
‘नेपाल लोक स्टार भइयो भने त राम्री केटीसँग विवाह गर्न पाइन्थ्यो कि!’
यति भन्दै अट्टहास हाँस्छन् रविराज।
मान्छेका रहर पनि अनेक हुने। हासो रोक्दै थप्छन्, ‘टु बी फ्र्याङ्क है, राम्रोभन्दा पनि मलाई बुझ्ने क्या। यस्तो रहर कसको हुँदैन र? तपाईंको पनि छ।’ फेरि उसैगरी हाँस्छन्।
लवजले नै छुट्टिन्छ रविराज मधेशी मूलका हुन्। तर, उनी सिङ्गो नेपालको प्रतिनिधित्व गर्दै अगाडि बढिरहेका छन्। नेपाली हुनुमा गर्व गर्छन् रविराज।
‘म मुम्बर्ई गएको थिएँ तर हामी नेपालीको जस्तो सच्चा दिल (मन) मैले कहीँ पाइँन,’ जीवनका किस्सा सुनाउँदै भन्छन्, ‘साथ, सहयोग र मायाको भाव नेपालीको जस्तो अरू कहाँ पाइन्छ र?’
पछिल्लो समय एपी वान टेलिभिजनमा प्रसारण हुँदै आएको ‘नेपाल लोक स्टार’ गायन प्रतियोगिताका प्रतिस्पर्धी हुन् रविराज। सर्लाही जिल्लाको बबरगञ्जमा जन्मिएका रविराज प्रदेश २ को लोभलाग्दा प्रतियोगीमध्येमा पर्छन्। हजारौं प्रतियोगीलाई पछाडि पार्दै रविराज यतिबेला प्रतियोगिताको उत्कृष्ट १६ मा परेका छन्।
उनी आत्मविश्वासकासाथ भन्छन्, ‘लाग्दैछ, प्रतियोगिताको विजेता नै म हुँ, अहिलेसम्म डेन्जर जोनमा परेकै छैन।’ बोल्दाबोल्दै रोकिए उनी। निमेसभरमै आत्मविश्वास घटेथ्यो उनको। आवाज घटाएर जिज्ञासु भावमा भने, ‘प्रतिस्पर्धा हो हारजित त भइहाल्छ नि हैन? यहाँसम्म आइपुगेँ यो नै मेरो जित हो, अब त दर्शक, श्रोता र निर्णायकको हातमा छ सबै कुरा।’
गत बिहीबार प्रसारण भएको ‘नेपाल लोक स्टार’को ११औँ शृङ्खलामा रविराज ‘पर्फर्मर अफ द डे’ घोषित भए। कार्यक्रममा रविराजले गायक तथा सर्जक प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी’ गाएर निर्णायकको मन जितेका थिए।
तराई मूलका प्रतिस्पर्धीले पहाडी मूलको प्रचलित लोक भाकालाई कसरी न्याय गर्न सक्छ? यो धेरैका लागि जिज्ञासा थियो। तर, तीनै तराई मूलका नवप्रतिभाद्वय रविराज र शुष्माकुमारी झाले गीतलाई सक्दो न्याय गरे। उनीहरूले गाएरै स्टेज तताए, निर्णायकहरूको मन जिते। यही प्रस्तुतिले रविराज उक्त दिनको हिरो भए।
तराई मूलका प्रतिस्पर्धीले पहाडी मूलको प्रचलित लोक भाकालाई कसरी न्याय गर्न सक्छ? यो धेरैका लागि जिज्ञासा थियो। तर, तीनै तराई मूलका नवप्रतिभाद्वय रविराज र शुष्माकुमारी झाले गीतलाई सक्दो न्याय गरे। उनीहरूले गाएरै स्टेज तताए, निर्णायकहरूको मन जिते। यही प्रस्तुतिले रविराज उक्त दिनको हिरो भए।
गायनमा मात्र हैन, गफ गर्न पनि उत्तिकै माहिर रहेछन् रविराज। प्रतियोगितासम्मको गायन यात्रा केलाउँदै उनी भन्छन्, ‘२०६३ सालमा काठमाडौं आएको थिँए। केही समय यतै बसेर प्लस–टु पढेँ। तर पूरा गर्न सकिनँ। क्याम्पससँगै सङ्गीत कक्षा पनि सुरु गरेँ, तर त्यसलाई पनि लामो समय निरन्तरता दिन सकिन।’ तर, किन? रविले कारण भने खुलाउन चाहेनन्।
‘म सङ्गीत सिक्नकै लागि मुम्बई गएँ। किनकि म सङ्गीतमा हराइसकेको थिएँ। मुम्बईमा साङ्गीतिक करिअर चलिरहेको थियो। जेनतेन त्यसैबाट गर्जो टरिरहेकै थियो,’ उत्साहित हुँदै उनी सुनाउँछन्, ‘नेपालीको दिल नै ठूलो हुने। मुम्बईमा मैले धेरैपटक गायक उदितनारायण झा सर भेटेको छु। उहाँले मलाई साङ्गीतिक करिअर अघि बढाउनुपर्छ भनेर सम्झाइरहनुहुन्थ्यो। कहिलेकाँही केही रकमसमेत दिनुहुन्थ्यो। उहाँमात्र हैन, नेपालमा होस् या मुम्बईमा, मैले चर्चित गायकहरूसँग ठोक्किने मौका पाइरहें। जतिसँग भेट भयो सबैले साङ्गीतिक करिअरका लागि ऊर्जा दिइरहनुहुन्छ।’
मुम्बईमा रहेर सङ्गीतमा स्नातक गरिरहेका रविराजलाई लोक स्टारको कुनै सुइको थिएन। काठमाडौंबाट गायका तथा सङ्गीतकार नरहरि प्रेमीले लोक स्टारका बारेमा जानकारी गराउँदासमेत रविले कान ठाडो पारेका थिएनन्। किनकि उनलाई लोकगीतका बारेमा खासै मेसो थिएन।
अलि लजालुभावमा भन्छन्, ‘करिअरमा लोकगीत भनेको त मलाई थाहै थिएन नि। लाग्थ्यो लोकगीत भनेको त दोहोरी गीत होला, तर होइन रहेछ। अहिले पो थाहा भयो हरेक जातजातिका रहनसहन र संस्कृति बोक्ने भाकाहरू सबै लोकगीत नै रहेछन्।’
यति बुझेपछि बल्ल प्रतिस्पर्धाका लागि तम्सिएका थिए रविराज। उनले मुम्बईबाटै डिजिटल अडिसन दिए। त्यसयता निर्णायक अडिसन, मेघा अडिसन, उत्कृष्ट २५, २० हुँदै उत्कृष्ट १६ मा आइपुगेका छन् उनी। भन्छन्, ‘यहाँसम्म आइपुग्दा धेरै कुरा सिक्ने मौका पाइयो। एक प्रकारले म नेपाल लोक स्टारको विजेता नै भइसकेँ। तर, एउटा सग्लो सपना मस्तिष्कमा घुमिरहेछ।’
कस्तो सपना?
‘मलाई गीत सङ्गीतको माध्यमबाट मधेशसँग हिमाल र पहाड जोड्ने मन छ। मेरो जीवनको अनुभवले भन्छ, एक अर्काप्रतिको भाइचारा बढाउने सशक्त पुल सङ्गीतभन्दा अरू केही छैन। त्यसैले त प्रतियोगितामा पनि विभिन्न भाकामा स्वर भरिरहेछु, प्रयास गरिरहेछु।’
‘तपाईंलाई थाहा छ, तराईका अधिकांश ठाउँमा नेपाली कलाकारभन्दा भारतीय कलाकार चर्चामा छन्। अधिकांश दर्शक, श्रोतामाझ नेपालका कलाकर्मी गुमनाम छन्, अनि भोजपुरी र अन्य भारतीय कलाकर्मी हाइ–हाइ छन्,’ नेपाली कलाक्षेत्रको तीतो यथार्थ पोख्छन् रविराज।
सामान्य किसान परिवारमा जन्मिएका रविराजका बुबा आज पनि खाडीमा श्रम गरिरहेका छन्। सपनाका पोका धेरै छन्। त्यसमध्ये सङ्गीतसँगको सामीप्यता र सफलताको नियात्रा चलिरहेको छ। सफलताको शिखरमा पुग्ने आशासँगै आम श्रोता दर्शकको साथ, सहयोगको अपेक्षा पनि उतिकै छ उनमा।
‘आज तराई र पहाडबीचमा जुन प्रकारको गलत बुझाइ छ, त्यसलाई यही नेपाल लोक स्टारका माध्यमबाट चिर्न चाहन्छु, सिङ्गो नेपाललाई जोड्न चाहन्छु,’ रविराज भन्छन्, ‘मधेशको युवा भए पनि सिङ्गो नेपालका भाकाहरू समेटेर नयाँ एल्वम निकाल्न चाहन्छु। हिमाल, पहाड र तराईबीचको भाइचारा गीत सङ्गीतको माध्यमबाट एउटै मालामा गोलबद्ध गराउन चाहन्छु।’
Comments
Post a Comment