- Get link
- X
- Other Apps
- मनोज न्यौपाने पुस २९, २०७६ | मंगलबार | काठमाडौं

लमतन्न लडिरहेछ एक अपरिचित व्यक्ति। उसलाई श्वास फेर्नै गाह्रो छ।
ऊ बोल्नै सक्दैन। किनकि, उसको छातीमाथि बडेमानको जामुनको रूख ढलेको छ। मलदार अनि फलदार...।
जिउँदैछ, तर ऊ निरीह छ। बेला-बेला बल लगाएर जीवनदानको भिक्षा मागिरहेछ।
दिन ढल्छ, रात पलाउँछ। फेरि उसैगरी दिन ढल्छ, रात पलाँउछ। तर, यहाँको नियत नै उस्तो- न ढलेको रूख चल्मलाउँछ, न थिचिएको अपरिचितले जीवनदान पाउँछ।
रूख चानचुने छैन। किनकि यो सरकारी जामुनको रूख हो। सरकारी रूख कागजपत्र मिलाएर मात्र काट्न पाइन्छ रे।
मालीले देखेको घटनाको बयान कुचीकार, सुब्बा, अधिकृतहुँदै सचिवसम्म पुग्छ। तर, रूख काटेर थिचिएको मान्छे निकाल्ने निर्णय गर्नसक्ने हैसियत उनीहरूमा छैन। किनकि, यहाँ सरकारी कार्यालयको हद्भन्दा बढी, जो औपचारिकताको जालो छ।
यही जालोमा लट्पटिएको फाइल वाणिज्य विभागबाट कृषि विभाग जान्छ। कृषिको फाइल संस्कृति विभागमा जान्छ। अनि फेरि फलफूल विभाग जान्छ। तर, अह! रूख काटिने छाँट देखिँदैन। अपरिचित व्यक्तिको जीवनदान याचना उपेक्षित छ।
माली उही बडेमान रूखको भार थेगेर मृत्यु कुर्न बाध्य अपरिचितको चिन्ताले झोक्रिएको छ। कुचीकार निःशब्द छ। उता, सचिवालयका अन्य कर्मचारीमा मानवता हराएको छ। कर्तव्यबाट पन्छिरहेका छन्। फाइल पर धकेल्दै जिम्मेवारीबाट ओझेल परिरहेका छन्।
जामुनको रूख ढलेको खबर चौतर्फी छ। फलानो मिडिया त्यही घटनाको ‘ब्रेकिङ न्युज’ संप्रेषणमा व्यस्त छ। तर, पनि सचिवालयलाई वास्ता छैन, कर्मचारीलाई हीनताबोध छैन। प्रशासन ढलेको, मरेको रूखको निगरानीमा छ। तर, लासझैँ लडिरहेको जिउँदो मान्छेको उसलाई कुनै पर्वाह छैन। किनकि, ऊ माथिबाट जे निर्देशन आउँछ त्यही मात्र कार्यान्वयन गर्छ।
यता बल्ल अपिरिचत व्यक्ति कवि भएको खुल्छ। तर, अब उनलाई बाँच्ने आशा मरिसकेको छ। अमानवता अनि असंवेदनाको जालोमा मुछिएका कवि लोकका लागि आफ्नो अन्तिम कविता सुनाउँछन्...
सबै ठीक हुनेछ!आगो खरानी हुनेछखरानी ढुवानी हुनेछश्वास रहुन्जेल मोज हुनेछश्वास उडेपछि भोज हुनेछमालिक जन्मनेछन् मेरा शोकमासालिक ठडिनेछन् चोकचोकमायी यही फलदार, मलदारजामुनको रूखको!जानेछन् सपनाहरू मेरो मलामीतर, फूलको हारसहित दिनेछ सलामीयी यही फलदार, मलदारजामुनको रूखको! ...
दृश्य अझै बाँकी छन्, रूखको कथा पनि आफ्नै छ। फाइल कता पुग्छ? कवि मर्छन् कि बाँच्छन्? यी सबै दृश्य हेर्न नाटकघर पुग्नैपर्छ।
कीर्तिपूरस्थित थियटर मलमा मञ्चन भइरहेको नाटक ‘जामुनको रूख’मा समावेश दृश्यहरू हुन् यी। सरकारी काममा कर्तव्यहीन, गैरजिम्मेवार तथा ठग कर्मचारीतन्त्रप्रतिको व्यङ्ग्यात्मक दृश्य नाटकमा समेटिएका हुन्।

खोक्रिँदै गएको सरकारी प्रणाली, कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो ‘जामुनको रूख’।
उर्दू तथा हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय हास्यव्यङ्ग्य कथामा रहेर रङ्गकर्मी केदार श्रेष्ठले लेखन, परिकल्पना तथा निर्देशन गरी तयार नाटक ‘जामुनको रूख’ गत पुस १८ बाट मञ्चन भइरहेको छ।
नाटकमा थियटर मलको अभिनय कार्यशाला थियटर ग्यारेजअन्तर्गत तेस्रो व्याचका नाट्यकर्मीहरूको प्रस्तुतिमा देख्न सकिन्छ।
हरेक मानिसले सरकारी काममा भोग्नुपरेका आफ्नै घटनाको बिम्ब नाटकमा देख्न सकिन्छ। देश बाहिरको कथा पनि देश र परिवेश सुहाउँदो लाग्छ।
‘हरेक पटक कृष्ण चन्दरको कथा पढ्दा कुनै भूगोल र सीमा नछुट्ट्याएको र हाम्रो देशको परिस्थिति सुहाउँदो लागेर नाटक तयार गरेको हुँ,’ निर्देशक श्रेष्ठ भन्छन्, ‘देश र परिवेश सुहाउँदो कथा महसुस गरेर नै देश बाहिरको कथा पस्केको हुँ।’
‘हरेक सरलताभित्र जटिलता र जटिलाभित्र सरलता कलाको स्वाभाविकता हो। यसर्थ तपाईंको भौतिक आँखाले देखेका दृश्यभन्दा पनि भयानक दृश्य तपाईंको चेतन आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु,’ आफ्नो निर्देशकीय पाटोप्रति आत्मविश्वासका साथ दर्शकको जीवनसँग नाटकलाई सामान्यीकरण गर्छन् श्रेष्ठ।
आँउदो माघ ४ गतेसम्म हरेक दिन साँझ ४ः३० बाट एक घण्टाको समय सरकारी कार्यालयमा भोग्नु परेका आफ्नै भोगाइ हेर्न मन छ भने तपाईंका लागि ‘जामुनको रूख’ फलदार अनि मलदार हुन सक्छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment