तक्मे बुढाको जीवनकथा: ‘आमा, कतैबाट त देखिरहनु भएको होला मेरो सफलता’

  • मनोज न्यौपाने असोज ३, २०७६ | शुक्रबार | काठमाडौं


‘जीवन त कबड्‍डीजस्तै रहेछ, कहिले ‘रेड’ त कहिले ‘डिफेन्स’। निर्धारित रेखा पार गर्दै, चुनौतीहरू परास्त गर्दै अगाडि बढ्नुपर्ने। साँच्चै कबड्‍डी जस्तै छ जीवन,’ विल्सनविक्रम राई उर्फ तक्मे बुढा जीवनदशा पोख्छन्।
राईले समय रेखासँगै भोगेका तीता-मिठा अनुभवहरूको संग्रहलाई एकै शव्दमा ‘कबड्‍डी’ भनिदिए। उनको जीवनको यथार्थ पनि यस्तै नै छ।
झापाको बिर्तामोडमा जन्मिएका राई जसले, ९ वर्षको उमेरमै जन्म दिने आमा गुमाए। परिवारको जेठो सन्तान, बुबा पेशाले ड्राइभर, घरमा साना–साना भाईबहिनी, जिम्मेवारी गहन थियो।
‘म त सानो छँदा नै ठूलो भएँछु, पत्तै नपाई’, राईले भनेजस्तै उनको मातृत्व काख खोसियो। स्कुल पढ्दै र पारिवारिक जिम्मेवारी सम्हाल्दै उनको वाल्यकाल सकियो।
पारिवारिक जिम्मेवारी सम्हालेरै भए पनि गाउँका पुजाआजा वा विवाहमा नाच्न भ्याउँथे विल्सन। जीवनको मधुरो लक्ष्य पनि कलाकारितामै अल्झिएको रहेछ। सुनाउछन्, ‘सानैबाट सपना थियो कलाकार बन्ने, डान्सर बन्ने तर, यो सपनामा पनि धेरै उतारचढाव आए’।
जीवनमा उनले धेरै संघर्ष गरे। धेरै कुरामा सम्झौता गरे।
केही भुल्नै नसक्ने किस्सा छन् विल्सनसँग, जसले उनको कलाकारिता यात्रालाई यहाँसम्म डोर्‍यायो। चन्चल स्वभावका विल्सन विद्यालयमा नृत्य गर्न भनेपछि तम्सिहाल्ने। संयोग त्यस्तै सोही बेला अभिनेता राजेश हमाल लगायतको टिम फिल्म ‘साथी’को छायाङ्कनका लागि झापा पुगेको थियो। अभिनयको रहर संगालेका विल्सनले फिल्ममा सानै भए पनि भूमिका निर्वाहको अवसर पाए। उनले राष्ट्रका स्टार कलाकार र फिल्म युनिटसँग एक प्रकारको निकटता, संरक्षणको महसुस गरे। फलतः उनी सानै उमरेमा काठमाडौं हानिए।
Wilson bicram rai inside

झापाको बिर्तामोडमा जन्मिएका राई जसले, ९ वर्षको उमेरमै जन्म दिने आमा गुमाए। परिवारको जेठो सन्तान, बुबा पेशाले ड्राइभर, घरमा साना–साना भाईबहिनी, जिम्मेवारी गहन थियो।


अपरिपक्व उमेर, सानो कदको मान्छे, काठमाडौं विल्सनका लागि सहज थिएन। ‘अधिकांस भेटिएका फिल्मकर्मीले सानो मान्छेलाई कसरी हिरो बनाउने भन्ने प्रश्न तेस्र्याउथे, ठूलो भएपछि अभिनय गर। अहिले घर फर्क भनेर सुझाउँथे। त्यसैले उतिबेला झापा फर्किएँ,’ बाल्यकालको अपरिपक्व निर्णयले भोग्नु परेको पराकाष्टा थियो विल्सनको।
‘मैले औपचारिक अध्ययनमा उति धेरै सफलता हाँसिल गर्न सकिनँ। किनकि म उतिबेला विद्यालयका पाठ्यपुस्तकभन्दा बढी फिल्मी पत्रिका ‘कामना’सँग धेरै हराउने गर्थेँ,’ कलाकारिताप्रतिको साधना यस्तो थियो उनको।
उमेर र शारीरिक अपरिपक्वतालाई दोष देखाउँदै घर फर्केका विल्सन पुनः २०६१ मा काठमाडौं आए। अभिनयप्रतिको व्यग्र इच्छा लिएर काठमाडौं आएका उनले अनगिन्ती काम गरे। डान्स रेस्टुरेन्ट, कोरस डान्सर, भ्वाइस आर्टिस्ट अर्थात् डबिङलगायत क्षेत्र विल्सनका साथी थिए।
विल्सनको दुई वर्ष यस्तै–यस्तैमा बित्यो। ठूलो उपलब्धि हात पार्न निकै सकसपूर्ण भयो। त्यसपछि उनी कमाउनन मलेसिया हानिए।
‘सोचेजस्तो कहाँ हुँदोरहेछ र, होटलमा काम गर्न गएको दुई महिनामै फर्कने मनस्थितिमा पुगें, त्यहाँ पुर्‍याउने एजेन्सीले नफर्कन दबाब दिदाँदिँदै पनि म रित्तो हात घर फर्किएँ,’ विल्सनको पाइलामा लागेको अर्को ठेस थियो यो।
रात पछिको दिन भनेझै, जब विल्सन नेपाल आईपुगे संयोगले निर्देशक सुरज सुब्बा नाल्बोसँग उनको भेट भयो। त्यो खुसीको क्षण सुनाउँदै भन्छन्, ‘मलाई निर्देशक नाल्बोले फिल्म ‘सायद’मा अभिनयको मौका दिनुभयो। त्यो अवसर अभिनय यात्राको पहिलो सुखद पाइला थियो।’ निर्देशक नाल्बोप्रति ऋणी महसुस गर्दै विल्सनले असफलताबाट उन्मुक्तिको सास फेरे।
तर, फिल्म ढिला रिलिज गरियो। उनी फेरि बेरोजगार बने।
‘फिल्म ढिला आउने भएपछि म पुनः झापा झरेर महोत्सवहरूमा कार्यक्रम प्रस्तोताको काम गर्न थालें। यसले राष्ट्रिय कलाकारहरूसँगको हिमचिम बढाई दियो,’ विल्सनले संघर्षका दिन सम्झिए।
कलाकारसँगको समिप्यताको फाइदा उठाउन खप्पिस थिए। सुनाउछन्, ‘म जसलाई भेटे पनि कलाकारितामा स्थान दिन आग्रह गरिरहन्थेँ। क्यारिकेचरमा पनि राम्रै हेक्का राख्दथेँ सायद त्यसले पनि होला मलाई कलाकारहरूसँग आफ्नो अफर गर्न असहज थिएन।’
‘जीवन कबड्डी जस्तै हो...’ विल्सनको यो वाक्यांश उनको विगत र वर्तमानको कथन हो। खुसी र दुःखमा लुकामारी गर्दै गरेका विल्सनको भेट कलाकार केदार घिमिरेसँग भयो। घिमिरे ‘माग्ने बुढा’ को परिचयले स्थापित थिए।
उनै माग्ने बुढाले विल्सनको परिचिय फेरिदिए। सुनाउँछन्, ‘त्यो बेला मैले भिन्न–भिन्न चरित्र बोकेका चारवटा अभिनय देखाएको थिएँ। तर उहाँलाई ‘तक्मे बुढा’को चरित्रले छोएछ। मलाई तक्मे बुढा बनाईयो।’
विल्सन अभिनित फिल्म ‘सायद’ भन्दा तक्मे बुढाको चरित्र ‘मेरी बास्सै’ बाट पहिला रिलिज भयो। सानो पर्दामा तक्मेको डिमान्ड बढ्यो। ठूलो पर्दामा ‘वेद थापा’ को चर्चा चुलियो। त्यसयता विल्सनले पछाडी फर्केर हेर्नुपरेको छैन।
आज विल्सनको परिचय तक्मेमा अडिएको छ। दर्शकको मायाप्रति उदार विल्सन सुनाउँछन्, ‘म त विल्सनविक्रम राईभन्दा पनि तक्मे नै बेसी हुँ।’ परिवारले राखिदिएको नामभन्दा बढी दर्शकले राखिदिएको नाम उनका लागि प्यारो छ।
‘भलै म विल्सनविक्रम हुँ होला तर, तक्मे मेरो छाँया हो। छाँया कहिले अघि–अघि हुन्छ त कहिले पछि–पछि। सधैं साथमै हुन्छ।’ जीवनको कबड्डी खेलिरहँदा पाएको तक्मा हो तक्मे, जुन चाहेर पनि मेट्न चाहँदैनन् उनी।
हालसम्म २६ भन्दा बढी ठूलो पर्दा तथा कयौं टेलिचलत्रिमा काम गरिसकेका विल्सन तक्मे चरित्रले दिएको परिचयको पर्याय पात्र खोजिरहेका छन्। ‘एउटा सशक्त पात्र जसले तक्मेको ह्याङ् तोडिदेओस् तर भनेरमात्र हुन्न रहेछ,’ तक्मे पात्रको प्रसंसा गर्छन् उनी।
wilson bicram rai inside 3
विल्सन आफ्नो सफलताले मात्तिएका छैनन्। ‘मैले कलाकार बन्न जति संघर्ष गरें, त्यति स्थायित्व पाउन गरिनँ। किनकि भगवानजस्ता दर्शक स्रोताले कलाक्षेत्रमा मेरो आगमन सहजै स्वीकार गरिदिए, स्थापित बनाइदिए। तर, संघर्षसँगै प्राप्त सफलता, माया र मप्रतिको विश्वासलाई निरन्तरता दिन धेरै गाह्रो रहेछ। आज म त्यहीँ प्राप्त सफलताको स्थायित्वको दबाबमा दौडिरहेको छु। मप्रति दर्शकले देखाएको प्रेमभाव परिपूर्तिका लागि संघर्षशील छु।’
विल्सनलाई संघर्षले नयाँ–नयाँ उपहार दियो। तक्मेजस्तो बलियो ट्याग थमाइथियो। धेरथोर अर्थ जुटायो, कयौँ प्रशंसक जुटायो। तर, विल्सनमा एउटा अभाव खड्किरहेको छ। र त्यो अभाव, जीवन्त खड्किरहने छ।
मलिन मुद्रामा सुनाउँछन्, ‘नौ वर्षको उमेरमा आमा बित्नुभयो। त्यो बेलाको समयले आमालाई हामीबाट पराई बनायो। दुःखमा म आमा सम्झिन्नँ, तर, धैर्यता र संघर्षले प्राप्त सफलतामा म आमा सम्झन्छु। सफलताको उत्सव मनाउँदा आमा सम्झन्छु’।
‘मेरी आमालाई मेरो दुःख देखाउने मेरो रहर रहेन। तर आजको यो सुखमा उहाँलाई राख्न पाएको भए, अथवा सफलताको उत्सवमा उहाँसगै हाँस्न पाएको भएँ, भन्ने आभास हुन्छ। तर, यहाँ कसैलाई सुनाएर, भनेर बितेको कुरा फर्कने होइन। साथमा नभए पनि आमाले कहीँ न कहीँबाट यो सफलता देख्नु भएको होला,’ उनी भन्छन्।
विल्सनको पछिल्लो व्यस्तता
यतिबेला विल्सन फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा आबद्ध छन्। ‘कबड्डी’को तेस्रो सिक्वेलका रुपमा बनेको फिल्ममा विल्सन ‘धनकाजी’ का रुपमा देखिँदैछन्। हाँस्य विधामा रुचाइएका विल्सन नयाँ फिल्ममा नयाँ चरित्रमा देखिँदैछन्।
भन्छन्, ‘रामबाबु गुरुङ आफैंमा राम्रो फिल्म निर्देशक। सँगै दयाहाङ राई, कर्मा शाक्य, बुद्धि तामाङजस्ता कलाकारसँग स्क्रीन सेयर गर्ने अवसर पाएँ, खुसी छु। म फिल्म युनिटसँग आबद्ध हुन पाउँदा खुसी भएँ अब, निर्माण युनिटलाई फिल्मको सफलताले खुसी बनाउँनेमा ढुक्क छु।’
‘फिल्मको तेस्रो सिरिजमा आउँदा नयाँ सदस्य धनकाजी थपिएको छ। धनकाजीलाई ब्राण्डमा स्थापित हुन उति सहज छैन। एउटा सशक्त ब्राण्ड बोकेको फिल्म त पक्कै सफल होला तर, धनकाजी पात्र सफल होला–नहोला डर लागिरहेको छ,’ भन्छन्। फिल्मको ब्राण्डप्रतिको आशा र पात्रप्रतिको त्रास पनि विल्सनमा उतिकै छ।
‘कबड्डी कबड्डी कबड्डी’को प्रचारप्रसारमा व्यस्त विल्सन निर्माणाधीन फिल्म ‘सेन्टी भाइरस’मा पनि आबद्ध छन्। त्यसको सुटिङले पनि उनको व्यस्तता बढेको छ। योसँगै केही म्युजिक भिडियो, साना–साना वेब सिरिज, टेलिसिरियल र विदेश भ्रमण उनका दैनिकी हुन्। जसले विल्सनको तक्मे साख जोगाईरहेको छ।

Comments