सतही 'मेकिङ' नै नेपाली फिल्मको कमजोरी : नवल नेपाल

१७ वर्षको उमेरमा कलाकार बन्न राजधानी पसेका नवल नेपाल यतिबेला निर्देशकका रुपमा परिचित छन्। उनी कलाकारका रुपमा परिचित हुन त सकेनन्। तर, कलाकारभित्रको अभिनय क्षमतालाई निचोर्न सक्ने उत्कृष्ट फिल्म निर्देशक बन्न भने सफल भए।
सन् २०११ मा उनले फिल्म ‘श्रीमान’ निर्देशन गरे। डेब्यु निर्देशनबाटै उनले फिल्मले बक्स अफिसमा राम्रो उपस्थिति देखायो। उनी नेपाली फिल्म उद्योगमा आशलाग्दा निर्देशकका रुपमा देखिए।
त्यसयता उनको निर्देशनका महसुस, लज्जा, भाग सानी भाग र मंगलम प्रदर्शनमा आए। फिल्म ‘भाग सानी भाग’लाई छाडेर अन्य फिल्म समिक्षात्मक र व्यवसायिक रुपमा सफल भए। २०७४ मा प्रदर्शनमा आएको ‘मंगलम्’ त विभिन्न अवार्ड कार्यक्रममा २५ विधामा मनोनयनमा पर्न सफल भयो भने दश वटा त अवार्ड नै हात पारेको थियो। जसमा तीन वटा विधामा त फिल्मले राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गरेको थियो।
फिल्म लेखन, संवाद तथा पटकथाको कामसमेत आफैं सम्हाल्ने नेपालको निर्देशनमा तयार फिल्म ‘मारुनी’ प्रदर्शनको संघारमा छ। फिल्म भदौं १३ अर्थात शुक्रबारबाट प्रदर्शन हुँदैछ। फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य अभिनय छ।
उनै निर्देशकसँग ‘मारुनी’ र सिङ्गो नेपाली फिल्म उद्योगका सम्बन्धमा नेपालन्युजका मनोज न्यौपानेले गरेको संवाद:
मारुनी फिल्मको कथावस्तु कस्तो हो?
जसरी जीवनमा महिला र पुरुषको आ–आफ्नो भूमिका छ, तिनैको जीवनलाई ‘फ्युजन’ गरेर एउटा यात्रा तय गरिएको छ। उक्त यात्राले ‘मारुनी’को तरङ्ग दिन्छ। यसलाई त्रिकोणात्मक प्रेमकथा पनि भन्छु म, जहाँ एक पुरुष र दुई महिलाबीचको प्रेमको तानाबाना हो।
फिल्ममा ‘मारुनी’को शाब्दिक अर्थ कसरी स्थापित गरिएको छ?
हामीले परम्परागत हिसाबमा बुझ्दै आएको मारुनी भनेको केटालाई केटी बनाएर नचाउनु हो। कतै सुन्दर नारीहरूले पनि मारुनी नाचेको पाउछौँ। कतै मारुनीलाई जोकरको रुपमा अथ्र्याइने पनि गरिन्छ, र कतिमय ठाउँमा मारुनीलाई सुन्दरी भन्ने अर्थमा परिभाषित गर्ने गरिन्छ। हामीले यही सुन्दरी भन्ने अर्थमा फिल्मको शीर्षकलाई सार्थक बनाउने प्रयास गरेका छौं।
फिल्ममा मनोरञ्जनात्मक शैलीमा सुुन्दर कुरा नै बिकाउने हो। यस अर्थमा मारुनी सुन्दर नारीको कथा हो।
फिल्म तेस्रो लिङ्गी वा समलिङ्गीको कथामा छ भन्ने अनुमान छ नि?
फिल्म भनेको गोपनियताभित्र रहने विषय पनि हो। यसका कतिपय पक्ष प्रदर्शनका क्रममा एकैपटक दर्शकलाई मात्र सुम्पने गरिन्छ। दर्शकले पैसा तिरेर हलमा प्रवेश गरेपछि त्यस्ता नयाँ विषय हेर्न पाउनु पर्छ, जुन बजारमा आएका छैनन्।
फिल्ममा हामीले केही कुरा गोप्य राखेर प्रचार गरेका छौं। तर, यो तेस्रो लिङ्गीको कुरा एउटा अनुमानमात्र हो। अनुमानले कुनै अर्थ राख्दैन।
एउटा निर्देशकका लागि फिल्म र त्यसका विषयवस्तु जति महत्वपुर्ण हुन्छन्, त्यति नै स्थापित पात्र पनि महत्वपूर्ण हुन्छन्। तपाईंको फिल्मकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले इन्डोनेसियामा जुन प्रकारको प्रोपोगान्डा देखाईन् त्यसले निर्देशक वा फिल्मको छविमाथि असर गर्छ?
असर गर्छ। यस्ता विषयले असर नगर्ने त कुरै हुँदैन नि। तर, तपाईंले जसलाईं औंल्याएर कुरा गर्नु भएको छ उहाँ आफैं पनि बौद्धिक, पढेलेखेकी र क्षमतावान मान्छे। नेपाली फिल्म क्षेत्रमा राम्रो स्थानमा बसेकी मान्छे। उहाँको व्यक्तिगत विषयमा बोल्नु वा चर्चा, परिचर्चा गर्नुभन्दा पनि यसलाई उहाँ आफंैले बुझ्नु पर्ने हो। तर, यति चाहिँ भन्न चाहन्छु, कतिपय त्यस्ता विषय हुन्छन्, जसले फिल्मलाई प्रत्यक्ष आक्रमण गरिरहेकै हुन्छन्। योभन्दा बढी बोलिराख्न आवश्यक छ जस्तो लाग्दैन।
साम्राज्ञीले इन्डोनेसियामा गरेका हर्कत सामाजिक सञ्जालमा फैलियो र चौतर्फी आलोचना बढ्यो। पछि उनकै प्रशंसकले फिल्म नै हेर्दैनौं भने आजसम्मको स्टारडम कता जाला भन्ने प्रश्न तेर्साए। यसअर्थमा साम्राज्ञीको व्यवहारले तपार्इंको फिल्मलाई प्रत्यक्ष असर पो गर्ने हो कि?
हामीले सैद्धान्तिकभन्दा पनि भावनात्मक विषयलाई जोड दिँदा राम्रो होला। फिल्ममा साम्राज्ञीको कुनै भूमिका नै छैन, उनी मारुनीको भूमिका छिन्। व्यवहारिक पाटोमा जाँदा उहाँले देखाएका गतिविधिले फिल्मलाई असर पुर्‍याउला। तर, भावनात्मक हिसाबमा त्यसो नहोला। फिल्मको त्यो पात्र मारुनी हो, न कि साम्राज्ञी।
कथाले मागेको पात्र र उसले निर्वाह गरेको चरित्रमा केन्द्रित हुने हो भने त्यहाँ व्यक्तिको चरित्रसँग फिल्मको पात्र चित्रण नजोडिएला।
nawal nepal inside 1
नवल नेपाल नेपाली फिल्म क्षेत्रमा आसलाग्दो र सफल निर्देशक। अब फिल्म मारुनीले यसअघिकोे साख जोगाउला ?
(हाँस्दै) यस्ता फुक्र्याउने प्रश्नदेखि अलि लाज लाग्छ। यसअघिको फिल्म ‘मंगलम्’ निर्माण गरिरहँदा पनि मैले केही आशा गरेको थिइँन। फिल्मका लागि आवश्यक पात्रलाई राम्रो गर्नका लागि हौस्याउने काम निरन्तर गरेँ। कतै पुरस्कारको अभिलासा देखाएँ होला कतै दण्डको। तर, राष्ट्रिय चलचित्र अवार्ड नै जित्छ भन्ने आशा÷भरोसा राखेर काम गरेको थिइनँ।
कुनै पनि काम गर्दा त्यसलाई मायाँ गर्नुपर्छ, न्याय गर्नुपर्छ र आत्माबाट नै दिलोज्यान दिनु पर्छ। यद्यपि फिल्म ‘मंगलम्’ सफल भयो। अब, मारुनीबाट पनि कुनै अपेक्षा छैन। टिमले नै राम्रो काम गरेका छौं, हाम्रो मनदेखिको काम दर्शकले पनि मनैबाट मनपराउनु हुन्छ भन्ने आशा हो। अब्बल कलाकारसँग अब्बल काम गर्ने प्रयास गरेका छौ।
मैले बनाएको फिल्म हर्ने दर्शक कति सन्तुस्ट भए, फिल्म हेरुन्जेल पट्यार लागेन र कुनै टिकाटिप्पणी नगरी सन्तुष्ट भएर घर फर्किए भने त्यही नै मेरो सफलता हो। अनि अपेक्षा पनि।
नवल नेपाल आफैंमा कस्तो निर्देशक भन्न रुचाउनु हुन्छ?
म साधारण खानपिनमा रुचि राख्ने मान्छे। यसको अर्थ मलाई खानपानमा होस या अरु केही विषयमा, ज्यादा मरमसला रुचिकर लाग्दैन। धेरै मसला मोलेर फिल्म बिकाउनु पर्छ भन्ने मान्यताबाट टाढा छु। मेरो सृजना, मेरो फिल्म लामो समयसम्म दर्शकको मस्तिस्कमा रहन सकोस्।
हाइफाइभन्दा बढी जीवनसँग गाँसिएर फिल्म बनाउने मध्यको एउटा मान्छे हो नवल नेपाल। ज्यादा फिक्सनभन्दा यथार्थ जीवनको प्रस्तुति नै दीर्घकालिन हुन्छ। क्षणिक लाभलाई केन्द्रमा नराखी पारिवारिक माहोलमा हेर्न मिल्ने दीर्घजीवी काममाथि विश्वास छ मलाई।
तपाईंको फिल्म मेकिङमा माया, प्रेम र करुणा प्राथमिकतामा हुन्छन्, यो रोजाइ हो या स्क्रीप्टकै अभाव?
रोजाइ नै यही हो। मैलै यस्तै जीवन भोग्दै आएँ, देख्दै आएँ र यही कुरा अनुभूत गर्न पाएको छु। हजार बढी दर्शकलाई एउटा अध्याँरो कोठाभित्रको पर्दामा दुई÷अढाई घण्टा अड्याएर राख्न सक्नु चानचुने होइन्। त्यो अड्याउने साधन हो, स्क्रीप्टको अभिव्यक्ति, चरित्र चित्रण र दृश्य। यसअर्थमा फिल्म दर्शकलाई शान्तसँग अड्याउने बलियो अधार भनेकै मानिसको भावनासँग जोडिएको पाटो हो।
नेपाली फिल्म उद्योग सोचेजति प्रगतिउन्मुख छैन, फिल्म मेकरहरूको अपेक्षा, अपेक्षामै सीमित छ। एउटा निर्देशकको दृष्टिकोणमा हाम्रो फिल्म उद्योग कहाँ चुकेको छ जस्तो लाग्छ?
अहिले नै नेपाली फिल्म उद्योगको विश्लेषण गर्ने हैसियत त म राख्दिनँ। तर, मैले बुझेको विषय फिल्म निर्माणको गहिराईमा हामी पुग्न सकेकै छैनौँ। तैरिएर माथि माथि दौडिरहेका छौं।
नेपाली फिल्म बजारमा पछिल्लो समय सफल तथा थोरै बजेटमा राम्रा/अब्बल फिल्म नबनेका होइनन्। हिजोभन्दा आज हाम्रो फिल्म बजारको स्तरमाथि छ। नेपाली फिल्मले विदेशी फिल्मका सोचलाई परास्त गरेका उदाहरण प्रसस्तै छन्। यससँगै नेपाली फिल्म बजारमा विकृति पनि उति नै छ। विना अनुभव, विना अध्ययन पैसाका भरमा बजार प्रवेश गर्नेको भीड पनि उस्तै छ। लाग्छ यो समय परिवर्तनको संघारमा छ।
नेपाली फिल्म बजारमा पटकथा अर्थात् उत्कृष्ट स्क्रीप्टकै अभाव छ भन्ने गरिन्छ नि?
यो विषय मलाई साँचो लाग्छ। यस अर्थमा कि, आफ्नो अन्तर्मनमा रहेर एउटाले तयार पारेको कथालाई अरु कसैले निर्देशन गर्दा त्यो लेखकको भाव अर्कोले कसरी बुझ्ने? कुनै स्क्रीप्ट पाएँ भने मैले त्यसलाई कण्ठ गर्ने होइन, त्यसभित्रको भावलाई अनुभूत गर्ने हो।
स्क्रीप्टमाथि गहिरिएर त्यसको भावनात्मक पाटो केलाउन जो सुकैले सक्दैन। लाग्छ, हाम्रो फिल्म बजार आवरणमै रमाइरहेको छ। तर, सबैमा यो आँकलन सही नहुन पनि सक्छ।
nawal nepal inside 2
हलिउड–बलिउडको उदाहरण दिने तर, उनीहरुले दर्शक मनोविज्ञान बुझेर वर्षौ र करोडौं खर्चिएर पाएको सफलता बिर्सिएर व्यवहारमा ३/४ महिनामै राम्रो भनिएका फिल्मको काम पनि फत्ते गर्ने परम्परा नेपालमा छ। लगानीकर्ताको गोजीको साइज हेरेर समयसीमा निर्धारण गर्दछौं, यस्तो किन भइरहेको छ?
हामीमा यस किसिमका कमजोरी प्रसस्तै छन्। हलिउड–बलिउडको उदाहरण दिन्छौं तर हाम्रा काम क्षणभरमै सकेर त्यसको श्रेय लिन हतारिन्छौं।
तर, नवल नेपाल त्यस्तो मेकर भने होइन, जो एउटा फिल्मलाई दुई वर्ष लगाउन पनि तयार छ, राम्रो बनाउने सवालमा। म एउटा फिल्मलाई एक वर्ष लगाएर लेख्छु। यति समयमा पनि चित्त नबुझेर हरेक साना–साना काममा प्रत्यक्ष खटिरहेको हुन्छु।
मेरो व्यक्तिगत बुझाइमा हाम्रो फिल्म बजार छिटोे काम सक्ने र छिटै कमाउने मनस्थितिबाट ग्रसित छ। यो राम्रो संकेत होइन।
केहीदिन अघि तपाईंले आफ्नो फिल्मबारे सञ्चारकर्मीलाई स्वतन्त्ररुपले लेख्न अपिल गर्नु भयो। तर हाम्रो फिल्म बजारमा फिल्मका नकारात्मक टिप्पणी वा समिक्षाप्रति कतिपय फिल्मकर्मीले सञ्चारकर्मीका कलममा पनि बन्देज लगाएको सुनिन्छ। तपाईंको त्यो भनाइ आवरणीय थियो या, अन्तर्मनको भाव?
नवल नेपाल यस्तो मान्छे हो, जो अन्तर्मनबाट नै बोल्छ। त्यो बेला मैले बोलेको विषय कुनै आवरणबाट बोलेको होइन। राम्रो कुरा आफैंमा राम्रो हुन्छ। तर, नराम्रो कुरा पहिचान भयो या कसैले गरिदियो भने आँफूलाई सुधार गर्ने मौका मिल्छ। म पनि उद्योगबाट केही सिक्दै छु, अझै सिक्ने चाहना हो।
सबै काम सफल हुन्छन् भन्ने हुँदैन, र फिल्म मारुनी असफल भयो भने यसलाई स्वीकार गर्न तपाईं तयार हुनुहुन्छ?
मैले सफलताभन्दा असफलता नै बढी भोगेको छु। फिल्म सफल हुनु वा व्यवसायिक सफल हुन त्यति ठूलो कुरा होइन। स्वभावैले मानिसका सफलताका विषय, लेखिन्छन्, देखिन्छन् र सुनिन्छन् पनि तर, असफलताका विषय गुमनाम हुन्छन्। असफलताहरू कुनै कुनामा पर्दामा छेकिएका हुन्छन्, जुन कुरा कोही कसैले भन्दैन, सुनाउँदैन।
तर, हरेक असफलता नयाँ कामका ऊर्जा हुन्। असफलताले मान्छेलाई कमजोर बनाउछ। सँगसँगै सफलताका लागि घच्घच्याउँछ पनि। संक्षेपमा म अझै पनि फिल्म उद्योग संघर्ष गर्न तयार छु, असफलतासँग पंखेजोडी गर्न तत्पर छु।

Comments