‘टाइप कास्ट’ मै फिट छु : सलोन

नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय नाम हो- सलोन बस्‍नेत। बाल्यकालबाटै अभिनयमा होमिएका सलोन नयाँ पुस्तामा रुचाइएका कलाकार हुन्।
सन् १९९९ मा निमार्ण भएको फिल्म ‘बाबुकान्छा’ बाट अभिनय यात्रा थालेका सलोन अहिलेका व्यस्त कलाकारमध्ये पर्छन्। तर, उनले लामो समय फिल्म क्षेत्रमा खर्चिए पनि मुख्य पात्रका रूपमा रहेर सफलताको स्वाद चाख्‍न पाएकै छैनन्। अधिकांश फिल्ममा सलोन ‘स्टेरियोटाइप कास्ट’ क्यारेक्टरमा देखापर्छन्।
यस विषयले सलोनलाई बेलाबेला एउटा प्रश्नले लखेटिरहन्छ- तपाईं टाइपकास्टमै सधैंभरि रमाइरहने हो?
सलोन केही फिल्ममा सोलो अभिनेताका रूपमा नदेखिएका भने होइनन्। तर, उनले सोलो अभिनेता भएर आफ्नो शाख जोगाउन सकेनन्। फलस्वरूप उनी टाइपकास्टमै रमाइरहेका छन्।
‘जे छ त्यसमै रमाउनु भने झैं मलाई टाइपकास्ट नै पर्याप्त छ,’ बारम्बार दोहोरिरहने प्रश्नको जवाफ दिँदै भन्छन्, ‘फस्ट इम्प्याक्ट इज लास्ट इम्प्याक्ट’ भने झैं सुरुमा जुन क्यारेक्टरमा दर्शकले रुचाउनुहुन्छ, त्यो क्यारेक्टर नै बजारमा स्थापित हुने रहेछ र त्यही विषयलाई निर्माता-निर्देशकले पनि पछ्याउनुहुन्छ।’
सलोन करियरमा आफूले गरेका गल्ती स्वीकार गर्छन्। ‘काम गर्ने क्रममा सोलो अभिनयका लागि मैले प्रयास नगरेको होइन तर त्यहाँ मेरा केही कमिकमजोरी भए। त्यसैले टाइपकास्टमा सुखद यात्रा अघि बढिरहेको छ। आसा गरौं भविष्यमा राम्रो हुँदै जाला,’ उनले भने।
फिल्म ‘होस्टेल’ मा ‘जंगे’ को भूमिका निर्वाह गरेका सलोनको क्यारेक्टर दर्शकले खुब मन पराए। त्यही क्यारेक्टरको नाम नै उनको ट्याग बनेको रहेछ। सञ्चारकर्मीसँग सलोनले सुनाए- ‘मलाई आज पनि धेरैले होस्टेलको क्यारेक्टर जंगे नामले बोलाउनुहुन्छ। लाग्छ, मलाई यस्तै क्यारेक्टरमै दर्शकले हेर्न रुचाउनुहुन्छ।’

यतिबेला सलोन फिल्म ‘हजार जुनीसम्म’ को प्रचारप्रसारमा व्यस्त छन्। फिल्ममा उनी पनि अभिनेताका रूपमा प्रस्तुत हुँदैछन्। ‘इभन, फिल्म छायाङ्कनका बेला पनि धेरैले जंगे भनेर नै बोलाउनुहुन्थ्यो,’ यस सम्बन्धमा सञ्चारकर्र्मीसँग सलोनले भने।

Comments