
‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ वीरगन्जमा सम्पन्न भएको छ। नेपाल निर्माता संघको आयोजनामा कात्तिक २१ बाट वीरगन्जको आर्दशनगर रंगशालामा सुरुभएको मिहोत्सव सनिबार साँझ सम्पन्न भएको हो।
महोत्सवको समापन समारोहमा, नेपाली कलाक्षेत्रका अग्रज कलाकर्मी नीर शाह, बुसन्धरा भुषाल, भुवन चन्द, नेपाल प्रतिनिधि सभाका सांसद प्रदीप यादप, विरगन्ज उपमहानगरपालिकाका मेयर विजयकुमार सरावगी लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्यसंघ विरगंजका प्रमुख लगायतको उपस्थिती रहेको थियो।

‘तराई पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ नारासहितको कार्यक्रमको गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै सुरु महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतीसहित समापन गरिएको हो।

बलिउड र भोजपुरी फिल्म पारखीहरूको उल्लेख्य उपस्थिती रहेको १ नम्बर प्रदेश केन्द्रीत वीरगन्जमा नेपाली कलाकर्मी र फिल्म बजारको प्रचार–प्रसार र प्रवर्धनको मुख्य उदेश्य सहित आयोजना गरिएको थियो।

यससँगै ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचार प्रसारका साथ सफल पार्ने उदेश्यसमेत महोत्सवको रहेको आयोजक निर्मातासंघका अध्यक्ष आकाश अधिकारीले जानकारी गराए। अधिकारीले कार्यक्रम समापन समारोहमा नेपाली फिल्म फेस्टीभलमा भारतीय कलाकार गोविन्दालाई नेपाल ल्याउनमा पनि भ्रमण वर्ष सफल पार्न नेपाल सरकारको अनुरोध अनुसार वीरगन्ज ल्याएको बताए।

यस्तै महोत्सव समापन समारोहमा बोल्दै प्रदेश १ का प्रतिनिधि सांसद प्रदिप यादवले ‘स्वर्णिम चलचित्र महोत्सव’ मधेसमा गरेकोमा आयोजकलाई प्रशंसासहित धन्यवाद ज्ञापन गरे। यादवले काठमाडौंको वा अन्य क्षेत्रकोमात्र नभएर मधेसको कला संस्कृती रितिरिवाज र इतिहासलाई पनि नेपाली फिल्ममा समेट्न सकेमात्र मधेसी दर्शक नेपाली फिल्मप्रति सकारात्मक हुने बताए।

कलाकार नीर शाहले नेपाली फिल्म क्षेत्रले ५२ वर्ष लामो इतिहास बोकेर पनि उद्योगको स्थान पाउन नसक्नु दुःखको विषय भएको बताए। उनले नेपाली फिल्मक्षेत्र उद्योग हुन नसक्नुमा यसमा विविधताको अभाव रहेको तथा मैथिलि, भोजपुरी, नेवारी लगायतका सामुदायिक तथा साम्प्रदायिक मुद्दा फिल्म क्षेत्रले उठाउन नसक्नु नै रहेको उल्लेख गरे। शाहले यसरी ओझेल परेका क्षेत्रसम्म पुग्न अब, पर्सा वीरगन्ज नगरबाट सुरुभएको महोत्सवले सहयोग गर्नका साथै यस्ता कार्यक्रमले फिल्म क्षेत्रलाई उद्योग उन्मुख बनाउने विश्वास व्यक्त गरे।

तीन दिनसम्म चलेको महोत्सवमा विशेषतः स्थानीय तथा राष्ट्रिय स्तरका कलाकर्मीहरूको प्रस्तुती, भारतीय सिनेमेटोग्राफर सिके मुरलीधरनद्वारा सिनेमेटोग्राफी वर्कसप, दाइजो प्रथा विरुद्धको कथा बोकेको फिल्म ‘भोर’, ‘बुलबुल’ र ‘सत्रुगते’ गरि तीनवटा फिल्मको प्रस्तुती तथा विभिन्न कलाकर्मीहरूलाई सम्मान गरिएको थियो।

Comments
Post a Comment