कर्मले डोर्‍याएकी नवनायिका रेबिकाको अभिनय–यात्रा

‘दैनिक कामका साथै अतिरिक्त समय मोडलिङ र अभिनय क्षेत्रमा लगाउने सोचले ग्ल्यामरको दुनियाँमा होमिएकी थिएँ। तर, सुटिङ अवधि र त्यसपछिको माहोलले यो क्षेत्रमा एक प्रकारको नसा लाग्न थालेको छ,’ केहीबेरको मौनतापछि उनले भनिन्,‘अभिनयमा यहाँसम्म आइपुग्छु भनी सपना देखेकी थिइनँ, तर भइदियो यस्तै।’
भदौ १३ देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मारुनी’की नवनायिका रेबिका गुरुङका भनाइ हुन् यी।
नेपालन्युजसँगको भेटमा रेबिकाले आफ्नो डेब्यु अनुभवको फेहरिस्त खोल्न भ्याइन्।
‘मेरो जन्म काठमाडौंको धुम्बाराहीमा भएको हो। मेरो पढाइ औसत थियो। बाल्यकालमा चुलबुले अनि पछि लजालु भएँ। पढाइका साथै खेलकुद र नृत्यमा निकै रुचि थियो। उमेर बढ्दै गएपछि किन किन लाज लाग्न थाल्यो। अतिरिक्त क्रियाकलाप कम र पढाइमा बढी केन्द्रित हुन थालेँ,’ उनले छोटो मिठो परिचय खुलाइन्।
rebika 6
उनी सुनाउँदै गइन्, ‘एसएलसीपछि युनिभर्सल कलेजबाट विज्ञान संकायमा ‘प्लसटु’ सकेँ। त्यसपछि ६ महिना मेरा लागि फुर्सदको समय थियो। अनि, मेरो मामा विकास खतिवडा चाहिँ फेसन फोटोग्राफर। उहाँसँगै वरपर हिँड्न गाह्रो थिएन। त्यो समय मैले दुईवटा टिभिसी विज्ञापन र एउटा बङ्गाली म्युजिक भिडियोमा काम गर्ने अवसर पाएँ। तर, यसरी अभिनयलाई निरन्तरता दिन्छु भन्ने सोचेकै थिइनँ।’
रेबिकाले टिभिसीको विज्ञापनमा अभिनेत्री प्रियंका कार्कीसँग स्क्रिन सेयर गरेकी थिइन्। यही विज्ञापन उनका लागि फिल्मी करिअरको पहिलो इनिङ थियो। ‘प्रियंका म्यामसँगको टिभिसी हेरेर मलाई फिल्म ‘लिलिबिली’ टिमले बोलाउनुभयो। म पनि फिल्म गर्न राजी भएँ। तर, युकेको भिसा नलागेपछि फिल्म गर्नै पाइनँ।’ रेबिकाको ठूलो पर्दामा डेब्यु गर्ने रहरमाथि ठेस लाग्यो,’ उनले सुनाइन्।
‘जे हुनु थियो राम्रो भयो, यसलाई म नकारात्मक रूपमा लिन चाहन्नँ,’ भिसा नलागेपनि उनले चित्त बुझाइछन् क्यार!
रेबिका पढाइमै व्यस्त थिइन्। ‘अचानक फोनको रिङ बज्यो, फोन गर्ने मान्छे फिल्म ‘मारुनी’की निर्माता पुनम गौतम हुनुहुँदो रहेछ। मैले पुनम दिदीकै घरमा पुगेर स्क्रिप्ट सुने। कताकता स्क्रिप्टले मन छोयो। त्यहीँबाट मेरो औपचारिक फिल्मयात्रा सुरु भयो,’ उनले जनाइन्।
रेबिका औपाचारिक अध्ययनका हिसाबले स्वास्थ्यसँग जोडिएको ‘रोडियोलोजी’की विद्यार्थी। ‘यहीँ क्षेत्रमा केही गर्ने लक्ष्य थियो। भविष्य कसलाई थाहा हुन्छ र, पढेर नै केही गर्ने सोच थियो। अहिले फिल्ममा जोडिन पुगेँ,’ अझै केही वर्ष यही क्षेत्रमा काम गर्ने उनले सुनाइन्।
रेबिकाकोे भाव बुझ्दा उनी फिल्मक्षेत्रमै बलियो आधार तयार गर्ने सोचमा छिन्।
Rebika 3
‘आत्मविश्वास छ, म यही क्षेत्रमा अब्बल हुन सक्छु। अझै केही वर्ष फिल्म र अभिनयमा प्रयास गर्छु। त्यति गर्दा पनि यस क्षेत्रमा आसलाग्दो काम हुन सकेन भने अन्यत्र सोचौँला,’ उनले फिल्म क्षेत्रमै दुई/चार वर्षको योजना बुनिसकेकी रहिछन्।
फिल्म प्रर्दशन मिति नजिकिँदै जाँदा रेबिकाको मुटुको चाल बढेको छ। नवल नेपालको निर्देशनमा बनेको फिल्ममा रेबिकाका अभिनेता पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, अर्जुन श्रेष्ठका साथमा छिन्।
स्टार कलाकारसँग स्क्रिन सेयर गरे पनि फिल्म यात्रामा निरन्तरता दिन नसकेका कालकारको सूची रेबिकालाई थाहा छ। ‘हो, धेरै कलाकार हुनुहुन्छ, जो डेब्युुपछि स्थान नपाएर बस्नु परेको छ। अब, मेरो अभिनयमा रहेको फिल्म पनि प्रदर्शनको नजिक छ। मुटुको तेज त बढेको छ। तर, यो भन्दैमा मैले यति चाँडै फिल्मको अफर नै आँउदैन कि भनेर निरास हुने वा शंका गरेर बस्ने बेला पनि त होइन,’ रेबिकामा आत्मविश्वास छ।
Rebika 4
रेबिकालाई नेपाली फिल्म क्षेत्रमा केही गर्ने, आफ्नो प्रतिभा देखाउने ठूलो रहर छ। यससँगै समयको उतारचढावसँग पनि उनको शंका कायमै छ। ‘म यही क्षेत्रमा केही गर्न सक्छु। मसँग भएका प्रतिभा प्रमाणित गर्नु छ। तर, हेरौं समयले कता लैजाने हो।’ यति भन्दै लजाएको भावमा उनी मौन रहन्छिन्।
रेबिकाले भनेझैं उनी पछिल्लो समय फिल्म ‘म’ मा पनि जोडिएकी छन्। कान्तिपुर फिल्म एकाडेमीद्वारा निर्माण हुन लागेको फिचर फिल्ममा रेबिका मुख्य कलाकारका रुपमा अनुबन्ध छिन्। यसले पनि करिअरमा अर्को एउटा महत्वपूर्ण इँटा थप्ने उनको आशा छ।

Comments