
यतिबेला तीजले नेपाली महिलालाई छोएको छ। कलाकार त्यसमा भिन्न रहने कुरै भएन। उनीहरूका लागि तीज झनै विशेष हुन्छ। देश-विदेशमा हुने कार्यक्रमदेखि दर खाने कार्यक्रमसम्म कलाकारकै चर्चा चल्छ।
महिलाहरूले तीजमा दर खाने, व्रत बस्ने तथा नाच्ने–गाउने चलन पुरानो हो। तर, पछिल्लो पुस्ता आधुनिकतासँगै परिवर्तित छ। नयाँ पुस्तामा परम्परा र संस्कृतिका सम्बन्धमा नयाँ सोच र धारणा रहेको पाइन्छ।
यसैलाई आधार मानेर नेपालन्युजले केही महिला कलाकारसँग यस वर्षको तीज योजना र व्रतका सम्बन्धमा एक प्रश्न गरेको छ–
तीजमा कसका लागि व्रत बस्नु हुन्छ र किन?
तीजमा कसका लागि व्रत बस्नु हुन्छ र किन?
अभिनेत्री भुवन थापा चन्द
यो वर्ष तीजको रौनक नै छैन मेरो त। साथी सुभद्रा बित्नुभयो, परिवारका सदस्य पनि घरबाहिर, खल्लो महसुस भइरहेको छ। तर, सधैंजस्तै यो वर्ष पनि व्रत चाहिँ बस्छु म। अघिल्ला वर्षमा निराहार पानी पनि नखाइ व्रत बस्थें। तर यो वर्ष फलफूल खाने योजनामा छु। किनकि आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नै पर्यो।
परम्परादेखि मानिँदै आएको कुरा, पतिको सुस्वास्थ्य दीर्घायुका लागि व्रत बसिन्छ। सँगै आफ्नो परिवारको सुख–शान्तिको कामनाका लागि पनि व्रत बस्ने गरेकी छु।
श्रृंखला खतिवडा, मिस नेपाल २०१८
यो वर्ष तीजको खासै योजना छैन। काममै व्यस्त रहन्छु। हाम्रो परम्पराअनुसार व्रत बस्नु नराम्रो त होइन, तर आफ्नो स्वास्थ्य अवस्था ख्याल गरेर बस्नु राम्रो हो।
अभिनेत्री करिश्मा मानन्धर
(हाँस्दै) तीज लागेन–लागेन भन्दा–भन्दै मज्जाले नै लागेको छ। खासमा मेरो श्रीमान विनोद मानन्धर नेवार समुदायबाट हुनुहुन्छ, अनि म क्षेत्री। त्यसैले म व्रत बस्दिन पनि।
तीजमा व्रत बस्नु भनेको परम्परागत रुपमा हेर्दा निराहार बस्नु पर्ने हो। तर, म चाहिँ व्रतको दिन फलफूल, पानीसम्म खाएर व्रत बस्छु। अब किन व्रत बस्ने भन्ने प्रसंगमा चाहिँ, ‘हाम्रो परम्परा, पुरानो पुस्ताले जे गर्नु भयो त्यहीँ सिक्दै आएका हौ र नयाँ पुस्तामा पनि यो सिकाइ हुनुपर्छ त्यसैले पनि मैले यसको निरन्तरता दिएकी हुँ। बाँकी परिवार, छोराछोरी, श्रीमानको सुस्वास्थ्य दीर्घायुको कामना त छदैँछ।
अभिनेत्री बेनिसा हमाल
साथीहरूको लहैलहैमा लागेर केही वर्षअघि एकपटक पानी पनि नखाई व्रत बसेको थिएँ। तर, त्यसअघि पनि लिएको थिइँन र पछि पनि लिएको छैन। कस्तो गाह्रो हुने क्या। (हाँस्दै) अब, किन नलिएको भन्ने प्रश्न पनि आउँछ। खासमा मनबाटै व्रत बस्ने हो, अहिलेसम्म व्रत बसौँ बसौँ लागेकै छैन। परम्परा हो, ममि र आफन्त व्रत बस्दै आउनुभएको छ, त्यसैले यो मनले व्रत बस्न मान्यो भने त्यति बेलैबाट बस्छु।
गायिका प्रविशा अधिकारी
वर्षमा एकपटक लिने व्रत नै मेरो तीजको व्रत हो। मैले १२÷१४ वर्ष यता निरन्तर तीजको व्रत बस्दै आएकी छु।
सबैले भन्नुहुन्छ राम्रो वर/श्रीमान प्राप्तिका लागि वा श्रीमानको सुस्वास्थ्य दीर्घायुका लागि तीजको व्रत बसिन्छ। तर मेरो व्रत चाँहि राम्रो वरका लागि भन्दा पनि परम्परादेखि मान्दै आएको पर्वको निरन्तरता हो। तीजमा व्रत बस्न खुब मज्जा लाग्छ। (हाँस्दै) यत्रो वर्ष तीजको व्रत बसियो वर त राम्रै भेटिएला !
अभिनेत्री रश्मि भट्ट
म सधैं तीजको व्रत बस्छु। तर, यो वर्ष बुबा वित्नु भएको छ। त्यसैले खल्लो मन लिएर व्रत बस्न जाँगर चलिरहेको छैन। गोत्र परिवर्तन भएपछि माइतिको दुःख बोक्नु पर्दैन भनिन्छ, तर मन मान्दैन।
यो वर्ष व्रत बसे पनि पुजा कर्ममा चाहिँ सहभागी हुँदिन। अब, व्रत कसका लागि भन्ने प्रश्नको जवाफ दिन नै गाह्रो। पहिले पतिव्रता, पत्निव्रताको विश्वास थियो। तर अहिले तीज आफैमा भड्किलो छ। भन्नलाई त परिवार, श्रीमानका लागि भनिन्छ, तर व्रत त आफ्नै लागि हो। परम्परागत संस्कृतिको निरन्तरता हो।
अभिनेत्री आँचल शर्मा
स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षाको तयारीमा छु। त्यसैले यो वर्ष तीज धेरै लागेको छैन। व्रत पनि बस्ने गरेको छैन। गत वर्ष व्रत बस्ने प्रयास गरेको थिएँ, १२ बजेपछि नखाई बस्नै सकिनँ।
यो व्रत बस्ने वा निराहार दिन बिताउने कर्म आफ्नो आस्था र विश्वासको कुरा हो। मलाई चाहिँ यसमाथि विश्वास लाग्दैन तर, ज–जसले आस्थाका साथ व्रत बस्नु हुन्छ स्वास्थ्यको ख्याल राख्न आग्रह गर्छु।
अभिनेत्री वर्षा सिवाकोटी
यो वर्ष तीज नै लागको छैन मलाई त। फिल्म ‘लक्का जवान’को सुटिङ सेटमै व्यस्त छु। तीज यतै बित्छ होला। व्रत झन् कसरी लिने?
मैले यसअघि ३/४ पटक व्रत बसेकी छु। तर व्रत किन र कसका लागि भन्ने प्रश्नको जवाफचाहिँ मसँग छैन। परम्परा हो घर–परिवारमा जे–जे गर्दै आउनुभयो त्यसको निरन्तरताकै लागि पनि मैले व्रत बस्दै आएकी हुँ। राम्रो श्रीमान पाउन भनेर सबैले भन्छन्। तर म व्रत बस्दा त्यसको लागि बसेको हो जस्तो लाग्दैन।
मैले यसअघि ३/४ पटक व्रत बसेकी छु। तर व्रत किन र कसका लागि भन्ने प्रश्नको जवाफचाहिँ मसँग छैन। परम्परा हो घर–परिवारमा जे–जे गर्दै आउनुभयो त्यसको निरन्तरताकै लागि पनि मैले व्रत बस्दै आएकी हुँ। राम्रो श्रीमान पाउन भनेर सबैले भन्छन्। तर म व्रत बस्दा त्यसको लागि बसेको हो जस्तो लाग्दैन।
अभिनेत्री पुजा शर्मा
मलाई तीज नै लाग्दैन। सारी लगाउने, दर खाने, नाचगान गर्नेलगायत सबै कुरा मलाई अल्छी लाग्छ। परिवारमा त आमा, आफन्तले मनाउनुहुन्छ, तर आफ्नो–आफ्नो रुची हो। यसैले मैले तीज मनाउने गरेको छैन। व्रतको त कुरै भएन।
Comments
Post a Comment