- Get link
- X
- Other Apps
- मनोज न्यौपाने फागुन ६, २०७६ | मंगलबार | काठमाडौं

कलाकारको आँसु पर्दामा कथाको मागअनुसार देखिनुपर्ने हो। तर, नेपाली कलाकर्मी पर्दामा मात्र नरहेर यत्रतत्र आफ्ना आँसु पोखिरहेका हुन्छन्।
पर्दामा होस् या वास्तविक जीवनमा, उनीहरू आँसुसँगै खेलिरहेका हुन्छन्।
‘आँसु’ शब्द आफैंमा यति गहन छ कि खुट्याउनै गाह्रो। दुःखका आँसु कि सुखका आँसु। अनि, आँसुमाथि प्रश्न गर्न पनि उत्तिकै कठिन छ।
यद्यपि, नेपाली फिल्म बजारमा प्रचारका लागि आँसुको सस्तो व्यापार गर्न थालिएको आरोप लाग्ने गरेको छ। पत्रकारका क्यामेरामा उनीहरूको आँसु जताततै छचल्किन्छ र, समाचारका ‘हेडलाइन’ बन्छन्।
यसै सन्दर्भमा गत माघ १५ गते सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक कार्यक्रमपछि ‘आँसुको व्यापार’ गरेको भन्दै समाचार आए। धुर्मस-सुन्तलीले आँसु पोखेको विषयबारे थुप्रै हेडलाइन बने।
कलाकारिता छाडेर पछिल्लो समय सामाजिक सेवामा लागेका धुर्मुस-सुन्तली पेसा, परिवार त्यागेर समाजसेवा गर्दै आएको भन्दै स्टेजमै भावुक भएका थिए।
योसँगै पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा विवाद र असन्तुष्टिको भावनात्मक रुवाइ कार्यक्रममा छचल्किएको थियो। सार्वजनिक कार्यक्रममा भक्कानिएर आँसु बगाउनेमा धुर्मुस-सुन्तली उदाहरण मात्र हुन्।
फिल्मको प्रदर्शन ताका आँसु बगाउनेहरू धेरै छन्। श्वेता खड्का, दीपाश्री निरौला, आँचल शर्मा, प्रियंका कार्कीलगायतले पटक-पटक आँसु बगाएका छन्। पछिल्लो समय यसैलाई पछ्याएकी छन् सुरक्षा पन्तले।
सार्वजनिक कार्यक्रममै किन आँसु बगाइन्छ? सेलिब्रिटीको मनोविज्ञानले क्यामेराअगाडि आँसु बगाउनैपर्ने निर्देशन दिइरहेको हुन्छ र? आफ्नो उत्पादन बिक्रीका लागि मूल्यवान आँसुको महत्व कतै घटाइँदै त छैन? यो जिज्ञासा नेपाली दर्शकका लागि चासोको विषय हुनसक्छ।
‘कलाकार अलि बढी नै भावनात्मक हुन्छन्। त्यसमा पनि हामीले बाहिर बोलिरहेका कुरा नाटकीय भने हुँदैन। चाउचाउ बाँड्न अमेरिकाबाट फर्किएर रङ्गशालासम्म आइपुग्दाको संघर्ष कहीँ-कतै छचल्किएर पोखिन्छन्।’
यही प्रश्नलाई केन्द्रमा राखेर फिल्म ‘सेन्टी भाइरस’ युनिटले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा कलाकार धुर्मुस-सुन्तलीलाई सोधियो-आँसुमाथि प्रश्न गर्न कठिन हुँदाहुँदै पनि किन नेपाली कलाकारका लागि आँसु सस्तो भइरहेको छ? कथा र पटकथामा रहेर आँसुसँग कलात्मक प्रस्तुति दिनुपर्नेमा किन वास्तविक जीवनमा क्यामेरा अगाडि आँसु पोख्नेक्रम बढेको हो?
धुर्मुस-सुन्तली केही भावुक देखिए।
‘रुन्छु भन्ने चाहेर हुने कुरा रहेनछ। तथापि, सबै कुरालाई छाडेर सामाजिक कार्यमा लागिरहँदा त्यसको संघर्ष अनि हामीले गरेको कामको महत्व नबुझेझैं वा बुझाउन सकेनांै कि भन्ने अवस्थामा केही भावुक भइँदो रहेछ,’ आफ्नो भावनात्मक पक्षबारे उनले प्रस्ट्याउन थाले।
‘समाजमा राम्रो काम भइरहँदा, गरिरहँदा पनि नराम्रा कुराले मात्र प्रश्रय पाइरहेको महसुस हुन्छ। यस्तो अवस्थामा सकारात्मक उपलब्धिलाई पनि आत्मसात गरेर अघि बढौं भन्ने भावमा केही तीता अनुभव आँखामा दर्शिएका हुन्,’ धुर्मुसले ट्रेलर सार्वजनिक कार्यक्रममा आँसु झार्नुपरेको क्षण सम्झिए।
‘मैले कला क्षेत्रको प्रतिनिधित्व गर्दै सामाजिक कार्य गर्दै आएको छु। यो सिलसिलामा यही क्षेत्रमा आबद्ध सबैजनालाई सहयोगको अपिल गर्ने क्रममा देखिएको इमोसन मात्र हो,’ सामान्यतया फिल्म चलाउन आँसुको व्यापार भन्ने आरोपबाट पन्छिँदै धुर्मुसले थपे, ‘त्यो समय फिल्म चलाउन वा गसिपका लागि हामी त्यसरी उपस्थित भएका होइनौं।’
यही प्रसंगमा सुन्तली थप्छिन्,‘कसैको पनि आँसु सस्तो हुँदैन, बजारमा जे चिज धेरै हुन्छ, त्यसलाई सस्तो मानिन्छ। र, तपाईं हामी सबै रुन्छौं, तर, हामी सेलेब्रिटी हौं र, हाम्रो आँसु देखिन्छ।’
‘कलाकार अलि बढी नै भावनात्मक हुन्छन्। त्यसमा पनि हामीले बाहिर बोलिरहेका कुरा नाटकीय भने हुँदैन। चाउचाउ बाँड्न अमेरिकाबाट फर्किएर रङ्गशालासम्म आइपुग्दाको संघर्ष कहीँ-कतै छचल्किएर पोखिन्छन्।’
धुर्मुस र सुन्तलीले सार्वजनिक कार्यक्रममा फिल्म चलाउनु नभएर विगतको संघर्ष सम्झिएर इमोसनल भएको भनिरहँदा यस्तो हुनु स्वभाविक मान्छन् फिल्म निर्देशक मनोज पण्डित।
सार्वजनिक कार्यक्रममा पोखिएको धुर्मुसको कारुणिकतालाई जोगाउँदै सुन्तली थप्छिन्, ‘सीतारामजीभन्दा म धेरै रुन्छु। किनकि महिला बढी भावनात्मक हुन्छन्। त्यसैले १२ वर्षको हाम्रो सहयात्रामा उहाँको छवि नराम्रो हुने हो भने यहाँसम्मको गन्तव्य तय हुँदैन थियो।’
‘मेरो आँसु खस्नु स्वभाविक होला। तर, सीतारामजीको आँसु जुन दिन झर्छ, त्यो एकदमै अस्वभाविक र झर्नै नहुने मूल्यवान आँसु हुन्छ। यहीँ कारणले ट्रेलर सार्वजनिक कार्यक्रममा म पनि रोएकी हुँ। आँसु सस्तो भएर होइन।’
धुर्मुस र सुन्तलीले सार्वजनिक कार्यक्रममा फिल्म चलाउनु नभएर विगतको संघर्ष सम्झिएर इमोसनल भएको भनिरहँदा यस्तो हुनु स्वभाविक मान्छन् फिल्म निर्देशक मनोज पण्डित।
‘यो मनोवृत्ति आजको समाजले निम्त्याएको होइन, नेपाली साहित्यको धरातलले जन्माएको परिस्थिति हो,’ पण्डित भन्छन्, ‘साहित्यको विकासक्रम अनि लक्ष्मीप्रसाद देवकोटाका कृति आँसुमा अडिएका छन्। हरेक कृतिले आँसु र संवेदनालाई उजागर गरिदिएको छ। उहाँको चर्चित कृति ‘मुनामदन’लाई उदाहरण मान्न सकिन्छ।’
‘जसरी नेपाली साहित्य आँसु, संवेदना र सहानुभूतिबाट प्रेरित हुँदै अघि बढ्यो, त्यहीँ अनुरुप हाम्रो समाज अघि बढ्यो। र, नेपाली कलाक्षेत्र पनि यसैको निरन्तरतामा अघि बढिरह्यो,’ पण्डित थप्छन्,‘आज आएर फिल्म क्षेत्रमा पनि आँसु कि, हाँसो बिक्छ भन्ने परिपाट छ। यसैको आधारलाइनमा फिल्म बन्छन्।’
नेपाली साहित्यकारहरूसँग उनको गुनासो छ,‘यदि त्यस बेलाबाटै साहित्यकारले आँसु, संवेदना र हाँसोमा मात्र नरहेर दर्शनलाई पनि प्राथमिकतामा राखेका भए हाम्रो कलाक्षेत्र यतिमा मात्र सीमित हुँदैन थियो। समाज आँसु र संवेदनामै अड्किरहने थिएन होला।’
- Get link
- X
- Other Apps
Comments
Post a Comment