यी गीत, जसले दसैं बोकेर आउँछन्...

मनोज न्यौपाने 

असोज १७, २०७६ | शुक्रबार | काठमाडौं

रेडियो, टेलिभिजन, सार्वजनिक सवारी, हाटबजार, मेला अनि सुपरमार्केटमा बज्ने मालश्री धून र दसैं भावमा बज्ने गीतले प्रत्येक नेपालीको मनमा दसैंको उमङ्‍ग भरिरहेको हुन्छ।
यिनै कालजयी गीत–संगीतहरूमा कला, संस्कृति, रितिथिति र मूल्यमान्यतासँगै देशको आर्थिक तथा सामाजिक यथार्थ पनि वर्णन गरिएको पाइन्छ । यहाँ त्यस्तै दसैंसम्बद्ध कालजयी गीत–संगीतको चर्चा गरिएको छः
०००
दसैंमा सबैभन्दा बढी बज्ने संगीत हो मालश्री धून। सनातन हिन्दू धर्मअनुसार कालिका, जगदिश्वरीलगायत नारी शक्तिहरूको अनुग्रह तथा पूजा आराधनामा यो धूनको प्रयोग हुँदै आएको छ।
यद्यपि रागमा आधारित मालश्री धून कहाँ र कहिलेबाट बजाउन सुरु गरियो यसको यथेष्ट प्रमाण भने पाइँदैन।
विभिन्न ठाउँ र पर्वअनुसार मालश्री धून फरक छन्। ढोलकको प्रयोगविना बजाइने मालश्रीले दसैंको आभास दिन्छ। सारंगी र मुरलीको बेसमा रहेर तयार गरिने मालश्रीमा अन्य बाजाहरू पनि उत्तिकै प्रयोग हुन्छन्।
यसअनुरुप मादल, झ्याम्टा, ढोलकलगायत बाजा बजाएर मालश्रीको राग सिर्जना गर्ने गरिएको छ।
मालश्री धुन
०००
दसैं नै हो कि, यो मेरो दशा फर्की आएको
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको
दसैं आएको...दसैं आएको...
जब, दसैंको आभास हुन्छ अनि, रचनाकार प्रेम बस्नेतको ‘दसैं नै हो कि, यो मेरो दशा, फर्की आएको...’ बोलको गीत सबैलाई कर्ण प्रिय लाग्छ।दसैंमा नयाँ उमंगमात्र आँउदैन। दसैंसँगै परिवार तथा सन्तानका रहर, इच्छा र आकांक्षा पनि जोडिएका हुन्छन्।
यही जिम्मेवारी बोध गर्नुपर्ने अभिभावकको मनोदशा गीतले बोलिदिएको छ।
दसैंसँग मौलिकता र साँस्कृतिक पक्षमात्र जोडिएको छैन, आर्थिक पाटो पनि जोडिएको छ। यही नै अधिकांस नेपालीको दुखाइ हो, भोगाइ हो।
यो गीतमा योगेश्वर अमात्यले आवाज भरेका छन्। आम नेपालीको दसैंसँग जोडिएको कथा बोक्ने यो गीत लोकप्रिय छ।
गीतको भिडियो
रोजगारका लागि परदेशिएका छोराहरूको विलौना पोख्ने ‘नमुछे आमा दहीमा टीका...’ गीत दसैंसँग जोडिएको अर्को कालजयी गीत हो।
भारतीय सेनामा कार्यरत लक्ष्मण रायमाझीले पाकिस्तानसँगको युद्धका बेला यो गीत रचेका थिए। उनी गायक नारायण रायमाझीका दाजु हुन्।
गीतले परदेशिएका नेपालीको आत्मकथा बोल्छ। परदेशमा रहेका छोराले आमालाई आँफू मृत्युको संघारमा पुगेको भन्दै जमरा र टीकाको दुःख नगर्न आग्रह गर्छन्।
‘नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर’
गीतमा आफ्नी जीवन संगिनीलाई नाडीका चुरा अनि सिँउदोको सिन्दुर नत्याग्न आग्रह पनि गरिएको छ।
‘नफोरे प्रिय नाडीका चुरा झर्‍याम्म पारेर
जाँदैन दुःख आँसुका ढिक्का बर्बरी झारेर।’
गीतलाई उनै सर्जक लक्ष्मणले उतिबेलै लोकलयमा स्वरवद्ध गरेका थिए तर, पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले आधुनिक शैलीमा स्वरबद्ध गरेपछि यसको लोकप्रियता बढेको हो। नेपाली युवाहरूको भावना समेट्ने यो गीत कालजयी दसैं गीत बन्न पुग्यो।
गीतको भिडियो
०००
फिल्म ‘मुग्लान’मा समेटिएको लोकप्रिय दसैं गीत हो– ‘दसैं आयो’। वास्तविक दसैंको चित्रण गर्न सफल यो गीत नसुन्ने नेपाली कमै हुनपर्छ।
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो
हो, दसैं आयो...हो....दसैं आयो...
शरद ऋतुले लिएर आएको मौसम, परदेशिएको छोराको आगमन अनि, बुढीआमाको अनुहारमा छाएको खुसीको वर्णन गर्न सक्नु गीतको लोकप्रियताको आधार हो।
ग्रामीण परिवेशमा मनाईने दसैंको भाव जस्ताको तस्तै शब्द, संगीत तथा दृश्यमा हेर्न पाउनु गीतको लोकप्रियतासँग जोडिएको अर्को पाटो हो।
गाउँका बेसीहरूमा झुलेका धानका बाला अनि बारीमा फुलेको कोदोका बाला नेपाली परिवेशअनुकूल लाग्छन्। यहीकारण पनि यो गीत दसैंका लागि सदाबहार बनेको हो।
‘कोदो फुल्यो बारीमा लरिलै, धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमा...’
लोकनाथ सापकोटाको शब्द र संगीतमा तयार यो गीतमा उदितनारायण झा र दीपा झाको स्वर छ। गीतमा विपना थापा, दिलिप रायमाझी, सुशील क्षेत्री, झरना थापालगायतको अभिनय छ।
भिडियो
०००
सहदेव ढुंगानाको शब्द तथा शम्भुजित बाँसकोटाको संगीत रहेको गीत ‘रातो टिका निधारमा...’ पनि दसैं गीतसँग जोड्ने गरिएको छ। उमेश पाण्डे र रमना श्रेष्ठको आवाजमा रहेको यो गीत पछिल्लो समय निकै चर्चित छ।
रातो टिका निधारमा टलक्क टल्कियो
छातिभित्र मायाँको राको सल्कियो
ए बिजुलीको तार तार...
फिल्म ‘अल्लारे’ मा समावेश यो गीतले त्यो समय दसैंको झल्को नदिए पनि हाल आएर गीतको भिडियो मेकिङमा दसैंको भाव झल्काइएको छ। जसले दसैंको आभास दिलाउँछ।
नयाँ गीतमा गायक प्रमोद खरेल र मेलिना राईले स्वर भरेका छन् ।
गीतको भिडियो
०००
बद्री पंगेनीको स्वर, राजु परियारको संगीत तथा भगवान भण्डारीको शब्द रहेको ‘अहिलेको दसैंमा आमा घरमा आउँदिन...’ गीतले पनि नेपालीमा दसैंको भाव झल्काउँछ। बाध्य भएर विदेशिएका युवाहरूको कथा बोल्ने यो गीतले दसैंसँग जोडिएको युवाको मानसपटललाई झस्काइ दिन्छ।
बाध्य भइयो परदेशमा छिर्न,
आमा मैले पढ्दा लागेको ऋण तिर्न
आमा बिदा पाउँदिन
अहिलेको दसैंमा आमा, घरमा आउँदिन...
ऋणको भार थेग्न नसकेर विदेशिएको युवाले आफ्नी आमालाई ऋण तिरेर, घर छेउको पाटो बारी फर्काउने बाचासहतिको आश्वासन पोखिएको गीत स्रोतामाझ निकै लोकप्रिय छ।
गीतको भिडियो
०००
सुनिल गिरीको शब्द संगीत तथा स्वरमा रहेको ‘दसैं आयो’ बोलको गीत पनि स्रोतामाझ प्रिय छ।
थालैभरि रातोरातो अक्षता र पाती
बाटैभरि नयाँ नौलो मानिसको ताँती
दसैं आयो,
फर्कियो लाहुरे गाउँघरको मायालाई सम्झेर...
गीतमा शरद ऋतुको मौसम, गाउँले परिवेश र दसैंमा हुने रमाइलो क्षणलाई वर्णन गरिएको छ। साथमा लाहुरबाट आएको छोरो देखेर आँगनीको डिलमा आमाको हाँसो अनि तिहारको माहोल पनि गीतले बोल्छ।
गीतको भिडियो
०००
स्वरसम्राट नारायण गोपाल र गायिका दिलमाया खातीको स्वरमा सजिएको अर्को दसैं बोध गराउने गीत हो– ‘बिछोडको पीडा’
गीतकार रत्नशमसेर राणाले रचना गरेको यो गीत नेपाली सदावहार गीतको सूचीमा उच्चस्थानमा छ।
‘विछोडको पीडा नसकि खप्न दसैंको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाईलो गाँउमा...’
गीतमा पारिवारिक रुपमा बिछोडिएको परदेशीले घर आउन गरेको वाचा प्रस्तुत गरिएको छ। स्वदेशमा दसैं मनाईरहँदा विदेशमा युवाको मनमा कस्तो मनोदशा चलिरहेको हुन्छ, यो विषय गीतले प्रस्तुत गरेको छ।
तर, यो गीत दसैंभन्दा बढी जीवनसाथीसँगको बिछोडको विलौना अर्थात् युगल प्रेमीको प्रेमभावको विम्बको रुपमा लिँदा न्याय हुने तर्क छ वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको। उनी भन्छन्, ‘यो गीतले दसैंको भाव बोल्नु संयोग मात्र हो। बाँकी त सबै प्रेमी प्रेमिकाका प्रेमिल संवादले भरिएको छ।’
भिडियो
०००
दसैंको समय बज्ने अर्को लोकप्रिय गीत हो सुगम पोखरेलको ‘दसैं तिहार’। पछिल्लो समय सार्वजनिक भएका गीतमध्ये सुगमको यो गीत दर्शक–स्रोतामाझ निकै प्रिय छ।
‘वर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै
दसैंतिहार चाड र बाड, खुसीले सारा भर्‍यो नि संसार’
गीतमा चाड पर्वको हर्ष र उमंगका साथ बाध्यताले विदेशमा बस्नुपरेका युवाको वेदना पनि प्रस्तुत छन्। यसरी ‘फेस्टिभ’ रंगमा रवि श्रेष्ठले शब्दमार्फत् नेपालीमाझ दसैंतिहारको आभास दिलाएका छन् भने सुगम पोखरेलले गीतमा स्वर संगीत भरेका छन्।
अर्काको देशमा लै लै, सम्झना आको नि मैलाई
सयपत्री फुलेको आँगन, रातो अक्षता जमरा लगाई,
यता मेरो आँसुको धारा, उता होलान् रातै ती निधार...
भिडियो
०००
यीसँगै अन्य धरै मौलिक संस्कृति तथा सामाजिक र यथार्थ परिवेश बोकेका दसैं गीत बजारमा सुन्न पाइन्छ। दसैं विशेष गीतभन्दा बढी दसैं तिहार जोडेर संयुक्त रुपमा तयार गीत बजारमा अझ धेरै सुन्न पाइन्छ।
यसमध्ये ‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार...’, ‘घरदेश परदेश...’, ‘दसैं आयो’..(उत्साह), ‘दसैं र तिहार’, ‘यसपालि त यस्तै भयो आमा..’, ‘दाइ त मेरो लाहुरै जाने...’ जस्ता गीत लोकप्रिय छन्।
प्रकाशित: Oct 04, 2019 | 19:25:17

Comments