टीका पोको पारेर छोराछोरीका लागि अमेरिका पठाउँथ्यौं : प्रेमध्वज प्रधान

  • मनोज न्यौपाने
  • असोज २०, २०७६ | सोमबार | काठमाडौं


हाम्रो बाल्यकालमा दसैंको रौनक यति धेरै हुँदैन थियो। गाउँ सहर आवतजावत हुने कुरै भएन। पश्चिममा लाहुरेहरूको आवतजावत थियो कि खै पूर्वमा त्यस्तो थिएन।
जहाँ गए पनि हिडेर जानुपर्ने, जनजीवन कठिन थियो। टीका जमरा र खानपान नै दसैंको मुख्य मर्म हुन्थ्यो। अन्य पुजाआजा बली दिनेजस्ता कुरा त परम्परासँग जोडिएका विषय भई नै हाले।
दसैंको स्मरण गर्दा, पहिला–पहिला दक्षिणा दिने चलन धेरै थिएन। २५–३० साल यताबाट यो चलन ब्यापक भएजस्तो लाग्छ। अहिले त दक्षिणाको महत्व धेरै नै छ।
मेरो घर सिन्धुपाल्चोकको चौतारा, अनि मामाघर काठमाडौंको असन। आउने जाने भइरहन्थ्यो। राणाकालकै पनि थोरै–थोरै याद छ। हामी केटाकेटी हुँदा, युवा हुँदा यहाँका विभिन्न शक्तिपीठमा बली दिएको हेर्न जान्थ्यौं। बिहान हामी पुग्दा सय/डेढसय पशुको बली चढाईसकिएको हुन्थ्यो। पछि–पछि जानै छाडियो। यस्ता अनुभव धेरै छन्।
सांगीतिक कुरा गर्दा मैले दसैंमा बज्ने मालश्री धूनसँग मिल्दो नेपाल भाषामा गीत पनि गाएको छु। यो दसैं अनि चाडपर्वमा रमझम, गीत–संगीतजस्ता कुरा प्रविधिको बढ्दो विकाससँगै बढेको हो। २००७ मा रेडियो आयो। पछि ४० को दशकमा टेलिभिजन आयो। त्यसपछि धार्मिक र सांस्कृतिक पक्षमा गीत संगीतले धेरै अर्थ राखेको अनुभूत हुन्छ।
मेरो दसैं विशेष कुरा गर्दा खास योजना केही छैन। दुवै छोरा अमेरिकामा छन्। उनीहरू उतै बस्न थालेको पनि धेरै भयो। यहाँ हामी बुढाबुढी मन्दिर जाने, दर्सन गर्ने गर्छौं। काठमाडौं डिल्लीबजारमा ससुराली छ, त्यहीँ गएर टीका लगाउँछौ। यसरी नै वित्ने गर्छ।
केही वर्ष अघिसम्म छोराछोरी टाढा हुँदा केही खल्लो लाग्थ्यो। दसैंको टीका प्रसाद तिहारसम्ममा अमेरिका जाने कोही भेटियो भने पनि पोको पारेर पठाउने गरेका थियौं। अहिले ७/८ वर्ष भयो त्यसो गरेका छैनौं। त्यो समय कुराकानी गर्नसमेत गाह्रो थियो। तर अहिले हात–हातमा इन्टरनेट छ। अडियो भिडियो कल गर्न सहज छ। अघि–अघि केही न्यास्रो लागे पनि अहिले प्रविधि नै हाम्रो भेटघाटको माध्यम बनेको छ।
प्रकाशित: Oct 07, 2019 | 13:39:18

Comments