दुर्गेशविरुद्धको उजुरी : सर्जकका लागि सन्देश

गत असोज २१ गते अर्थात् दसैंको टीकाको दिन गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘ह्याप्पी तिहार’ सार्वजनिक भयो।
तिहार गीत भनिए पनि गीतको शब्द तथा दृश्य भने भड्किला र कानुनवर्जित थिए। नेपाली परम्परा र चाड पर्वको आडमा गीतमा मादक पदार्थ र लागुऔषधजस्ता विषयलाई प्रोत्साहित गरिएको थियो।
‘दुर्गेशको ह्याप्पी तिहार, गालीको शिकार’ भन्ने शीर्षकमा गीतको भाव, कानुनी प्रावधान र संगीतकर्मीहरूको प्रतिक्रिया सहितको समाचार नेपालन्युजले गत मंगलबारै प्रकाशित गरेको थियो।
सोही समाचारका आधारमा कलाकार थापाविरुद्ध अधिवक्ता यज्ञमणि न्यौपानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेका थिए। न्यौपानेले दुर्गेशको गीतले तिहारजस्तो पर्वमा लक्ष्मीको प्रसाद बियर र गाँजा भएको भन्ने गलत सन्देश प्रवाह गरेको, मौलिक पर्वलाई भड्किलो बनाएको, धार्मिक संस्कारमाथि धावा बोलेको र कानुनद्वारा बर्जित कार्य गरेको भन्दै आवश्यक कारबाहीको माग गर्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए।
यस्तो थियो उजुरी पत्र
यही उजुरीका आधारमा काठमाडौं प्रशासनले सोमबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल प्रहरीलाई आवश्यक कारबाहीको मागसहित पत्राचार गरेको थियो। त्यसअनुसार महानगरीय अपराध महाशाखा टेकुको टोलीले मंगलबार नै काठमाडौंको गोंगबुबाट दुर्गेशलाई पक्राउ गर्‍यो र, अब उप्रान्त समाजमा अपाच्य गीत नगाउने कागजी सम्झौतासहित छाडेको छ।
यता दुर्गेशले पनि पक्राउपछि प्रहरी कार्यालयमा आफूबाट गल्ती भएको स्वीकार गर्दै युट्युबबाटै उक्त गीत हटाएका छन्। गीतमा प्रयोग गरिएका शब्दले समाजमा संस्कृति भड्किएको स्वीकार गर्दै दुर्गेशले क्षमा मागेका छन्।
उनले गीत यु–ट्युबबाट हटाएका मात्र छैनन् अन्य स्रोता दर्शकलाई पनि उक्त गीत कुनै पनि सामाजिक सञ्जालमा अपलोड नगर्न आग्रह पनि गरेका छन्।
यस्तो थियो गीत
हो सोल्टा सोल्टिनी हो, ह्याप्पी तिहार चिसो बियर
जिन्दगी मरिलानु के छ र हो, बाँचे टुप्लुक्क मरे पुक्लुक्क
कि कसो हो?
उल्लेखित शब्द नेपाली परिवेशअनुसार निकै रोमान्टिक र फेस्टिव लाग्न सक्छन्। तर, गीतका शब्द यतिमै सीमित थिएनन्।
ह्याप्पी तिहार ह्याप्पी तिहार, चिसो बियर।
डन, आयो डन, जा मूला भन्।
राजा हो राजा, बजाइ दिन्छ बाजा।
ए निकाल गाँजा, खानुपर्छ आज,
लुटेको माल हुँदा सबैको राज।
दुर्गेशले उल्लेखित शब्दावलीको प्रयोग गरिएको गीत र मदिराजन्य दृश्यले भरिएको भिडियो बनाउने गल्तिमात्र गरेका थिएनन्। भिडियोमा दर्शकलाई लागुऔषध या मदिराजन्य पदार्थ समाजका लागि हानिकारक छन् भनेर सूचितसम्म गराउन चुकेका थिए।
दुर्गेशमाथि परेको उजुरीले सिकाएको नयाँ पाठ
समाजका लागि भड्किला शब्द तथा दृश्य बजारमा आएको यो पहिलो उदाहरण भने होइन। यसअघि प्राइम टेलिभिजनको एक अन्तर्वार्तामा अभिनेता दीपकराज गिरीले आफूले फिल्मको काम गर्दा गाँजा खाने गरेको उल्लेख गर्दै गाँजालाई नेपालमा वैध बनाउनु पर्ने तर्क राखेका थिए। तर, दीपकविरुद्ध भने कहीँकतै उजुरी परेन।
यस्तै विभिन्न समयमा बजारमा आउने श्रव्यदृश्य सामग्रीमा पनि भड्किला दृश्य तथा शब्द प्रयोग भएको पाइन्छ। केही समयअघि गायक प्रकाश सपुत र गायिका प्रिति आलेको ‘दोहोरी ब्याटल २’ पनि प्रयुक्त शब्दका कारण विवादमा परेको थियो। त्यतिबेला पनि गायक गायिकाले गल्ति स्वीकार गर्दै माफी मागेका थिए।
यतिमात्र होइन नेपालमा विभिन्न समय बजारमा आउने र्‍याप गीतमा पनि उच्छृङ्खल शब्द प्रयोग भएको पाइन्छ। यस्तो प्रयोगले नयाँ पुस्तामा नकारात्मक सन्देश प्रवाह गर्नुका साथै समाजलाई नै दुर्गन्धित बनाउने गरेको छ।
यसरी मोडल तथा गायक दुर्गेशमाथिको उजुरी केवल उनका लागि मात्र हो भनेर बुझ्नु गल्ति हुनेछ। नेपाली कलाक्षेत्र, गीत–संगीत क्षेत्रमात्र नभएर सबै नागरिकका लागि यो उजुरीले नयाँ पाठ सिकाएको छ। अझ नयाँ पुस्ताका सर्जकमा यस्ता कानुनी उपचारले सजक र सुसूचित बन्न सघाउ पुर्‍याउने उजुरीकर्ता तथा अधिवक्ता यज्ञमणि न्यौपानेको तर्क छ।
यसै सन्दर्भमा गायक तथा नेपाल लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले यस प्रकारको कानुनी उपचारले सबै क्षेत्रलाई सचेत गराएको उल्लेख गरे।
‘नेपाली गीत–संगीत क्षेत्रमात्र नभएर सबै क्षेत्रमा दुर्गेशमाथि परेको उजुरी र कानुनी उपचारले अन्य सर्जकलाई सचेत बनाएको मेरो बुझाइ हो’, नेपालन्युजसँग कुरा गर्दै पंगेनीले भने, ‘जसरी दुर्गेश भाइले आफ्नो गल्ति स्वीकार गरेर अब उप्रान्त यस्ता काम नगर्ने गरी आत्मालोचना गर्नु भएको छ, यो एक प्रकारले सबै क्षेत्रका लागि उत्कृष्ट सन्देश हो।’

Comments