पोखराका विक्रम, जसले लन्डनमा नचाए सन्‍नी लियोनी

कहिलकाहीँ सपनाभन्दा पनि रहरको प्रभाव जम्दो रहेछ जीवनमा। २१ वर्ष अघि चार्टर्ड एकाउन्टेन्ट पढ्न लन्डन पुगेको विक्रमदास जोशी यस्तै रहरको लहडमा कलाकार बन्‍न पुगे।
पोखरामा जन्मिएर काठमाडौंमा हुर्केका विक्रमले विद्यालय उमेरमा केही नाटकमा काम गरे। कथा, कविता कनिकुथी लेख्थे। तर, एसएलसीपछिको अध्ययनले सबै भुलाइदियो।
‘परदेशिएको मान्छे म,’ लन्डनमा रहेका विक्रमले नेपालन्युजसँगको कुराकानीमा भने, ‘मन स्वदेशमै भौतारिइरहने, नेपालमै केही गरौं–गरौं लागिरहने।’
‘कहिले नेटफक्स रेमिट्यान्ससँग रहेर, त कहिले जेट एयरवेजको काम, नेपालसँग जोडिने र परिचय बनाउने मेरो प्रयास जारी नै थियो,’ उनले भने, ‘केही वर्षअघि गायक दीप श्रेष्ठको एउटा गीतमा मोडलिङ गरेको थिएँ, यसले अभिनयमा चासो बढ्दै गयो। एकवर्ष अघि फिल्म ‘ह्याप्पी डेज’का निर्देशक मिलन चाम्ससँग लन्डनमा भेट भयो र फिल्ममा लगानीका साथै अभिनय गर्ने अवसर पनि मिल्यो, यसले मलाई फिल्ममा लगानीसँगै अभिनयका लागि आकर्षित गर्‍यो।’
जोशीले ‘ह्याप्पी डेज’पछि नयाँ फिल्म ‘पासवर्ड’ बनाउने निधो गरे। फिल्ममा उनको लगानीमात्र छैन, अभिनय पनि आफै गर्न भ्याए।
‘नेपालको फिल्म बजार सानो छ, तर डायस्पोरामा रहेन नेपालीको संख्या उल्लेख्य छ। नेपाली फिल्म बजारको अर्को हिस्सा डायस्पोरामा रहने नेपाली पनि हुन् भन्ने आधारमा पासवर्डमा लगानी गरेको हुँ,’ जोशी भन्छन्, ‘फिल्ममा यति नै लगानी छ भनेर संख्यात्मक रूपमा खुलाउन चाहन्नँ, तर पासवर्ड बनाउने खर्चले पक्कै राम्रो मानिएका ३/४ वटा नेपाली फिल्म बनाउन सकिन्छ।’
कस्तो फिल्मलाई मानाङ्क राखेर जोशीले लगानीको हिसाब बताए, त्यो त खुलाएनन्। तर, नेपाली फिल्म बजारमा ठूलो लगानी खर्चिएको वास्तविकता उनको भावबाट प्रष्ट बुझ्न सकिन्छ।
केही समयअघि फिल्म ‘पासवर्ड’ का लागि बलिउड अभिनेत्री सन्नी लियोनीले २ करोड लिएर अभिनय गरिन् भन्ने समाचारले नेपाली फिल्मबजार गर्माएको थियो।
यो साँचो थियो वा भ्रम?
‘म यति–उति भनेर भन्न चाहन्नँ। मेरो प्रोडक्सन टिम नेपालमा छ। उहाँहरूलाई अझ धेरै थाहा छ। सन्नीको डिमान्डलाई हामीले पूरा गरेका हौँ, अनि सन्नीले हाम्रो फिल्ममा काम गरेकी हुन्,’ जोशीले भने।
फिल्मको ट्रेलरलाई आधार मान्ने हो भने, मूर्ति चोरी–निकासीको मुद्दा उठाइएको छ।
यस विषयमा जोशी भन्छन्, ‘नेपाली राजनीतिका विभिन्न कालखण्डमा हाम्रो देशमा रहेका पुरातात्विक मूर्ति धेरै चोरी भए, तर त्यसप्रति राज्य मौन छ। कतिपय मूर्ति विदेशी सङ्ग्रहालयमा भेटिन्छन्। त्यसैले यो मुद्दालाई अघि सारेका हौं,’ उनी थप्छन्, ‘मूर्ति चोरी कथाको सार मात्र हो, बाँकी फिल्म दर्शक–केन्द्रित र मनोरन्जनयुक्त छ।’
सन्नी लियोनीले सन् २०१२ मा बलिउडमा डेब्यु गरेकी थिइन्। अभिनयभन्दा बढी पोर्न स्टारकै ट्याग सन्नीको परिचयका लागि बलियो आधार मान्ने गरिन्छ। उनै सन्नीलाई नेपाली फिल्मका लागि किन रोजियो त? आम दर्शकका लागि यो चासोको विषय हो।
‘पासवर्डका लागि सन्नी नै किन रुचाइयो वा सन्नीकै डिमान्ड किन गरियो भन्ने कुनै आधार वा कारण छैन। जसरी बलिडउ कलाकार, गायक–गायिकाले नेपाली फिल्म र गायनमा आफ्नो उपस्थिति देखाउँछन्, त्यसरी नै सन्नीलाई नेपाली फिल्ममा राखेका हौं,’ उनी भन्छन्।
जोशी थप्छन्, ‘पासवर्ड मनोरन्जनात्मक र व्यावसायिक फिल्म हो। सन्नी लियोनीको क्रेज नेपालमा पनि छ र यसले फिल्मको व्यावसायिक मूल्य बढ्छ भन्ने हाम्रो अपेक्षा हो।’
सन्नीसँग सम्झौता
‘फिल्म बनाउने निर्णय भएसँगै हाम्रो युनिट आइटम गीतका लागि आइटम गर्लको खोजीमा थियो। मैले सन्नीलाई लिने कन्सेप्ट अघि सारेँ। मेरो कन्सेप्ट प्रोडक्सन टिमबाट अनुमोदन भएपछि हामीले उनीसँग सम्झौता गरेका हौँ,’ जोशीले फिल्मका लागि सन्नीसँगको सम्झौताबारे भने।
‘सन्नीसँग प्रत्यक्ष कुराकानी गर्न सहज थिएन। उनका प्रतिनिधिमार्फत् हामीले प्रस्ताव राखेका थियौं। उनी पनि कलाकार नै हुन्। स्टारडम अनुसारका सन्नीको माग हामीले पूरा गरिदिने सर्तपछि उनी अभिनयका लागि तयार भएकी थिइन्,’ जोशीले सुनाए।
जोशीले सन्नीसँग फिल्ममा अनस्क्रीन रोमान्स गरेका छन्। नेपाली कलाकारका लागि यो अवसर कमै मात्र जुट्न सक्छ। पछिल्ला दिन जोशीलाई एउटा प्रश्न बारम्बार सोधिने गरिएको छ।
बलिउड स्टार सन्नी लियोनीसँग अनस्क्रीन रोमान्स अनुभव कस्तो रह्यो?
प्रश्नको जवाफ दिइरहनु पर्दा हैरान छन् उनी। ‘मलाई धेरैले यो प्रश्न गरिरहनुहुन्छ। सन्नी लियोनी जस्तो स्टार कलाकारबारे सबैमा चासो हुनु स्वभाविक हो तर, उहाँ पनि कलाकार, उहाँसग काम गर्ने हामी पनि कलाकार। कुनै नयाँ र नौलो अनुभव हुन्छ जस्तो लाग्दैन,’ भन्छन्।
अगाडि भने, ‘अभिनयमा मेरो लामो अनुभव छैन, केही नेपाली कलाकारसँग काम गरेकैमा तुलनात्मक अनुभव सेयर गर्ने क्षमता म राख्दिनँ। यति हो, विदेशी कलाकर्मीले समयको महत्त्व बुझ्ने रहेछन्।’
फिल्मका लागि सन्नीसँग गरिएको तीन–दिने समय तालिकाको प्रसंग झिक्दै जोशी भन्छन्, ‘हामीले सन्नी लियोनीसँग तीन दिनको समय मागेका थियौँ तर, दुई दिनमा सुटिङ सकियो। यसको अर्थ उनीहरू समयनिष्ट छन्।’
शंकाको दृष्टिले प्रश्न गर्नेप्रति लक्षित गर्दै जोशी थप्छन्, ‘हाम्रो व्यक्तिगत सम्बन्ध केही छैन। जे–जति सहकार्य भयो सुटिङ सेटमै भएको हो। सन्नीसँग लन्डनस्थित किंग्स्टनमा रहेको प्रिज्म नाइट क्लबमा दुई दिनमा सुटिङ सकिएको थियो। जहाँ एक–अर्कालाई अभिनयमा सहयोग गर्ने र खाली समयमा सामान्य भलाकुसारी पनि हुन्थ्यो, बाँकी हामी सबै उस्तै त हो।’
भदौ २७ गते अर्थात् शुक्रबारदेखि फिल्म पासवर्ड प्रदर्शनमा आउँदै छ। फिल्म नेपालमा मात्र नभएर अन्य १२ देशका ३० सहरमा समेत प्रदर्शनमा आउँदै छ।
त्यसकै लागि विक्रम नेपाल फर्कने तयारीमा छन्। फिल्म प्रदर्शनको पहिलो दिन बलिउड अभिनेत्री सन्नी लियोनी पनि नेपाल आउने चर्चा उत्तिकै छ।
यो चर्चा मात्र नभएर वास्तविक भएको बताउछँन्, विक्रम।
‘चर्चाकै लागि मात्र सन्नी आउने कुरा गरेका होइनौं। यसलाई हल्लाको विषय बनाउन म आवश्यक ठान्दिनँ। यति भन्छु, अब केही दिन पर्खनुहोस् हल्ला हो या वास्तविकता, आफै थाहा हुन्छ।’

Comments