
फिल्म ‘लुट’बाट ‘हिट’भएका निश्चल बस्नेत अहिले अभिनयमै व्यस्त छन्। उनी ‘लुट’का लेखक र निर्देशक पनि थिए।
यतिबेला उनी फिल्म ‘घामड शेरे’को प्रमोशनमा लागिपरेका छन्।
शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा निश्चलसँगै छिन् उनकी श्रीमति स्वस्तिमा खड्का।
लेखन तथा निर्देशनबाट उदाएका निश्चल किन अभिनयतिर व्यस्त भए?
गत आइतबार एक पत्रकार भेटघाटमा निश्चलले आफू अभिनयमै व्यस्त हुनुको कारण खुलाएका थिए।
उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘मलाई कलाकारको रुपमा रहेक काम गर्ने रहर नभएको होइन तर, केमियो भूमिकामा मात्र। मलाई पुरै फिल्ममा मुख्य अभिनेता भएरै काम गर्ने रहर भने थिएन। थोरै दृष्य तर, दर्शकको मस्तिस्कमा क्लिक हुन पाए पुग्छ जस्तो लाग्थ्यो।’
अभिनय यात्रामा निश्चलले भने झैं सानो तर, दर्शकले सम्झन योग्य भूमिकामा मात्र काम गरेर उनले सुखै पाएनन्।
‘चिन जान, साथी भाई लगायतले बरु सिकाएरै भएपनि अभिनयका लागि बाध्य गराउनु भयो। त्यसैले किन नाइँ भन्ने? म आफैलाई अभिनयमा माथि उठ्न सहयोग हुन्छ भने नगर्ने किन? पछि आफ्नो फिल्म बनाउँदा पनि अनुभव त हुन्छ भन्ने लोभले पनि काम गर्न थालेको हुँ।’
सुरू–सुरूमा धेरै फिल्ममा बाध्यताले अभिनय गरको र अहिले आएर भने आफ्नै रुची र इच्छाले नै अभिनय गरेको समेत निश्चलले प्रस्ट पारे।
‘सुरु सुरुमा जति पनि फिल्ममा केमियो (छोटो) भूमिकामा काम गरेँ ति सबै बाध्यताले गरेको थिँए। चिनेकै फिल्ममेकर, साथीभाइले नाइँ भन्दा पनि बोलाइ बोलाइ अभिनय गराउनुहुन्थ्यो’ निश्चले त्यो समयको आफ्नो बाध्यता सुनाए।
लेखन र निर्देशनबाट फिल्म बजारमा उदाएका निश्चललाई धेरैले यसै विषयमा प्रश्न गर्ने गरेको भन्दै उनले आफू चलचित्र निर्देशनका लागि हतारो नभएको बताए।
फिल्म कम बनाउने तर, चलेको ट्रेण्डलाई ब्रेक गर्ने निश्चलको भनाई छ।
‘एउटा निर्देशकको रूपमा निश्चल बस्नेतलाई थोरै फिल्ममा मात्र पाउनुहुन्छ। किनकी मेरो कोशिस यति मात्र रहनेछ कि, बजारमा चलिरहेका फिल्मको ट्रेन्डभन्दा केही फरक फिल्म लिएर मात्र म बजार प्रवेश गर्नेछु। चाहे उत्कृष्ट होस् या नहोस् त्यो आफ्नो ठाउँमा छ।’
Original post: https://nepalnews.com/life-arts/10146-2019-10-22-08-00-23
Comments
Post a Comment