बुबाको लोकप्रियता र साम्राज्ञीको क्रेजका चेपुवामा अंकित

  • मनोज न्यौपाने असोज ७, २०७६ | मंगलबार 
एक जमानाको ‘हिट’ गीत हो, ‘रातो टीका निधारमा टलक्कै टल्कियो...।’ गीतसँगै त्यो बेला फिल्म ‘अल्लारे’ पनि उत्तिकै हिट भयो।
२२ वर्षपछि अल्लारेका उनै निर्देशक अशोक शर्मा त्यही फिल्मको शीर्ष गीतमा फिल्म बनाएका छन् ‘रातो टीका निधारमा।’
यही दशैंमा प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा उनले आफ्नै छोरा अंकित शर्मालाई नायकका रुपमा ‘इन्ट्री’ गराएका छन्।
‘रातो टीका निधारमा’ अल्लारेजस्तै सफल र दर्शकको मन जित्नेमा ढुक्क छन्, निर्देशक शर्मा।
अंकितसँग अनस्क्रिन रोमान्समा देखिएकी छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह।
बेलायतमा पढाई सकेर फर्किएका अशोकका छोरा अंकित पहिलोपटक पर्दामा आफ्नो उपस्थिति जनाउँदै छन्।
मनमा डर पनि छ अंकितको अनि उत्साह पनि। नेपाली फिल्म उद्योगमा बुबा अशोकको लोकप्रियता अनि अभिनेत्री साम्राज्ञीको क्रेजका बीचमा अंकुराउने प्रयासमा छन्, अंकित।
संयुक्त राज्य (युके)को ‘लिम्कोइङ युनिभर्सिटी अफ क्रिएटिभ टेक्नालोजी’मा ३–वर्षे ‘ब्याचलर अफ आर्ट्स (अनर्स) विथ डिजिटल फिल्म एण्ड टेलिभिजन’ कोर्स गरेर अंकित नेपाल फर्किएका हुन्।
‘रातो टिका निधारमा’ दर्शकमाझ उनको प्रयोगात्मक परीक्षा पनि हुनेछ।
बुबा अशोकले गत वर्ष फिल्म ‘जय भोले’ निर्माण गरेका थिए। फिल्ममा अंकितले बुबालाई पहिलोपटक सहायक निर्देशक बनेर सहयोग गरे। त्यसपछि अंकितले अभिनेता बन्ने हिम्मत गरे। निर्देशक अशोकले पनि छोरालाई अभिनेता बन्ने अवसर दिए।
‘रातो टीका निधारमा’ गीत त्यो समयबाटै हिट थियो। धेरैले मन पराएको र धेरैको मन–मस्तिष्कमा बस्न सफल गीतसँग जोडिएर काम गर्न पाउनु मेरो भाग्य हो,’ अंकितले नेपालन्युजसँग भने, ‘नेपालमा रिमेक गरिएको सामग्रीहरू सफल हुन नसकिरहेको समय यो गीतमा रहेर काम गर्न प्रेसर थियो।’
अंकितले बोलिरहँदा उनीमा फिल्मप्रतिको आशा र सफल भविष्यको भावानुभूत हुन्थ्यो, ‘योसँगै लिजेन्ड कलाकारहरू जोडिएको विषयमा काम गर्नु अर्को चुनौती पनि हो। यद्यपि त्यही प्रेसर र चुनौतीले हामी नयाँ कलाकारलाई काममा सहज बनाइदियो।’
सन् १९८९ बाट नेपाली फिल्म क्षेत्रमा जोडिएका अशोक शर्माले ‘ट्रक ड्राइभर’, ‘सीता’, ‘गरिब’, ‘निर्माया’, ‘अल्लारे’, ‘मिस्टर रामकृष्ण’ जस्ता फिल्म बनाए। तीन दर्जन बढी फिल्ममा आफ्नो उपस्थिति देखाए।
‘फिल्मको मुटु स्क्रिप्ट हो। फिल्म निर्माण वा स्क्रिप्ट लेख्दा यहाँ दुई तरिका अपनाउने गरिन्छ, पहिलो–दर्शकको मनोविज्ञानका आधारमा, अर्को–मेकरको मनोविज्ञानका आधारमा। यस हिसाबमा फिल्म ‘रातो टीका निधारमा’ बनाँउदा दर्शकको मनोविज्ञान बुझेर नै बनाएको छु, जसलाई दर्शकले स्वीकार गर्नेमा विश्वस्त पनि छु,’ आफ्नो काम र सफलताप्रति ढुक्क छन् अशोक।
उनको यो विश्वासमा फिल्मको सफलता मात्र होइन, छोरा अंकितको सफलता पनि जोडिएको छ।
फिल्मको स्क्रिप्ट, निर्देशन, पात्र र स्क्रिप्टका लागि निर्देशक अनि पात्रको न्यायपूर्ण अभिनय लगभग परिपूरकजस्तै हुन्।
आफ्नै बुबाको स्क्रिप्ट, निर्देशन र पारिवारिक लगानीले फिल्म उद्योगमा अंकितको प्रवेशलाई कति स्वागत योग्य बनाउँला? अथवा, पारिवारिक टिमअपसँग साम्राज्ञीको साथ अंकितका लागि कति शुभ रहला?
जिज्ञासाहरु असोज १० गतेपछि नै मेटिनेछन्।

Comments