४४ वर्षपछि डेजीकाे गीत 'भैंसी लड्याे है माया...' उनकै छाेरीले गाउँदा...

‘सङ्गीत मेरो अक्सिजन हो’, सङ्गीतप्रतिको सामिप्यता र सद्‍भाव ओकल्दै जब बिमोचना लम्जेल ‘द भ्वाइस अफ नेपाल’ को स्टेज उक्लिइन्, कसैलाई पनि उनी नेपाली सङ्गीतकी ‘लिजेन्ड’ डेजी बराईलीकी छोरी हुन् भन्‍ने आभाषसम्म थिएन।
तर, जब उनले आफू गायिका आमा डेजी बराइली र सङ्गीतकार बाबु चन्दन लोम्जेलका साथमा आएको बताइन्, त्यसपछि कोचहरू प्रमोद खरेलदेखि वरिष्ठ गायक दीप श्रेष्ठसम्मले डेजीप्रति सम्मान व्यक्त गरे र स्टेजमै पुगेर नमस्कार साटासाट गरे।
‘भैंसी लड्यो है माया...’, ‘मायालुले सम्झ्यो कि कसो...’, ‘एउटा खुला किताब हुँ म...’ लगायत कालजयी गीत दिएकी बराईली नेपाली साङ्गीतिक जगतकी जिउँदो इतिहास हुन्।
उनै डेजीकी छोरी बिमोचना सन् २००६ मा नेपाल आएकी रहिछन्। सुनाइन्- ‘आमा बुबासँगै नेपाल आएकी थिएँ, जतिबेला पलेटीका आयोजकले आमासँगै गाउन आग्रह गर्नुभएको थियो। मैले ‘मायालुले सम्झ्यौकि...’ बोलको गीत गाउने मौका पाएकी थिएँ।’
सङ्गीत र साधनाले निखारिएकी बिमोचना आफ्नै परिचय बनाउन हतारिएजस्तो देखिन्थिन्। द भ्वाइसको स्टेज छनाेट गर्नुको प्रसङ्ग सुनाइन्- ‘यतिका वर्षसम्म बुबाआमा सङ्गीतकर्ममा लागिरहनुभयो। अब, म आफैंले कहिले गर्ने भनेर सोचिरहेकी थिएँ। त्यही समय मैले द भ्वाइसको अडिसनबारे थाहा पाएँ। लाग्यो जे होला-होला मेरो लागि यो नै ठिक समय हो भनेर यो स्टेज छानेकी हुँ।’
बिमोचनालाई जीवनमा केही गर्नु छ, केही बन्‍नु छ। ‘आमाबुबाले जसरी काम गरिरहनु भएको छ, त्यसरी नै मेरो कारणले उहाँहरूलाई अरूले चिन्‍न सकुन्, जब मलाई त्यो स्टेजमा मेरो बुबाआमाले हेर्नुहुन्छ/देख्नुहुन्छ, त्यो नै मेरो लागि खुसीको कुरा हुनेछ। उहाँहरूलाई मेरो कारणले चिनाउन सकेँ भने त्योभन्दा ठूलो उपलब्धि मेरा लागि केही हुने छैन,’ अभिभावकप्रति, भविष्यप्रति जिम्मेवारबोध गर्छिन् बिमोचना।
‘द भ्वाइस’ को स्टेजका लागि बिमोचनाले आमाकै गीत रोजिन्, ‘भैंसी लड्यो है माया....’। उनको गायकीमा रहेको मिठासपन कोचहरूले दिल खोलेर स्वीकारिदिए।
ब्लाइन्ड अडिसनको स्टेजमा बिमोचनाको उपस्थिति रहरलाग्दो थियो। सँगै थिए दार्जिलिङबाट आएका उनका बुुुबा चन्दन लोम्जेल र आमा डेजी बराइली। बुबा चन्दन सङ्गीतकर्ममा रमाइरहेका छन्, जो आमा डेजीका साङ्गीतिक सारथी हुन्।
सन् १९७५ अर्थात्, करिब ४४ वर्षअघि कमल दर्नालको शव्द तथा सङ्गीत सङ्कलनमा रेकर्ड गरिएको ‘भैंसी लड्यो है माया...’ बोलको गीत नसुन्‍ने नेपाली कमै होलान्। जुनकुरा, ‘द भ्वाइस’ का कोच तथा गायक प्रमोद खरेलले बारम्बार दोहोर्‍याइरहे।
नेपालीहरूको जन-जिब्रोमा बसेको कालजयी यो गीतलाई द भ्वाइसको स्टेजले ब्युँझाएको छ। छोरी बिमोचनाको लोभलाग्दो प्रस्तुतिले नयाँ पुस्तामा गीतको नयाँ तरङ्ग दिइरहँदा र दर्शकको प्रशंसाले आमा डेजी गर्वानुभूति गरिरहेकी थिइन्।
नेपालप्रतिको मायाँ र सद्‍भाव पोख्दै डेजीले स्टेजमा भनिन्- ‘एउटै आमाको सन्तान हामी, भौगोलिक दृष्टिकोणले मात्र हामी फरक छौं, तर नेपाललाई चोट लाग्दा हामीलाई पनि दुख्छ। मेरो प्यारो नेपाल, धेरै नै माया गर्छु।’
सन् १९७५ मा गीत ‘भैंसी लड्यो है माया...’ गाउँदाको किस्सा सम्झँदै भावुक मुद्रामा सुनाइन्- ‘उतिबेला विद्यालय पोसाकमै रत्‍न रेकर्डिङ संस्थानमा यो गीत रेकर्ड गराएकी थिएँ। आज आफ्नै छोरीले यो स्टेजमा गीत गाँउदा पुरानो यादमा भित्रभित्रै रोइरहेकी छु।’
द भ्वाइसको स्टेजमा बोल्न पाएकोमा, प्रस्तुति दिन पाएकोमा सङ्गीतकार चन्दन पनि उत्तिकै खुसी छन्। नेपाली मूलको भारतीय भए पनि, नेपालप्रतिको माया र भाइचारा कार्यक्रमले दिलाउन सकेकोमा धन्य छन्।
‘कार्यक्रममा प्रतियोगी बनेर सिक्किम, दार्जिलिङ, भुटान, आसामबाट सहभागी भएको देख्दा लाग्छ यो कार्यक्रम नेपालीहरूको एकताको प्रतीक हो।’
साङ्गीतिक माहोलमा हुर्किएकी बिमोचना द भ्वाइसको अर्को चरणका लागि छानिएकी छन्। आफ्नै परिवारको ४४ वर्ष लामो साङ्गीतिक यात्रामा बिमोचनाको साङ्गीतिक प्रवेश स्वागतयोग्छ छ। आफ्ने करिअरमा द भ्वाइसको स्टेजमा बसेका कोच खुसी बनाउन सफल भएकोमा बिमोचना आफै‌ं पनि खुसी छिन्। आफ्ना बुबाआमालाई सानो भए पनि सफल साङ्गीतिक यात्रा पस्कन पाएकोमा गौरवान्वित छिन्।
यो सफलतासँगै बिमोचनामा नयाँ चुनौती थपिएको छ- प्रतिस्पर्धासँगै आमाबुबाको परिचयको भार।

Comments