महिनावारीलाई उत्सवका रूपमा मनाऔं : पूर्वमिस नेपाल

मनोज न्यौपाने मंसिर १५, २०७६ | आइतबार | काठमाडौं

सामान्यतया नेपाली समाजमा महिलाको महिनावारीको समय महिलाहरूलाई हेर्ने दृष्टि फरक छ। पारिवारिक माहोल र व्यावहारिमा उनीहरूलाई अलग्याइन्छ।
अर्थात्, महिनावारी भएको समय परम्परागत संस्कारका रूपमा महिलाहरूलाई अछुतो नै मानिन्छ।
पछिल्लो समय शिक्षा र चेतनाका हिसाबमा यस सोचबाट मुक्त हुँदै आए पनि नेपालका कतिपय ठाँउमा छाउपडीजस्तो प्रथा कायमै छ।
घरधन्दा, चुल्होचौको, पूजाआजा सबै कर्मबाट उनीहरूलाई वञ्चित गराउने परिपाटी नेपाली समाजमा कायमै छ। सरकारी तथा गैरसरकारी तवरबाट महिनावारीसम्बन्धी पुरातन सोच र परम्पराबाट समाजलाई मुक्त गराउने धेरै प्रयास भए पनि पूर्ण हुन सकेको छैन।
शनिबार काठमाडौंको भृकुटीमण्डप उद्यान यही महिनावारीसँग सम्बन्धित कार्यक्रममा झुमेको थियो। पूर्व मिस नेपालहरूको उपस्थिति उल्लेख्य थियो।
एउटै स्टेजमा धेरै सङ्ख्यामा पूर्व मिस नेपालहरूको उपस्थिति भृकुटीमण्डप उद्यान परिसरमा उपस्थित दर्शकका उत्साहको विषय थियो। त्यसमा पनि शनिबारको बिदा मनाउनेहरूको भीड पनि उस्तै।
‘महिनावारीमा प्रतिबन्धविरुद्ध जनचेतना’ कार्यक्रमका लागि पूर्व मिस नेपालको समूह त्यहाँ उपस्थित थियो। मित्र समाज नामक संस्थाको आयोजनाअन्तर्गत मितिनी कार्यक्रमले आयोजना गरेको जनचेतना कार्यक्रम महिनावारीका बारेमा खुलेर कुरा गर्नका साथै महिनावारी भएका बेला प्रतिबन्धित कार्यका विरुद्धमा थियो।
यससँगै मितिनी संस्थाले विगत लामो समयदेखि काठमाडौंका विभिन्न होटेल तथा रेष्टुरेन्टमा सनेटरी प्याड व्यवस्थापनका लागि डस्टबिन उपलब्ध गराउँदै आएको छ। उक्त डस्टबिनका लागि थप सहयोग जुटाउन पनि मित्र समाज र पूर्व मिस नेपाल भृकुटीमण्डप पुगेका थिए।
कार्यक्रममा पूर्व मिस नेपालहरूले औपचारिक तथा अनौपचारिक तवरबाट उपस्थित दर्शकलाई महिनावारीका सम्बन्धमा खुलेर कुरा गर्न सुझाउनका साथै महिनावारी हुँदा गरिने प्रतिबन्धविरुद्ध यसलाई उत्सवका रूपमा लिन आग्रह गरे।
यस विषयमा नेपालन्युजसँग कुरा गर्दै मिस नेपाल २००३ प्रिती सिटौला भन्छिन्, ‘महिनावारी प्रक्रिया नछुने हुनु होइन, यो एउटा उत्सव हो, एउटी महिला महिनावारी भएर मात्र हामी जन्मन्छौँ। त्यसैले यसलाई सामाजिक रूपमा प्रतिबन्ध नगरी उत्सवका रूपमा लिने गरौं।’
‘आर्थिक रूपमा हाम्रो कार्यक्रमसँग कुनै सम्बन्ध नभए पनि हामी मिस नेपालहरूको आवाज समाजका लागि मार्गदर्शन हुन्छ। त्यसैले मितिनीसँग जोडिएर समाज परिवर्तनको हिस्सा बनेका हौं। युवापुस्तामा परिवर्तनको सन्देश दिनसके महिनावारीसँग सम्बन्धित समस्या मात्र नभएर अन्य समस्या समाधानमा पनि सहजता आँउछ’, सिटौलाले सुनाइन्। 
यस्तै मिस नेपाल २००२ मल्भिका सुब्बाले मितिनीसँग सहकार्य गरेर महिलाहरूलाई महिनावारीका सम्बन्धमा खुलेर कुरा गर्नु पर्छ, सँगै मित्र समाजको मितिनी कार्यक्रमलाई पनि सहयोग गर्नुपर्छ भनेर भृकुटीमण्डपमा भेला भएको बताइन्।
महिनावारी आफैमा सुखद् तर कष्टकर समय भएकाले यसलाई सकारात्मक रूपमा लिएर नयाँ पुस्तामा उत्सवका रूपमा ग्रहण गर्न आग्रह गरिन्।

Comments