जालमा चलि नै रहे। तर, पछिल्लो समय भने उनका गतिविधि देखेर वाक्क बनेका प्रशंसकबाट नै आलोचनाको सिकार बन्न पुगिन्।
साम्रज्ञीले ‘इन्स्टाग्राम’ बाट आफ्ना प्रशंसकलाई जवाफ दिन आवश्यक ठानिन्। उनले इन्स्टाग्राममा एक भिडियोमार्फत आफ्ना प्रशंसकलाई ‘आलोचनामा व्यस्त बन्नुभन्दा आ–आफ्नो काममा लाग्न’ आग्रह गरिन्। लगत्तै अर्को भिडियोमार्फत् उनले ‘नकारात्मक सोचबाट सकारात्मक हुन’ आग्रह गर्दै ‘यदि आफ्नो विचार मन पर्दैन भने आनफलो गर्न’ पनि आग्रह गरिन्।
उनले पोस्ट गरेका यी दुई भिडियोमा अधिकांशले साम्राज्ञीको घमण्ड बढेको प्रतिक्रिया दिएका छन्। ‘सेलेब्रिटी’ भएर देखाइएका हर्कत बन्द गर्न आग्रह गरेका छन्। यसरी उनले विभिन्न समयमा समाजसँग मिल्दो व्यवहार गर्न सुझाव दिने प्रशंसकलाई दिएको जवाफको आशय घमण्डको पराकाष्ठा हो या स्वभाव? जिज्ञासाको विषय बनेको छ।
Comments
Post a Comment