
नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो रामचन्द्र अधिकारी अर्थात् (गोक्तेकाजी)। फिल्म बासुदेवबाट नेपाली फिल्म क्षेत्रमा उल्लेख्य उपस्थिति जनाउँदै आएका अधिकारीले हालसम्म ६७ भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।
लामो समय फिल्म क्षेत्रमा अभिनय गरेका अधिकारी पछिल्लो समय भने हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मार्फत् दर्शकमाझ प्रस्तुत हुँदै आएका छन्।
खास गरी खलनायकको सहयोगी पात्रको भूमिकामा देखिने अधिकारीलाई अधिकांश दर्शकले ‘चम्चे’ उपनामबाट चिन्ने गर्छन्। अधिकारी पनि यही चम्चे उपनाम पाएकोमै दंग छन्।
‘मलाई अधिकांश दर्शकले फिल्म हलमा चम्चेको उपनाम दिनु हुन्थ्यो। पर्दामा जब मेरो अभिनय आउँथ्यो, हेरहेर यो चम्चे फेरि आयो...’ यस्तै टिप्पणी सुनिन्थ्यो।
उहाँहरूको त्यो प्रतिक्रियाले मलाई छुन्थ्यो किनकि त्यहाँ उहाँहरूले मलाई गाली गरिरहनु भएको हुन्थ्यो। तर, वास्तविकतामा मलाई गाली गरिएको हुँदैनथ्यो। ‘त्यस्ता प्रतिक्रिया गाली नभएर माया हो भन्ने लाग्थ्यो। अझ काम गर्न उत्साह जाग्थ्यो,’ नेपालन्युजसँगको भेटमा अधिकारीले सुनाए।
अधिकारीले अभियन करिअरमा बिर्सनै नसक्ने खुसी र सफलताको एउटा खास किस्सा पनि सुनाउन भ्याए।
४० को दशकमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘चिनो’ त्यो समयको सुपरहिट फिल्म थियो। उक्त फिल्ममा अधिकारी खलनायकको सहयोगी पात्रको भूमिकामा देखिएका थिए। फिल्मको खलनायक रातेकाइँला (सुनिल थापा) को दाहिने हात शम्भु बनेका थिए अधिकारी।
उक्त फिल्मको सफलता र पात्र शम्भुको सफलता अधिकारीको मानसपटलमा अझै ताजै छ। यति मात्र नभएर नेपाली फिल्म उद्योगमा सुनिल थापालाई स्थापित गराउनका साथै आठ महिनासम्म हलमा व्यापार गर्नसक्नु ‘चिनो’ फिल्मको ठूलो सफलता थियो।
त्यो समय सम्झँदै अधिकारी अहिले पनि रोमान्टिक बन्छन्। ‘तुलसी घिमिरेको लेखन/निर्देशनमा बनेको चिनो त्यस बेलाको हिट फिल्म थियो। २०४५ सालमा छायांकन गरिएको फिल्म २०४६ सालमा प्रदर्शनमा आयोे। ‘चिनो’ हलमा त सुपरहिट थियो नै, सँगै रातेकाइँला र शम्भुको संवाद पनि क्यासेटमा हिट थियो।’
त्यो समय सम्झँदै अधिकारी अहिले पनि रोमान्टिक बन्छन्। ‘तुलसी घिमिरेको लेखन/निर्देशनमा बनेको चिनो त्यस बेलाको हिट फिल्म थियो। २०४५ सालमा छायांकन गरिएको फिल्म २०४६ सालमा प्रदर्शनमा आयोे। ‘चिनो’ हलमा त सुपरहिट थियो नै, सँगै रातेकाइँला र शम्भुको संवाद पनि क्यासेटमा हिट थियो।’
‘त्यो समय फिल्मका गीत क्यासेटमा खुब बिक्री हुन्थे, तर फिल्म चिनोको भने संवादसमेत हिट थियो। अहिले पनि उनलाई याद छ– रातेकाइँला र शम्भुको रेकर्डेड क्यासेटको माग बजारमा खुब थियो,’ विगतको खुसी र याद सम्झिँदै अधिकारी थप्छन्, ‘ऊ बेला गणेशमान सिंंह र मनमोहन अधिकारीसमेत फिल्म हेर्न हल पुग्नुभएको थियो।’
Comments
Post a Comment