
‘कलाकारिता र अभिनयको विकल्प खोज्ने प्रयास गरेकै छैन र थिएन पनि। विश्वास छ यही क्षेत्रमा रमाउँन सक्छु,’ एकै वाक्यमा अभिनयको प्यास पोख्छिन् कलाकार सुष्मा निरौला।
उनकै साथीहरू पनि अभिनय क्षेत्रमा निर्धक्क छैनन्। भन्छिन्, ‘भएन भने विदेश जाउँला वा अरु केही गरौला भन्ने मेरै समकालिन साथीहरू छन् तर मलाई त अरु केही गर्नै आँउदैन। म त अभिनयको विकल्पविहीन छु।’ विराटनगरबाटै रंगमञ्चमा भिजेकी सुष्मा आजकाल फाट्टफुट्ट फिल्मतिर देखिन थालेकी छन्।
कुनै समय उनको मस्तिष्क शुन्य थियो। ‘भविष्यमा के गर्ने, के नगर्ने भगवान भरोसा,’ यस्तै मनोभावमा चल्थ्यो जीवन।
जब, उनी विराटनगरमा हुने विभिन्न सडक नाटकमा रमाउन थालिन्। त्यसले उनको दैनिकीमात्र फेरिएन, भविष्यका लागि नयाँ पथ तयार भयो। अभिनयकै लागि विराटनगरको नाटकघर आरोहण गुरुकुल धाउन थालिन्। रहरसँगै अभिनय कौशलमा पनि आरोहण गुरुकुलले नयाँ आयाम थपिदियो।
उनी रंगमञ्चमै व्यस्त भइन्। नेपाली समाज, त्यसमा पनि नारीका लागि अभिनय क्षेत्र/रंगमञ्च उति सहज छैन। पारिवारिक साथ र सहयोग कमैले मात्र पाँउछन्। सुष्माको संघर्षमा पनि यस्ता अप्ठ्यारा नआएका होइनन्।
‘विराटनगरमा गुरुकुलसँग जोडिए पछिका दिन केही अप्ठ्यारा थिए। दिनभरि नाटकघरमा रहँदा घर फर्कन पनि साँझ पथ्र्यो। घरमा प्रश्न त उठ्थ्यो नै, त्यसमाथि हाम्रो समाज पनि उस्तै,’ सामाजिक मनोदशाप्रति रुष्ट भाव व्यक्त गर्दै भन्छिन्, ‘फिल्ममा काम गर्ने भए पो समाजले पर्दामा देख्थ्यो होला। तर हामी त नाटकमा मात्र हो, गाउँघरका सबै नाटकघर पुग्ने कुरा पनि थिएन।’

परिवार फरक भए पनि मैथिली परिवेशमा हुर्किएकी उनलाई रंगमञ्चको रस बसिसकेको थियो। घर समाजको शंकाको भाव पनि उस्तै। ‘सबैले शंका गरेको देखेर दिक्क लाग्थ्यो। त्यसैले गुरुकुलका दाइहरूलाई आफ्नै गाउँमा सडक नाटक देखाउन जिद्दी गर्न थालँे,’ रंगमञ्चमा फक्रिरहेको रहर पुरा गर्ने उपायमा थिइन् सुष्मा, ‘पछि आफ्नै गाउँमा नाटक देखाएपछि विश्वासको वातावरण बढ्दै गयो। पारिवारिक साथ–सहयोग सकारात्मक बन्दै गयो।’
विराटनगर आरोहण गुरुकुलमा रहँदा ‘पर्खाल’, ‘मृत शरीर जीवित आत्मा’, ‘महादेवको बाजी’, ‘गङ्गा बिसन राठी’ जस्ता नाटकमा अभिनय गरिसकेकी सुष्माको अभिनय यात्रामा एकाएक नयाँ घुम्ती आयो। जहाँबाट उनी मोडिएर ‘क्यासियर’ बन्न पुगिन्। रंगमञ्चको सपनालाई ‘होल्ड’ गरेर आफ्नो बुबाको व्यवसायमा क्यासियर बन्नुपर्ने बाध्यता थिइन् उनी। रंगमञ्चमा चल्दै गरेका पाईला क्यासियर डेक्समा पुगेर अडिनु पर्यो।
करिब दुई वर्ष उनले ‘क्यासियर’बनेर काम गरिन्। आम्दानी रामै थियो। बुबाको पेशामा छोरीको साथ परिवारका लागि सहज थियो। तर, रहरका पछाडी बाध्यताको अर्थ पनि थिएन।
‘सुनेकी थिएँ अभिनयको प्यासनले यस्तो एडिक्ट बनाउछ कि, धुमपान, मद्यपान वा लागुऔषधको लतबाट छुट्न सहज छ, तर यो क्षेत्रबाट प्राय असम्भव जस्तै। मलाई पनि यस्तै भइदियो,’ अभिनयको भोकबारेमा भन्छिन्, ‘मेरा साथीहरू यही क्षेत्रमा थिए। लाग्थ्यो अरु सबै यही रंगमञ्चमा छन् अनि मचाहिँ किन टाढा? आफंैलाई प्रश्न गर्थें। भित्र–भित्रै पीडाले रुमलिरहेकी हुन्थें। हद महसुस भएपछि अन्ततः म अभिनयकै लागि काठमाडौं हानिएँ।’
उनी काठमाडौं आएर मण्डला थिएटरमा ३ महिना विद्यार्थी बनेर रहिन्। नाट्यकर्मीको भीड लाग्ने सहरमा उनले छोटो समयमै निर्देशकहरूको मन जितिन्। नाटक ‘क्लक सेभेन’, ‘साथीको कथा’, ‘मुना–मदन’, ‘लब्की कन्या’ ‘महाभोज’ जस्ता नाटकमा अभिनयको अवसर पाइन्।
‘म एक प्रकारले भाग्यमानी पनि हो। काठमाडौं आएको एक/डेढ वर्षमा राम्रा–राम्रा प्रोजेक्टमा अभिनयको मौका पाएँ,’ उनले खुसी पोख्दै सुनाईन्, ‘विशेषगरी महाभोजले मलाई कलाकारितामा नयाँ आकार दियो। वरिष्ट कलाकार रमेश बुढाथोकीको ‘को–एक्टर’ जमुनाको भूमिकाले मेरो अभिनय यात्रालाई झनै फराकिलो बनाईदियो।’

सुष्माले बिस्तारै ठूलो पर्दामा पनि पाइला राख्न थालिन्। केही समयअघि प्रदर्शनमा आएको फिल्म ‘साइँली’मा साहुनी पात्रको भूमिकामा अटाएकी उनी यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको ‘घामड शेरे’मा निश्चल बस्नेतकी श्रीमती (पार्वती)को रूपमा देखिँदै छिन्।
साइँलीमा थोरै भूमिका पाएकी सुष्मा ‘घामड शेरे’मा केही विशेष भूमिकाका साथ पर्दामा आउन पाएकोमा खुसी छिन्। फिल्ममा श्रीमतीको भूमिकालाई लिएर पनि उनी यस प्रोजेक्टलाई केही विशेष मान्छिन्।
‘श्रीमान (घामड शेरे) जो विदेशमा छन्। सासु–ससुरा, छोराछोरी र घर–परिवार, व्यवहार थामेर बसेकी महिला आफैंमा दह्रिलो पात्र। त्यसमा पनि निश्चल बस्नेत, स्वस्तिमा खड्काजस्ता स्थापित कलाकारसँगको सहकार्य केही जटिल थियो। तर, काम गर्दा मज्जा आयो’ पात्र मनोविज्ञान र अनुभव एकैपटक सुनाउछिन्,‘नेपाली समाजको कथा नै यस्तै छ। विदेश जाने केही कमाउने, घर फर्कने, अनि नयाँ कामको सुरुवात गर्ने। यस्तै परिवेशलाई फिल्ममा चित्रण गरिएको छ।’
आफ्नो पात्र बलियो हँुदाहुँदै पनि स्थापित कलाकारहरूको छायाँमा पर्न सक्ने डर सुष्मामा जति छ, उति नै अभिनयप्रति विश्वास। ‘कामले प्रमाणित गर्ने हो, को कति बलियो छ भनेर। डर अवश्य छ तर, फिल्म र पात्र सफलताप्रति भर पनि उत्तिकै छ,’ वाक्य पुरा गर्दा नगर्दै सुष्मा खित्का छोडेर हाँस्छिन्।’
Comments
Post a Comment