
चारजनाको परिवारसहित पहिलोपटक नेपाल घुम्न आएकी भारतीय पर्यटक वनमाला शाहले काठमाडौंमा चार दिन बिताइन्।
पशुपतिनाथ, चन्द्रगिरि हिल्स, भक्तपुर दरबार स्क्वायरलगायत केही गन्तव्य घुमेपछि उनी नेपालको सौन्दर्यताले मोहित भइन्।
भारत पुनाबाट प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ दर्शन गर्न आएकी शाहको सानैदेखिको रहर थियो नेपाल आउने। त्यो रहर ५५ वर्षको उमेरमा पूरा गर्न पाउँदा उनी खुसी र धन्य छिन्।
‘हिमालै–हिमालले भरिएको देश, पशुपतिनाथ र बुद्धको बास रहेको नेपाल साँच्चै गज्जबको रहेछ,’ नेपालन्युजसँगको भेटमा शाहले सुनाइन्, ‘सुरुमा मेरो रहर नेपाल घुम्ने अनि पशुपतिनाथ दर्शन गर्ने मात्रै थियो। तर, जब काठमाडौं आएँ र पशुपतिको आँगनमा पुगेँ त्यहाँ अलौकिक शक्ति अनुभूत गरेँ। शरीरमा नयाँ ऊर्जा प्राप्त भयो, जसले पशुपतिनाथप्रति अत्यन्त प्रभावित छु।’
पशुपति भ्रमण र दर्शनपछि शाहको मन फेरिएको छ। घुम्नेमात्र होइन अब पशुपति क्षेत्रका लागि केही गर्न चाहन्छिन् उनी। भारतीय भएर पनि पशुपतिनाथबारे एक नेपाली फिचर फिल्म बनाउने योजनामा उनी पुगेकी छिन्।
‘म यो पवित्र ठाँउमा नआउनु आइहालेँ, अब केही गर्न चाहन्छु। मेरो अनुभव पेसा र कर्मका आधारमा पशुपतिनाथबारे एउटा फिचर फिल्म बनाउने सपना देखेकी छु। त्यसका लागि मेरो मन र मस्तिष्कले यही पवित्र भूमिबाट काम सुरु गरिसकेकी छु।’
‘हामीले कसरी विश्वास गर्ने कि तपाई साँच्चै फिल्म बनाउनुहुन्छ भनेर?’ नेपालन्युजको प्रश्नमा उनले दृढ संकल्पसाथ भनिन्, ‘भगवानले÷भित्रि हृदयले जे गर्न अह्राउँछ त्यो काम गर्न खुब मजा आँउछ। जब म पशुपतिनाथ दर्शन गर्न पुगेँ, मलाई मेरो हृदयले यही काम अह्राएको छ। त्यसैले यो काम गरेरै छोड्छु।’

मराठी रङ्गमञ्चको लामो अनुभव वोकेकी शाह कला र कलाकारितासँग नजिक रहिछन्। ४० वर्ष लामो अनुभव बोकेको बताउने शाहले केही वर्षयता भारतीय टेलिसिरियल निर्माताका रूपमा काम गर्दै आएकी छिन्।
मराठी फिल्म ‘आघात’ र ‘आई तुल्जा भवानी’, दर्जन बढी नाटक तथा टिभी सिरियलमा काम गरिसकेकी शाह त्यही ४० वर्षे अनुभवलाई सँगालेर नेपाली फिल्म बनाउने योजना बुनिरहेकी छिन्।
‘यो त एउटा कल्पनामात्र होला, कल्पना र कर्ममा त गहिरो भिन्नता हुन्छ नि?’ अर्को प्रश्नमा केही क्षणको मौनता चिर्दै शाहले भनिन्, ‘तपाईंको प्रश्नप्रति म सहमत छु, किनकि कल्पना गर्नु नै ठूलो कुरा हो। मेरो मस्तिष्कमा यो विचार विजारोपण हुँदैछ। उम्रन, हुर्कन र फल्न समय लाग्छ। तर, यो कल्पना मात्र होइन मेरो आफ्नै सन्तान पनि हो, योजना हो र मलाई लाग्दैन कसैले आफ्नो सन्तानलाई हुर्काउँदैन, बढाउँदैन।’
केही आध्यात्मिक विचारधारा बोकेकी शाह पशुपति सम्बन्धमा फिचर फिल्म बनाएरै छोड्ने दाबी गर्छिन्, त्यो पनि नेपाली भाषा र नेपाली कलाकार साथमा लिएर।
‘नेपाल र पशुपति क्षेत्रबाट फर्किएर मेरै ठाँउमा मैले केही गर्नु र यही क्षेत्रमा नयाँ पुस्तालाई साथमा लिएर केही गर्नुले फरक अर्थ राख्छ। त्यसैले आजको युवा पुस्तामा पशुपतिनाथ र यसको शक्तिको सन्दर्भ बुझाउनु अर्थपूर्ण हुन्छ भन्ने मेरो बुझाइ छ। यसका लागि सबै नेपाली फिल्मकर्मीले साथ दिनुहुन्छ भन्ने आशा पनि छ,’ उनले फिल्म बनाउनुको तात्पर्य बताइन्।
फिल्मका लागि आजैबाट नेपाली कलाकार तथा यस क्षेत्रसम्बद्ध व्यक्तिसँग भेटघाट सुरु गरिसकेको उनी बताउँछिन्। नेपालन्युजसँगको भेटमा शाहले नेपाली निर्माता सन्तोष सेनलगायत केही फिल्मकर्मीलाई भेट गरिसकेको सुनाइन्।
सिर्जनात्मक काममा आर्थिक लाभ र नोक्सानको क्याल्कुलेसन राख्न नहुने विचार राख्ने शाह युवा केन्द्रित फिचर फिल्म निर्माण योजना छिन्।
फिल्मका लागि स्क्रिप्ट तयारीमा लागेको बताउने शाह नेपालमै सुटिङ सेट राखेर नेपाली र भारतीय कलाकारको सम्मिश्रणमा उत्कृष्ट फिल्म दिने सपनामा दौडिरहेकी छिन्।
फिल्मका लागि स्क्रिप्ट तयारीमा लागेको बताउने शाह नेपालमै सुटिङ सेट राखेर नेपाली र भारतीय कलाकारको सम्मिश्रणमा उत्कृष्ट फिल्म दिने सपनामा दौडिरहेकी छिन्।
नेपाली फिल्म क्षेत्रमा निर्देशकीय पक्षमा खोट देखाउने शाह सम्पूर्ण नेपाली फिल्म उद्योग र दर्शकका लागि उदाहरणीय कर्म गर्ने र पवित्र पशुपतिनाथमा रहेको शक्तिको महसुस गराउने लक्ष्यमा छिन्।
उनको लक्ष्य यथार्थमा परिणत हुन सके सिंगो नेपाली फिल्म उद्योग र पर्यटन उद्योगमा पक्कै टेवा पुग्ने उनले दाबी गरिन्।
Comments
Post a Comment