
‘५५ वर्षदेखि चलचित्र क्षेत्र र यसैको परिधिमा रहेर पनि म नेपाली फिल्म क्षेत्रप्रति उति उत्साहित छुइनँ, ममा कुनै जाँगर छैन। तर, मेरा अनुयायीप्रति, मेरा कर्तव्यप्रति म जिम्मेवार छु,’ राष्ट्रिय चलचित्र कन्फ्रेन्सको दास्रो दिन अभिनेता नीर शाहले बोलेको वाक्यांश हो यो।
नेपाली चलचित्र जगत्को जिउँदो इतिहास मानिन्छ, नीर शाहलाई। आधा शताब्दीभन्दा बढी उमेरको नेपाली चलचित्र क्षेत्रले पार गर्दै आएका आरोह–अवरोहका उनी जीवित साक्षी हुन्।
कन्फ्रेन्समा उनै शाहको ‘नेपाली चलचित्र क्षेत्रमा ५ दशक लामो अनुभव र अनुभूति’ सेयर गरे। तर वक्ताका रूपमा अगाडि उभिएका शाहमा कुनै उमंग थिएन, कुनै उत्साह नै थिएन।
शाहको अनुभूतिको सम्पादित अंश, नेपालन्युजका लागि मनोज न्यौपानेको प्रस्तुतिमा–
चलचित्र क्षेत्रप्रतिको अनुत्साहन
नेपाली चलचित्रको इतिहास केलाउने हो भने ‘सत्य हरिश्चन्द्र’बाट सुरु हुन्छ, जुन ७० वर्ष पुरानो भइसक्यो। नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’लाई मान्ने हो भने पनि ५४ वर्ष भइसक्यो।
तर, म नेपाली फिल्म उद्योगप्रति किन उत्साहित हुन्नँ भने यतिका वर्षमा पनि हामीले भन्ने गरेको चलचित्र उद्योग न त राष्ट्रिय बन्न सक्यो, न चलचित्र बन्न सक्यो, न त त्यो उद्योग नै बन्न सक्यो।
यहाँ राष्ट्रिय चलचित्र उद्योगको उद्देश्य लिएर जे जति क्रियाकलाप सञ्चालन भए, तिनीहरू सबैले यो मुद्दालाई छेक्दै, च्याप्दै, घिसार्दै अघि बढे, तापनि म त्यसलाई नेपाली उद्योगका रूपमा स्वीकार गर्दिनँ।
यहाँ राष्ट्रिय चलचित्र उद्योगको उद्देश्य लिएर जे जति क्रियाकलाप सञ्चालन भए, तिनीहरू सबैले यो मुद्दालाई छेक्दै, च्याप्दै, घिसार्दै अघि बढे, तापनि म त्यसलाई नेपाली उद्योगका रूपमा स्वीकार गर्दिनँ।
चलचित्र निर्माणमा केही विशेष अवस्थालाई छाडेर हामीले नेपाली फिल्म बनाएकै छैनौं। हामीले नेपालीजस्तो फिल्म मात्र बनायौं।
नेपाल आफैमा बहुआयामिक राष्ट्र, रंगीचंगी फूलबारी हो। आजसम्म बनेका फिल्मलाई केलाएर हेर्दा कति फिल्मले नेपालको बहुआयामिकताका मुद्दालाई उठाएका छन्? कतिले यो विषयलाई उठान नै गरेका छैनन् होला! त्यसको उठान गरे पनि त्यसको शैली तपाईं हामीले सोच्ने दिशाभन्दा पर गएका छन् होला?
यो बहुआयामिक सुन्दरता बोकेको राष्ट्रमा भेटिने अनेक थरीका कथामध्ये कतिले राष्ट्रिय भनिने चलचित्रमा स्थान पाएका छन्? आजसम्म नेपाली दन्त्यकथामा एउटा चलचित्र बनेको छ? केही वीर योद्धाका बारेमा केही मैले पनि चलचित्र बनाएँ। तर, यतिले म पनि यो मुद्दाबाट चोखिन्नँ।
यतिका वर्षमा पनि हामीले भन्ने गरेको चलचित्र उद्योग न त राष्ट्रिय बन्न सक्यो, न चलचित्र बन्न सक्यो, न त त्यो उद्योग नै बन्न सक्यो।
केही समयअघि मैले चलचित्र ‘राजामती’ बनाएको थिएँ। महिलाको मुद्दामा बनेको उक्त फिल्मले त्यो बेला सार्क फिल्म फेस्टिभलमा ‘वेस्ट पर्फमेन्स जुरी अवार्ड’ प्राप्त गरेको थियो। तर उक्त चलचित्रलाई नेपाली हैन, यो त नेवारी चलचित्र हो भन्ने गरियो। नेपाली चलचित्रलाई राष्ट्रिय चलचित्र होइन भन्ने मानसिकतासँग ६/८ जनाले जुध्न सकिँदैन, जुध्दा–जुध्दै थाक्छ।
यही थकावटको सञ्चित रूप चाहिँ जीवनको एउटा काल खण्डमा आएर तत् सम्बन्धमा अनुत्साहित हुनु हो। यस अर्थमा हाम्रो उद्योगप्रति म अनुत्साहित छु।
विदेशी चलचित्रको दबदबामा नेपाली चलचित्रको दह्रिलो उपस्थिति
चलचित्र क्षेत्रलाई उद्योग हो भन्न हामी भर्खर नीति तर्जुमा गर्दै छौं। तर, यो सांस्कृतिक उद्योग हो वा मनोरञ्जन उद्योग, हामीले निक्र्यौल नै गर्न सकिरहेका छैनौं। प्रत्येक उद्योगको फरक–फरक औद्योगिक गतिविधि हुन्छन्।
हाम्रो चलचित्र क्षेत्र औद्योगिक प्रकृतिको बन्न सकेकै छैन। हामीले राष्ट्रिय औद्योगिक विशेषतामा रहेर बनाउनुपर्ने फिल्म बनाउन सकेका छैनौं। यसरी हेर्दा गत ५/६ दशक लामो यो यात्रा ‘ब्रेक थ्रु’को बीच बाटोमै अल्मलिएको अनुभव हुन्छ।
यद्यपि केही पनि नभएकै चाहिँ होइन। भारतीय चलचित्रको एकछत्र राज भएको राज्यमा नेपाली नामका चलचित्रको बजार सिर्जना भएको छ। यो क्रम विकसित हुँदै झण्डै ७०/८० प्रतिशत नेपाली चलचित्र बजारको हिस्सा नेपाली चलचित्रले आफ्नो पक्षमा पारिसकेको थियो। यो क्रम चाहिँ पछिल्ला वर्षमा मल्टिप्लेक्सको आगमनसँगै पुनः घटेको छ।
यसरी नेपाली नाम गरेका चलचित्रहरूले जसरी विदेशी चलचित्रलाई विस्थापित गर्यो, यो हाम्रो सबैभन्दा ठूलो उपलब्धी रह्यो। योभन्दा बाहेक अन्य उपलब्धी उति चर्चा गर्न लायक रहेनन्।
सबैभन्दा ठूलो असफलता चाहिँ हाम्रो चलचित्र क्षेत्रले प्राज्ञिक मान्यता पाउन सकेन, जसका लागि आजसम्म पनि हामी संघर्षशील छौं। यसका पछाडि धेरै कारण छन्।
चलचित्र क्षेत्रमा व्यक्तिगत चर्चाका विषय बने होलान्, केही क्षणका लागि स्टार जन्मे होलान्, कसैको आर्थिक उपार्जनको माध्यम बलियो भयो होला, तर ती स्थायी बन्न सकेनन्।
अर्को सबैभन्दा उल्लेखनीय कुरा, पहिलो दुई दशकसम्म नेपाली भनिने चलचित्रका लागि नेपालीले पटकथा नै लेखेन। अब सोचौँ हामीले कस्तो चलचित्र बनाउने इतिहास सुरु गरेछौँ? हामीसँग प्राविधिक थिएन होला वा दक्ष जनशक्ति थिएन होला तर, यहाँ कथै लेख्न नजान्ने, पटकथाको विकास नै गर्न नसक्ने जनशक्ति त थिए होला?
नेपाली साहित्यप्रतिको नजरअन्दाज
नेपाली चलचित्रको इतिहास सुरु हुनुभन्दा अघि हाम्रो साहित्य धेरै माथि थियो। यहाँ चलचित्र ‘सत्य हरिश्चन्द्र’ निर्माण हुनुभन्दा अगाडि भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, गोविन्दबहादुर गोठाले, भवानी भिक्षु, बालकृष्ण समलगायत उत्कृष्ट लेखकहरू त जन्मिएका थिए। हाम्रो साहित्यको भण्डार असाध्यै ओजश्वी, ऐश्वर्यमय थियो। तर, हामीले त्यसबाट लाभ उठान सकेनौं।
तत्कालीन समयमा सरकारले नै शाही नेपाली चलचित्र संस्थान स्थापना गर्यो। उक्त संस्थानले पहिलो चलचित्र ‘मनको बाँध’ बनाउने भयो। तर, उक्त संस्थाले विभिन्न गरिमामय साहित्यिक ग्रन्थमा फिल्म बनाउनुपथ्र्यो।
तत्कालीन समयमा सरकारले नै शाही नेपाली चलचित्र संस्थान स्थापना गर्यो। उक्त संस्थानले पहिलो चलचित्र ‘मनको बाँध’ बनाउने भयो। तर, उक्त संस्थाले विभिन्न गरिमामय साहित्यिक ग्रन्थमा फिल्म बनाउनुपथ्र्यो।
चलचित्र निर्माणमा केही विशेष अवस्थालाई छाडेर हामीले नेपाली फिल्म बनाएकै छैनौं। हामीले नेपालीजस्तो फिल्म मात्र बनायौं।
ती सबै विषयलाई एकतर्फ थन्क्याएर मुम्बईको फिल्म उद्योगमा अभिनयका लागि अवसर खोजी गरिरहेका व्यक्तिलाई निर्देशकका रूपमा भित्र्याएर, भारतीय पेशेवर लेखकका पटकथामा तत्कालिन संस्थानका सञ्चालन समिति सदस्य श्रीधर खनाललाई कथा लेख्न लगाएर चलचित्र बनाउने जिम्मा दिने हो?
यो प्रश्नको उत्तर चाहिन्छ कि चाहिन्न? यस मानेमा मैले मेरो जीवन त्यसै खेर फालेसरह भो। मैले त्यसैका लागि संघर्ष गरेको त होइन।
यो विषय आजका जल्दाबल्दा चलचित्रकर्मीलाई जानकारी नै छैन। यसबारे कसैले प्रश्न उठाएकै छैन। त्यो गल्तीको जवाफ कसैले दिनुपर्छ कि पर्दैन?
इतिहासमा यो कुरा उल्लेख भएकै छैन। यो विषय कतिपयलाई थाहा भए पनि नेपाली चलचित्रको इतिहास भनेर पढाइ हुने पाठ्यक्रममा यस्ता विषयको उठान गरिएको छ त?
मुम्बईको सान्ताक्रुजका गल्लीमा स्क्रिप्टको पसल थापेर बसेका दुई भारतीय लेखकले लेखेका कथालाई हाम्रा चलचित्र निर्माता निर्देशकले उल्था गरेर बनाएका चलचित्रहरू कसरी नेपाली हुन सक्छन्?
नेपाली चलचित्र इतिहासको वास्तविक श्रीविन्दु
मलाई जहासम्म लाग्छ, नेपाली आफैले तयार गरेको पटकथामा बनेको पहिलो चलचित्र ‘बद्लिँदो आकाश’ हो। लक्ष्मीनाथ शर्माले आफै पटकथा बनाएर चलचित्र बनाउनुभयो, नेपाली चलचित्र इतिहासको श्रीविन्दु यही नै हुनुपर्छ।
पछिल्लो समय आएर तयार हुने फिल्मका स्क्रिप्टहरू नेपाली आफैले तयार गरेका हुन्। मेरै उदाहरण दिऊँ, मैले निर्देशन गरेका सम्पूर्ण चलचित्रका पटकथा म आफैले तयार गरेको हुँ। अझ भनौँ, विश्व बस्नेतले तयार गरेका सम्पूर्ण पटकथा उहाँ आफैले लेख्नुभएको हो।
सबैभन्दा ठूलो असफलता चाहिँ हाम्रो चलचित्र क्षेत्रले प्राज्ञिक मान्यता पाउन सकेन।
यस अर्थमा, जसलाई नेपाली चलचित्र क्षेत्रको प्रारम्भ गरे भनेर श्रेय दिने गरिएको छ, उनीहरूले दुईवटा अपराध गरे– पहिलो, नेपाली कथा लेखाउनै नपर्ने मान्छेलाई पटकथा लेखाएर ल्याउने अनि नेपाली नाम दिएर चलचित्र बनाउने प्रयत्न गरे र अर्को, त्योभन्दा ठूलो अपराध आयातीत पटकथामा जसले लेख्यो, उसको नामको सट्टा आफ्नो नाम पटकथाकार भनेर राखे।
अब यसलाई कुन हदसम्मको अपराध मान्ने? यो अपराध क्षम्य भयो?
प्राज्ञिक व्यक्तिको खडेरीमा गुज्रिएको नेपाली फिल्म बजार
नेपाली चलचित्रको क्षेत्र प्राज्ञिक व्यक्तिको खडेरी भएको क्षेत्र हो। उनीहरूले यसबारे विवेचना गर्लान्, विश्लेषण गर्लान् वा चिन्तन–मनन गर्लान् भनेर सोच्नु कल्पनाभन्दा बाहिरको कुरा हो। तर, यस्ता छलफल तपार्इं–हामीले गरेनौं भने यसले प्राज्ञिक मान्यता पाउन सक्दैन।
इतिहास केलाउने हो भने यहाँ गरिएका अक्षम्य गल्तीका बारे अब दिल खोलेर विश्लेषण गर्नुपर्छ। नेपाली चलचित्रको पहिचान प्राप्त गर्नका लागि आजको चलचित्र उद्योग संघर्षशील छ भन्ने गरिएको छ।
गलत प्रारम्भ भएकाले नेपाली चलचित्रले नेपालीत्व विकास गर्नकै लागि आज ३/४ दशक बिताउनु परेको छ। यो अभिशापबाट मुक्ति पाउन राष्ट्रिय चलचित्र क्षेत्रलाई उद्योग बनाउनेतर्फको अभियान हुन सक्छ। त्यसका लागि प्राज्ञिक तवरमा रहेर विशेष चिन्नत–मनन गर्न आवश्यक छ।
Comments
Post a Comment