मोबाइलभन्दा साथीभाइसँग खुशी हुन्छु : नम्रता

प्रविधिको बढ्दो प्रयोगसँगै हरेक मानिसमा नयाँ–नयाँ ग्याजेट र नयाँ एप्सको सौख हुन्छ। बजारमा आउने नयाँ मोडेलका मोबाइल हुन् वा गुगल स्टोरमा आएका एप्स, प्रविधिमैत्री हुन कसलाई मन नलाग्ला?
यस्तो चाहना सर्वसाधारणदेखि सेलिब्रिटी सबैको हुन्छ। अझ सेलिब्रिटीका दैनिकी र प्रविधिप्रतिको रुचि सामाजिक चासोको विषय पनि बन्ने गर्छ।
यसै सन्दर्भमा अभिनेत्री नम्रता श्रेष्ठले नेपालन्युजसँग मोबाइलप्रतिको आफ्नो रुचि तथा सामाजिक सञ्जालप्रतिको धारणा साटिन्।
भदौ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जाइरा’मा मार्सल आर्टस् खेलाडीको भूमिकामा नम्रता आउँदै छिन्। उनी फिल्मको कलाकार मात्र होइनन्, निर्मात्री पनि हुन्।
प्रस्तुत छ, नायिका नम्रता श्रेष्ठले नेपालन्युजका लागि मनोज न्यौपानसँग गरेको कुराकानी–
अभिनेत्री नम्रता श्रेष्ठ मोबाइल फोनप्रति कतिको सौखिन छिन्?
सौखिन भन्न मिल्दैन, कति समयसम्म एउटै मोबाइल चलाइरहेकी हुन्छु।
कुन मोबाइल प्रयोग गर्नुहुन्छ?
आइफोन ‘टेन’
कहिलेबाट प्रयोग गर्दै हुनुहुन्छ?
खै, ठ्याक्कै समय त थाहा भएन। दुई वर्षजति भयो कि?
आइफोन नै किन?
‘आइफोन फाइभ’बाटै यो ब्रान्ड चलाउँदै आएकी हुँ। पहिलाबाट प्रयोग गरेर होला, अरुभन्दा सजिलो लाग्छ। अर्को कुरा अन्य ब्रान्डभन्दा यो अलि सुरक्षित पनि हुन्छ भन्ने सुनेकी छु। यति हो, आइफोनमा बानी परेको छ।
namrata sherest photo12
मोबाइल फोन प्रयोगमा तपाईं कतिको क्रेजी?
म क्रेजी छुइनँ। आवश्यकतामा चलाउनै पर्‍यो। सामाजिक सञ्जालमा पनि केही अपडेट गर्नै पर्‍यो, नत्र अरू समय म त्यति क्रेजी छुइनँ।
सामान्य कुराकानी वा खालि समयमा मोबाइलमा ध्यान कतिको जान्छ?
त्यस्तो छैन। कामको समयमा धेरै फोन चलाउँदिनँ। साथीभाइसँग हुँदा पनि भरसक फोन नचलाउनै खोज्छु। मलाई मोबाइल फोनभन्दा पनि उनीहरूसँगको पल, क्षणसँग बाँच्न खुसी लाग्छ। पछिल्लो समय फिल्म प्रदर्शन मिति नजिकिएकाले फोन आफूभन्दा टाढा राख्न मिल्दैन। व्यवस्थापनका लागि पनि यो महत्वपूर्ण हुन्छ। तर, राति १० बजे पछिचाहिँ मेरो फोन सुत्ने कोठाबाहिर हुन्छ, जसले निद्रामा बाधा हुँदैन।
कुन कुन सोसियल एप प्रयोग गर्नु हुन्छ?
(केही समय सोचेर) फेसबुक, इन्स्टाग्राम, ट्वीटर, वाटस्एप, भाइबर, यति नै हो।
कुन एकाउन्टमा कति फलोअर्स छन्, याद गर्नुभएको छ?
(हाँस्दै) यति नै छन् भनेर भन्न त हेर्नै पर्छ। अनि, सबै समय म आफैँ ह्यान्डल गरिरहेकी हुँदिनँ। मसँग मेरो टिम छ। उहाँले पनि अपडेट गरिदिनुहुन्छ। त्यसैले पनि संख्यामा यति नै हुनुहुन्छ भनेर चाहिँ थाहा छैन।
कुन एप्समा बढी समय खर्चिनु हुन्छ?
सबै एप्समा आएका व्यक्तिगत म्यासेजको जवाफचाहिँ दिइरहेकी हुन्छु। तर, विशेष गरेर इन्स्टामा अलि धेरै समय गइरहेको हुन्छ। फेसबुक, ट्वीटर पनि हदसम्म चलाइरहेकै हुन्छु। साथीभाइसँग गफ गर्नचाहिँ वाटस्एप, भाइबर बढी प्रयोग गर्ने गरेकी छु।
सामाजिक सञ्जालमा कति समय बिताउनु हुन्छ?
यति नै भनेर रेकर्ड त राखेकी छैन। तर, धेरै समयचाहिँ चलाउदिनँ। हुनसक्छ दिनमा एक/दुई घण्टा बित्छ होला।
नयाँ पुस्तामा सामाजिक सञ्जालको प्रयोग कति आवश्यक छ जस्तो लाग्छ?
सामाजिक सञ्जाल, सामाजिक सञ्चार माध्यमहरू हाम्रो लागि धेरै महत्त्वपूर्ण विषय हो। अझ हामी कलाकारका लागि धेरै महत्वपूर्ण छ। हामी के गर्दैछौं, के तयारीमा छौं भन्ने बारेमा जानकारी गराउन पनि यो राम्रो माध्यम बनेको छ। तर, नयाँ पुस्तामा सामाजिक सञ्जाल नै जीवन हो झैं गरेर लागिपरेको पनि देखेको छु। यो देख्दा अलिकति डरचाहिँ लाग्छ।
डर यस अर्थमा कि, धेरैजना सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ, जो सधैं राम्रो राम्रो फोटो, खुसीका क्षणमात्र पोस्ट गरेको देख्नुहुन्छ। तर उहाँहरू जीवनमा खुशीमात्र हुन्न है अथवा, सामाजिक सञ्जालमा छनौट गरेर मात्र हालिएको हुन्छ भनेर बुझ्नु हुन्न। यसले कतिपयमा डिप्रेसनको समस्या पनि निम्त्याइरहेको छ। त्यसैले सामाजिक सञ्जाल आफैमा नराम्रो होइन, तर यसलाई बुझ्न जरुरी छ।
पछिल्लो समय सामाजिक सञ्जालमा सकारात्मकले भन्दा नकारात्मक विषयले धेरै प्राथमिकता पाउने गरेका छन् नि?
मलाई पूर्ण रूपमा त थाहा छैन। तर, व्यक्तिगत विचारमा, हरेक क्षेत्रमा सकारात्मक र नकारात्मक विषय हुन्छन्, जसरी दिनपछि रात हुन्छ। यसमा मान्छेको व्यक्तिगत धरातल, उसको बितिरहेको समयलगायत कारक हुन्छन्। त्यसैले राम्रो र नराम्रो सबैलाई समग्रतामा विश्लेषण गर्दा राम्रो हुन्छ होला।
सामाजिक सञ्जाल प्रयोग गरिरहेको अवस्थामा, नकारात्मक भावका म्यासेजले ध्यान भंग गरिदिएको अवस्था छ?
जति पनि मलाई म्यासेज आएका हुन्छन्, सबै राम्रै आइरहेका हुन्छन्। यदाकदा नकारात्मक म्यासेज आए पनि त्यसलाई राम्रै तरिकाले प्रतिक्रिया दिने गरेकी छु। यस अर्थमा त्यो उहाँको सोच हो, त्यसलाई परिवर्तन गर्नु आवश्यक छ नि त।
भनेपछि सामाजिक सञ्जालमा आएका सबै म्यासेजको प्रतिक्रिया दिन भ्याउनु हुन्छ?
हो, भ्याइरहेकी हुन्छु। पछिल्लो समय यही फिल्म ‘जाइरा’को कामले अलि छैन, नत्र म सबैलाई प्रतिक्रिया दिइरहेकै हुन्छु।

Comments