यस्तो हुनेछ फिल्मकर्मीको दसैं २०७६

मनोज न्यौपाने 

असोज १८, २०७६ | शनिबार | काठमाडौं


घर–परिवारबाट टाढिएर सहर छिरेका हुन् या विदेशिएका, दसैंका बेला सबै नेपाली आ–आफ्नो गाउँघर फर्किरहेका छन्। पेसा–व्यवसायी, विद्यार्थी, कर्मचारी, राजनीतिक दलका व्यक्तिलगायतलाई दसैंले छोएको छ।
तर यही बेला कलाकर्मीको भने भिन्न जीवन हुन्छ। वर्ष दिनमा एकपटक आएको चाडवाडमा फुर्सदका दिन बिताउनुपर्नेमा कलाकर्मीलाई भ्याइनभ्याइ हुन्छ।
साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि उनीहरू स्वदेश तथा विदेशमा व्यस्त हुन्छन्। विदेशमा बसोबास गर्ने अथवा घर फर्कन नपाएका नेपालीलाई मनोरञ्जन प्रदान गर्न विदेश गएका हुन्छन्।
यसरी चाडपर्वमा परिवारसँग भन्दा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा व्यस्त हुने कलाकर्मीले यस वर्षको दसैं कसरी मनाउँदैछन् त?
भुवन केसी
मलाई दसैं तिहारजस्ता चाडपर्वमा विदेश जानै मन लाग्दैन। अझ दसैंको मौसम, साथीभाइ, भेटघाट यी कुरा छाडेर जाने त कुरै हुँदैन। त्यसैले म आफ्नो बुबा आमाको हातबाट टीका, जमरा आशीर्वाद ग्रहण गर्दै दसैंको मज्जा लिनेछु।
काठमाडौंको सिनामङ्गल, जहाँ म जन्मिएँ हुर्किएँ, यो नै मेरो दसैं तिहार मनाउने स्थायी थलो हो। यहीँ बस्ने, चङ्गा उडाएको, पिङ खेलेको हेरेर रमाउने हो, किनकि अब आफू त बुढो भइयो, त्यस्तोमा सहभागी हुने कुरा आउँदैन।
सरोज खनाल
यो वर्षको दसैं चितवनमा हुनेछ, जहाँ मेरो सानुबुबा बस्नु हुन्छ। उहाँसँग आशीर्वाद लिनेछु। चितवनमा अरु आफन्तजन पनि हुनुहुन्छ। भेटघाट, सुख दुःखका भलाकुसारीले यो दसैं विशेष नै होला।
दसैंको खास विशेषता पनि यही हो जस्तो लाग्छ। किनकि हरेक मान्छे व्यस्त छन्। न आफन्तलाई समय दिन भ्याइन्छ न भलाकुसारी गर्ने समय नै हुन्छ। दसैंले यही फुर्सद मिलाइदिन्छ।
छोरा–बुहारी अमेरिकामा भएकाले अघिल्ला वर्षका दसैं उतै बितेका थिए। तर, यो वर्ष मेरो सुटिङले गर्दा नेपालमै रहनुपर्ने भयो। श्रीमती भने अमेरिका गइसकिन्। त्यसैले यस वर्षको दसैं आधा अमेरिकामा आधा नेपालमा हुने भो।
रविन्द्र अधिकारी
यो दसैं खुब रमाइलो हुनेछ। आफैंले अभिनय गरेको फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शन भइरहेको छ। (हाँस्दै) फिल्मको नाम पनि मिठो, अनि दसैं पनि मिठो। घर जनकपुर गएर परिवारसँग फिल्म हेर्ने र दसैं मनाउने हो।
फिल्मको प्रमोसनमा झापा र विराटनगर जाने कुरा भइरहेको छ। त्यसपछि घरमै जान्छु। घरमा आमा, दाइ, भाइजु हुनुहन्छ। उहाँहरूको हातबाट टीका लगाउँछु। तर, जमरा र दक्षिणा हाम्रो परम्परामा छैन। त्यसैले आशीर्वाद लिनेमात्र हो।
स्वस्तिमा खड्का
यो वर्ष जुठो परेर दसैं खल्लो भएको छ। हाम्रो बस्नेत परिवारमा जुठो परेपछि टीका रोकियो। खानपिन त चल्छ तर पनि उति रमाईलो हुँदैन। त्यसैले निश्चल र म अरू कुनै देश घुम्न निस्कने योजनामा छौं।
हुन त एक वर्षमा आएको दसैं परिवार, आफन्त र इष्टमित्रसँग मनाउनुपर्ने हो। दसैंको मर्म पनि यही नै हो जस्तो लाग्छ। तर, हाम्रो यस वर्षको परिस्थिति नै यस्तै बन्यो। अब कुन देश जाँदै हुनुहुन्छ भनेर पनि सोध्नुहुन्छ होला त्यो चाहिँ नखुलाऊँ है।
अनमोल केसी
यस वर्षको दसैंमा अधिकांश समय बन्न लागेको फिल्म ‘धुपौरे’ कार्यशालामा व्यस्त हुन्छु। त्यसैले मेरो दसैं यसवर्ष २ दिनको मात्र हुनेछ। टीका लगाएर द्वादशीको दिन पुनः वर्कसपमै फर्कनेछु।
उपासना सिंह ठकुरी
अघिल्ला वर्षहरूमा गृहस्थान महेन्द्रनगरमा दसैं मनाउँदै आएका थियौं, तर यो दसैं चाहिँ हामी काठमाडौंमै मनाउदैंछौ। करिब २०/२५ जना परिवारका सदस्य त यही भेला भइहालिन्छ। त्यसैले यो वर्षको दसैंमा काठमाडौंमा रमाउने हो।
फिल्म ‘कबड्डी कबड्डी बकड्डी’ युनिटसँग विदेश यात्रा सम्बन्धमा पनि कुरा चलिरहेको छ। तर, हेरौं के हुन्छ। यति हो यस वर्षको दसैंको टीका काठमाडौंमै रहेर हजुरबुबा, हजुरआमा, बाबा ममीलगायतसँगै रमाउने हो।
पुजा शर्मा
दसैंको खास योजना नै छैन। फिल्म ‘म यस्तो गीत गाउँछु–२’को सुटिङमै अधिकांश दिन बित्नेछन्। हाम्रो योजनाअनुसार दसैंको टीकाको दिनमात्र सुटिङ रोकेर अरु दिन काममै व्यस्त हुन्छौं। त्यसैले यो दसैं त सुटिङ सेटमै छ।
टीकाको दिनचाहिँ, जावलाखेलमा ममीसँगै अग्रजहरूसँग टीका जमरा र आर्शीवाद लिने हो। यो वर्षको दसैं अलि व्यस्ततामै बित्ने भो।
प्रकाशित: Oct 05, 2019 | 20:26:05

Comments