- Get link
- X
- Other Apps
- मनाेज न्याैपाने बैशाख ३, २०७७ | बुधबार | काठमाडौं

देशमा लकडाउनको समय बढ्दै जाँदा श्रमबजार ठप्प छ। दैनिक ज्याला मजदुरीबाट चुलोे बाल्नेहरूको अवस्था दिनदिनै दयनीय बन्दै छ। यति मात्र होइन, सडक पेटीमा बाँच्नेहरू अनि अस्पतालका बिरामीका कुरुवालगायत सबै लकडाउनको चपेटामा छन्।
हिँडौं कोरोनाको डर, अझ प्रशासनको डर, नहिँडौं भोको पेटको कहर! यस्तै-यस्तैमा जीवन बिताइरहेकाहरूको दैनिक साँच्चिैकै पीडादायी बनेको छ। यही पीडामा मलमपट्टी लगाउने काम गरिरहेको छ-नवजीवन परोपकार समाजले।
संस्थाले हरेक दिन तीन सयभन्दा बढी मजदुर, बिरामी कुरुवा र विपन्नहरूको भोक मेटाउँदै आएको छ। ‘हामीले काठमाडौंका विभिन्न स्थानमा भारी बोकेर गुजार चलाउनेदेखि सडकपेटीमा अपांगता जीवन विताउनेहरुलाई खाना खुवाउँदै आएका छौं। वीर र टिचिङ अस्पतालमा बिरामी कुरुवाहरूका लागि भोजन व्यवस्था गर्दै आएका छौं,’ संस्थाका अध्यक्ष दुर्गानाथ दाहाल भन्छन्।
सातजनाको टिमले खाना प्याक गर्ने अनि मोटरसाइकल र सानो गाडीबाट बौद्ध, पशुपति, वसन्तपुर, स्वयम्भू, गोंगबू बसपार्क, कलंकी, कालीमाटीलगायत विभिन्न स्थानमा खाना पुर्याउन अध्यक्ष दाहाल स्वयं र अन्य स्वयंसेवक खटिने गरेका छन्।
लामो समययता सामाजिक सेवा गर्दै आएका अध्यक्ष दाहालले दुई वर्षअघि सडकमा अलपत्र परेका मानसिकरोगी, अपाङ्ग तथा सहाराविहीन मानव तथा घाइते पशुपन्छीको उपचार र संरक्षणका लागि नवजीवन संस्था स्थापना गरेकाथिए। मनकारीहरूको आर्थिक सहयोगबाट सञ्चालन हुँदै आएको संस्था यतिबेला भने देशको विषम परिस्थितिले निम्त्याएको संकटमा भोजन विहीनहरूका लागि भगवानझैं बनेको छ।
देशमा लकडाउन सुरु भएको पहिलो हप्तासम्म अप्ठ्यारामा परेका परिवार तथा व्यक्तिलाई संस्थाले करिब १ सय २५ बोरा चामल, नुन, तेल र दाल सहयोग गरेको थियो। त्यसपश्चात्को अवस्था झनै दयनीय बन्दै गएपछि आफ्नै कार्यालयमा खाना पकाएर नाजुक अवस्थामा रहेकाहरूलाई ठाउँ-ठाउँ पुर्याउन सुरु गरेको बताउँछन् अध्यक्ष दाहाल।
‘तारकेश्वर नगरपालिका फुटुङस्थित हाम्रो संस्थाको कार्यालयमा दैनिक ३ सयदेखि ३ सय ५० प्याकेट खाना तयार गर्छौ र, आवश्यकताअनुसार ठाउँठाउँमा निःशुल्क पुर्याएर वितरण गर्ने गरेका छौं,’ संस्थाका अध्यक्ष दाहाल भन्छन्, ‘यो हाम्रो दैनिकी नै भएको छ। धेरैलाई लकडाउनको समय विताउन असहज होला, तर, हामीलाई भ्याइनभ्याइ छ।’
दाल, भात, तरकारी र काँक्रो,गाँजर, मूलाको सलाद मिलाएर सातजनाको टिमले खाना प्याक गर्ने अनि मोटरसाइकल र सानो गाडीबाट बौद्ध, पशुपति, वसन्तपुर, स्वयम्भू, गोंगबू बसपार्क, कलंकी, कालीमाटीलगायत विभिन्न स्थानमा खाना पुर्याउन अध्यक्ष दाहाल स्वयं र अन्य स्वयंसेवक खटिने गरेका छन्।
उक्त समय सर्वसाधारणमा देखिएको भोक अनि राज्यप्रतिको आक्रोशको प्रत्यक्षदर्शी बन्ने गरेका छन् दाहाल। ‘ठाउँ-ठाउँमा अनेक प्रकृतिका पीडितहरूसँग भेट हुन्छ, कोही घर जान नपाएर पीडित छन्, कोही काम नपाएर अनि कोही कसैको साहार नपाएर। तर, सबैको साझा समस्या भनेको खानाको अभाव हो,’ दाहाल थप्छन्, ‘हामी उनीहरूका अन्य समस्या सुन्छौं मात्र, बाँकी भोजन वितरण गर्छौं र, हिँडिहाल्छौं। कारण पीडित धेरै छन्, एक छाकको मात्र भोका छैनन्, हरेक साँझ-बिहान के खाने भन्ने चिन्तामा छन् उनीहरू।’
अध्यक्ष दाहालका अनुसार संस्थाले दैनिक गर्दै आएको सहयोगसँगै काठमाडौंका जुनसुकै क्षेत्रबाट सुत्केरी र गर्भवती महिला तथा अत्यन्तै पीडामा रहेका परिवारहरूका लागि पनि विभिन्न सहयोग गर्दै आएको छ।
संस्थामा हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सातजना बढीको समय भान्छामै बित्छ। लकडाउनका समयमा संस्थाले गरिरहेका काम त सराहनीय छ नै, अझ वृद्ध, मनोरोगी तथा सडकका सहाराविहीनहरू गरेर १५ जनालाई संस्थाले आश्रय दिएर राखेको छ। उनीहरूप्रतिको जिम्मेवारी पनि संस्थाका लागि गहन छ।
यो संकटका समयमा सेवा गर्न पाउनु आफैंमा सौभाग्य भए पनिचुनौती पनि उत्तिकै रहेको बताउँछन् अध्यक्ष दाहाल। ‘यस कार्यमा सामाजिक मन भएकाहरूको साथ सहयोग अपरिहार्य छ। उहाँहरूको दिल ठूलो भएर मात्र भोकालाई भोजन दिन पाएकाहौं, सहाराविहीनहरूलाई आश्रय दिन पाएका छौं,’ अध्यक्ष दाहाल भन्छन्, ‘संकटमा हाम्रो सेवा अर्थपूर्ण होला, तर, अब सरकारले पनि सोच्ने बेला भएको छ। सरकार आफैंले खाना बनाएर ठाउँ–ठाउँमा खुवाउनुको विकल्प छैन। सेवा गर्ने हातहरू धेरै भए पनि यो विषम परिस्थितिमा सरकार आफैं अग्रसर बन्नुपर्छ। साँच्चै देशमा सरकार छ भनेर जनतालाई विश्वास दिलाउनुछ भने सडकमा भोकाएकाहरूले पेट भर्न पाउनुपर्छ।’
अध्यक्ष दाहालका अनुसार संस्थाले दैनिक गर्दै आएको सहयोगसँगै काठमाडौंका जुनसुकै क्षेत्रबाट सुत्केरी र गर्भवती महिला तथा अत्यन्तै पीडामा रहेका परिवारहरूका लागि पनि विभिन्न सहयोग गर्दै आएको छ। त्यस प्रकारका समस्यामा रहेकाहरूका सहयोगका लागि संस्था चौबिसै घन्टा तयार रहेको अध्यक्ष दाहालको भनाइ छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment