- Get link
- X
- Other Apps
मनाेज न्याैपाने असोज ३०, २०७६ | बिहीबार | काठमाडौं

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बादशाह जुट’ का मुख्य अभिनेता हुन् सुशील श्रेष्ठ।
फिल्म ‘होस्टेल रिटन्र्स’बाट दर्शकमाझ चिनिएका सुशिलको त्यसपछिको फिल्मी यात्रा त्यत्ती सफल छैन।
त्यो फिल्म निर्माण गरेका थिए सुनिल रावलले। सुनिलको एकल कल फोनमै सुशिल ‘हिरो’ बने।
फिल्म होस्टल रिटन्र्स, त्यो ‘हिरो’का लागि सफलताको एउटा रेखा थियो। फिल्मसँगै सुशील पनि रातारात हिट भए।
जीवनमा साच्चै ‘हिरो’ बन्ने सपना त थियो नै। त्यसमाथि पहिलो फिल्म नै हिट भइदियो।
‘सोचेंकै थिइनँ कि पहिलो फिल्मबाटै यति धेरै सफल हुन्छु भनेर। तर, फिल्मले म कहाँको मान्छेलाई कहाँ पुर्याई दियो’, फिल्म ‘बादशाह जुट’को एक पत्रकार भेटघाट कार्यक्रममा सुशीलले भने।
त्यो फिल्मको सफलतासँगै बजारमा उनले माग बढ्न थाल्यो।
‘होस्टेल रिटन्र्स’पछि सुशील ‘कारखाना’ र ‘सायद–२’ मा हिरो बने।
तर, अफसोंच यी दुईटै फिल्म फ्लप भए।
रातारात हिट भएको त्यो ‘हिरो’को लागि यो एउटा ठूलो झट्का थियो।
आफूले आफैंलाई फर्केर हेरे। आफ्नै करिअरमा शंका लाग्न थाल्यो। यहाँसम्म कि ती दुई फिल्मको असफलताले उनी यो करिअर नै त्याग्ने सोंचसम्म पुगे।
‘दुई–दुुई वटा फिल्म फ्लप भएपछि लाग्यो यो क्षेत्र मेरो लागि होइन कि! दर्शकले मलाई अस्विकार नै पो गरेका हुन् कि! मस्तिस्कमा यस्ता कुराहरू खेलिरहन्थे’ उनलाई लाग्यो, ‘अब फिल्म खेल्दिनँ।’
कल्पनाबाहिरको सफलता आफ्नै लागि भारी भइदिन्छ कहिलेकाहीँ।
सुशीललाई पनि त्यस्तै भयो।
‘बिस्तारै भर्याङ चढ्नुपथ्र्याे, कम्तीमा ओर्लिदा सजिलो हुन्थ्यो’ सुशीललाई लाग्छ ‘पहिलै फिल्मबाट म यति माथि पुगिसकेकोको थिएँ कि, दुई दुई फिल्म एकैपटक फ्लप भएपछि त धरहराबाटै खसेजस्तै भयो।’
तर, पनि जीवनमा मौकाहरु त आउँछन् नै।
एकाएक चुलिएको चर्चा र सफलता फेरि अचानक ओरालै झरे।
यो निरश मोडमा फेरि अर्काे अफर आयो सुशीललाई।
‘फिल्म गर्ने मूडमै थिइनँ’ तर, कहिलेकाहीँ सम्बन्धहरुको दबाव यति हुन्छ कि, नगरी त धरै हुँदैन, ‘स्क्रिप्ट हेरें राम्रै लाग्यो, अनि काम गरियो।’
र, सुशीलको ‘लभ डायरीज्’ बन्यो।
‘लभ डायरीज्’ अझैं पर्दाहरुमा खुल्न पाएको छैन।
यसको छायांकन सक्दा नसक्दै फेरि अर्काे अफर आयो।
सुशीललाई दाउँ लाग्यो क्यारे, ‘बादशाह जुट’ बन्यो।

चाँडै नै ‘बादशाह जुट’मा पनि सुशील हिरो बनेर देखिनेछन्। यसको प्रदर्शन तयारी सुरु भइसकेको छ।
फिल्म नै नगर्ने मूड बनाइसकेका उनीभित्र ‘लभ डायरी’ले फेरि फिल्मी तरंगहरु सल्बलाउन थालिसकेका थिए।
‘यो फिल्म(बादशाह जुट)मा मैले आफूलाई नयाँ पात्रका रुपमा देखाउन पाएँ’ उनी भन्छन् ‘मोह त जाग्दो रैछ, त्यसैले यसमा पनि जोडिएँ।’
साँच्चिकै यो अर्काे एउटा नयाँ मोड हो उनीका फिल्मी जीवनको।
एकाएकको चर्चा र सफलतापछि लगातार दुई दुईवटा फिल्म फ्लप हुँदा, कुनै बेला उनी ‘डिप्रेस’ भइसकेका थिए।
‘अबको यात्रा सफलता र असफलताको आधार लाईन होइन, आर्टिष्टिकको लाईनबाट अघि बढ्ने हो।’
‘बादशाह जुट’सँगै उनले आफ्नो करिअरका रेखाहरु पनि कोरिसकेका छन्।
‘धेरै मिहिनेतका साथ फिल्म तयार गरेका छौं। यस अघि शरीर देखाएर अभिनय गर्नुपर्ने अफरहरु धेरै आए तर, यसमा नयाँ र सामान्य पात्रका रूपमा आफूलाई प्रस्तुत गर्ने मौका पाएको छु’ सुशील भन्छन्।
‘बादशाह जुट’ पत्रकारितामा आफ्नो भविष्य खोजिरहेको एउटा ‘ट्रेनी पत्रकार’को कथा हो।
‘एउटा यस्तो पत्रकार जो ब्रेकिङ न्यूजको खोजीमा हुन्छ। सञ्चारको क्षेत्रमा आफूलाई चिनाउन निस्केको छ, फिल्ममा यस्तै भूमिका छ’ सुशील भन्छन् ‘कमेडी, एक्सन त छँदैछ।’
फेरि उही सफलतालाई चुम्नुछ, सायद अझैं माथि उठ्नु छ।
जोनी सिंहको निर्देशनमा तयार भएको ‘बादशाह जुट’मा शुसिलका साथमा छन् कालकार आमिर गौतम, रोशी खड्का, केइशा रावत, कमल नेपाल लगायतको टिम।
कात्तिक १५ गते सिनेमा घरहरुमा हुनेछ, ‘बादशाह जुट।’
र, सुशीलको पनि व्यग्रता हो, के थाहा त्यो सफलताको ‘जुट’ पनि त हुनसक्छ!
- Get link
- X
- Other Apps
Comments
Post a Comment