‘फ्लप’ मै हिट नेपाली अभिनेत्रीहरू

नेपाली फिल्म क्षेत्रमा नाम चलेका अभिनेत्रीहरू को–कति सफल छन्? आममानिसका लागि चासोको विषय हो। अभिनय यात्रामा प्रवेश गरेपछि कसले कति फिल्ममा काम गरे र, कति सफलता पाए त !
नेपाली फिल्म उद्योगको विकास र बिस्तारको ग्राफ हेर्दा धेरै लामो समय बितेको छैन। सन् १९६५ देखि सुरु भएको नेपाली फिल्मी इतिहास सन् २०१९ सम्म आइपुग्दा यो ‘फिल्म उद्योग’का रूपमा बिस्तारको क्रममा छ। यस अवधिमा धेरै महिला कलाकार फिल्म क्षेत्रमा आकर्षित भए। कतिपय सफलतासँगै उद्योगमा संर्घषशील छन् भने कतिपय उद्योगबाटै पलायन भइसकेका छन्।
पछिल्ला वर्ष बन्ने गरेका एकाधबाहेक नेपाली फिल्म ‘फ्लप’को सूचीमा सूचीकृत भएका छन्। फिल्म असफल हुँदाहुँदै दर्शकमाझ भ्रम सिर्जना गर्न झुटो सफलताको उत्सव मनाउँदै केक काट्ने समूह एकातिर मौजुद छ भने अर्कातिर लगानी डुबेर पुर्पुरोमा हात राखेर बिलौना गाउनेहरूको लाम पनि उस्तै छ।
व्यावसायिक हिसाबमा हेर्दा नेपाली फिल्म बजार अझै पनि दयनीय अवस्थामा गुज्रिरहेको छ। तिनै फिल्ममा अभिनय गर्ने कलाकारहरूको अवस्था कस्तो होला, अनुमान लगाउन गाह्रो नहोला।
पछिल्लो समय नेपाली फिल्म बजारमा लाइमलाइटमा रहेका अभिनेत्रीहरूको संख्या लामो छ। प्रियंका कर्की, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, नम्रता श्रेष्ठ, वर्षा शिवाकोटी, स्वस्तिमा खड्का, आँचल शर्मा, मिरुना मगर, जसिता गुरुङलगायत अभिनेत्रीहरूको नाम आमदर्शकले सहजै लिन सक्छन्।
व्यक्तित्वका हिसाबले उनीहरूको करिअर मूल्यांकन गर्न उति सहज हुँदैन। तर, अभिनय यात्रा र उनीहरूका फिल्मले दिलाएको व्यावसायिक सफलताको गणितीय ग्राफ निरासलाग्दो छ।
फिल्म बजारलाई लिड गरिरहेका स्टार अभिनेत्रीहरू नै व्यावसायिक रूपमा पूर्ण असफल छन्। यद्यपि, उनीहरूको डिमान्ड भने उस्तै छ। निरन्तर फ्लपको ट्याग पाएकाहरू नै फिल्म उद्योगका लागि निर्विकल्प अभिनेत्रीका रूपमा डिमान्डेड छन्।
प्रियंका कार्की
priyanka
प्रियंकाको अभिनयग्राफ हेर्ने हो भने पछिल्ला वर्ष उनी असफल अभिनेत्रीको अग्रपंक्तिमा छिन्। सन् २०१८ मा मात्र प्रियंका अभिनित दस फिल्म प्रदर्शनमा आए। तीमध्ये आधा फिल्म बक्स अफिसमा पूर्ण असफल रहे। सन् २०१९ मा पनि उनी अभिनित तीन फिल्म प्रदर्शनमा आए। बक्स अफिसको विवरणअनुसार उक्त तीनवटै फिल्म असफल बने।
केही समयअघिसम्म व्यावसायिक सफलता र अभिनय दुवै हिसाबमा दर्शकमाझ लोकप्रिय प्रियंकाको अभिनयग्राफ यतिबेला ओरालोलाग्दो छ। यद्यपि, उनी नेपाली फिल्म बजारमा फ्लपहरूमध्ये हिट अभिनेत्रीमा पर्ने गर्छिन्। उनको डिमान्ड नेपाली फिल्मबजारमा कायमै छ।
उनी अभिनित दुई फिल्म अझै प्रदर्शनको पाइपलाइनमै छन्।
केकी अधिकारी
keki
अभिनय क्षमता भए पनि व्यावसायिक असफलता बेहोर्दै आएकी अर्की अभिनेत्री हुन् केकी अधिकारी। करिब दुई दर्जनभन्दा बढी फिल्ममा उनले काम गरिसकेकी छन्।
फिल्म ‘नाइ नभन्नु ल ५’लाई अपवाद मान्दा केकीको अभिनयग्राफ उत्ति सुखद छैन। यद्यपि, फिल्म बजारमा केकी लाइमलाइटकी अभिनेत्री हुन्। अभिनय मात्र नभएर फिल्म निमार्णमा समेत होमिएकी केकीले फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरिन्। तर, बलिउड फिल्म ‘मुम्बई एक्प्रेस’को कथा आफ्नो फिल्ममा हुबहु राख्न भ्याइन्। जसले आलोचनासँगै असफलता व्यहोर्न उनी बाध्य भइन् उनी।
सन् २०१९ लाई मात्र हेर्ने हो भने केकीको अभिनयमा रहेको फिल्म, ‘रातो गलबन्दी’ प्रदर्शनमा आयो। फिल्म हलमा आयो/गयो दर्शकले पत्तै पाएनन्।
अब, दसैं छेकमा फिल्म ‘छ माया छपक्कै’ मार्फत् केकी पर्दामा देखिँदैछिन्। यसले केकीको साख जोगाउँछ वा फ्लपमै रमाउन बाध्य बनाउँछ त्यो भने समयले बताउने छ।
नीता ढुंगाना
Nita
वाल्यकालबाटै अभिनय क्षेत्र प्रवेश गरेकी नीता पनि फ्लपमै रमाएकी अभिनेत्रीमध्ये एक हुन्। करिब २९ भन्दा बढी फिल्ममा काम गरिसकेकी नीताले फिल्म ‘पञ्चायत’मा अभिनयको तारिफ पाइन्। तर, व्यावसायिक पक्ष भने नीताका लागि निराशाजनक छ।
यसबाट भन्न सकिन्छ कि नीता अझै फ्लपमै रमाइरहेकी छन्। सन् २०१९ मा मात्र नीता अभिनित ‘रेस’ र ‘साइनो’ फिल्म प्रदर्शनमा आए। तर, दुईवटै फिल्म बक्स अफिसमा असफल भए।
फ्लपमै रमाइरहेकी नीताको बजारको माग भने घटेको देखिँदैन। उनी अभिनित दुई नयाँ फिल्म ‘रातो टीका निधारमा’ र ‘द कर्मा’ प्रदर्शनको पार्खाइमा छन्।
वर्षा शिवाकोटी
barsha
फिल्म ‘नाइ नभन्नु ल–२’ दर्शकले रुचाएको फिल्ममध्ये एक हो। यहीँबाट अभिनय यात्रा सुरु गरेकी थिइन् वर्षा शिवाकोटीले। पछि उनको अभिनय रहेको फिल्म ‘पशुपतिप्रसाद’ पनि सफल नै थियो। फिल्ममा वर्षाको अभिनय नगन्य थियो, जसले ‘पशुपति प्रसाद’को सफलता श्रेय वर्षामा उत्ति जाँदैन।
त्यसयता उनले अन्य आठ फिल्ममा अभिनय गरिसकेकी छन्। उक्त आठवटै फिल्म बक्स अफिसमा सफल देखिएनन् । यसको अर्थ हो वर्षाले करिअरमा व्यावसायिक सफलताको स्वाद नै बिर्सिसकिन्। सन् २०१९को अभिनय ग्राफ मात्र पल्टाउने हो भने पनि वर्षाका लागि सुखद देखिँदैन।
सन् २०१९ मा उनी अभिनत दुई फिल्म ‘पुरानो बुलेट’ र ‘वीरविक्रम–२’ दुवै बक्स अफिसमा असफल बने। यसरी एकपछि अर्को गर्दै फ्लपमै रमाइरहेकी वर्षाको बाजार माग भने यथावत छ। वर्षा यतिबेला फिल्म ‘लक्का जवान’को सुटिङको तयारी जुटेकी छिन्।
सृष्टि श्रेष्ठ
shristhi
फिल्म ‘गाजलु’बाट आसलाग्दो फिल्मी करिअर सुरु गरेकी सृष्टि श्रेष्ठ पछिल्ला वर्ष छायाँमा छिन्। मिस नेपाल वल्र्ड २०१२ को उपाधीसमेत चुमेकी सृष्टिले गाजलुमा अभिनेता अनमोल केसीसँग स्क्रिन सेयर गरेकी थिइन्। फिल्म बक्स अफिसमा सफल सावित भयो।
त्यसयता सृष्टिको अभिनयमा रहेका तीनवटा फिल्म प्रदर्शनमा आए। तर, तीनवटै फिल्म बक्स अफिसमा पूर्ण असफल थिए। राम्रो अभिनय क्षमता देखाएपनि सृष्टि बक्स सफिसमा सफल बन्न सकीनन्। यसले सृष्टीको सफल यत्राभन्दा बढी फ्लपको यात्रा लामो देखाएको छ। उनी पछिल्ला वर्षयता फ्लपमै रमाइरहेकी छन्।
यतिबेला सृष्टि फिल्म ‘पोइपर्‍यो काले’मा आबद्ध छिन्। यसबाट प्रमाणित हुन्छ कि असफलता नै असफलता बेहोरेकी सृष्टिको बजारमाग भने अझै कायमै छ।
मिरुना मगर
miruna
फिल्म ‘लालपुर्जा’बाट ठूलो पर्दामा देखिएकी अभिनेत्री हुन् मिरुना मगर। त्यसयता मिरुनाको अभिनयमा रहेको दुई फिल्म ‘रोज’ र साइनो’ प्रर्दशनमा आए। तर, उनले तीनवटै फिल्मबाट व्यावसायिक सफलताको स्वाद चाख्न पाएकी छैनन्।
व्यावसायिक असफलता नै असफलताका बीच पनि मिरुनालाई फिल्मको अभाव भने छैन। उनको अभिनय रहेको फिल्म ‘चच हुई’ प्रदर्शनको तयारीमा छ।
मिरुनालाई फिल्म बजारमा फ्लप यात्रामा ह्याट्रिक हान्ने अभिनेत्रीको ट्याग समेत दिन थालिएको छ। यद्यपि, यस कुरालाई मिरुना ठाडो अस्वीकार गर्छिन्। केही दिनअघि मिरुनाले यस प्रसंगमा भनेकी थिइन्, ‘फिल्मको अफर पाएकै छु, दर्शकले रुचाएकै छन्, असफलता केलाई भन्नु हुन्छ?’
उनको जवाफका आधारमा भन्ने हो भने मिरुना फ्लपको दुनियामा हिट छिन्।
उल्लेखित अभिनेत्रीमात्र होइन, नेपाली फिल्म बजारमा धेरै कलाकार छन्, जो व्यावसायिक असफलताबीच रमाइरहेका छन्।

Comments